ह्याप्पी लुतो दिवस
- संप्रस पौडेल 'दिवस'
लुतो धेरैलाई लाग्ने गर्छ ।
विशेषतः फोहोर आनीबानी र आचरणले हाम्रा शरीरका छालामा लुतो लाग्दछ । यो कुनै
एकसिंगे गैंडा‚ कस्तूरी जस्तो दूर्लभ फिटिक्कै होइन । बरु यो संसारको जुनसुकै कुनाकाप्चामा
रहेका मानिसहरुका पनि कुनाकाप्चामा लाग्ने रोग पो हो । यसैले यसलाई सर्बसुलभ रोग
पनि भन्न सकिन्छ । एक्काइसौं शताब्दीको प्राविधिक युगमा लुतो कस्तो रोग हो भन्ने
बारे विदेशीहरुलाई बुझाउनु पर्दा यसलाई वायरलेस र वायर्ड गरी दुई भागमा विभाजन गरी
बुझाउन सकिन्छ । ब्लुटुथ‚ इन्फ्रारेड तथा स्याटेलाइट र माइक्रोवेभ सिस्टमझैं एक व्यक्तीबाट अर्को व्यक्तीमा हावाको माध्यमबाट सर्ने लुतो वायरलेस लुतो हो ।
त्यस्तै शारीरिक संसर्ग जस्तो चुम्बन‚ अंकमाल‚ हात मिलाउने तथा रोगीको कपडाहरु मागेर लगाउँदा यो रोगले झन् चाँडै डेरा जमाउने
मौका पाउँछ । यस्तो लुतोलाई वायर्ड लुतो भन्न सकिन्छ । डेरामा बस्नेले घरबेटिकी
छोरी उछिट्याएर बग्रेल्ती सन्तान थुपारे झैं लुतोले जति चाँडै डेरा जमायो उती धेरै
ठाउँमा यसले संक्रमण गर्न थाल्छ ।
आजकल सत्तापक्ष र प्रतिपक्ष
दुवैबीच लुतो आएर सबै कन्याउनमा व्यस्त छन् । नेतालाई चुनाउको भन्दा ज्यादा
सार्वजनिक स्थलमा लुतोको कन्याईमा समस्या हुने गरेको कुरा पर्सनल एसिस्टेन्टहरु
ओकल्छन् । एकताका एउटा नेतालाई लुतो आउँदा काखी बजाएर खुच्चिङ भन्दा अर्का नेताकै काखीमा
पनि लुतोले सताएर खुइलिसकेको कुरा सार्वजनिक भयो । पछि दुवै लुतो पीडित नेताहरुले लुतोले
आफूहरुलाई मात्रै नसताएको बरु तमाम नेताहरुलाई लुतोभन्दा जटिल भ्रष्टाचारको लुतो
लागेको कुरा विज्ञप्तीमा नै छपाएर खुलासा गर्नुपर्यो । यसरी लुतोले यत्र तत्र
सर्वत्र स्थान कब्जा गरिसकेको कुरा नमानी धरै भएन ।
शत्रुलाई पनि लुतो नआओस्
भन्दै यस बारे कवि सिद्धिचरण श्रेष्ठले यस्तो कविता कहिल्यै लेख्नु भएनः
नेपाली हुँ कठिन गिरीमा चढ्नलाई सिपालु
बैरी नै किन नहोस् कोही नहोस् लुतालु
तातो रातो घाउ लुतोको प्युन
को हुने तयार ?
