Sunday, July 19, 2026

तिम्ले मिस कल गर्दा, भक्कानो सङ्गालिएको खाङ्ग्रे

 तिम्ले मिस कल गर्दा, भक्कानो सङ्गालिएको खाङ्ग्रे

यो गीतलाई केवल प्रेमगीतका रूपमा हेर्नु पर्याप्त हुँदैन। श्रवण मुकारुङले यहाँ नेपाली समाजको वैदेशिक रोजगारी, गरिबी, वर्गीय विभाजन, भौगोलिक दूरी, प्रेम, असुरक्षा, शङ्का, विस्थापन र पहिचानको पीडालाई अत्यन्त सरल भाषामा गहिरो प्रतीकमार्फत् व्यक्त गरेका छन्। आभास र मीना निरौलाको स्वर तथा सङ्गीतले यी भावहरूलाई अझ जीवन्त बनाएको छ।

 

तिम्ले मिसकल गर्दा पन्ध्र तलामाथि रङ लाउँदै थिएँ

तिम्रो फोन आउँदा बाघेभीरमाथि भारी लाउँदै थिएँ।

गीतको आरम्भमै दुईवटा दृश्य छन्।

पहिलो दृश्य- विदेशमा अग्ला भवनको १५ औँ तलामा झुण्डिएर रङ लगाइरहेको मजदुर।

दोस्रो दृश्य- गाउँमा बाघेभीरजस्तो डरलाग्दो भीरमा भारी बोकेर हिँडिरहेको युवती।

दुवै पात्र जोखिमपूर्ण श्रम गरिरहेका छन्। एकजना विदेशमा मृत्युको जोखिम बोकेर कमाइ गरिरहेको छ भने अर्की गाउँमा कठोर श्रम गरेर जीवन धानिरहेकी छ।

यहाँ प्रेमभन्दा ठूलो कुरा श्रमको समानता हो। दुवैले एकअर्काका लागि दुःख गरिरहेका छन्। उनीहरूलाई जोड्ने साधन केवल एउटा मोबाइल हो, त्यो पनि कहिले मिसकलमैँ सीमित हुन्छ त कहिले बिग्रिन्छ ।

 

झिकुँ भन्दा मोबाइल, रंगको भाँडा झर्‍यो

यस्तो आपत पर्‍यो, विदा पर सर्‍यो

 

विदेशमा मजदूरी गरिरहेको पुरूष पात्रले गोजीभित्र रिङ बजिरहेको मोबाइल उठाउन खोज्दा रङको भाँडा खस्छ। यसले देखाउँछ- प्रेम र पेटबिचको सङ्घर्ष । फोन उठाए जागिर जान सक्छ ।फोन नउठाए सम्बन्ध बिग्रन सक्छ । विदेशी मजदुरको जीवन यस्तै हुन्छ। प्रेम गर्ने समय हुँदैन। प्रेमसमेत कामको समय हेरेर गर्नुपर्ने बाध्यता हुन्छ ।

 

रङको भाँडा खसेपछि छुट्टी पनि सर्छ। यसमा सामान्य घटना मात्र छैन। गरिबको एउटा गल्तीले उसको छुट्टी, कमाइ, तलब, सबै प्रभावित हुन्छ।

धनीका लागि एउटा रङको बाल्टिन सामान्य होला।
तर मजदुरका लागि त्यो एउटा महिनाको दुःख हो।

 



बोकुँ भन्दा भारी, अल्झिगयो सारी

भारी खोलो पारी, म चैँ खोलो वारि

 

यो दृश्य घासपात, दाउरा, स्याउला अनि पत्कर सोहोर्ने एक महिलाको कथा हो । डाँडापाखा, खोल्सा र भीरपहरा चहारेर झिक्रा र ठुटाहरूले चिथोर्दै भारी बोकेर बेसीमा आइपुगेकी छिन् । खोला तर्ने बेलामा पानीले भिजेपछि गह्रौँ भएर सारी अल्झिन्छ ।

शब्दमा भनिएजस्तो केवल 'कपडा' अल्झिएको भने होइन बरू सारीलाई वस्तुका रूपमा देखाएर आफ्नो दैनन्दिन अनि अँध्यारो जीवन अल्झिएको दृश्य देखाइएको हो । एकातिर भारी, अर्कोतिर घर, भारी तारिदिने श्रीमान विदेशतिर छन् । ऊ पनि त संघर्षमा छ, यता उनी पनि संघर्षमै छिन् ।

 

कति मार्मिक प्रतीक ! भारी खोलापारी पुग्यो । तर ऊ आफैँ खोला वारि रोकिएकी छे । अर्थात्- जिम्मेवारी अघिअघि अनि आफू पछिपछि हुँदा ढाडस दिने मान्छेको अभावमा कतै लड्खडाउने त होइन ? उनी आफैँलाई प्रश्न गर्छिन्, परदेशीलाई दुखेसो गर्छिन् । यसलाई जीवनसँग जोडेर हेर्दा- विदेशबाट महिनापिच्छे कमाइ त आउँछ, घर बन्छ, घर चल्छ, खेतिपाती चल्छ तर परिवार सँगै बस्न भने पाउँदैन।यो प्राप्तिलाई हेर्दा आफ्नो बाध्यता खोलो वारी र आफ्नो रहर खोलो पारी पुगेको भन्न सकिन्छ ।

 

