Tuesday, March 19, 2013

कार्टुन

रङ र कुची मलाई साह्रै मन पर्छन् । ललितकला क्याम्पसमा भर्ना हुन नसकेपछि पनि मलाई चित्र र रङहरुले सँधै ललायीत बनाइरहेछन् । 
पहिलो पटक मकवानपुर बहुमुखि क्याम्पस‚ हेटौंडाका पत्रकारिता समूहका विद्यार्थीहरुले प्रकाशन गर्ने मकवानपुर दर्पणमा मेरो कार्टुन छापिएको थियो । सो कार्टुन पत्रिकालाई दिँदा तत्कालिन राजा ज्ञानेन्द्र शाहले असोज १९ को शाही घोषणा गरी देशभरका पत्रपत्रिका बन्द गरिदिए । यसरी कार्टुन दिएको ठीक १ वर्षपछि सन्दर्भ विशेष भै सो कार्टुन छापिने मौका पायो । तापनि मलाई तत्कालिन जुनकिरी मासिक पत्रिका (पश्चिम मकवानपुरबाट प्रकाशित) ले कार्टुनिष्टको रुपमा चिनाएको हो । शिवकुमार काशी‚ गोविन्द पौडेल "एसिड" तथा रामकुमार एलन दाइहरुका सहयोग बिर्सनयोग्य छैन नै ।

Friday, March 15, 2013

गजल !


-संप्रस पौडेल 'दिवस'
भत्काउनेलाई रोजी रोजी घर नदेउ आमा
सताउनेलाई खोजी खोजी भर नदेउ आमा ।

समस्याले तड्पिदामा व्याज बढाएर
कानून देखाई लुट्नेलाई कर नदेउ आमा ।

तिम्रो झुप्रो जलाउनेलाई खर नदेउ आमा
पानी पनि बार्नेहरुलाई तर नदेउ आमा ।

बूजी आयोगुजी आयो नजाउ नानी भन्दै
जोगाउन अँध्यारोमा डर नदेउ आमा ।

ढुंगा पकाइ खिचडीको बास्ना छर्नेहरुलाई
तिम्रा हातले पकाएको दर नदेउ आमा ।
२०६९ फागुन २
(रहर छज्ञान छैन गजलको
हुने हो कि हर शेर पजलको)

Thursday, March 14, 2013

भ्यागुतालाई स्टकोट


संप्रस पौडेल दिवस
अँधेरीलाई च्यापी राख्ने कुना भए नेता
थाल छोडी टपरी र दुना भए नेता ।

कति राम्रो सम्बन्ध घोडा र मालिकको
कट्टु भए कार्यकर्ता तुना भए नेता ।
(…) (…)
फुस्केला पद लाज होला भनुँ भने पनि
हाडै देखाई नाङ्गिने दश गुना भए नेता ।
मनहरीको माछा खाने साथीहरुको रहर पूरा भएपछि राप्ती खोला तर्दै प्रतापपुर, रमौली हुँदै चुरेलाई छिचोलेर हाँडिखोलाको डिल्लिपुर, बसन्तपुर, दर्दराको फायर लाइन बाटो हुँदै फर्कँदा श्याम भाइले आफ्नो नेता महात्म्यको गजलका तीन शेर सुनाउनु भयो । गन्तव्यविहिन यात्रालाई केवल यात्राकै रुप दिने र साँझ हेटौंडा फर्कने विचार गर्दै केही गजलकार, व्यंग्यकार, कवि र पत्रकार साथीहरुको जमात थियौं । कवि मोहन दाईले भानुभक्तको मानमाथिको भुक्तमानको कविता सुनाउनु भयो, त्यस्तै पेम्बाले भीमबहादुर लामाको गीत सुनाए, “आलु र तामा हजुर खान्न भन्छिन् आमा...बोलको । प्रतिष्ठित स्वरका धनी गायक थला परेको कुराले सबै जनाको मन एकछिनसम्म अमिलो भयो ।