मेरो प्रिय इचगार्ड छ ए लुतो होशियार ।
जतिखेर विश्व स्वास्थ्य संगठन
(WHO) ले एड्स‚ क्षयरोग‚ मुटु इत्यादी रोगको दिवस मनाउँदै आयो‚ त्योभन्दा हजारौं बर्ष पहिले
नेपालीहरुले लुतो वीरुद्धको दिवसको रुपमा साउने संक्रान्ती मनाउन जाने । सौरमान
अनुसार सूर्य दक्षिणायन भै कर्कट रेखामाथि पुग्ने श्रावण १ गतेको दिनलाई कर्कट
संक्रान्ती पनि भनिन्छ । यसै दिनलाई हामी लुतो फाल्ने दिनका रुपमा लिन्छौं ।
यतिखेर राजनीतिमा भ्रष्टाचार
भन्ने लुतो लागेको छ । कर्मचारीमा संगठनका
नाममा व्यक्तिगत र राजनीतिगत स्वार्थको लुतो लागेको छ । लुतोकै कारण घरमा श्रीमान
श्रीमतीबीच सम्बन्ध चिसिएको छ । लुतोले गर्दा छोराछोरीले विद्यालयमा हप्की खानु
परेको छ । पढाइमा भन्दा कन्याउनमा ज्यादा ध्यान दिँदा पढाइ टाढा पुगेको छ ।
सार्वजनिक स्थलमा स्थिति सम्हाल्न हम्मे हम्मे परेका नलेखिएका दन्तेकथाहरु सर्वत्र
छन् ।
असारे हिलोबाट आउन सक्ने लुतो
रोग हटाउनकै लागि हाम्रा महान किसानहरुले इतिहासमा लुतो फाल्ने दिन मनाउँन शुरु
गरेका हुन् । महिलाहरुले यसै दिनदेखि हरिया चुरा‚ सारी लगाउने तथा महिला र पुरुषहरु श्रावण महिनाभर
माछामासु नखाई ब्रत बस्ने परम्परा पनि छ ।
साँझमा आगोमा कुरिलो पड्काएर धुप धुवाँर गर्दै वेद‚ बाँस‚ गलेनी‚ पानीसरो लगायत बिरुवा जम्मा गर्ने र धुप गरिएको अगुल्टो 'मेरो लुतो लैजा है फलानो' भन्दै नाङ्लो ठटाउँदै‚ शंख घण्टा बजाउँदै कराएर आफ्नो आङ र जाङको लुतो अरुमा
सार्ने विश्वास लिइन्छ । यसो गरिरहँदा ढिकी कुट्ने र केहीबेर घरको
ढोका समेत बन्द गर्ने गरिन्छ । साउने संक्रान्तीमा पटक पटक लुतो फाल्दा पनि लुतो
फिटिक्क नहराएपछि हाँस्यव्यंग्य कविले यस्तो कविता श्रृजना गरेछन्:
साउने संक्रान्तीमा लुतो
फालेकै हो पहिले
अल्झी बल्झी आउँछ चिलाउँछ
कहिले
तेरो चिता बनाइ पोहोरै जलाकै
हुँ मैले
नदेख्ने र अप्ठेरामै किन आउँछस् अहिले ?