मन छ कि मर्नु, सदरमुकाम सर्नु

गीत त यहीँ समाप्त कहाँ हुन्छ र ? गीतले दिएको भाव यति फराकिलो छ कि यसलाई केवल शब्दको अर्थ र सलल बगेको गीतको सीमाभित्र मात्रै राख्नु अन्याय हुन जान्छ ।

विदेश पुगेको आफूले अति परिश्रमपछि मात्रै घरका सामान्य आवश्यकता पूरा गर्न सकिएको छ भनिएको छ । माथिका पहिलो हरफमा सदरमुकाम पुगेर तिमीहरूले सुखभोग त गरौला तर यसका लागि मैले अझै कडा मेहनत गर्नुपर्छ, अर्थात् सदरमुकाममा सुख भएता पनि सन्तोष हुँदैन, त्यहाँ खतराहरू पाइलापाइलामा भेटिन्छन्, दुखमा पो मेरी छौँ, सुख पाइसकेपछि तिमी मेरी नरहन पनि त सक्छौ भन्दै दिनदिनै मैले यस्तै शङ्का र डरका साथ मर्नु पर्नेछ भन्ने  भय व्यक्त गरेका छन् ।

यसमा अर्को तह पनि छ । गाउँबाट सदरमुकाम सर्नु भनेको केवल ठाउँ परिवर्तन होइन । त्यो वर्ग परिवर्तनको सपना हो ।विदेश गएको मान्छे किन विदेश जान्छ ? आफ्नो परिवारलाई गाउँबाट बजार पुर्‍याउन वा गाउँका अभाव कटाउन वा अझ भनौँ बजारलाई गाउँसम्म ल्याउन ।तर उसलाई डर लाग्छ-

यदि ऊ सदरमुकाम पुगिन् भने, उनको सोच पो बदलिन्छ कि ? सुखसुविधा देखेर, रूप र रङहरूमा भुलिएर उनको चाहना पो बदलिन्छ कि ? म विदेशमै पुरानो जीवन बाँचिरहन्छु, ऊ शहरमा नयाँ संसार देख्छे । त्यसपछि हाम्रो सम्बन्ध उस्तै रहन्छ ? जसको आडमा १० देश पर बाँचिरहेको उसको माया मर्ने त होइन ? त्यही डर हो- मन छ कि मर्नु।

दुख्यो होला गोडा, आफैँ मालिस गर्नु

यहाँ यस्तो भाव व्यक्त भएको छ- वनजङ्गल जाँदा, भिरपाखा पुगेर घाँसदाउरा गर्दा अनि खोला तर्नेक्रममा लड्दा गोडा दुखेको होला । तेल तताएर आफैँले मालिस गर्नु । म कामका लागि ७ समुद्र पारी छु, यस्तो बेला तेल लाउन अरूको सहायता लिँदै नलिनू । तेल लाउने बहानामा उसले अरू स्वार्थहरू पूरा गर्ला भन्दै माया मात्रै होइन, शङ्का समेत व्यक्त गरिएको छ ।

मालिस गर्नु भनेको सामान्य हेरचाह होइन । नेपाली गाउँमा शरीर दुखेपछि तेल लगाइदिने काम प्रायः पति, आमा, परिवारका सदस्यले गर्दछन् । यहाँ ऊ बडो निसास्सिएर भन्न खोज्छ- म छैन । त्यो अधिकार पनि म निभाउन सक्दिनँ । मेरो अनुपस्थितिमा अरूको सहारा नखोज्नु, तेल लाउने काम आफैँ गर्नु । यसमा प्रेमसँगै असहायता पनि छ । तर तेल लगाउने तिम्रा हातहरूमा मेरा हातहरू पनि सँगसँगै छन् भन्ने ढाडस पनि छ ।

 

छोडी आफ्नो घरगाम, जान्न सदरमुकाम

तिमी नभएको सहर मलाई के काम

 

यसको पहिलो हरफमा विद्रोह छ । जसका साथमा सुखभोग गर्न मन छ, ऊबिना पाइने सुखसुविधालाई बिर्सेर भन्छे- सदरमुकाम जान्न ।किनभने शहरले मान्छे बदल्छ गाउँमा सम्बन्ध बाँच्छ शहरमा सम्बन्धभन्दा सुविधा कम होला तर प्रेमको फराकिलो दायरामैँ अटाउँला । यसरी ऊ पर्खाइको व्यग्रतालाई एकछिन मुठ्ठीभित्र कैद गरेर पनि परदेशीलाई अर्को फोन नआउन्जेलसम्म मात्रै होइन, परदेश बसाइसम्म ढुक्क हुन आग्रह गर्छे ।

 

दोस्रो हरफले पहिलोलाई पुष्टी गरेको छ । पहिलो प्रसङ्गमार्फत् ढुक्क हुन आग्रह गरेको दोस्रो हरफले नै गरेको हो । यो गीतको सबैभन्दा सुन्दर प्रेमिल वाक्य यही हो । उसका लागि शहरको अर्थ प्रिय व्यक्ति हो ।

मानिस नभएको ठाउँ, महल होइन, मरुभूमि हो।

मर्छु कि क्या हो, निद्रा कहाँ भाग्छ

जसलाई देखे पनि, तिमी हऊ कि लाग्छ ।

यसमा वैदेशिक मजदुरको मानसिक स्वास्थ्य र पारिवारिक विचलनको गहिराईको दुख देखिन्छ । पुरूष उता दिनभरि श्रम गर्छ । महिला यता दिनभरी श्रम गर्छे । रातभरि चिन्ता एक्लाएक्लै गर्छन् र एकअर्काको शङ्का त के निद्रालाई समेत बास दिँदैनन् ।

 

दुबै पात्रसँग मनोविज्ञानको अपार सम्मोहनको दृश्य छ । मन एउटै व्यक्तिमा केन्द्रित भएपछि सबै अनुहारमा त्यही अनुहार देखिँदो रहेछ । प्रेमको चरम अवस्था यो होइन र ?