दुई सय पचास एम एलको जिन्दगी

पँधेरोको कलकल पानी छोडेर
मिनरल वाटर किनी खाने यो जिन्दगी,
धान, मकै, गहुँ खाएको लोकल कुखुरा बेचेर
एन्टिबायोटिकले फुलाएको ब्रोइलरको रोष्ट खाने,
गाइको दुध बेची बेची
बेलुकी लुसुक्क भट्टी जाने,
सुटुक्क रक्सी धोक्ने यो जिन्दगी,
सम्झन पनि नभई नहुने,
बिर्सन झनै चाहिने,
घरको कोदो बेचेर होस् कि
कुखुरीको चल्लादेखि कुकुरको छाउरासम्म
किन नबेचुँ,
बाको स्टकोटको खल्ती काटेर होस् कि,
आमाको थैली फोएर होस् वा
ट्याङ्काको पिँध प्वाल पारेर,
मैयाँ साहेबको चिठी ओसारेर नपुगेर
बाबु साहेबको बिँडी बटारेर
किन नहोस् ।
पिउने बानी लागेपछि,
अजिङ्गरको आहारा दैवले जुराउँदो रहेछ ।
त्यही आहारा खाने मुखहरु
कसैले आफ्नो वजन तौलेर भन्ला
आफू त एक क्विन्टलको जिन्दगी,
वा आफू त पचासी किलोको जिन्दगी,
तर
हरेक साँझ मलाई लाग्दछ,
यो जिन्दगी
सिर्फ दुई सय पचास एम एलको जिन्दगी ।
२०६८।८।५
पुनरावेदन अदालत हेटौंडा
(www.khasskhass.com मा पोष्ट भएको)

सिद्धार्थ परिवारसंग भारत भ्रमण !


 -संप्रस पौडेल

हेटौंडाकै प्रतिष्ठित विद्यालय श्री सिद्धार्थ उच्च माध्यमिक विद्यालयका शिक्षक साथीहरुको ३७ जनाको टोलीका साथ एकहप्ते भारत भ्रमणको योजना बनेपछि सबैमा छुट्टै उमङ्ग थियो । २०६९ साल कार्तिक महिनाको ३० गते भाइटिका लगाई रमाइलोसंग बितायौं । भोलिपल्ट अर्थात् मङसिर १ गते बिहानै ५ बजे नै विद्यालय व्यवस्थापन अध्यक्ष गुणराज घिमिरेसदस्यहरु उच्च मा.वि. का प्राचार्य मोहन शर्मा लगायतका शिक्षक शिक्षिकाउनीहरुका परिवारका केही सदस्यहरुकासाथ हेटौंडाबाट वीरगञ्ज हुँदै रक्सौल प्रस्थान गरियो ।

नाक काट्ने धुनमा


धेरै पत्याउँदा कहिलेकाँही आफ्नैले पनि धोका दिन्छन् । वैदेशिक रोजगारमा हिँडेका माइला दाईले श्रीमतीलाई धेरै पत्याएकैले सिरिखुरी उनकै नाउँमा पास गरेर गएछन् । विदेशमा कमाएका धनसम्पत्ति पनि रेडियो, टि.भि. र पत्रिकामा विज्ञापनलाई पत्याएर आएमई, हिमाल रेमिट इत्यादि हुँदै उनकै नाउँमा पठाएछन् । फर्केर आउँदा न रह्यो सम्पत्ति न बसिन् श्रीमती । विदेश गएर धनको बर्षा गराउँने र नयाँ घर बनाई गमलामा मनीप्लान्ट रोपेर गलामा हिराको हार लाउने धोको पु¥याउँन सबै सम्पत्ति बेचेर लोग्नेलाई पत्याउँदा पत्याउँदै अर्कैसंग पेपर म्यारिज गरी विदेशिएका लोग्ने उतै घरजम गर्न लागेपछि पहिलो श्रीमतीको कन्तविजोग हाम्रै गाउँघरका ज्वलन्त उदाहरण हुन् । अझ एकमुष्टमा हाम्रा प्यारा अवसरवादी नेताहरुलाई पत्याइदिएरै शताब्दीदेखिको हाम्रै शासन पद्दतिको मुख ढाक्नु न लाज ढाक्नु हविगत भैरहेछ । त्यसैले त रुपचन्द्रले भनेको हुनुपर्छ “.....पत्याउने जति बिग्रे” ।
उबेलामा राणा शासन ढलेपछि देशले विकासको फड्को मार्छ, जनताको उन्नति हुन्छ भन्दै कांग्रेसहरुले राजनीति नजानेका मेरा हजुरबाहरुलाई हुक्काको लतबाट राजनीतिक लतमा पु¥याए । पञ्चेहरुले उनै कांग्रेसी हजुरबाहरुलाई हातमा लिएर गाउँभरिकालाई “हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ” भन्न लगाए । प्राणभन्दा प्यारो मानिएका राजाको आधा विरोध बाँकी समर्थन (दोहोरी) गर्दै मेरा बालाई एमालेहरुले “बहुदल आए त देशले काँचुली फेर्छ” भन्दिए । बहुदल पनि आयो, बहुदल मात्रै हैन यसको संख्याले शतक नै पार ग¥यो । देशको काँचुली फेर्ने क्रममा पूरानो काँचुली बदलेर नांगै बनाइदिए । गणतन्त्रमा बहुदल पाएका र नपाएका सबै मिलेर राष्ट्रगौरवको शिर सगरमाथामाथि टेकेर नेपालीको मान प्रतिष्ठामा पिसाब गरे । त्यही पिसाबको न्यानोमा रमाइरहेकाहरु 'झिंगाले आहा कत्ति सफा खानेकुरो भन्दै फोहरमा जिन्दगी बिताएझै' आफ्नो सात पुस्ता त्यही बिताउन पाउँ भन्दै कामना गर्दैछन् ।