आजकल शहरमा लुतो
फाल्ने पूरातन परम्पराको लगभग लोप नै भैसके पनि लुतो जीवनमा सबै व्यक्तिमा आउने
हुनाले यसलाई सामान्य रोग मान्न पनि नहुने हो । अझ राजनीति‚ शिक्षा‚ व्यापार‚ कृषि‚ कर्मचारीतन्त्र सबै क्षेत्रमा भ्रष्टाचार‚ अत्याचार‚ दूराचार इत्यादीले
ढपक्क ढाकेको बेला लुतोले झनै प्रसय पाएको छ । लुतोले सर्वाङ्ग ढाक्दा भिडभाडमा
मौका मिल्नासाथ धोको पुग्ने गरी लुतो कन्याउन पाउनु नै अहोभाग्य ठानिन्छ ।
सार्वजनिक स्थलमा हिपहप हुर्रे‚ जिन्दावाद
मुर्दावादको नारा र वान्समोर मात्रै होइन खैंचेडी र भजनको क्रममा पनि मौका मिलाएर
लुतो कन्याउन पाउनु ज्यादै अहोभाग्य हुन जान्छ । लुतोको भौतिक रुप देख्न पाए यस्ता
सजाय दिनुपर्ने भन्दै यसदेखि वाक्क भएका एक लुतो पीडितले यस्तो दिक्दारी व्यक्त
गरेछन्:
झस्केर हेर्छु गोडै समाई
रोइरहन्छ सदा
पर पर जानोस् लुतो महोदय
हेर्नै सक्तिन म ता ।
कुना कप्टेरा खोजी खोजी त्यतै
आउनुपर्ने
घुसपैठका लुतो र नेता सबलाई
कोर्रा लाउनुपर्ने ।
लुतो आयो भन्दै
योसँग ज्यादै रिसाउनु पनि हुन्न । जति बढी रिसाएर लुतो कन्यायो‚ यो उती चाँडो फैलिन्छ । यसैले कुकुरले आफ्नो घाउ चाटी चाटी
निको पार्छ तर विचरा बाँदर सानो घाउलाई पनि कोट्याई कोट्याई ठूलो बनाई मर्दछ । यसैले
लुतोसँग विभिन्न बुँदे सहमती गर्नुको अर्को विकल्प फिटिक्क छैन । आफ्नै शरीरका
अंगहरुमा लाग्ने र ठाउँ न कुठाउँ कन्याएर शान्त पार्नु पर्ने हुँदा वास्तवमा यसलाई
रोग र शरीरबीचको गृहयुद्ध मान्न पनि सकिन्छ । यसैले यो आफ्नो राष्ट्रभित्रको
समस्या वा राष्ट्रिय रोग पो हो । राष्ट्रिय लुतो वैद्यबासँगको छलफलले समाधान गर्न
पनि सकिएला । तैपनि आजकल वैद्यको झारपातभन्दा डाक्टरको एलोप्याथिकमा उपचार
गराउनेहरु पनि उत्तिकै छन् । हेरौं यसको निदान वैद्यबाले गर्छन् या डाक्टरसापले ।
मास्टर सापले कन्याए लौरो सर्टभित्र पारेर
डाक्टर्नीले कन्याइन् कपडा अली माथि सारेर
एनजीओका विदेशी हाकिम लुते नै पो परेछन्
विदेशीले डलर पठाउने उसकै लुतो भरेर ।
लुतो फाल्नलाई यसलाई माया
गर्न जान्नुपर्छ । यसैले भनिन्छ नि‚ "आइ लभ यु भनेर मात्र हुन्छ निष्ठुरी माया गर्न पनि जान्नुपर्छ ।" यो लुतोकै खास भनाई हो । यसलाई माया गरेर नचलाई राखियो भने सार्वजनिक स्थलमा
यसले ढोका ढक्ढक्याउँदैन । वास्तवमा यसलाई त माया गरी गरी पछाडीबाट छुरा धस्नुपर्छ
। यसलाई जति सक्दो सफा र सुख्खा राख्नुपर्छ । यो सुख्खा भएको र निदाएको मौका पारेर
ओखतीमूलो गर्न जानियो भने फेरि यसले बिउँझिने या बल्झिने मौका पाउँदैन ।
भानुभक्त आचार्यले उपिया‚ उडुस‚ छुच्ची बुहारी र सासु तथा घाँसीको कविता लेख्नुभो । तर लेख्ने प्रयास गर्दा गर्दै