तेस्तो भयो भने, फोन गरिहाल्नु

छोरा-छोरी सम्झी धुपबाती बाल्नु

यो अत्यन्त नेपाली शैलीको प्रेम हो । मेरो सम्झना आए तुरुन्त फोन गर्नु भन्ने समभावको सन्देश छ । तर गाउँको मेलापात वा विदेशको ठेकेदारको कामप्रतिको लगाव हुनुपर्ने आदेशले गरेको फोन पनि मिस्डकलमा परिणत भइदिन्छ ।

यहाँ पहिलो हरफले फोन गरेर मन बहलाउनु, बुझाउनु भन्ने सन्देश त दिएको छ तर दोस्रो हरफमा भने अर्काकी छोरी वा श्रीमती राम्री त देखिएलान्, मन बहकिएर घरै बिर्सिएलान्, गाउँबाट कमाउन गएको प्रेम अर्कैको अङ्गालोमा चेपिएर सकिने पो हो कि भन्ने भयाबह चिन्ता व्यक्त हुन्छ- छोराछोरी सम्झी धुपबाती बाल्नु ।

 

शिरमा शिव राखेँ, अल्लाह नि भाकेँ

रेगिस्तानमा रारा खोज्दाखोज्दै थाकेँ

धर्मले बनाएका भयानक पर्खालहरू पनि प्रेमले गर्ल्याम्म ढलाएका छन् ।प्रेमको कुनै नियम छैन, नियम देखाएर झुक्याइएका मात्रै हुन् । यसरी नझुक्काउँदा हुन् त प्रेमका सगरमाथाहरू प्रशस्त ठडिन्थे होलान् । यसर्थ धर्मभन्दा ठूलो प्रेम । ऊ गाउँठाउँमा मानीआएको हिन्दू देवीदेवता पनि सम्झन्छ । विदेशी साहु र कामदारहरूले मानीआएका मुस्लिमको अल्लाह पनि सम्झन्छ । किन ?

किनभने दुःखमा मानिस धर्म होइन आश्रय खोज्छ सायद । गीतमा त्यही प्रेमिल आश्रयको अभाव व्यक्त भएको छ ।

 

यो गीतको सबैभन्दा ठूलो प्रतीकमध्ये एक- रारा नेपालको सबैभन्दा सुन्दर ताल । रेगिस्तान वैदेशिक मरुभूमि । ऊ रेगिस्तानमा बसेर रारा खोजिरहेको छ ।

यसको अर्थ- विदेशमा बसेर नेपाल खोजिरहेको छ । घर चलाउने पैसा भेटियो तर घर भेटिएन ।

 

विदेश गएको नेपाली वास्तवमा के खोज्छ ? धन ? सुख ? परिवार ? आफ्नो भविष्य ? पक्कै ऊ यी सबै वा यीमध्ये केही त खोज्दै जान्छ नै । तर कहिल्यै पूर्ण भेट्दैन ।

 

मेरो पनि अचेल दुखीरा'छ कपाल

झ्याल खोली हेर्छु, छैन मेरो हिमाल

कपाल दुख्नु भनेको केवल टाउको दुख्नु होइन । यो त चिन्ता, तनाव, जिम्मेवारी, भविष्यको अनिश्चितता अनि सबैको सङ्केत हो ।

 

गीतको अन्तिम हरफ सम्पूर्ण गीतको निष्कर्ष हो । हिमाल भनेको केवल हिमाल होइन । त्यो नेपाल हो । आफ्नो गाउँ हो । आफ्ना मानिस हुन् । आफ्नो भाषा अनि आफ्नो पहिचान हो ।

 

विदेशको झ्याल खोलेर हेर्दा अग्ला भवन देखिन्छन्, तर हिमाल देखिँदैन ।अर्थात् धन छ, देश छैन । काम छ, घर छैन । भविष्य छ, वर्तमान छैन ।

 

यसर्थ "तिम्ले मिसकल गर्दा..." प्रेमगीतको आवरणमा लेखिएको नेपाली वैदेशिक श्रमजीवीहरूको सामूहिक जीवनी हो । यसमा प्रेम छ, तर यही प्रेमिल कथाका दुइ पात्रमध्ये एक अङ्गालोमा छैनन्, पिँढीमा छैनन्, आँगनमा अनि कान्ला ताछ्दै र जङ्गलमा दाउरा चिर्दै छैनन् । अर्थात् हिमाललाई प्रेम गर्ने मान्छे र हिमाल दुबैको विछोड छ ।

हुन त रोमान्टिक कल्पनामा सीमित छैन; श्रमको पसिना, दुर्घटनाको जोखिम, गरिबीको विवशता, सम्बन्ध टुट्ने डर, सामाजिक वर्ग उक्लिने आकाङ्क्षा, गाउँ-सहरको द्वन्द्व, धर्मभन्दा माथिको मानवीय प्रार्थनामाथि अन्ततः मातृभूमिप्रतिको अथाह तिर्सना सबै एकसाथ बगिरहेका छन् ।

