संप्रस पौडेल
कात्रो भन्नाले "मनुस्यले होस हराएर संसार त्याग्दा अन्तिममा पहिर्याइदिने लासपोस भन्ने जनाउँछ ।" हुन त घाट अनि कात्रो हेरेर कसैलाई मरूँ मरूँ पनि लाग्दो हो । समयअनुसार मान्छेले जे बढी रुचाउँछ उसैको बेपार हुने नौलो परम्परा पनि होइन ।
कात्रेप्रसाद अहिलेका चर्चित व्यक्ती हुन् । पेशाले कात्रो बेच्छन् । बुढाबुढी भएको घरमा पुगेर केही न केही त छोडेर जानैपर्छ भन्दै कात्रो बेच्छन् यिनी । बुढाबुढी पनि होमा हो लगाएर किनिदिन्छन् चार भाग बढी मूल्य तिरेर । तिर्थयात्रामा जाँदा पनि कात्रो किनाउन लिएर जान्छन् उनी । कात्रो बेचेर लाद्रो भर्ने हुनाले होला उनलाई कात्रोको बेपारले लाद्रोको ठेकेदार बनाएको प्रष्ट हुन्छ । जाडो महिना लागेपछि लेक छिर्छन् त गर्मी लागेपछि बेसी झर्छन् । लेकमा पुग्दा बुढाबुढी माघलाई भन्दै आफ्नो बेपार जमाउँछन् त बेसी झरेपछि दुईखुट्टे, चारखुट्टे, छखुट्टे अनेकबाट रोगको प्रकोप बढेको भन्दै अपारको बेपार गर्छन् । आज मरे भोली दुई दिन भन्दै भोलीपल्ट कात्रो के काम भन्ने उनी सरकारको स्वास्थ्य वीमा कार्यक्रमविपरित हरेक घरपरिवारका लागि एक एक सेट कात्रो लिन लगाउँछन् ।
मिठाइ व्यापारबाट मालामाल भई नाम, दाम र कामको चौतर्फी चर्चाको चुलीमा पुगेका व्यक्ती हुन् चित्रप्रसाद चम्लागाईँ । उनको कात्रोको बेपारले अपार हुँन थालेपछि नै उनलाई धेरैले कात्रेप्रसाद नामले पुकार्न थालेका हुन् । अब त चोकको नाम पनि कात्रो चोक, बाटाको नाम कात्रो मार्ग, भवनको नाम कात्रो भवन हुन थालिसक्यो ।
कलियुगका कुबेर कम्ती कसरत गरेका छैनन् उनले । अस्पतालको लाश अड्डामा पुगेर होस् कि खोलाछेउको शव दाहस्थलमा पुगेर होस् अरुले किनेका त नक्कली कात्रो परेछ अनी आफ्नोचाहिँ पात्रो हेरेर किनेको कात्रो भन्न भ्याउँछन् । यिनलाई सेवामुखि काम गरेको भनेर कसैले सम्मान गर्यो भने पनि खादा र दोसल्लाको सट्टामा कात्रो नै माग्दाहुन् भनेर टोलमा चर्चा हुने गरेको छ । तर पनि कसैले यिनलाई कात्रोमा खल्ती सिलाउन नलगाएकामा चित्त दुखाएका भने छैनन् ।
कात्रोमा खल्ती राख्ने चलन किन नचलेको होला ? खल्ती हुँदो हो त जीवनभरका नैतिक, अनैतिक जुन रीतले समाएको वा कमाएको धनमाल बोकेर लैजान सकिन्थ्यो कि ! यस्तो भए कात्रोमा बुट्टा हुन्थ्यो होला । महिलाका लागि बेग्लै, पुरुषका लागि बेग्लै कात्रो बन्थ्यो होला । धनीका कात्रो र गरीबका कात्रोमा भिन्नता हुन्थ्यो होला ।
कात्रो बन्ने कपडाबाट एक सय एक फेसनका कपडा सिलाउने चलन किन नआएको होला ? कात्रोको कोट हुँदो हो त पाइन्ट पनि हुँदो हो । पाइन्ट हुँदो हो त कात्रोकै जुत्ता पनि हुँदो हो । जुत्ता हुँदो हो त मोजा पनि कात्रोकै हुँदो हो । कात्रोमा खल्ती हुँदो हो त खल्तीमा हाल्ने रुमाल पनि कात्रोकै हुँदो हो । यस्तै कोटको भित्री हुँदो हो त बाहिरी पनि हुँदो हो । बाहिरी हुँदो हो त जगेडा पनि हुँदो हो । जगेडा भएपछि आफ्नो कमाई तगडा हुँदो हो । कमाई तगडा हुँदो हो त बखेडा पनि हुँदो हो । यसैले कात्रो सत्यको परिचायक पनि हो ।
कात्रोको सर्वत्र चर्चा भएपछि लेखकहरूले पनि कात्रोकै बारेमा लेख्दा हुन् । किताब पनि यस्ता यस्ता नामका छापिँदा हुन्- 'कात्रो परिचय', 'कात्रोको इतिहास', 'कात्रोमा सत्र वर्ष', 'कात्रोमा सात दिन', 'कात्रोतिर बरालिँदा', 'कात्रो हराएको मान्छे', 'कात्रोको अंश', 'कात्रोको कारोबार कसरी गर्ने', 'कात्रोकी स्वास्नी र म', 'कात्रोको खोज', 'कात्रोमा मोज', 'कात्रोः लाउने कसरी पाउने कसरी', 'कात्रोको बाबु आमा र छोरा', 'कात्रोको देशमा', 'कात्रोमा लास', 'कात्रोमा हार', 'कात्रो र बन्दुक', 'कात्रो काँडा कि फूल', 'कात्रो क्रान्ति र समाजवाद', 'कात्रोभारा', 'कात्रो लिपि', 'कात्रो शब्दकोष', 'कात्रो प्रणाली', 'कात्रोरिया' आदि ।
कात्रो व्यापारका लागि फूटपाथदेखि ठूला ठूला सपिङ मल खुल्दा हुन् । चोक चोकमा यस्ता पसल खुल्लान् 'बाजेको कात्रो पसल', 'सक्कली बाजेको कात्रो पसल', 'पूरानो बाजेको कात्रो पसल' । त्यहाँसम्म ठीकै मान्न सकिएला यस्ता पसल पनि खुल्लान्- 'हाम्रो कात्रो पसल', 'कात्रो एण्ड कात्रो ब्रदर्श', 'दिदीबहिनी कात्रो पसल', 'कात्रो सप्लायर्स', 'कात्रो एण्ड सन्स' । कात्रो बेपारीले साइनबोर्डमा लेख्दा हुन्- यहाँ आरामदायी कात्रो पाइन्छ । अर्कोले अझै आकर्षक बनाएर लेख्दो हो- हामीकहाँ जाडोमा न्यानो र गर्मीमा चिसो दिने कात्रो पाइन्छ ।
कात्रोको ठेकेदार, बेपारी आदि चुनावमा प्रतिनिधि भए भने चुनाव चिन्ह पनि कात्रो नै पाउलान् । नाराहरू बन्लान्- चार छाप कात्रोमा लगाउँ । कात्रो चिन्हमा आफ्नो अमूल्य मत प्रदान गरौं । चुनावअघि मासुभात, पेट्रोल छोडेर कात्रो वितरण कार्यक्रम तय होलान् । कात्रो लगाएर, कात्रोकै झण्डा बोकेर र्यालीको भिड चल्दा हुन् । आन्दोलन गर्दा पनि टायर छोडेर कात्रो बाल्दा हुन् । कात्रोलाई लिएर प्रतिनिधिले घोषणा पत्रमा लेख्दा हुन्- हामी मृतकहरूलाई निशुल्क कात्रो वितरण गर्दछौं । हामी हरेक युवालाई कात्रो बनाउने तालिम दिन्छौं । हामी कात्रो देखेर सात्तो जानेहरूको निधनमा निशुल्क कात्रोको व्यवस्था गर्नेछौं । हामी कात्रोमा भएको व्यापक मूल्यवृद्धि घटाउँछौं । अघिल्लो पटक पालिकामा रहँदा फलाना पार्टीले कात्रोमा लगाएको कर मिनाहा गर्नेछौं । कात्रो सबैको साझा अधिकार हो भन्नेमा हामी विश्वस्त छौं । कात्रोमा भोट हाल्नोस्, पूण्यकर्म थाल्नुहोस्, परलोक गमनको सुमार्ग चाल्नुहोस् भनेर चुनावी घोषणापत्र बन्थे होलान् । जति थुपारे पनि अन्त्येष्टीमा ओढेर परमधाम यात्राका ओढाउ कात्रोलाई चुनावचिन्हमा समावेश नगरेकोमा कात्रेप्रसाद खुबै गुनासो गर्छन् ।
जय सिस्नुपानी ।
(लेखक सिस्नुपानी मकवानपुरमा आबद्ध हुनुहुन्छ ।) २५ बैशाख २०७९
फित्कौली