उहाँले लुतो विषयमा यस्तो कविता कहिल्यै लेख्नु भएनः
सुन्यौ भाइ संसारमा शरीर अति कच्चा छ जनको
शरीर कच्चा जानी मौका छोपी सताउँछ लुतो झन यो
सारा भोग लुतोकै छ‚ लुतोविना एकछिन
नरहन्या
विचार यस्तो राखी सहु तिमी बडो हुन्छ सहन्या ।
लुतो लागेपछि
सहनुभन्दा ठूलो अरु केही छैन भन्दै राम भगवानले लक्ष्मणजीलाई कहिल्यै बताउनु भएन ।
यसैले सृष्टिको शुरुवातसँगै यसले अती गोप्य स्थानमा डेरा जमाउँदै आउने गरेको हो । कलेजमा
पढाउँदा होस् कि‚ सार्वजनिक चौरमा भाषण छाँट्दा होस् लुतो
आएपछि नकन्याई धरै छैन । लुतो कन्याउँनु भन्दा ज्यादा आनन्द जनतालाई सार्वभौमिकताको
नाटक देखाउँदै ठूला होटलमा तरुनीसँग कम्मर मर्काउनुमा पनि पक्कै हुँदैन भन्ने यो
स्तम्भकारको विचार हो । तेताको लुतो तेतै र नेताको लुतो नेतैमा रहोस् । जनतामा नेताको लुतो नसरोस् । खास त सबैको
लुतो मरोस्‚ खुद्रा पापहरु फच्या होस् । लुतो आएको नेपालीले लुतो आएको
नेतालाई चुनाउ जिताउने क्रममा के के हुन्छन् । यस कविताबाटः
यो नेपाली लुतो कन्याई चुनावअघि चम्किन्छ
लुतो कन्याएर लुतै रहँदा चुनावपछि बम्किन्छ ।
यतिखेर कवि श्यामलको 'लुतो' शिर्षकको कविताको सन्दर्भ उल्लेख गर्नु उचित लाग्यो:
लुतो / श्यामल
बस्, एउटै कुरामा छ
आनन्द
कन्याइरहनुमा
कविता, कथा र चित्र
लेखने औंलाहरुले
फगत आङ कन्याइरहनुमा
विद्रोहमा उचालिने हातहरुले
आफ्नै शरीरका कापहरुमा
चलाइरहनुमा ।
लुतो लागृपछि
हराउँछ सोच र दृष्टि
आफ्नै अगाडि भएको व्यभिचार
व्यभिचार हुँदैन
आफैंमाथिको अत्याचार
अत्याचार हुँदैन
मानिस व्यस्त हुन्छ बिर्सेर यावत् कुरा
विचार, स्मृति, बहस
र वरिपरिको दुनियाँको मुरा
बस, एउटै हुन्छ आननदको
स्रोत
आफ्नै जीउ कन्याइरहनुमा ।
लुतो लागेपछि केवल लुतो लाग्छ
आमा—बाबु र छरछिमेकको
माया लाग्र्दैन
जब लाग्छ लुतो कसैलाई
बाँदरलाई घाउ लागेजस्तो
ऊ बिर्सन्छ बाल्यकालका स्मृतिहरु
आफ्ना छानामाथि लाग्ने घामको ताप
वा आफ्नी आमाको चौबन्दीमा
मगमगाउने दूधको सुगन्ध
सबै बिर्सन्छ लुतोग्रस्त मानिस
र एउटै कुरामा व्यस्त हुन्छ
आङ कन्याइरहनुमा ।
लुतो एक विचार रहेछ
मानिसलाई विचारशून्य बनाउने
आद्यबिम्बसहितको उत्तर—आधुनिक
विचार
रोग र औषधी दुवै बेच्ने
नाफाखोर बजारजस्तो लुतो
जहाँ रहँदैन मानिस मानिसझै
बस्, कन्याइरहन्छ आफ्नो
आङ
तृप्त, आनन्दविभोर र
बिलकुल एक्लो
मजा लिइरहन्छ
आफ्नो आङ कन्याइरहनुमा ।
लुतोको कारण रोग भोक र शोक
जस्तोसुकै अवस्थामा पनि तृप्त भै कन्याएर आनन्द लिन पाउनुमा पीडितहरुले आफूलाई
भाग्यमानी ठान्नै पर्ने रहेछ । यसर्थ तमाम नेपाली र विदेशीहरुमा लुतो दिवसको
शुभकामना । २०७० श्रावण १
No comments:
Post a Comment
तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।