Tuesday, September 3, 2013

झोलमेच सम्मेलन



- संप्रस पौडेल
भद्रगोल नेपालको एउटा जात्रा । त्यो जात्राको बहसमा निम्न पात्र र स्रोता तथा दर्शकहरु सम्मिलित सारा नेपालीहरुको एउटा सम्मेलन छ । टेबलका सहभागीहरुको आशय टेबल बाहिर हुनेको भन्दा विल्कूल फरक छ । जे होस् दृश्य हेर्दा लाग्छ मानौं एउटा गजपकै जात्रा लागिरहेछ ।
टेबल बाहिर
कर्णालीः आच्या देशमा लोकतन्त्र पो आइसकेछ । गणतन्त्र पनि आउँदैछ रे भन्ने हल्ला छ त ।
मुखाले र साइको (एकसाथ): तामझामले भित्र्याइएको गणतन्त्रअत्तो नपाइ आएको धर्म निरपेक्ष र पत्तो नपाई काउसो लागेको संघियता बारे कहिले थाहा पाउला कर्णालीले?
मेचीः साँच्चै लोकतन्त्र भन्या के ?
कम्युनिष्ट कार्यकर्ताः तन्त्रमन्त्रधामीझाँक्रिदेवता र मूर्तिमा विश्वास छैन । यो लोकतन्त्र पनि त्यस्तै एउटा होला ।
सगरमाथाः फेरि फूलका मालामन्दिरको उद्घाटन र मूर्तिको शिलान्यास नगर्नु नि । सुदूरपश्चिममा गौरामाईको प्रसादस्वरुप ४१ किलोको माला र पश्चिमाञ्चलमा मुसलमानको विर्खे टोपी लगाएर बडो धार्मिक पनि नबन्नु । यो सुहाउँदैन तिमीहरुलाई ।
धौलागिरिः सबै कुरा सुहाएर मात्रै कहाँ हुन्छ र ? फेरि नेतालाई सडक र कर्मचारीलाई सत्ता पनि त सुहाएकै छ ।
महाकालीः सप्पैको गणतन्त्र यस्तै हो कि हाम्रामा चैं खुइलेका गणतन्त्र आएका हुन् ?   
गण्डकीः खुइलेका होइनन् । आउँदा त सग्लै थियो आजकल कुर्सीफ्लुले सतायो । अब गोलमेच सम्मेलन गरी सबैका कुरा सुन्नुपर्छ ।
बाग्मतिः यसैले ताजा जनमत चाहियो ।
नारायणीः जनमत पनि बासी र ताजा हुँदो रहेछ । सरकारी निकायको अनुगमन नै छैन हरे । काठमाण्डु जस्तो डुङ्डुङ्ती गन्हाउने ।
राप्तिः त्यसलाई फ्रिजमा राख्दा ताजा हुने कि नहुने ? खाद्य विभाग पनि के खाएर बसिरहेछ ? समय र जमाना अनुसार अपटुडेट जनमत चाहियो । ताकि चाहेको बेला प्रयोग गर्न सकियोस् । आगो ताप्नु मुढाकोकुरा सुन्नु बुढाको ।
सेतीः इलेक्ट्रोनिक शताब्दीमा हिटर बाल्न छोडेर ओभनमा पकाउन छोडेर मुढो बाल्दै बुढोको कुरो सुन्ने कि नसुन्ने ?
जनकपुरः त्यहीमाथि अर्ती भन्या घर्तीको पनि मान्नुपर्छ भन्न मिल्ने कि नमिल्ने ? पहिचानको कुरो छ ।
राप्तीः जात र पहिचानको नाटक मञ्चन भैराख्दा काठा (काठको) बाकस भन्न हुने कि नहुने ?
भेरीः भोटेकुकुर र भोटे ताल्चा भन्न पाइने कि नपाइने ?
कोशीः ज्योतिषीलाई जैसी भन्दा के भन्ने हुन् ?
लुम्बिनीः महाराज भनुँ त राजावादी हुने अरे । गणतन्त्रवादी हुन के गर्नुपर्ने हो ? नभएको संघियताको कसरी सम्मान गर्ने ?  (एक्कासी झ्याल खुल्छ...)
टेबलभित्र
झोलमेच आयोजकः (झ्यालबाट बाहिर चियाउँदै) मेचीकाली अनी सबै जातजातिहरु सडकमा गएर सिन्दुरजात्रा मनाओ । हाम्रालागि झोल भाग लगाओ । ह्याप्पी झोलमेच सम्मेलन । हुर्रे.......चियर्स ।
(फोनबाट) विदेशी दलाल र कनिष्ठ र वरिष्ठ महोदयहरुः भाँडभैलो गर्ने सपना पूरा भएको छ । चियर्स.....
टेबल बाहिर
नेपाली जनताः चियर्स माने धेरै कुर्सीहरु.... यानकी काम नगर्ने नेताको पर्याय । टेबलमा सहभागी सबैलाई चाहिने कुर्सीको कुरा... । भित्र सहभागी सबैलाई संघियतासंविधान होइनचियर्स चाहिएको छ । त्यो चुनाउबाट होस् या चुनाउविना... । (सबै एकैसाथ क्यारिकेचर गर्दै) चियर्स...... । (मितिः २०७० भाद्र १७ गते)

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २