Thursday, January 12, 2012

युगले नचिनेको दार्शनिक : रुपचन्द्र विष्ट


युगले नचिनेको दार्शनिक : रुपचन्द्र विष्ट
बि.सं. १९९० पौष २६-२०५६
“केटाकेटी बिग्रे बाबुआमा दोषी, जनता बिग्रे सरकार दोषी, सरकार बिग्रे व्यवस्था दोषी, व्यवस्था बिग्रे अगुवा दोषी, जो जति शक्तिमा छ, समाज सप्रे बिग्रेकामा त्यो त्यत्तिकै जिम्मेवार छ । ” – रुपचन्द्र विष्ट
मकवानपुरको पालुङमा बुबा मेजर पदमबहादुर विष्ट र आमा चित्रकुमारी विष्टको कोखबाट बि.सं. १९९० पौष २६ गते जन्मिनु भएका जनमुखी सहकर्मी रुपचन्द्र विष्ट जन्मोत्सवमा केही लेखेर उहाँका बारे तिता मिठा प्रसङ्ग प्रस्तुत गर्ने जमर्को गर्दैछु ।
सत्य, तथ्य बोल्ने सदन र सरकारका बारेमा खरो टिप्पणी गर्ने, कसैलाई सम्मानमा चिल्लो घसेर तपाई हजुर भन्नुभन्दा तँ, तिमीको भाषा बोल्ने, अरुको टिप्पणी गर्नु परे उसकै अगाडि भनिदिने, दुई छाक राम्रैसँग खान लाउन पुग्ने परिवार अर्थात एउटा सरकारी जागिरवाला मेजर बाबुको घरमा जन्मिएर पनि गरिबका झुपडिमा बास बस्दै ढिँडो र गुन्द्रुकले छाक टार्नु पर्ने उनलाई बाध्यता त थिएन, थियो केवल आम दामन, पालुङ, मकवानपुर र देशबासी गरिब, उत्पिडितहरुको कारुणीक जीवन पद्धती, अव्यवस्थित जीवनशैली, हेपाहा राजनैतिक व्यवस्था, भोकमरी हटाई दिनु र दर्शाउनु थियो ‘थाहा’ । महान दार्शनिक थिए रुपचन्द्र विष्ट जो मरेपछि मात्रै महान भनाइए, जिवीत हुँदा उनको व्यक्तित्वको कदर हुन सकेन । यो नेपाल देशको एउटा नियतिको निरन्तरता पनि थियो, जिउँदामा गाली र बेइज्जती, हेपाई र टिकाटिप्पणी, मरेपछि उही अबिर र माला बोकेर भावविह्वल भई श्रद्धान्जली दिन उपस्थित हुने... । आजसम्म यो पद्धती धानिएकै छ, उही बिरालो बाँधी श्राद्ध गर्ने परम्परा ।
“हामी कसैका होइनौ, कोही हाम्रा होइनन्, हामी सत्य र ठीकको सत्य र ठीक हाम्रा ” भन्ने महान विचारक तथा दार्शनिक र अग्रगामी पक्षधर रुपचन्द्र विष्टका नाउँमा इन्टरनेटमा ब्लग तथा फेसबुक एकाउन्टहरु खुलेका छन् । यसै क्रममा बिबिध  वेबसाइट  www.speakyourmind.meronepalma.com, www.paramananda.blogspot.com, www.thahasanchar.com, लगायत फेसबुकको   www.facebook.com/pages/Rup-Chandra-Bista पेजमा पनि रुपचन्द्र बारे हेर्न र थाहा पाउन सकिन्छ । जति लेखे पनि नसकिने रुपचन्द्रको बारेमा बेस्सरी लेखिएका छन् । रुपचन्द्र विष्ट ‘थाहा’ को फेसबुक पेजमा उनका तस्विर बाहेक खासै जानकारी र उनका महान विचार भनाईहरु नराखिएता पनि कमेन्टहरु प्रशष्त छन् । एउटा विचार यस्तो रहेको छ :
बुद्ध थाहा पाएर बुद्ध बने
क्राइष्ट थाहा पाएर क्राइष्ट बने
संसारका सब मानिस थाहाका उपज हुन्
सप्रेका देश थाहा पाएर सप्रे
बिग्रेका देश भ्रम परेर बिग्रे
भ्रमैभ्रममा बाँचेर बिग्रेको यो देशको
एउटा नागरिक तपाई
थाहा पाउनुस्
देश सप्रिन थालिहाल्छ ।
यस्ता दार्शनिक विचारले ओतप्रोत कविता, नारा, पर्चाका सर्जक रुपचन्द्र व्यक्ति एक, विचार अनेकका थिए ।  
बि.सं. २०२६ पौष १५ मा उमा शाहसँग वैवाहिक सम्बन्ध गाँसी (पछि सम्बन्ध विच्छेद भएको) दाम्पत्य जीवनबाट एक छोरा र एक छोरी भएका उहाँको छोराले व्यापार गर्नको लागि पैसा माग्दा उहाँले व्यापारको लागि पूरै योजना बनाएर पेश गर्नु अनि मात्र पैसा दिन्छु भनेपछि छोराले योजना पेश गर्न नसक्दा पैसा दिन नमानेपछि छोरा छुट्टि भिन्न भई बसेका उहाँका बारेमा लेखिएका पुस्तकहरुमा भेटिन्छन् । उहाँ आफ्नो अन्तर्वाता लिने पत्रिकासँग रकम लिनु हुन्थ्यो र भन्नुहुन्थ्यो, “केही गरी तिमीहरुले उल्टो लेख्यौ भने तिमीहरु विरुद्ध मुद्दा लड्ने पैसा लिएको हो यो ।” उहाँसँग “किन ?” भन्ने प्रश्न ग¥यो कि, ‘थाहा’ चाहियो भन्ने रुपचन्द्र युगकै क्रान्तिकारी व्यक्तित्वका नायक हुनु हुन्थ्यो । थाहा नपाई केही हुँदैन, जनताले थाहा पाउनु पर्छ अनि मात्र देश सुध्रिन्छ, सर्वहारा मजदुर, महिला र छाप्रेले थाहा पाउनु पर्छ भन्ने रुपचन्द्र छाप्रे, मजदुर, महिला, उत्पिडितहरुको आवाज हुनुहुन्थ्यो ।
रुपचन्द्रलाई रुदाने (रुपचन्द्र विष्ट दामन नेपाल), रापसरु (राष्ट्रिय पञ्चायत सदस्य रुपचन्द्र), जसरु (जनमुखी सहकर्मी रुपचन्द्र) र स्वरुपे उपनामहरुले चिनिन्छन् । मकवानपुरको ठिंगन, राइगाउँ, बसामाडि, सिस्नेरी, डाँडाँखर्क, वेतिनी, टिस्टुङ, फाखेल, काँकडा र सरिखेतमा एकएक वटा माध्यमिक विद्यालयको माग सोही बेलामा नै गर्नु भएका विष्ट एक कुशल शिक्षक हुनुहुन्थ्यो । उहाँले नै बिहानी कक्षा सञ्चालन गराई सो कक्षामा माथिल्ला कक्षाका विद्यार्थीहरुले स्वयम्सेवकको रुपमा पढाउनु पर्ने नियम बसाल्नु भयो । आपूmले उत्तिर्ण गरेको बि.ए., बि.एल. शिक्षालाई बुर्जुवा शिक्षा मान्ने वहाँ प्रधानाध्यापक हुनु भएको विद्यालय जनकल्याण मा.वि. (२०२९–२०३०) मा हरेक दिन आम्दानी र खर्चको हिसाब सूचना पाटीमा टाँसिन्थ्यो । उहाँले त्यस स्कूलमा शुरु गर्नु भएको विद्यालय गान (मर्निङ प्रेयर) मकवानपुर सबैजसो विद्यालयहरुले लागू गरे । विद्यालय सकेपछि शारीरिक कसरत गर्नु पर्ने व्यवस्था अनिवार्य गर्नुभयो ।
पालुङ्ग विकास समितिमा बि.संं. २०३१ सालमा प्रधानपञ्च हुनु भएका विष्ट विद्रोही स्वभावको भएकैले गल्ति गर्नेहरु उहाँको अगाडि झुक्दथे । सत्तामा हुनेहरु केही काम गोप्य गर्नु परे रुपचन्द्रलाई थाहा नदिनु है भन्दथे । बि.सं. २०३६ सालको जनमत सङग्रहपछि ओमबहालमा एक कार्यक्रममा वि.पी. कोइराला लगायत नेताहरु आएकामा रुपचन्द्रले राजालाई गोली ठोक्नुपर्छ भनेपछि प्रहरी हस्तक्षेप र भागाभाग भएको घटना यथार्थै छ ।
विष्टको सम्मानमा “निष्पक्ष सक्रियताको अभ्यास” नारा लिएर नाफाको उद्देश्य नलिई थाहा रेडियो सञ्चालन भई रहेको छ । व्यक्ति मरेपछि उसको सम्मान गर्नुभन्दा जीवित हुँदा विचारको सम्मान हुनु पर्छ भन्ने उहाँको सम्मानमा शालिक बनाइएका छन् । भलै यो उहाँले पालुङ, मकवानपुर र देशको नाममा पु¥याउनु भएको सेवाको कदर नै हो । त्यस्तै सहिद स्मारक, हेटौंडामा थाहा स्तम्भ राखिएको छ ।
उहाँले आफ्नो दलको लागि चुनावी नारा कविता, भावना, विचार, दार्शनिकता तथा गरिब र महिलाको नेतृत्व गर्ने गरी आपैंm तयार गर्नु हुन्थ्यो । साथै उहाँ आफ्ना नाराहरु पाँच पैसा, दश पैसा, पच्चिस पैसा आदि मुल्य तोकी बेच्नुहुन्थ्यो र सामाजिक काममा खर्चिनु हुन्थ्यो । यस्तै उहाँले मिति २०४४ मा उहाँले लेख्नु भएको एउटा पर्चा यस्तो थियो  :
विकासे नारा :
प्रजातन्त्र
गर्न खोज्ने
श्रमिकहरु
जिन्दावाद
जीविका मात्र
खोज्नेहरु
मुर्दावाद ।
इन्कलाव
जिन्दावाद ।
(मू. १५ सहुलियतमा १० पैसा)
विदेशी खेताला लगाएर लेखिने नेपाली साँघुरो इतिहासमा धन्न अटाए स्वरुपे । अभैm पनि धेरैले रहस्यमय व्यक्तित्व भनेका रुपचन्द्र विष्ट तत्कालिन घुसखोरी र सरकारी हेपाहा मिचाहा प्रवृत्तिमाथि ठाडै प्रतिकार गर्ने व्यक्तित्व “देशको माटो, हाम्रो रगत, यहाँ लाग्ने घाम, यहाँ चल्ने हावालाई देशको विकासका दोषी होइनन् बरु यहाँको राजनैतिक पद्धती नै दोषी छ” भन्नुहुन्थ्यो । उहाँका भाषण, कुरा गराई र विचारहरु धेरैले ढिलो बुझ्थे, बुझाईमा निकै कठिन थियो, त्यसैले त उहाँका विचारहरु आजसम्म रहस्यमयी छँदैछ ।
दुई छाक खानका लागि मात्र बाँच्ने र देश र देशबासीका लागि केही नगर्नेहरुलाई रुपचन्द्र यसरी छेड हान्नुहुन्छ :
एक प्रश्न :
चार माना माटोसँग
तेरो नाता प¥यो भनेर
माटाको भाँडाले तँ सित
दोस्ती सोस्ती ग¥यो भनेर
बसिस् कैद, गमलामा
सिङ्गै पृथ्वीलाई छोडेर । (२०४०)
एक पटक एमाले नेता केपी ओलीलाई गाली गर्दै रुपचन्द्रले भन्नु भएथ्यो, “गुण्डाहरुको संरक्षण गरेर केपी ओलीले आपूmलाई सबभन्दा ठूलो गुण्डा प्रमाणित गर्नुको कारण थाहा चाहियो ।” यसरी उहाँ जनता, दल, नेता, मन्त्रि कसैसँग नडगी आफ्ना विचारहरु राख्नुहुन्थ्यो । यसैले उहाँले कयौै पटक स्पष्टिकरण दिनु परेको घटना यथार्थै छ । “यो मुलुकमा राष्ट्रघाती प्रधानमन्त्रि, गृहमन्त्री, संविधान सभा, सम्पूर्ण प्रशासन संयन्त्रभन्दा एमालेका दुईवटा गुण्डा शक्तिशाली कसरी भए ? थाहा चाहियो ।” भनी