व्यंग्यात्मक साहित्य
– संप्रस पौडेल 'दिवस'
नेपालमा नयाँ सँस्कृतिको विकास भएको छ 'नातीको न्वारान‚ बाजेको हैरान' । सय वर्ष अघिको इतिहासको प्रामाणिकता नभेटिएको बेला बाहुनले देश बिगारे
भन्दै ढोल बजाइन्छ । यतिखेर बाहुनहरु तै चुप मै चुप भैराखेका छन् । यसर्थ बाहुन
भएकै कारणले बाहुनबाट अरु जातिले अन्याय
भोग्नु परेको हो भन्ने भनाईलाई खण्डन गर्दछु ।
पण्डितबाजेभन्दा पहिले टोल चहार्ने पण्डितको झोला बोल्यो‚ "नेताज्यू बिहानै उठ्नुभो । शौचादी
कृयाकलाप गरिसकेपछि गायत्रीवाचन गर्दै गौमुत्रले पवित्र भएर गाउँघर चहार्नु भयो ।" झोलाले बोलेपछि सबैले होला भन्ने ठाने । "जय
भोला जय भोला" सबैले एकै स्वरमा भन्न भ्याए । नाग
टाँसेपछि झोला घर फर्कियो ।
आजकल पण्डित बाजे सबैका घरघर चहार्न भ्याउँदैनन्‚ लोकतन्त्रले उनलाई झनै
व्यस्त बनाएको छ । उनी घरमै घोत्लिएर इतिहास खोजिरहेका भेटिन्छन् । भन्छन् "मान्छेहरु ज्यादा झोले भए‚ नेताकाभन्दा
झोलेका कुरा विश्वास गर्ने‚ झोलेकै विचार मन पर्ने‚ झोलेकै हुट्टीमा ताली बजाउँने
। सबै झोले हुन लागेपछि मैले पनि झोलालाई नै गाउँठाउँ घुमाउँछु‚ सबैलाई विश्वास
पनि छ ।"
आटो खाने मुखले माटो खानु नपरोस् । क्रान्तिको नारामा मात्रै बाहुनलाई गाली
गरिन्छ‚ जब जब शान्तिका कुरा आउँछ तब तब सबैभन्दा पहिला "ॐ शान्ति"
गाउँने त बाहुन नै हुन्छ । घरमा सबैभन्दा बढी ॐ शान्ति गाउँने बाहुन नै हो ।
इतिहासमा सबैभन्दा बढी खुकुरी कसले चलायो त्यो बाहुनवादको विरोधीलाई नै थाहोला ।
हत्या‚ हिंसा‚ अपराधमा बाहुन कहिल्यै लागेन । बरु बाहुनलाई हेरेर बाहुनको टुपी‚
ढाका टोपी‚ जनाईमाथि प्रशस्त व्यंग्यवाण भए । कहिले काट्टे बाहुन भनियो‚ कहिले
बाहुनको टुपी कहिले एन्टेना न एरियल भनियो । जनाईलाई कुखुराको आन्द्रो भनियो ।
बाहुन‚ बिहान बिहानै डाउन भनियो । गर्न पनि बाहुनलाई डाउन गर्नुसम्म गरियो ।
इतिहासै हेर्ने हो ने बाहुन जहिल्यै पछाडी पारिएका
जाति हो । आफ्नै खेतबारीमा हलो जोत्न पाइएन र अर्काको भरमा खेतबारी जिम्मा लाउनुपर्यो । पूजाआजामा धुँवामा
रूमल्लिएर फोक्सो बिगार्दै बस्नुपर्यो
। एउटा बिराउँछ‚ शाखा पिराउँछ भनेजस्तो
कुनै एक बाहुनले गरेको अपराधले सबै बाहुन जातिलाई धारे हात लगाउन नमिल्ला कि !