पुच्छर प्रचलन र हाम्रो बानरपन


शंकर लामिछानेको ‘एब्स्ट्र्याक्ट चिन्तन प्याज’ पढेका, आफूलाई निकै विद्वान ठान्दै कनीकुथी बोक्रा गुथेर खान्कीविनाको बान्कीमा ढाल्न प्रयत्नरत मेरा गाउँले साहित्यकारले आफ्नो नामको पछाडि पुच्छर झुण्ड्याएछन्, संविधान सभाको चुनाउपछिका नेतालाई 'असफल' भनी पुच्छर झुण्ड्याएझैं । आजकल नाममा होस् कि काममा, ठाममा होस् कि कुठाममा पुच्छर झुण्ड्याउने प्रचलन बढेको छ ।

चुनाउको डाम


“दशैंले डामेको एक महिना नबित्दै तिहारको अगुल्टो थाप्नुपर्‍यो, अझ चुनाउको चाड पनि आउँदैछ रे” भन्दै कर्किनी बज्यै कर्किइन् । महंगीले “बज्यै” भनी बोलाउला भनी त्यसै त्यसै झर्किइन् । सरकारी राहतको समाचार र व्यापारीको आहतको अत्याचारले अचारभन्दा अमिलो मन पारी थैली फुकाउन लागेकी कर्किनी बज्यैलाई दशैंतिहारको ऋणको व्याज तिर्न पो ज्यादा चिन्ता थियो । तिहारमा मरमसालाको जोहो, माइतसम्म जान लाग्ने भाडा र फर्किँदा दाजुभाइको दक्षिणामा थप्नुपर्ने पैसाको जोहो गर्न पनि उनलाई हम्मे हम्मे भयो रे । “हाम्रा बाजे गरिब भए पैसैविनाले” भन्दै आहान सुनाउने उनी जस्ता मेरा गावैभरी तितरवितर भई रन्थनिएका छन् । “एउटाले ऋण खोजेर धेरै व्याज खाने आशले आसामी लगाएको लगानी नउठेपछि मेटासिट किन्न गएको उतै बेपत्ता भयो” भन्दै ‘एफएम टावर’ उपनाम राखिएकी सुबेदार्नी बज्यैबाट पधेँरामा समाचार वाचन भैरहेको थियो । उता आलु बेचेर गाउँमा आँगन ढलान गरेका आलु साह, अदुवा बेचेर कुखुरा पालन गरेका कुखुरा अधिकारीदेखि बोर्डिङ्ग खोलेर स्वाहा भएका बिडारीसम्मलाई चाडबाडको महंगीले चुर्लुम्म डुबाएको थियो । नाम मात्रका पाँडे काजीदेखि ट्विँके दर्जीसम्म र गाउँले हतियारका डिजाइनर बिश्वकर्मा काकादेखि मागेरै ठुटे चुरोटले जिन्दगी गुजार्ने हुक्के हजुर्बासम्मलाई चाडबाडको महंगीको लंगौटी बिक्ने भए बेचुँ कि राखुँ भएको थियो । सानातिना ज्ञान लिन बुद्ध जस्तो रुखमुनी बास र योगी जस्तो भिखको आश गर्नु पर्दैन भन्ने भनाई मेरा गाउँलेहरुबाटै सिक्न सकिन्छ ।
बिगतको चुनाउँलाई बिर्सँदै दैलाको ठेलामा घामको भूmल्को नपुग्दै मेला जानुपर्ने हुँदा राजनीतिक गफमा कसैलाई चासो हुन छोडेको थियो । खेताला जाँदा बचाएको दुई मुठी भटमासले बेलुकाको तरकारीको गर्जो टार्नुपर्ने हुनाले देशको तिर्तियांश वा पूर्ण बजेटको कसैलाई हेक्कै थिएन । कुखुरा बासेपछि उज्यालो हुने र झ्याउँकिरी गुञ्जिएपछि साँझ पर्ने कुरो बाहेक पृथ्वी घुमेर दिनरात हुने गरेको कुरो कसैलाई सुनाउँनै हुन्थेन । नेताहरु गाउँ पसेपछि चुनाउको नाटक मञ्चन हुन लागेछ भनी चउर र दोबाटो, चौबाटोहरुमा गाउँलेहरु थुप्रिन्थे । भाषणै सुन्न त किन जान्थे र ? बरु आफूले टेलिभिजनमा देखेका अनुहार साँच्चै चैं कस्ता हुने रहेछन् भनी हेर्न र भरे टेलिभिजनमा भिडिओ आउला कि भनी नेताको वरिपरि झुम्मिन्थे । नेताहरु पनि चिनेभैंm घरघरमा नमस्कारको काउसो बोकेर आउँथे । तैपनि मेरा सोझा गाउँलेहरु साँढे पालेर दुध खोजे जस्तो भोट हालेर विकास खोज्दथे ।
टेलिभिजन हेर्दा दुई चार थान नयाँ कम्युनिष्ट नेताहरुले दशैंमा टिका नलगाएकामा पण्डित काका रिसले रन्थनिएका थिए । ब्लड प्रेसर हुनेले आवेशमा आउनु हुन्न भनी डाक्टरले भनेका भनाईमा काका ओठ लेप्य्राउँदै टाउको हल्लाउँथे । बगरेले मासु खुर्किएर हड्डी मात्रै बाँकी राखे जस्तो नेपालका डाक्टरले बगली र सम्पत्ति खुर्किएर गरिब हुन पुगेकाले गाउलेहरु बाध्यताले आज पनि धामीझाँक्रीलाई सस्ता र सुलभ डाक्टर मानिरहेका छन् ।
देउसी भैलीलाई दियोमा बत्ति बालेर नाङ्लामा धान चामल, टपरीमा सेल रोटी सजिएका दिनहरु नेताका तालु जस्तै खुइलिसकेछन् । देउसी भैली आउनु एक हप्तापूर्व नै हजार हजारको लमतन्ने बाह्रहाते चिठी र भाग्यमानीलाई कहिल्यै नपर्ने भाग्योदय चिठ्ठाहरुले गाउँ तिहार अघि नै कंगाल बनाउन थालेको रहेछ । सरकार पनि कंगालको कंकाल सर्लाकी भनी अंगाल्न डराउँदो रहेछ भन्ने कुरा थाहा नपाएर पनि भावी पिँढीले भोट हाल्न सिकुन् भन्दै गाउँलेहरु भोट हाल्दाहाल्दै मर्दा रहेछन् ।
दशैं तिहारमा जुवा तासले गाँस न बास भएका र साहुको ऋणले उठिबास भएकाहरु धेरै भएपछि सरकारका गरिबी परिचयपत्र मेरै गाउँमा एक खाङ्ग्रे बाँड्नुपर्ला कि भन्ने लागेको छ । प्रजातन्त्रले तन्त्रेको, बहुदलले बहुलाएको, लोकतन्त्रले लुछेको र गणतन्त्रले गुण्डागर्दी बढाएको वास्तविकता बताउँदा गाउँलेहरु चुनाउमा उठ्नोस् भोट तपाइलाई दिम्छम् भन्न थालेका छन् । “उठ बाओ उठ, गाउँलेहरुलाई नेतालाई भोट हालेदेखिम् एक से आठ गाई दान गरे सरह धर्म हुन्छ भन्नुपर्छ अझै भोट हाल्चन् बाओ“ भन्दै जुठे काका कोरा सर्टिफिकेटी बेरोजगार म आपैंmलाई चुनाउमा उठ्नलाई कर गर्दै लेघ्रो तान्दैछन् । संविधान सभाको भोट हालेर राजनीतिको जुठो लाइयो, खै चुनाउमा उठ्न्या हुन् कि राजनीतिबाटै चुठ्न्याहुम् ? बिलखबन्दमा छुु । हारेर पनि पद पाइयो भने त ठीकै भो नत्र न चुनाउको चौपाटे मुण्डन र पञ्चखत डाम देखाएर गाउँशहर गर्नु पन्र्या बेलाँ केरी मुख देखार हिँड्नु खै । अस्तु । (रामकुमार दाइको रामवाणका लागि प्रेषित) २०६९ पौष

Tuesday, March 5, 2013

बडामहाराजसँग बिन्ति


“जुन नेताले चुनाउ जितेपछि खाने, लाउने र बस्ने ठेक्का सुनिश्चित गर्न सक्दैन, त्यसलाई अर्को पटक भोट माग्ने अधिकार पनि हुँदैन ।” नेपाल नेपाल भन्दा भन्दै सुतेकै ठाउँमा परमधाम हुनेहरु जनगणनामा मृत्युको तथ्याङ्क बढाउँदैछन् । पैतालिस डिग्रीमा परिश्रमको पसिना झार्दै युवाहरु खाडी मुलुकका ताता हावामा कावा खाइरहेछन् । सग्ला साँहिली भाउजुहरु “काम गरेको बर्ष दिनको तलब माग्दा मालिकले यौन दुराचार गर्दै छतबाट फालिदियो” भन्दै मानसिक सन्तुलन समेत गुमाई त्रिभुवन विमानस्थल ओर्लिएका छन् । छोराछोरीको पेट भर्न नसकी धिक्कार ठान्दै बाबुहरु स–परिवारै नहरमा डुबिरहेका छन् । लेकमा यार्सागुम्बाको निहुँमा काटाकाट भएको मिडियालाई अत्तो छैन, राजनैतिक विचार र आस्था फरक हुँदा संगै सुतेका श्रीमानको गर्धन छिनिँदा स्वास्नीलाई पत्तो छैन । देशमा व्याप्त झलनाथ गन्धर्वहरु झ्याउँकिरी झैं कराइरहेछन् । झ्याउँकिरीको संगितमा रमाउने अनि झुसिल किरा र जुनकिरीको उज्यालोमा बाटो हिँड्नेहरुले भेउ पाउने कहिले हो ? विदेशका प्रवक्ता बाबुराम र शुशिलहरु यतिखेर मिडियाक्लबमा अन्तरवार्ता गरिरहेछन् । मोहन वैद्यहरु अंशबण्डाको किचलोमै व्यस्त छन् । प्रचण्डहरु घरधन्दामै मस्त छन् । हिसिलाहरु कमिशनको खेलमा शकुनी भैरहेको सुन्छु । कानून छैन महाराज, नून विदेशीले सहुलियतमा दिएको छ । माड लाग्न पनि विदेशीको आड चाहिएको छ महाराज । मूलमा परेका भिनएका तपाइकै दरसन्तान श्री ५ लाई पन्छाएपछि सप्पै सप्पै श्री ३ हुने दाउमा छन् । शान्ती बेपत्ता छ‚ न्याय हराएको छ महाराज । मरेको डायनोसोरको भयमा अत्तालिरहेकाहरु झैं ज्ञानेन्द्रको हाउगुजीको सन्त्रास देखाएर कमल थापाहरु अतिवादी हिन्दु भैरहेछन् यतिखेर । यहाँ कोही चाबी अन्तै पठाएर सनुस कुरेर बसेका छन् । न झपक्क निदाउँन पाइएको छ, न भेटिएको कपक्क खान मिलेको छ । राष्ट्रनिर्माताले भनेझैं यो दुई ढुंगाको तरुल हो भने ढुंगाहरुले सीमा मिच्दैछन् महाराज, तरुलको जंगे पिल्लर भत्काइएर सीमाना घट्दो छ । आजकल ढुंगाको आयतन र क्षेत्रफल बढ्दो छ, तरुलको झुसे बिजो बाँकी छौं हामी । तँ, तिमी, तपाइ सप्पै सप्पै ..... महाराज, तपाइका भूतपूर्व अवशानित शालिकहरु पनि ।
(राजा महाराजा, राणा तथा अन्य जोसुकैका ऐतिहासिक शालिक ढाल्दै पूरानो संरचना भत्काउने र नयाँ पनि नबनाउँने हुल्याहा भिजिलान्तेहरुका लागि) २०६९ पौष

च्वास्स २