दल, व्यक्ति, नेता, मन्त्रि सबैका गल्तिलाई जनता सामु छर्लङ्ग देखाई दिने रुपचन्द्रको यहि बानीले गर्दा सदन र सरकारका गुह्य कुराहरु बाहिर आएका र जनता सामु के बोल्ने र के नबोल्ने भन्ने कुराको पाठ सिकाउन लागी परेका केही दल, नेताहरुलाई उहाँ सत्तो सराप गर्नुहुन्थ्यो । उहाँले सूर्यबहादुर थापाको प्रधानमन्त्रित्व कालमा सरकारलाई “यो सरकार त्यो बेइमान छोरा जस्तो छ, जो बाउको धन खान्छ तर ऋण तिर्दैन ।” भन्नु भएथ्यो । राज्यको बेतिथी र सर्वहारालाई सहानुभूतिभन्दा पूँजीपति र सामन्तको पाउ पर्ने नेताहरुलाई सँधै उछितो काढिरहनु भयो । त्यस्तालाई उहाँ ‘मण्डले’ को उपनाम पनि दिन चुक्नु हुन्नथ्यो ।
देशका तमाम हिंसा पीडित र अन्धकारमा रहेका महिलाका लागि उहाँले लेख्नु भएको झ्याउरे गितको एक टुक्रा : 
भ्यालेन्तेना तेरेस्कोभा
अन्तरिक्ष पुगिन्
इजरायलको प्रधानमन्त्रि
गोल्डामेयर भइन्
हिन्दुस्तानको प्रधानमन्त्रि
ईन्दिराले चलाइन्
लंका हाँक्ने प्रधानमन्त्रि
भण्डारानायके भइन्
हाम्रा नारी नमान्छे पारेर
लोग्ने मान्छे मालिक भै‘रछन् ।

आफ्ना सहकर्मीहरु विश्वकान्त सुमार्गी, रामनारायण बिडारी, शुक्र राजथला, विश्वक्रान्ती मैनाली, अशोक बानियाँ, रामचन्द्र बिष्ट, रामबहादुर रायमाझी, कृष्णहरि केसीको सहयोगमा बि.सं. २०१५, २०२८, २०३८, २०४३, २०४८, २०५१ र २०५६ मा निर्वाचन उम्मेदवारी दिनु भएको वहाँ चुनावी मैदानमा भिड्दा भन्नुहुन्थ्यो, “विचार बाँड्नु, भोट नमाग्नु ।” उहाँ क–कसले आपूmलाई भोट दिन्छ पहिल्यै गन्ति गरी दिनुहुन्थ्यो । “यो भातेबाट १ भोट, त्यो भातेबाट १ भोट” भन्दै भाते, गधा आदि नामले भोटरहरुलाई चिनाउँनुहुन्थ्यो । “त्यो भाते मेरो बिरोध गर्छ, तैपनि १ भोट त्यसले मलाई नै हाल्छ ।” उहाँ विरोधीसँग पनि यसरी ढुक्क हुनुहुन्थ्यो । कसैलाई मायाँ गर्ने शब्द नै ‘भाते’, ‘गधा’ थिए ।
मरिचमान सिंह, लोकेन्द्र बहादुर चन्द, सूर्यबहादुर थापाको प्रधानमन्त्रित्वकालमा जनमुखि सहकर्मीहरुलाई चुनावको समयमा पक्राउ गर्ने र चुनाव सकिएपछि छोड्ने गदैथे । सरकार, सदन र नेताहरुका चरित्र छताछुल्ल पारेर चुनावमा हराउँछन भन्ने डरले यस्तो कुकृत्य गर्दथे । त्यसैले उहाँ सूर्यबहादुर थापालाई अर्धमण्डले र बाँकी श्री ५ का मन्त्रिहरुलाई मण्डलेको उपनाम दिनुहुन्थ्यो । हत्याको दोष मृतकलाई नै भिडाउने सरकारी नीति भन्दै उछितो काढ्ने उहाँले डा. प्रकाशचन्द्र लोहनीलाई पत्रकार सम्मेलनमा भूmट बोलेको र अमेरिकी विश्वविद्यालयले दिएको डाक्टरी उपाधी खेर गएको भन्दै यस्तो कविता बनाउनु भएथ्यो :
वेश्याले पटक–पटक भन्छे
म तिमीलाई माया गर्छु भनेर
प्रेमिकाले किन त्यसो भन्न पर्छ र ?