गीतको अन्तिम पङ्क्ति— "झ्याल खोली हेर्छु, छैन मेरो हिमाल" केवल एक व्यक्तिको गुनासो होइन; यो लाखौँ नेपाली श्रमिकको साझा चीत्कार हो । विदेशमा कमाएको धनले घर बनाउन सक्छ, तर झ्यालबाट देखिने हिमाल, आफ्ना मानिसको सान्निध्य र मातृभूमिको अनुभूति किन्न सक्दैन । त्यसैले यो गीतको मूल भाव प्रेमभन्दा पनि गहिरो छ— आर्थिक बाध्यताले जन्माएको प्रवासको पीडा र आफ्नोपनको अनन्त खोज।

०००

आफ्नै गन्थनः

गीतमा कथा छ, यो स्तम्भकार कथा सुन्दै सुन्दै हुर्किएको हो र त कविता अनि गीतमा पनि कथा नै खोज्दछ । यसैले श्रवण मुकारूङ मेरा यसै मन परेका लेखक होइनन् नि ।

०००
समय फेरिए होलान् । बाघे भीरमा भारी लाउनुपर्ने बाध्यता हट्दै गयो होला । पन्ध्र तलामाथि रङ लाउने मात्रै नभएर कुर्सीमा बसेर काम गर्ने कर्मचारीका रूपमा नेपाली विदेश पुगे होलान् । तर यो गीतलाई यति सामान्य अर्थमा अर्थ्याउने हो भने अन्याय बाहेक अर्को केही नहुँदो पो रहेछ । यसैले यो गीत होइन भक्कानोहरूको लयात्मक शाब्दिक दृश्य हो । मेरा शब्दहरूका व्याख्या केवल धृष्टता मात्रै हुन् र त ब्लगमा सुटुक्क लेखेर मनलाई सम्झाएको छु । मुकारूङका रचना अनि उहाँलाई जति प्रेम गर्छु, उत्तिकै आभास र मिना निरौलाप्रति पनि गर्छु र त पलेटी श्रृङ्खला मेरो हर बिदाको अभिन्न मित्र हो ।

४ श्रावण २०८३

 

किनकी ध्रुवे बहुलायो

किनकी ध्रुबे बहुलायो ।

०००

(जङ्गलको एक सुनसान साँझ । ध्रुबे हात्ती एक्लै नदीकिनारमा उभिएको छ । टाढाबाट एउटा सानो खरायो विस्तारै नजिक आउँछ ।)


खरायो: ध्रुबे दाइ, आजकल तपाईंको नाम जङ्गलभन्दा बाहिर पो धेरै सुनिन्छ । 

ध्रुबेः के भयो र भाइ ?


खरायोः कसैले भन्छ– "मारिदिनुपर्छ।" कसैले भन्छ– "दाह्रा काटिदिनुपर्छ।" कसैले भन्छ– "चिडियाखानामा थुन्नुपर्छ।" तिम्रो दिन लामो छैन है दाइ अब । मलाई त साह्रै चिन्ता पो लागेर आइरहेको छ भन्या ।


ध्रुबे:(गहिरो सास फेर्दै) दाह्रा त मैले आर्जन गरेको शक्तिको चिनारी हो । चिडियाखानाको जेलमा जाकिनेदेखि मारिनेसम्मको कुरा ? मबाट यति ठूलो अपराध भयो र भाइ ?


खरायो:अपराध त हो नि । मानिस मरेका छन् । उनीहरूका परिवार रोएका छन् । त्यो पीडा सानो होइन नि दाइ । किन बहुलाउँछौ यार । आखिर किन जोरी खोज्छौ मान्छेसँग तिमी ?


ध्रुबे:म स्वीकार्छु । एउटा ज्यान पनि अमूल्य हुन्छ । तर मेरा पनि त प्रश्न छन्-

मेरो घरमा कति पटक डोजर छिर्‍यो ?

मेरो बाटोमा कति सडक बनाइए ?

मेरो जङ्गललाई कति टुक्रामा बाँडियो ?

त्यसको हिसाब कसले राख्छ केटा ?


खरायो: कुरा त हो नि दाइ, हामी त झन् सानातिना जनावर । हिजो मेरो बथान बस्ने झाडी थियो, आज त्यहाँ रिसोर्ट छ । भोलि सायद हामी डेटिङ जाने ठाउँ मान्छेका हनिमुन मनाउने रिभर पार्क बन्लान् ।


ध्रुबे: मान्छेहरू भन्छन्- "ध्रुबे बस्ती पस्यो।" बरू तिनीहरूले कहिल्यै भनेनन् कि "बस्ती ध्रुबेको जङ्गलमा पस्यो।"


खरायो:यसैमा त हामी दोषी भएका छौँ नि ।


ध्रुबे:अहिले मेरो दाह्रा काट्ने कुरा चलेका छन् । समस्या त जङगल काटिँदा सुरु भएको हो । मारी नै दिन्छन् कि कुन्नी ।  चिडियाखानामा सरकारी दाना खाएर बस्नुको नमज्जा अरू के होला यार ?


