Wednesday, January 28, 2015

चाहिएको पहिचान कि परिचय पत्र ?

-संप्रस पौडेल 'दिवस'
साराका सारा पहिचान खोज्ने धुनमा छन् । धर्म–सनातन वा परिवर्तित (किनेको वा बेचेको), सँस्कृति– आयातित वा निर्यातित, जात– मूलवासी वा अन्य, भाषा– मातृभाषा वा आर्जित, झण्डा– राष्ट्रको वा दलको, राष्ट्रियता– संघको कि सिंगो देशको, भूगोल–मधेशको वा पहाडको, बसाइ– पिछडिएको वा सुगम..... इत्यादिको पहिचान चाहिएको छ । भनौं परिचयपत्र चाहिएको छ ।
आधुनिक नेपालको अढाई सय वर्षको सुस्पष्ट इतिहास नभएको अवस्थामा हामी जातजाति, उपजातिको चिन्तनमननमा तल्लिन छौं । मगर जातिको इतिहास हँगेरीका ‘मग्यार’ सँग माग्दै छौं । जिरीबासी मगरलाई जिरेल र सिन्धुपाल्चोकबासी तामाङलाई ह्योल्म्यो बनाइयो भन्दै जनजातिको राजनीति टुस्याएर रोपिसकेका छौं । वनमा जीविका गर्ने चेपाङलाई समाजमा ल्याएर वनकरिया भनी दिएका छौं । पहिचानको बिल्ला भिराएर असामाजिक कृयाकलाप धानेका राउटेलाई भत्ता दिएर वनमै छोडेका छौं । तिनका नाउँमा बनेका थेसिस र डकुमेन्टरी विदेश पठाएर डलर कमाउँने बाटो पहिल्याउँदै छौं ।
अब कर्णालीका क्षेत्रीलाई खसको दर्जा दिँदा आदिवासीको सूचीमा चढाइदिने जस खोजिरहेका छन् कोही । लिम्बुसहित सबैको परिचय भएको गाउँ लिम्बुवान भई अन्यको पहिचान विलिन गरिरहेका छौं । तामाङ बाहेक अन्यको परिचय गुगललाई जिम्मा लगाएर ताम्सालिङ नाउँमा मिडिया हाँकिरहेका छौं । मधेश आन्दोलनका नाउँमा पहाडिया खेद्ने राजनीति कसले सिकायो ? अष्ट्रेलियामा जस्तो आदिवासी समुदाय नै नष्ट गरिएको थिएन, पहिचान सबैको एक थियो हामीकहाँ । अब हामीलाई हरेकको छुट्टाछुट्टै पहिचान चाहिएको छ, उही पहिचानको परिचयपत्र चाहिएको छ । परिचयपत्रमा सीमित हुन चाहन्छौं हामी ।
नेता र नेतृत्व, आस्था र अस्तित्व टुक्रिएर छिया छिया परेको छ । अदुवा खानेलाई त्यागेर मुला खानेलाई सभामा प्रवेश गराएका छौं । भोटका लागि लाखौंलाई आँखा चिम्लेर नागरिकता बाँडेका छौं । पशुपतिमा विदेशी नै भए पनि भट्ट ब्राह्मण, मनकामनामा मगर, गढिमाईमा थारु, हलेसीमा राई,
यतिखेर हग्नेले भन्दा पाद्नेले देश हाँकेको छ । त्यही हँकाई हामीलाई प्रिय पनि छ । यसैले हामीलाई देशकोभन्दा संघको ज्यादा चासो छ, संघको भन्दा नेताको ज्यादा चर्चा छ, हामीजति पनि विवेक र बुद्धि नभएका हामीमध्येकै छनौटालाई नेतृत्व दिएर आफ्नो पहिचानको खोजीमा छौं । हामी एक एक राष्ट्रियता भूलेर परिचयपत्रमा सीमित हुन चाहेका छौं ।
यतिखेर विदेशीले हाम्रै मथिङ्गलमा बिष्ट्याएका छन्, हामी आपूm गन्हाएर चन्दनको व्यापार गरिरहेका छौं । हाम्रो राष्ट्रियता घटेको हो कि, घटाइएको हो हामीमा विवेक कसले भरिदिने हा ? अब देशको पहिचान खोज्ने बेलामा नारा लगाइरहेछौं, ‘ए फलानो तिम्ले दिएर हुने भए हाम्रो पहिचान खै ?’
विदेशी दाताको लगानी भित्र्याउँन धर्म परिवर्तनको नदेखिँदो बाढीलाई आफैंमाथि बगाएका छौं । बसेको पिर्का पनि बाँकल वा चुरोको भन्नेमा विवाद गर्न लागेका छौं । दुई लोभी बिराला दाजुभाईको रोटीको भागबण्डामा बाँदरको रजाईँ पनि हामीलाई हाम्रै पहिचान पो लाग्न थालेको छ । पहिचान शुरुदेखि गर्ने वा अन्त्यदेखि ? इतिहासबाट गर्ने वा विज्ञानबाट ? पहिचानको निर्धारण भूगोलले गर्ने वा आस्थाले गर्ने ? शिक्षाले गर्ने वा विवेकले ? कुनै न कुनै निहुँ झिकेर पहिचान सबैलाई चाहिएको छ राष्ट्रियता मिचेर वा त्यागेर, अंगालेर वा आकार फेरेर ।

च्वास्स २