भन्नु पर्नेले, गर्दै गर्दैन ।
उहाँ कार्यकर्ता र जनताहरुका कपडामा छातिमा पर्ने गरी ‘थाहा’ को स्ट्याम्प लगाई दिनुहुन्थ्यो । मकवानपुरकै मनहरी–७, ज्यामिरेको जंगलमा ठूलो ढुंगामा लेखिएको ‘थाहा” र ज्यामिरेकै एउटा घरमा ठूलो सेतो अक्षरमा लेखिएको ‘थाहा’ अक्षरहरु आजसम्म प्रष्टै छन् । उहाँ क्यामरा र हाते माइक साथमै लिई हिँड्नु हुन्थ्यो । जनताको झुपडिमा बास बस्ने, उनीहरुसँगै खाने, गरिब, झुत्रे भनी राज्यको अप्रत्यक्ष रुपले हेपाई खाएका जनताहरु नै उहाँको प्रिय पात्र बन्दथे । “म को हुँ ? तँ चिन्दछस् ।” भनी नयाँ मानिसहरुलाई सोध्ने, तेरो यस्तो बानी मलाई मन परेन, सुध्री भन्ने तँ ज्यादा बोल्दछस्, काम गर्ने हुत्ति चै तेरो छँदै छैन भनी नेताहरुलाई सिधै भनिदिने हुनाले उहाँ सत्ताधारीको काँडो हुनु भएको उहाँका बारेमा जान्नेसुन्नेहरु बताउँछन् । कहिलेकाँही उहाँ सोल्टिमोडमा रक्सी खाएर केटाकेटीसँग गुच्चा खेलेर बसिदिनु हुन्थ्यो ।
कसैको घरमा पाहुना लाग्दा मिठो पकाएर दिए भने बिहान के खायौ ? भनी सोध्ने र बिहान गुन्द्रुक र ढिंडो खाएको थाहा पाएपछि मलाई चै किन यति मिठो खानेकुरा ? भन्दै तिमीहरु जे खान्छौ, त्यहि ल्याओ भन्ने रुपचन्द्र गरिब र दुखिहरुको सँधै नजिक रहनु भयो । गरिबले आपत विपद र शोषक, सामन्तले मोजमज्जा पाई रहेकोमा तत्कालिन सरकारप्रति उहाँको व्यंग्य यस्तो थियो :
यो सरकारको मुख नाङ्लो जत्रो
अरु सर्वाङ्ग शरिर मस्यौरा जत्रो छ ।
यो सरकार कार्टुन जस्तो छ । (२०३९ श्रावण १९, मातृभूमि)
२०४३ सालमा होशियार शिर्षकको कविता साप्ताहिक विमर्श पत्रिकामा छपाएपछि सो पत्रिकाका सम्पादक ७१ वर्षे बयोबृद्ध केशवराज पिडालीलाई सरकारले पक्रिएपछि काठमाण्डौमा ती वृद्धलाई पक्रिनुभन्दा मलाई पक्रिए हुन्छ भन्ने अभिव्यक्ति दिएपछि रुपचन्द्र पक्राउमा परेको दुखद घटना छ । उहाँ भन्नु हुन्थ्यो, “विदेशमा चेलीबेटी र मुर्ति बेच्न अनि स्वदेशका युवाहरुलाई स्म्याक्स किनाउन सरकार सहुलियत दिएर लागी परेको छ ।” यस्ता छेडछाड र सार्वजनिक स्थानमा आम छाप्रे, मजदुर, महिलाहरुका भिडमा सरकार, सदन, नेताहरुका वास्तविकता खोलीदिने हुनाले उनी कहिल्यै सत्ताधारीको मान्छे हुन सकेनन्, सके त पालुङ, मकवानपुर र नेपालको स्पष्ट र भविष्यवक्ता रुपचन्द्र विष्ट दामन नेपाल (रुदाने) ।
जीवनभर उनको विचारको कदर हुन सकेन । बिरोध गर्नेले गरिनै रहे । सप्रिएकाहरु ‘थाहा’ले सप्रिएका हुन्, बिग्रिएकाहरु भ्रमले बिग्रिएका भन्ने उहाँ ‘भ्रम’ र ‘थाहा’को वैचारिक युद्धमा भ्रमले जित्दा अन्याय, अत्याचार, भ्रष्टाचार, अपराध र अशान्ति आउँने तथा ‘थाहा’ ले जित्दा शान्ति, विकास र न्यायको परिपाटी बस्ने वक्तव्य दिनुहुन्थ्यो ।
