लघुकथाः
-संप्रस पौडैल 'दिवस'
हरेक बिहान जागिरका क्रममा दौडधुप गर्दा मैले जे देखेँ...
गाउँका तुलनामा शारीरिक कार्यको कमीका कारण सहरका थुप्रै पुरुष महिलाहरु सुगर, ब्लड प्रेसर, युरिक एसिड‚ मानसिक प्रेसरले सताइएकाहरु छन् । यसैले उनीहरु काम अघि वा पछि मर्नीङ वाक‚ इभनिङ वाक गर्दछन् र जिम क्लब र एरोबिक कसरत क्लासमा सहभागी हुन्छन् ।
एकाबिहानै एक महिला पाल्तु कुकुर डोर्याउँदै झिसमिसेमै सडक छेउछाउ देखिन्छिन् । लाग्छ, क्या काइदा; मर्निङ वाकले जीउ तन्दुरुस्त पनि हुने र कुकुर पनि फ्रेस हुने । म पनि बिहान बिहान साँचो बोकेर अफिसतिर हानिन्छु । सँधै एकै बाटोमा देखिने हुनाले उनको कुकुरको बानी मलाई पनि राम्ररी थाहै छ । उ मलाई देखेपछि भुक्दैन, बरु यसो गोडा सुँघ्न खोज्छ, उसकी मालिक्नी सिक्री तान्दछिन् । अरुबेला कुकुर अघिअघि उनी पछिपछि । काइदाको कुकुर; बोसो घटाएको छ उनको ।
आज बिहानै उही बाटो हिँड्दा उनको कुकुर मेरै गोडानिर पछाडिको भाग भैंमै छुँला झै गरी कुप्रियो । मैले पाइला उचाल्नु पर्यो । उसले त्यही दिसा गर्योस । सडकका बीच बीचमा जहाँ जहाँ उ कुप्रन्थ्यो, उसकी मालिक्नी एकछिन अडिन्थिन् ।
मैले हिजो अस्ति खुट्टा उचाली उचाली हिँड्नु परेका घटनाहरु कति छन् कति । ती सबै सहरिया व्यापारी‚ सहर छिरेका सरकारी कर्मचारीहरु र मन बहलाउन र टहलाउन मर्निङ वाकका नाउँमा कुकुर डोर्याउने सबै सबैका कुकुरहरुले बिष्टाएका हुन् भन्ने राम्ररी थाहा भयो । केही महिनाअघि मात्रै तिनै पात्रहरु मिलेर उनैका जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिदिएका थिए । घोषणा भनेको जे गरिदिए पनि हुने र कार्यान्वयन भन्ने अर्कै कुरो रहेछ भन्ने कुरा सरकार र सदनमा मात्र हैन, जनताहरुमा पनि उस्तै रहेछ ।
(नर्वे जस्ता देशहरुमा सडकमा थुक्नसम्म नपाइने, हाम्रामा चाहिँ जे गरे पनि हुने मानसिकताले जकडिएका हामी एक किसिमका मानसिक रोगी नै हौं त ?)
२०७१ आश्विन ७
No comments:
Post a Comment
तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।