Friday, May 15, 2015

लघुकथाः कानून




संप्रस पौडेल
कानून र व्यवहारिक घटनालाई केलाउँन मज्जा आउँथ्यो । व्यवहारिक समस्यालाई प्राकृतिक कानूनले निदान गराउँथ्यौँ । प्रथा परम्परा र सँस्कृतिलाई पनि ख्याल गर्नुपर्छ भन्थ्यौँ । कुप्रथा र कुसँस्कारका विरुद्ध समाजमा चेतना दिलाउन नसकी अन्जानमा भएका सानातिना गल्तीले पीडक र पीडितले अदालत धाउँदा धाउँदै मर्नु नपरोस् भन्थ्यौँ ।
हामी कानून पढ्थ्यौँ, कानूनकै हरफहरुलाई दशैंमा अघोषित रुपमा बढेको गाडी भाडाका कुरामा सवाल जवाफ गर्थ्यौँ । मास्टरहरुले साना साना लालाबालालाई कान समातेर चुईचुईँ उठबस गराएकामा कानूनका दफाका बहस गर्थ्यौँ । किसानले  सुई लगाएर काँक्रो बढाएकोमा उसलाई चेतना दिनुपर्छ भन्थ्यौँ । अवैध विषादी बेच्नेलाई कारबाही हुनुपर्छ भन्थ्यौँ । कानून पढेकैले व्याजप्रसादहरुसँग मुखामुख गर्न सक्ने भयौँ ।
कानूनले अवैध भनेको काम कसरी वैध हुन्छ ? पढेका र जानेकाहरु पनि हुन्छ भनेसि हुन्छ भनिदिन्थे । फागु पूर्णीमामा रमाइलो गर्ने नाउँमा उछिल्लिएकाहरु गल्ली गल्लीमा विदेशी केटिहरुका छातिमा हात पुर्‍याउँथेँ । बेचेर दशैं मनाउँला भनी फलाएका काँक्रा, कागति, फलफूल तरकारीहरु तिजको चौथीका दिनमा चोरेर खाइदिन्थे । सोमलाल बिहानै दशैंलाई  जग्गा धितो राखी सयकडा १० को व्याज तिरी ऋण पाउँन अनुरोधका लागि मुखियाँकहाँ पुग्थ्यो । चौथीमा दलिनै अगाडि प्लास्टिकमा पोको पारेर राखिदिन्थे मानव मलमूत्र । "रमाइलो गर्ने पनि हद हुन्छ नि, अरुलाई दुख दिएर के रमाइलो गर्नु ?" यस्तै भन्दै मुखिनी बज्यै सरसफाई गर्थिन् ।
रोजगारीका लागि शहर छिरेपछि हाम्रो कानूनको पढाई बेकामे जस्तै भएको छ । साथीहरु कोही गाउँमै चक्रीय खेतीमा लागेका छन् । कोही खाजाघर चलाउँछन् । कानून पढेको कोही सामाजिक विषय पढाउँदैछन् । कोही प्रोजेक्टमा जागिरे छन् ।
शहरमा कतिपय पेशा देखादेखी अवैध देखिन्छन् । खाना खाने होटलमा १२ बर्षे केटो भाँडा माझ्दैछ । संविधानमा प्रदत्त बालबालिका सम्बन्धी मौलिक हकका धाराले उसलाई रोजगारी दिलाउँदैन बरु खोस्छ । सडक विभागले सडक पिच गर्ने जिम्मा दिएकामा काम गर्ने केटो आफ्नो उमेर १५ वर्ष बताउँछ । फुटपाथमा दुई हात फैलाएर हिड्ने बालबालिकालाई वैध माग्ने बनाउँन गाविसले सिफारिस दिएर माग्न पठाउँछ ।
रेडलाइटको मागको कुरा चर्काचर्की सुनिन्छन् बजारमा । गृहमन्त्री फेरिनासाथ संसद अवरुद्ध भए जसरी अवरुद्ध हुन्छन् रात्री जीवनहरु । विभिन्न सम्झौतापछि चल्छन् । चलिरहेका छन् । कानून बेश्यावृत्तिलाई अवैध भन्छ । पत्रकारहरु वैध बनाउँछन् र भन्छन् केही समयका लागि आफ्ना ज्यान र पैसा साट्ने यस्ता हर्कतलाई 'यौन व्यवसाय'
आज पनि बार, अदालत, सरकारी कार्यालयहरुमा टाँसिएका नागरिक बडापत्रको बोर्ड र भित्ताहरुमा हामी कानून पढिरहेका छौं । लेखे जस्तो भैदिए.... भन्दै कल्पना गरिरहेका छौं । कानुन पढ्ने विषय हो कि व्यवहारमा लाद्ने विषय हो अझैसम्म अनभिज्ञ छु ।

च्वास्स २