बाहुन बाहुनै हो‚ नुहाए पनि बाहुन गन्हाए पनि बाहुन् भनिन्थ्यो तर के गर्नु
त्यही बाहुनलाई कुनचाहिँले हो ठिराउँदो जाडोमा दिनदिनै नुहाउँनुपर्ने
र फिलफिलाउँदो धोति लाउँने नियम बनाइदियो
। एन्टेना न एरियलका रूपमा टुपी पाल्नुपर्ने भनियो । जागिरमा ठूलो पदभन्दा खरदार, डिठ्ठामै सीमित गरियो । पढ्ने पेशा बाहुनले गर्ने भन्दै बाहुनलाई सुगा
बनाएर सुकाइयो । जहाँ गुलियो त्यहाँ बाहुन भुलियो भन्दै ब्राह्मण जातलाई आक्षेप लगाई जातिय द्वन्द्व निम्त्याउँने कोशिस गरियो । मिलेर
बसौँ, मिलेर हिँडौँ भन्दा
तँ ठूलो जात भन्दै समाजमा अन्य जातिसँग विभेद गराइयो । अरू जातले छोएको पानी पनि
खान नहुने भन्दै खाद्य स्वतन्त्रताबाट मुक्त गरियो । परम्परा र धर्मसँस्कृति
जोगाउनेभन्दा दुना टपरा सोहोर्ने जातिका रूपमा परिभाषित गरियो ।
ठूलाठूला
क्रान्तिहरूमा लाग्ने अन्य जातीलाई तुरून्त मारिदिन्थे । मर्नेका
नाम शहीदका कोटीमा सुनौला अक्षरले लेखिन्थे । चारपाटा मुडिएर जीवनभर आफ्ना आफन्त, छिमेकी, समाजको नजरमा गिर्दै पलपल मर्ने जाति बाहुन नै थियो । टंकप्रसाद
आचार्यहरू जिउँदो शहीदका एक पात्र हुन् । बाहुनलाई "जातिच्यूत" गराइएको भन्नुको अर्थ नै अन्य जातिलाई सानो र बाहुनलाई ठूलो मानिएको हो ।
जातिच्यूत गराउने शासक वर्ग कुन जातिका थिए कसैले खोजेनन् । इतिहास हेरौं त ती
बाहुन छँदैथिएनन् । अन्य जातिका पो थिए । यसैले जातिगत विभेद तिनैले गरेका हुन्
भन्न किन डराउने ? नेपालको राजनीतिलाई उलटपुलट पार्ने हलो
क्रान्ति‚ जयतु सँस्कृतम‚ लाइब्रेरी क्रान्ति बाहुनहरुसँग नै सम्बन्धित छन् । तिनलाई
चटक्क बिर्सेर सँस्कृत पढेकै भरमा‚ पूजाआजा र श्राद्ध गरेकै कारणले नगरेको अपराध
भिराएर बाहुनलाई टपरे बाहुन भन्नेहरुको विद्धता बारे भविष्यले बताउला ।
विगतलाई हेर्नुहोस्‚ बाहुनलाई व्यापारमा निषेध गर्दै
धनसम्पत्ति कमाएर सम्पन्न बन्न दिइएन । केवल पढ्ने यन्त्र मात्रै बनाइयो ।
नपढेकाहरू कुँजिएर बस्नुपर्यो ।
होटलमा मीठो खान नदिएर सामल बोकेर यात्रा गर्नुपर्ने बनाइयो । यसैले मान्नोस् नमान्नोस् 'राष्ट्रिय रोग ग्यास्ट्राइटिस बाहुनबाटै
जन्मेको हो' ।
बाहुन भएकै कारणले जो कसैले हेपिनु र चेपिनु नपरोस् । अरू जातिको उत्थानका नारामा बाहुनहरूले
नगरेको अपराधको भार बोक्नु नपरोस् ।
झोला फेरि व्यस्त भयो‚ बोल्यो "श्राद्धमा
जानुछ गुरुबा ।"
पण्डित बाजेः "कसको श्राद्ध ?"
झोलाः "श्यामबहादुरको ।"
पण्डितः "त्यो त जिउँदै छ हैन र ? अस्ती चोकमा बाहुनलाई कालोमोसो दलेर देश निकाला गर्नुपर्छ भन्दैथ्यो त ।"
झोलाः "..... आच्या श्यामबहादुरको बाउको पो हो
त ।"
पण्डितः "जाउ‚ सबै कर्म पूरा गरेर आउ । .....
सर्वे भवन्तु सुखिनः ।"
पण्डित बिहानी कर्ममा लाग्नुभो । या देवी सर्व भुतेसु
तृष्णा रुपिण संस्थिताऽ नमतस्यै नमतस्यै नमतस्यै नमोनमः..... ।
परिवर्तनको
बाटोमा सबैलाई स्वागत छ । बाहुनलगायत सबै जातिको जय होस् ।
२०७४ श्रावण
हालः सिद्धार्थ
माध्यमिक विद्यालय‚ हेटौंडा
२०७४ श्रावण २१ गते शनिबार समृद्ध समाज दैनिक‚ हेटौैडामा प्रकाशन भएको
No comments:
Post a Comment
तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।