खरायो: जीवनभर स्वतन्त्र हिँडेको जीवलाई जेल हालेर संरक्षण भएको मानिन्छ भने, त्यो संरक्षण होइन, सजाय हो दाइ । उनीहरू आफ्नालागि खुला चौर चाहियो भनेर मान्छेले बनाएका घरटहरा भत्काउँछन् अनि तिम्रालागि चैँ उनीहरूको भलिबल कोर्टजत्रो ठाउँमा बाँधेर राखिदिन्छन् ।


ध्रुबे:सरकारले अपराधीलाई अदालतमा लैजान्छ । हामीलाई भने सिधै मृत्युदण्ड सुनाउँछ कि क्या हो केटा ?


खरायो:किनभने तपाईंहामी आफ्नो कुरा राख्न सक्दैनौँ । हाम्रो भाषा कसले बुझ्ने र दाइ ?


ध्रुबे:मलाई मानिससँग घृणा छैन। म त बाटो खोज्दै हिँडेको हुँ। कहिले खेत भेटिन्छ, कहिले बस्ती, कहिले गाडी, कहिले बिजुलीको तार । तँलाई पो एक बित्ताको प्वाल भएँ पनि पुग्छ, मेरो पुरानो बाटो त ग्रेटर नेपालझैँ नक्साबाटै हराइसक्यो केटा।


खरायो:मनै कटक्क बनायौ दाइ ।


ध्रुबे: सबैले मेरो दाह्रा देखे, विशाल शरीर देखे । कसैले मेरो आँखा हेरेनन् केटा ।


खरायो: अँ दाइ, उनीहरूले तपाईंले कुल्चेका ज्यान गने । कसैले तपाईंले गुमाएको जङ्गल गनेनन् दाइ । हात्ती त नोटमा मात्रै रहन्छन् कि क्या हो दाइ ?


ध्रुबेः संरक्षणको अर्थ मानिसलाई मात्र बचाउनु होइन; सहअस्तित्वलाई बचाउनु हो ।


ध्रुबे: त्यसो भए समाधान के हो?


खरायो: समाधान तपाईंलाई गोली हान्नु होइन । समाधान मानिसलाई चेतना दिनु हो । हात्ती हिँड्ने जैविक मार्ग (कोरिडोर) जोगाउनु हो । जङ्गललाई जोड्नु हो । जङ्गल र जनावरका नाममा घन्टौँसम्म बहस गर्न सक्ने मान्छे यति कुरा किन बुझ्दैन ?


ध्रुबे:हेर् केटा मेरा हजुर्बाका पालादेखि म यो बाटो हिँडिरहेछु । पछि मान्छेलाई के सनक चढ्यो मेरा बाटोहरू उनीहरूका खेतबारी भए, घरटहरा बनाए, होटल रेष्टुराँ बनाए । जताततै ढलान गरिरहेछन्, पुल हालिरहेछन्, पोल ठड्याइरहेछन् । दिउसोमा गाडी कुदाएर बसिखान दिँदैनन्, रातीमा आफ्नो पुस्ताले हिँडेको बाटो पनि हिँड्न पाइँदैन भन्छन् । म जिउँदै मरिरहेकै त छु नि केटा ।

(दुवै केहीबेर मौन हुन्छन्। जङ्गलमा हावाको सुस्केरा सुनिन्छ।)

(ध्रुबे आकाशतिर हेर्छ र आँखा चिम्लिन्छ । भर्खरै उसलाई डार्ट गनबाट सिरिन्ज लागेको छ । सुन्तलाजस्तो घाम बिस्तारै विलीन हुँदै जान्छ। खरायो थरथर् हुन्छ ।)

यसो गर्नुको कारणबारे बहुलाएका मान्छेहरूलाई प्रश्न गरे यसो भन्लान्- किनकी ध्रुबे बहुलायो ।

लेखनः २०८३ असार २४

ध्रुबे हात्तीको दाह्रा काटिएको छः २०८३ श्रावण १/२



Tuesday, September 9, 2025

छोरीलाई चिठी: यो देश बस्न लायक भएन ।

प्रिय छोरी

दुखको कुरा सुनाऔँ भनेर नि !

४ नम्बर वडा कार्यालयमा हिजै मात्र फाइल बुझाएर आएको । आज कार्यालय डढेर सबै खरानी भइगयो ।

नगरपालिकामा आउँदो कार्यक्रमका लागि हिजै मात्रै पुगेको, त्यो पनि बर्बादै भइगयो ।


देशै के हुने भन्ने शङ्का भइरहेको बेला व्यक्तिगत र संस्थागत समस्या ठुला पनि नहोलान् नै ।

भाद्र २३ मा हामीले कल्पनै नगरेका १९ जना कलिला भविष्यहरूको हत्या भयो । त्यसमा सङ्ख्या थप हुँदै गए । घटनापश्चात् उत्तेजित Zen Z युवा अनि मौकाको फाइदा उठाउनेहरूबाट विरोधका गतिविधि भए । त्यसले विध्वंशको पराकाष्टा नै नाघ्यो । यसको नतिजा के के पो हुने हो ?

०००

हेटौँडाका लगभग सबैजसो वडा कार्यालय ध्वस्त भए । भित्रबाट आगोको लप्का ननिस्किएको उपमहानगरपालिकाको कुनै झ्याल थिएन । फेरि सम्झिएँ- हिजो मात्रै १५ दिन लगाएर जम्मा गरेको आवश्यक कागजात, सक्कल बिलभर्पाइ, चिठी, आदित्यादी बुझाएर आएको ४ नम्बर कार्यालयको आगो आज त बाध्यताले तापेरै आएँ । अब कसलाई पो फाइदा भयो ?


अन्तिम परीक्षाका लागि कम्प्युटर पढाउने मौका पाएबापत हालसम्म ७०० बढी साथीहरू निजामती भएका थिए । लाखौँका लागि एउटा विश्वसनीय संस्था लोक सेवा कार्यालय आजै सकियो । लोक सेवा तयारी कक्षासँग १३ वर्षदेखि जोडिएको छु । भावनात्मक सम्बन्ध प्रगाढ छ । आजको गतिविधिबाट कसलाई फाइदा भयो ?


जिल्ला अदालत, जहाँ यही जिल्लाका मान्छेहरूका न्यायका लागि प्रमाण बटुलिएका हुन्छन् । ती सबैजसो सिध्धिएका छन् ।  पुनरावेदन अदालत जहाँ बलात्कारी, सुन तस्करी, लागूऔषध कारोबारी, व्यभिचारी अनि गैँडाका खाग तस्करहरूको मुद्दाका मिसिलहरू प्रशस्त टाइप गरेको थिएँ । अदालत; जहाँ न्याय अन्याय छुट्याइन्छ । उच्च अदालतका रूपमा परिचित सो अदालत पूर्णतः जल्यो । अब कसलाई फाइदा भयो ?

०००

सरकारी कार्यालयजति कुनै बाँकी छैनन । यहीँका स्थानीयलाई रोजगारी दिएको भाटभटेनी दिनदहाडै लुटियो, जलाइयो । राजनीतिक दलसँग उहिले उहिले जोडिएकाहरू पनि अन्यत्र गएर आफ्नो घर जलाउनका लागि तयार बनाएर निरीह बनेका छन् । बन्दाबन्दैको सञ्चयकोष कार्यालय अघि भर्खर डढाए । यत्रो हुँदा आफ्नो जग्गामा बनेका अनि भाडामा लिएका पार्टी कार्यालयहरू पनि त जलाइएकै छन् । नेताका नाम सुन्नेबित्तिकै भाडामा बस्नेहरू निकालेर तिनका समेत सबै सरसामान र घरै जलाइएका छन् ।


यो विध्वंश हो, 

विगत १८ वर्षदेखि शिक्षणमा छु । यो पुस्ता यस्तो विध्वंश गर्नेवाला छ भनेर पत्याउनै सक्दिनँ । त्यति शान्त जेनजीको आन्दोलन यस्तो हुन्छ भनेर तपाईँलाई पनि बताउनै सक्दिन । वर्षौँ अरूले लुटिरहेका थिए भनेर बोल्यौँ तर आज त जेनजीलाई मोहरा बनाएर देश त अर्कैले अघौँची लुट्नु लुट्यो । लुट्ने चिजै बाँकी नरहे के लुट्दो हो ? जे भो अति भो ।


अति भए कलेजमा ताल्चा लाउने र वार्ताबाट समस्या समाधान गर्न तयार हुने यो समूह हिजोको हिंसाले भड्किएको त पक्कै हो तर यत्रो विध्वंश यिनको नाममा अरूबाट पो ज्यादा भयो भन्ने बुझेको हुँ । सडकमा टायर बाल्ने बाहेक यो पुस्ता लुटपाटमा संलग्न भएको कहिल्यै थाहा थिएन । आन्दोलनको मोडालिटी, नेतृत्वबिहीन आन्दोलन र एउटाको बहकावमा भीड कुदिरहेको प्रत्यक्षत देख्नुपर्‍यो । उकास्ने कामले हामीबाट पनि धेरथोर गल्ती पक्कै भयो ।

०००

रोजगारी दिने व्यवसायिक संस्थाहरू सिध्याइए, प्रशासन कमजोर बनेको छ, न्यायालय, प्रशासन, वडा कार्यालयसम्मका कुनै पनि प्रमाण सग्लो रहेको छैन । सेना मूख्य सहरका सडकमा हिँड्न सुरू भएको छ । राजनीतिशास्त्रको विद्यार्थीको हिसाबले अध्ययनले के देखिन्छ भने- सेनाले कब्जा गरेका कमै मुलुकका नागरिक खुसी छन् । हाम्रो खुसी आफ्नो वा अरूको कस्तो हुने हो भोलिको बिहानदेखि बिस्तारै थाहा हुँदै जाला ।


प्रिय छोरी, 

आउँदा दिनमा नेपालीकै स्थायी सरकार आएछ भने पनि ती संरचना उस्तै बनेर अभिलेखीकरणसहितका नियमित काममा सहजता हुनका लागि २० वर्ष बढी लाग्नेछ भन्ने मेरो अहिलेसम्मको बुझाइ रहेको छ ।

०००

भीडको एउटाले यो फलानाको घर हो भन्नेबित्तिकै अरूले ढुङ्गा बर्साउने र गेटमाथिबाट नाघेर घरहरू तोडफोड गरिएका घटनामा प्रत्यक्षदर्शी बनेको छु । कहाँबाट आए ? कस्ता अनुहारका आए ? हेटौँडासँग साइनो पर्ने आए कि पर्दै नपर्ने आए ? सबै भन्न सकिने अवस्था पनि छैन । आजै अरूको पहुँच नपुगोस् भनि लोकेसन, फेसबुक प्रोफाइल, स्टोरी र कन्टेन्टहरूमा अलि कडाइ गरेँ । साँच्चै म त बडो त्राही त्राही छु ।