बिरामी अवस्थामा कसैको सहयोग नचाहिने बताउँदै सन्यासी जीवन व्यतित गर्नु भएका रुपचन्द्र सञ्चो नहुँदा अत्यधिक रक्सी सेवन गर्नुहुन्थ्यो र आफ्नो मृत्युपछि धेरै मान्छेलाई आफ्नो मृत्युको बारेमा थाहा नदिनु र कुनै दल र नेतालाई आपूmमाथि झण्डा ओढाई सिन्दुर राखेर बेइज्जती गर्न नदिनु भन्ने रुपचन्द्र अन्तिम घडीमा आफ्नो विचार, सत्यतालाई बिरोधी कार्यकर्ता, नेता, दल मन्त्रिहरुले दबाउन खोजेका भनी अत्यन्त चिन्तित हुनुहुन्थ्यो । महान विचारक र भविष्यद्रष्टा जीवनको अन्तिम समयमा वीर अस्पतालमा मृत्यु पर्खिरहेका ‘रुपचन्द्र विष्ट दामन नेपाल’ (रुदाने) लाई आफ्नो आफन्त सबैले बेवास्ता गरे । बिरामी अवस्थामा मिति २०५६ असार ७ गते उहाँको सोही अस्पतालमा मृत्यु भयो ।
एउटा भौतिक शरिरले युवाहरुलाई परिवर्तका बाहक मान्ने रुपचन्द्रका विचारहरु यतिखेर हामीसँगै जीवितै छन् । तर देशका लाखौं युवाहरु बर्षेनी विदेशिएर आफ्नो मौलिक पसिना विदेशका मरुभुमिमा खर्चिरहेका छन् । यसबाट देशमा रेमिट्यान्स त भित्रिएला तर देशको विकास गर्न यहाँ बचे खुचेका वृद्धवृद्धाको आँट कसरी आउला र ?
महान विचारक, दार्शनिक तथा चिन्तक रुपचन्द्र विष्टका विचारहरु आज पनि उत्तिकै सान्दर्भिक छन् । भलै आज उहाँ जसरी डटेर बोल्ने दुरदर्शी नेता, गरिब र उत्पिडित महिलाको आवाज बोक्ने कोही देखिन्न् । आज रुपचन्द्रको बारेमा ठूलै बहस हुँदै होला, ठूलै खानपान, खर्च र उहाँको सालिकमा रातो अबिर र झण्डा ओढाइदै होला । सदियौंदेखि नै बसेको परम्परा मरेपछि मात्रै सम्मान गर्ने नियतीले आज पनि निरन्तरता पाउँदै होला । क्रान्तिमा नजन्मिएको वीरको के अर्थ, त्यस्तै शान्तिमा नजन्मिएको बुद्धको के महत्व ? युग परिवर्तन गर्ने समयमा जन्मिएर पनि जीवनभर खुट्टा तान्नेहरुबाट बच्दै बच्दै रुपचन्द्रले तमाम गरिब, छाप्रे, महिला, उत्पिडित नेपालीका लागि जे गरे त्यो आजका नेतृत्वकर्ताहरुको जीवनको एक अंशसँग तुलना गर्न पनि अमिल्दो रहेछ । रुपचन्द्र युगले नचिनेका अग्रगामी नेता थिए । आजैका दिनमा जन्मिएका रुपचन्द्र सबै मकवानपुरे, नेपाली जनताका क्रान्तिका योद्धा थिए । उनका विचारहरु सँधै संस्मरणीय रहनेछन् । अस्तु ।
– संप्रस पौडेल ‘दिवस’
(प्रतिक्रियाका लागि sampraspaudel2000@yahoo.com) published in : Sambridha Samaj Dialy, Paush 26, 2068 Tuesday

च्वास्स २