तिम्ले मिस कल गर्दा, भक्कानो सङ्गालिएको खाङ्ग्रे
यो गीतलाई
केवल प्रेमगीतका रूपमा हेर्नु पर्याप्त हुँदैन। श्रवण मुकारुङले यहाँ नेपाली
समाजको
वैदेशिक
रोजगारी, गरिबी, वर्गीय विभाजन, भौगोलिक दूरी, प्रेम, असुरक्षा, शङ्का, विस्थापन र पहिचानको पीडालाई
अत्यन्त सरल भाषामा गहिरो प्रतीकमार्फत् व्यक्त गरेका छन्। आभास र मीना निरौलाको
स्वर तथा सङ्गीतले यी भावहरूलाई अझ जीवन्त बनाएको छ।
तिम्ले
मिसकल गर्दा पन्ध्र तलामाथि रङ लाउँदै थिएँ
तिम्रो फोन
आउँदा बाघेभीरमाथि भारी लाउँदै थिएँ।
गीतको
आरम्भमै दुईवटा दृश्य छन्।
पहिलो दृश्य- विदेशमा अग्ला भवनको १५ औँ तलामा
झुण्डिएर रङ लगाइरहेको मजदुर।
दोस्रो
दृश्य- गाउँमा बाघेभीरजस्तो
डरलाग्दो भीरमा भारी बोकेर हिँडिरहेको युवती।
दुवै पात्र
जोखिमपूर्ण श्रम गरिरहेका छन्। एकजना विदेशमा मृत्युको जोखिम बोकेर कमाइ गरिरहेको
छ भने अर्की गाउँमा कठोर श्रम गरेर जीवन धानिरहेकी छ।
यहाँ
प्रेमभन्दा ठूलो कुरा श्रमको
समानता
हो। दुवैले
एकअर्काका लागि दुःख गरिरहेका छन्। उनीहरूलाई जोड्ने साधन केवल एउटा मोबाइल हो, त्यो पनि कहिले मिसकलमैँ सीमित
हुन्छ त कहिले बिग्रिन्छ ।
झिकुँ भन्दा मोबाइल, रंगको भाँडा झर्यो
यस्तो आपत पर्यो, विदा पर सर्यो
विदेशमा
मजदूरी गरिरहेको पुरूष पात्रले गोजीभित्र रिङ बजिरहेको मोबाइल उठाउन खोज्दा रङको
भाँडा खस्छ। यसले देखाउँछ- प्रेम
र पेटबिचको सङ्घर्ष । फोन उठाए जागिर जान सक्छ ।फोन नउठाए सम्बन्ध बिग्रन सक्छ । विदेशी
मजदुरको जीवन यस्तै हुन्छ। प्रेम गर्ने समय हुँदैन। प्रेमसमेत कामको समय हेरेर
गर्नुपर्ने बाध्यता हुन्छ ।
रङको भाँडा
खसेपछि छुट्टी पनि सर्छ। यसमा सामान्य घटना मात्र छैन। गरिबको एउटा गल्तीले उसको
छुट्टी, कमाइ, तलब, सबै प्रभावित हुन्छ।
धनीका लागि
एउटा रङको बाल्टिन सामान्य होला।
तर मजदुरका
लागि त्यो एउटा महिनाको दुःख हो।
बोकुँ भन्दा भारी, अल्झिगयो सारी
भारी खोलो पारी, म चैँ खोलो वारि
यो दृश्य घासपात, दाउरा, स्याउला अनि पत्कर सोहोर्ने एक
महिलाको कथा हो । डाँडापाखा,
खोल्सा र भीरपहरा चहारेर झिक्रा र ठुटाहरूले चिथोर्दै भारी बोकेर बेसीमा आइपुगेकी
छिन् । खोला तर्ने बेलामा पानीले भिजेपछि गह्रौँ भएर सारी अल्झिन्छ ।
शब्दमा
भनिएजस्तो केवल 'कपडा' अल्झिएको भने होइन बरू सारीलाई
वस्तुका रूपमा देखाएर आफ्नो दैनन्दिन अनि अँध्यारो जीवन अल्झिएको दृश्य देखाइएको हो । एकातिर
भारी, अर्कोतिर घर, भारी तारिदिने श्रीमान विदेशतिर
छन् । ऊ पनि त संघर्षमा छ, यता
उनी पनि संघर्षमै छिन् ।
कति मार्मिक
प्रतीक ! भारी खोलापारी पुग्यो । तर ऊ आफैँ खोला वारि रोकिएकी छे । अर्थात्- जिम्मेवारी अघिअघि अनि आफू पछिपछि