संस्थागत हिसाबले सिस्नुपानी नेपाल मकवानपुरमा आबद्ध छु । अर्को परिवार जस्तो लाग्छ । साहित्यिक समाज बेग्लै सचेत समाज लाग्छ । भेट गर्न आतुर छु । 

देश तङ्ग्रिँदै जाओस् । अनुच्छेदहरू एकअर्कासँग जोडिन पनि जबर्जस्ती तन्काइदिनु परेको कुरा तिमीले पछि बुझ्ने नै छौ ।

विदेश जानु पर्दैन भनेर २० वर्षको उमेरदेखि कसैलाई सल्लाह नदिने मैले आज तिमीलाई लिखितरूपमा यो चिठी लेखेर अभिलेख राखेको छु । हामी यहीँ बसेर डट्ने नै छौँ । सुन्दर प्राकृतिक छटा, सहयोगी मान्छेहरू, परम्परा र नैतिकले ढकमक्क रहँदारहँदै परिवर्तित राजनीतिक घटनाक्रमले यो देश तिम्रा पुस्ताका लागि अब त बस्नयोग्य हुँदै भएन प्यारी ।

शुभरात्री ।

२०८२ भाद्र २४, २३:२५PM

Friday, June 14, 2024

व्यङ्ग्य लेख || पशुपतिको जात्रा, कात्रोको व्यापार || फित्कौली

 संप्रस पौडेल

कात्रो भन्नाले "मनुस्यले होस हराएर संसार त्याग्दा अन्तिममा पहिर्‍याइदिने लासपोस भन्ने जनाउँछ ।" हुन त घाट अनि कात्रो हेरेर कसैलाई मरूँ मरूँ पनि लाग्दो हो । समयअनुसार मान्छेले जे बढी रुचाउँछ उसैको बेपार हुने नौलो परम्परा पनि होइन ।

कात्रेप्रसाद अहिलेका चर्चित व्यक्ती हुन् । पेशाले कात्रो बेच्छन् । बुढाबुढी भएको घरमा पुगेर केही न केही त छोडेर जानैपर्छ भन्दै कात्रो बेच्छन् यिनी । बुढाबुढी पनि होमा हो लगाएर किनिदिन्छन् चार भाग बढी मूल्य तिरेर । तिर्थयात्रामा जाँदा पनि कात्रो किनाउन लिएर जान्छन् उनी । कात्रो बेचेर लाद्रो भर्ने हुनाले होला उनलाई कात्रोको बेपारले लाद्रोको ठेकेदार बनाएको प्रष्ट हुन्छ । जाडो महिना लागेपछि लेक छिर्छन् त गर्मी लागेपछि बेसी झर्छन् । लेकमा पुग्दा बुढाबुढी माघलाई भन्दै आफ्नो बेपार जमाउँछन् त बेसी झरेपछि दुईखुट्टे, चारखुट्टे, छखुट्टे अनेकबाट रोगको प्रकोप बढेको भन्दै अपारको बेपार गर्छन् । आज मरे भोली दुई दिन भन्दै भोलीपल्ट कात्रो के काम भन्ने उनी सरकारको स्वास्थ्य वीमा कार्यक्रमविपरित हरेक घरपरिवारका लागि एक एक सेट कात्रो लिन लगाउँछन् ।

मिठाइ व्यापारबाट मालामाल भई नाम, दाम र कामको चौतर्फी चर्चाको चुलीमा पुगेका व्यक्ती हुन् चित्रप्रसाद चम्लागाईँ । उनको कात्रोको बेपारले अपार हुँन थालेपछि नै उनलाई धेरैले कात्रेप्रसाद नामले पुकार्न थालेका हुन् । अब त चोकको नाम पनि कात्रो चोक, बाटाको नाम कात्रो मार्ग, भवनको नाम कात्रो भवन हुन थालिसक्यो ।

 


कलियुगका कुबेर कम्ती कसरत गरेका छैनन् उनले । अस्पतालको लाश अड्डामा पुगेर होस् कि खोलाछेउको शव दाहस्थलमा पुगेर होस् अरुले किनेका त नक्कली कात्रो परेछ अनी आफ्नोचाहिँ पात्रो हेरेर किनेको कात्रो भन्न भ्याउँछन् । यिनलाई सेवामुखि काम गरेको भनेर कसैले सम्मान गर्‍यो भने पनि खादा र दोसल्लाको सट्टामा कात्रो नै माग्दाहुन् भनेर टोलमा चर्चा हुने गरेको छ । तर पनि कसैले यिनलाई कात्रोमा खल्ती सिलाउन नलगाएकामा चित्त दुखाएका भने छैनन् ।

कात्रोमा खल्ती राख्ने चलन किन नचलेको होला ? खल्ती हुँदो हो त जीवनभरका नैतिक, अनैतिक जुन रीतले समाएको वा कमाएको धनमाल बोकेर लैजान सकिन्थ्यो कि ! यस्तो भए कात्रोमा बुट्टा हुन्थ्यो होला । महिलाका लागि बेग्लै, पुरुषका लागि बेग्लै कात्रो बन्थ्यो होला । धनीका कात्रो र गरीबका कात्रोमा भिन्नता हुन्थ्यो होला ।

 