हुँदा ढाडस दिने मान्छेको अभावमा कतै लड्खडाउने त होइन ? उनी आफैँलाई प्रश्न गर्छिन्, परदेशीलाई दुखेसो गर्छिन् । यसलाई
जीवनसँग जोडेर हेर्दा- विदेशबाट
महिनापिच्छे कमाइ त आउँछ, घर
बन्छ, घर चल्छ, खेतिपाती चल्छ तर परिवार सँगै बस्न भने
पाउँदैन।यो प्राप्तिलाई हेर्दा आफ्नो बाध्यता खोलो वारी र आफ्नो रहर खोलो पारी पुगेको
भन्न सकिन्छ ।
मन छ कि मर्नु, सदरमुकाम सर्नु
गीत त यहीँ
समाप्त कहाँ हुन्छ र ? गीतले
दिएको भाव यति फराकिलो छ कि यसलाई केवल शब्दको अर्थ र सलल बगेको गीतको सीमाभित्र
मात्रै राख्नु अन्याय हुन जान्छ ।
विदेश
पुगेको आफूले अति परिश्रमपछि मात्रै घरका सामान्य आवश्यकता पूरा गर्न सकिएको छ
भनिएको छ । माथिका पहिलो हरफमा सदरमुकाम पुगेर तिमीहरूले सुखभोग त गरौला तर यसका
लागि मैले अझै कडा मेहनत गर्नुपर्छ, अर्थात् सदरमुकाममा सुख भएता पनि सन्तोष हुँदैन, त्यहाँ खतराहरू पाइलापाइलामा
भेटिन्छन्, दुखमा पो मेरी छौँ, सुख पाइसकेपछि तिमी मेरी नरहन पनि
त सक्छौ भन्दै दिनदिनै मैले यस्तै शङ्का र डरका साथ मर्नु पर्नेछ भन्ने भय व्यक्त गरेका छन् ।
यसमा अर्को
तह पनि छ । गाउँबाट सदरमुकाम सर्नु भनेको केवल ठाउँ परिवर्तन होइन । त्यो वर्ग परिवर्तनको सपना हो ।विदेश गएको मान्छे किन
विदेश जान्छ ? आफ्नो परिवारलाई गाउँबाट
बजार पुर्याउन वा गाउँका अभाव कटाउन वा अझ भनौँ बजारलाई गाउँसम्म ल्याउन ।तर
उसलाई डर लाग्छ-
यदि ऊ सदरमुकाम पुगिन् भने, उनको सोच पो बदलिन्छ कि ? सुखसुविधा देखेर, रूप र रङहरूमा भुलिएर उनको चाहना पो
बदलिन्छ कि ? म विदेशमै पुरानो जीवन
बाँचिरहन्छु, ऊ शहरमा नयाँ संसार
देख्छे । त्यसपछि हाम्रो सम्बन्ध उस्तै रहन्छ ? जसको आडमा १० देश पर बाँचिरहेको उसको माया मर्ने त होइन ? त्यही डर हो- मन छ कि मर्नु।
दुख्यो होला गोडा, आफैँ मालिस गर्नु
यहाँ यस्तो
भाव व्यक्त भएको छ- वनजङ्गल
जाँदा, भिरपाखा पुगेर घाँसदाउरा
गर्दा अनि खोला तर्नेक्रममा लड्दा गोडा दुखेको होला । तेल तताएर आफैँले मालिस
गर्नु । म कामका लागि ७ समुद्र पारी छु, यस्तो बेला तेल लाउन अरूको सहायता लिँदै नलिनू । तेल लाउने
बहानामा उसले अरू स्वार्थहरू पूरा गर्ला भन्दै माया मात्रै होइन, शङ्का समेत व्यक्त गरिएको छ ।
मालिस गर्नु भनेको सामान्य हेरचाह होइन । नेपाली गाउँमा शरीर दुखेपछि
तेल लगाइदिने काम प्रायः पति, आमा, परिवारका सदस्यले गर्दछन् । यहाँ ऊ
बडो निसास्सिएर भन्न खोज्छ- म
छैन । त्यो अधिकार पनि म निभाउन सक्दिनँ । मेरो अनुपस्थितिमा अरूको सहारा नखोज्नु, तेल लाउने काम आफैँ गर्नु । यसमा