कात्रो बन्ने कपडाबाट एक सय एक फेसनका कपडा सिलाउने चलन किन नआएको होला ? कात्रोको कोट हुँदो हो त पाइन्ट पनि हुँदो हो । पाइन्ट हुँदो हो त कात्रोकै जुत्ता पनि हुँदो हो । जुत्ता हुँदो हो त मोजा पनि कात्रोकै हुँदो हो । कात्रोमा खल्ती हुँदो हो त खल्तीमा हाल्ने रुमाल पनि कात्रोकै हुँदो हो । यस्तै कोटको भित्री हुँदो हो त बाहिरी पनि हुँदो हो ।  बाहिरी हुँदो हो त जगेडा पनि हुँदो हो । जगेडा भएपछि आफ्नो कमाई तगडा हुँदो हो । कमाई तगडा हुँदो हो त बखेडा पनि हुँदो हो । यसैले कात्रो सत्यको परिचायक पनि हो ।

 

कात्रोको सर्वत्र चर्चा भएपछि लेखकहरूले पनि कात्रोकै बारेमा लेख्दा हुन् । किताब पनि यस्ता यस्ता नामका छापिँदा हुन्- 'कात्रो परिचय', 'कात्रोको इतिहास', 'कात्रोमा सत्र वर्ष', 'कात्रोमा सात दिन', 'कात्रोतिर बरालिँदा', 'कात्रो हराएको मान्छे', 'कात्रोको अंश', 'कात्रोको कारोबार कसरी गर्ने', 'कात्रोकी स्वास्नी र म', 'कात्रोको खोज', 'कात्रोमा मोज', 'कात्रोः लाउने कसरी पाउने कसरी', 'कात्रोको बाबु आमा र छोरा', 'कात्रोको देशमा', 'कात्रोमा लास', 'कात्रोमा हार', 'कात्रो र बन्दुक', 'कात्रो काँडा कि फूल', 'कात्रो क्रान्ति र समाजवाद', 'कात्रोभारा', 'कात्रो लिपि', 'कात्रो शब्दकोष', 'कात्रो प्रणाली', 'कात्रोरिया आदि ।

 

कात्रो व्यापारका लागि फूटपाथदेखि ठूला ठूला सपिङ मल खुल्दा हुन् । चोक चोकमा यस्ता पसल खुल्लान् 'बाजेको कात्रो पसल', 'सक्कली बाजेको कात्रो पसल', 'पूरानो बाजेको कात्रो पसल' । त्यहाँसम्म ठीकै मान्न सकिएला यस्ता पसल पनि खुल्लान्- 'हाम्रो कात्रो पसल', 'कात्रो एण्ड कात्रो ब्रदर्श', 'दिदीबहिनी कात्रो पसल', 'कात्रो सप्लायर्स', 'कात्रो एण्ड सन्स' । कात्रो बेपारीले साइनबोर्डमा लेख्दा हुन्- यहाँ आरामदायी कात्रो पाइन्छ । अर्कोले अझै आकर्षक बनाएर लेख्दो हो- हामीकहाँ जाडोमा न्यानो र गर्मीमा चिसो दिने कात्रो पाइन्छ ।

 

कात्रोको ठेकेदार, बेपारी आदि चुनावमा प्रतिनिधि भए भने चुनाव चिन्ह पनि कात्रो नै पाउलान् । नाराहरू बन्लान्- चार छाप कात्रोमा लगाउँ । कात्रो चिन्हमा आफ्नो अमूल्य मत प्रदान गरौं । चुनावअघि मासुभात, पेट्रोल छोडेर कात्रो वितरण कार्यक्रम तय होलान् । कात्रो लगाएर, कात्रोकै झण्डा बोकेर र्‍यालीको भिड चल्दा हुन् । आन्दोलन गर्दा पनि टायर छोडेर कात्रो बाल्दा हुन् । कात्रोलाई लिएर प्रतिनिधिले घोषणा पत्रमा लेख्दा हुन्- हामी मृतकहरूलाई निशुल्क कात्रो वितरण गर्दछौं । हामी हरेक युवालाई कात्रो बनाउने तालिम दिन्छौं । हामी कात्रो देखेर सात्तो जानेहरूको निधनमा निशुल्क कात्रोको व्यवस्था गर्नेछौं । हामी कात्रोमा भएको व्यापक मूल्यवृद्धि घटाउँछौं । अघिल्लो पटक पालिकामा रहँदा फलाना पार्टीले कात्रोमा लगाएको कर मिनाहा गर्नेछौं । कात्रो सबैको साझा अधिकार हो भन्नेमा हामी विश्वस्त छौं । कात्रोमा भोट हाल्नोस्, पूण्यकर्म थाल्नुहोस्, परलोक गमनको सुमार्ग चाल्नुहोस् भनेर चुनावी घोषणापत्र बन्थे होलान् । जति थुपारे पनि अन्त्येष्टीमा ओढेर परमधाम यात्राका ओढाउ कात्रोलाई चुनावचिन्हमा समावेश नगरेकोमा कात्रेप्रसाद खुबै गुनासो गर्छन् ।

जय सिस्नुपानी ।

(लेखक सिस्नुपानी मकवानपुरमा आबद्ध हुनुहुन्छ ।)                                              २५ बैशाख २०७९

फित्कौली

 

तिम्ले मिस कल गर्दा, भक्कानो सङ्गालिएको खाङ्ग्रे

  तिम्ले मिस कल गर्दा , भक्कानो सङ्गालिएको खाङ्ग्रे यो गीतलाई केवल प्रेमगीतका रूपमा हेर्नु पर्याप्त हुँदैन। श्रवण मुकारुङले यहाँ नेपाली स...