प्रेमसँगै असहायता पनि छ । तर तेल लगाउने
तिम्रा हातहरूमा मेरा हातहरू पनि सँगसँगै छन् भन्ने ढाडस पनि छ ।
छोडी आफ्नो घरगाम, जान्न सदरमुकाम
तिमी नभएको सहर मलाई के काम
यसको पहिलो
हरफमा विद्रोह छ । जसका साथमा सुखभोग गर्न मन छ, ऊबिना पाइने सुखसुविधालाई बिर्सेर भन्छे- सदरमुकाम जान्न ।किनभने शहरले
मान्छे बदल्छ । गाउँमा सम्बन्ध बाँच्छ । शहरमा सम्बन्धभन्दा सुविधा कम होला
तर प्रेमको फराकिलो दायरामैँ अटाउँला । यसरी ऊ पर्खाइको व्यग्रतालाई एकछिन मुठ्ठीभित्र
कैद गरेर पनि परदेशीलाई अर्को फोन नआउन्जेलसम्म मात्रै होइन, परदेश बसाइसम्म ढुक्क हुन आग्रह
गर्छे ।
दोस्रो
हरफले पहिलोलाई पुष्टी गरेको छ । पहिलो प्रसङ्गमार्फत् ढुक्क हुन आग्रह गरेको दोस्रो
हरफले नै गरेको हो । यो गीतको सबैभन्दा सुन्दर प्रेमिल वाक्य यही हो । उसका लागि
शहरको अर्थ प्रिय व्यक्ति हो ।
मानिस नभएको
ठाउँ, महल होइन, मरुभूमि हो।
मर्छु कि क्या हो, निद्रा कहाँ भाग्छ
जसलाई देखे पनि, तिमी हऊ कि लाग्छ ।
यसमा
वैदेशिक मजदुरको मानसिक स्वास्थ्य र पारिवारिक विचलनको गहिराईको दुख देखिन्छ । पुरूष
उता दिनभरि श्रम गर्छ । महिला यता दिनभरी श्रम गर्छे । रातभरि चिन्ता एक्लाएक्लै गर्छन्
र एकअर्काको शङ्का त के निद्रालाई समेत बास दिँदैनन् ।
दुबै
पात्रसँग मनोविज्ञानको अपार सम्मोहनको दृश्य छ । मन एउटै व्यक्तिमा केन्द्रित
भएपछि सबै अनुहारमा त्यही अनुहार देखिँदो रहेछ । प्रेमको चरम अवस्था यो होइन र ?
तेस्तो भयो भने, फोन गरिहाल्नु
छोरा-छोरी सम्झी धुपबाती बाल्नु
यो अत्यन्त
नेपाली शैलीको प्रेम हो । मेरो सम्झना आए तुरुन्त फोन गर्नु भन्ने समभावको सन्देश
छ । तर गाउँको मेलापात वा विदेशको ठेकेदारको कामप्रतिको लगाव हुनुपर्ने आदेशले
गरेको फोन पनि मिस्डकलमा परिणत भइदिन्छ ।
यहाँ पहिलो
हरफले फोन गरेर मन बहलाउनु,
बुझाउनु भन्ने सन्देश त दिएको छ तर दोस्रो हरफमा भने अर्काकी छोरी वा श्रीमती
राम्री त देखिएलान्,
मन बहकिएर घरै बिर्सिएलान्,
गाउँबाट कमाउन गएको प्रेम अर्कैको अङ्गालोमा चेपिएर सकिने पो हो कि भन्ने भयाबह
चिन्ता व्यक्त हुन्छ-
छोराछोरी सम्झी धुपबाती बाल्नु ।
शिरमा शिव राखेँ, अल्लाह नि भाकेँ
रेगिस्तानमा रारा खोज्दाखोज्दै थाकेँ
धर्मले
बनाएका भयानक पर्खालहरू पनि प्रेमले गर्ल्याम्म ढलाएका छन् ।प्रेमको कुनै नियम छैन, नियम देखाएर झुक्याइएका मात्रै
हुन् । यसरी नझुक्काउँदा हुन् त प्रेमका सगरमाथाहरू प्रशस्त ठडिन्थे होलान् । यसर्थ
धर्मभन्दा ठूलो प्रेम । ऊ गाउँठाउँमा मानीआएको हिन्दू देवीदेवता पनि सम्झन्छ ।
विदेशी साहु र कामदारहरूले मानीआएका मुस्लिमको अल्लाह पनि सम्झन्छ । किन ?
किनभने
दुःखमा मानिस धर्म होइन आश्रय खोज्छ सायद । गीतमा त्यही प्रेमिल आश्रयको अभाव
व्यक्त भएको छ ।
यो गीतको
सबैभन्दा ठूलो प्रतीकमध्ये एक- रारा
नेपालको सबैभन्दा सुन्दर ताल । रेगिस्तान वैदेशिक मरुभूमि । ऊ रेगिस्तानमा बसेर
रारा खोजिरहेको छ ।
यसको अर्थ- विदेशमा बसेर नेपाल खोजिरहेको छ ।
घर चलाउने पैसा भेटियो तर घर भेटिएन ।
विदेश गएको
नेपाली वास्तवमा के खोज्छ ? धन
? सुख ? परिवार ? आफ्नो भविष्य ? पक्कै ऊ यी सबै वा यीमध्ये केही त
खोज्दै जान्छ नै । तर कहिल्यै पूर्ण भेट्दैन ।
मेरो पनि अचेल दुखीरा'छ कपाल
झ्याल खोली हेर्छु, छैन मेरो हिमाल
कपाल दुख्नु भनेको केवल टाउको दुख्नु होइन । यो त चिन्ता, तनाव, जिम्मेवारी, भविष्यको अनिश्चितता अनि सबैको
सङ्केत हो ।
गीतको अन्तिम हरफ सम्पूर्ण गीतको निष्कर्ष हो । हिमाल भनेको केवल हिमाल
होइन । त्यो नेपाल हो । आफ्नो गाउँ हो । आफ्ना मानिस हुन् । आफ्नो भाषा अनि आफ्नो
पहिचान हो ।
विदेशको
झ्याल खोलेर हेर्दा अग्ला भवन देखिन्छन्, तर हिमाल देखिँदैन ।अर्थात् धन छ, देश छैन । काम छ, घर छैन । भविष्य छ, वर्तमान छैन ।
यसर्थ "तिम्ले मिसकल
गर्दा..." प्रेमगीतको आवरणमा लेखिएको नेपाली वैदेशिक श्रमजीवीहरूको सामूहिक जीवनी हो । यसमा प्रेम छ, तर यही प्रेमिल कथाका दुइ
पात्रमध्ये एक अङ्गालोमा छैनन्, पिँढीमा
छैनन्, आँगनमा अनि कान्ला ताछ्दै
र जङ्गलमा दाउरा चिर्दै छैनन् । अर्थात् हिमाललाई प्रेम गर्ने मान्छे र हिमाल
दुबैको विछोड छ ।
हुन त रोमान्टिक
कल्पनामा सीमित छैन; श्रमको
पसिना, दुर्घटनाको जोखिम, गरिबीको विवशता, सम्बन्ध टुट्ने डर, सामाजिक वर्ग उक्लिने आकाङ्क्षा, गाउँ-सहरको द्वन्द्व, धर्मभन्दा माथिको मानवीय प्रार्थनामाथि
अन्ततः मातृभूमिप्रतिको अथाह तिर्सना सबै एकसाथ बगिरहेका छन् ।
गीतको
अन्तिम पङ्क्ति— "झ्याल खोली हेर्छु, छैन मेरो हिमाल" केवल एक व्यक्तिको गुनासो
होइन; यो लाखौँ नेपाली श्रमिकको
साझा चीत्कार हो । विदेशमा कमाएको धनले घर बनाउन सक्छ, तर झ्यालबाट देखिने हिमाल, आफ्ना मानिसको सान्निध्य र
मातृभूमिको अनुभूति किन्न सक्दैन । त्यसैले यो गीतको मूल भाव प्रेमभन्दा पनि गहिरो
छ— आर्थिक बाध्यताले जन्माएको
प्रवासको पीडा र आफ्नोपनको अनन्त खोज।
०००
आफ्नै गन्थनः
गीतमा कथा छ, यो स्तम्भकार कथा सुन्दै सुन्दै हुर्किएको हो र
त कविता अनि गीतमा पनि कथा नै खोज्दछ । यसैले श्रवण मुकारूङ
मेरा यसै मन परेका लेखक होइनन् नि ।
०००
समय फेरिए होलान् । बाघे भीरमा भारी लाउनुपर्ने बाध्यता हट्दै गयो होला
। पन्ध्र तलामाथि रङ लाउने मात्रै नभएर कुर्सीमा बसेर काम गर्ने कर्मचारीका रूपमा
नेपाली विदेश पुगे होलान् । तर यो गीतलाई यति सामान्य अर्थमा अर्थ्याउने हो भने
अन्याय बाहेक अर्को केही नहुँदो पो रहेछ । यसैले यो गीत होइन भक्कानोहरूको लयात्मक
शाब्दिक दृश्य हो । मेरा शब्दहरूका व्याख्या केवल धृष्टता मात्रै हुन् र त ब्लगमा
सुटुक्क लेखेर मनलाई सम्झाएको छु । मुकारूङका रचना अनि उहाँलाई जति प्रेम गर्छु, उत्तिकै आभास र
मिना निरौलाप्रति पनि गर्छु र त पलेटी श्रृङ्खला मेरो हर बिदाको अभिन्न मित्र हो ।
४ श्रावण २०८३
No comments:
Post a Comment
तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।