– संप्रस पौडेल ‘दिवस’
पहिलो सम्बोधन,
घिटिक घिटिक बाँचिरहेको वृद्ध बा आमाको आँशु पिएर विदाई भई जाने, फर्केर घर बनाउने, डल्लीका गलामा सुनका गहना ढल्काउने, शहर पसेर राम्रो मोबाइल, ल्यापटप चलाउने र पल्सर हाँक्दै छोराछोरीलाई अंग्रेजी बोर्डिङ्ग दिनहुँ ओसार्ने रहरले बर्षेनी विदेशिएका होनहार युवा साथीहरु ।
घिटिक घिटिक बाँचिरहेको वृद्ध बा आमाको आँशु पिएर विदाई भई जाने, फर्केर घर बनाउने, डल्लीका गलामा सुनका गहना ढल्काउने, शहर पसेर राम्रो मोबाइल, ल्यापटप चलाउने र पल्सर हाँक्दै छोराछोरीलाई अंग्रेजी बोर्डिङ्ग दिनहुँ ओसार्ने रहरले बर्षेनी विदेशिएका होनहार युवा साथीहरु ।
तिम्रा इमेल र
च्याटमा मेसेज दिनहुँ पाइरहन्छु । सकेर कतिका जवाफ दिन्छु, कतिका जवाफ दिने
उत्तरहरु भेट्टाउँदिन म । दिनहुँ ‘गाउँ कस्तो छ ?’ भन्दै सोध्ने जवाफ मसँग
उहिल्यैदेखि रित्तिएको छ । किसान, गरिब, निमुखा र मजदुर वर्गलाई नबाँड्दै सिध्धिएको सरकारी
राहत जस्तो रहेका जवाफहरु धेरै सवालहरुले मिचेका छन्,
उठ्ने जाँगर छैन तिनमा ।
हे युवा,
गाउँ गाउँ जस्तो छैन अचेल ।
उराठ छ, उजाड छ, तिमीले बेल्चा चलाउने मरुभूमि जस्तै । तिमीले त्यहाँ
बगाएको पसिना जस्तै देशको भलो सोचेर माटोमा रगत चुहाउनेहरु अलापिरहेछन् ।
ढोडका छड्केले छिया छिया बनाएका पैतालाहरु लिएर डाक्टरको फि तिर्न मुठी
जोगाएर माडले मुख टाल्न पनि धौधौ परेको छ । कति छाकहरु त आँशुको तिउनसँगै टारिएका
छन् । कान्छा दाई र कान्छी भाउजुको घरमा सँधै किचलो छ । भुँडे स्कूल नगएको
हप्तौं बितिसकेको छ । रिकुटेबाट बलात्कृत भएपछि पहिचानको डरले
बाँच्नुभन्दा मर्नु निको ठानेकी सानीहरु धेरै दिनदेखि बेपत्ता छन् ।
रोई रोई फोनमा के हाल सोध्छौं माइला भाई ?
माइली
बुहारी जण्डिसले थलिएकी छिन् । भुक्लुक्क गुन्द्रुक उमाली ख्वाउने एउटै
छोरो पनि शहरमा दुर्व्यसनीको नाउँमा हिरासतमा खाँदिएको छ । मोडलिङ गर्ने
भन्दै आमालाई बेसहारा बनाई शहर पसेकी एउटी छोरी पनि महारोग लागेर सँस्थाको
आड भरोसामा बाँचिरहेकी छे रे । माइला भाई, तिमीले विदेश जाँदाखेरीको ऋण
निखन्न साहुले जग्गा हडपेको छ । घरमा जो भएका कुकुर, बिराला, उडुस, उपियाँ
बिक्री भए त हो नत्र तिमीलाई फिर्ता ल्याउने पैसो माइली नानीले यो जुनीमा
कमाउने आश नगर्नु । तिमीलाई विदेशमा बेच्ने म्यानपावर र दलालको मनमा ‘हरि’
भए आफैले बनाएको यो संसार फेरि हेर्न पाउने नै छौं ।
कोही बिरामी त छैनन् नी भन्छन् उमेश, सुब्बा र दिपकहरु,
भोकभोकै
काम गर्ने कान्छा दाईलाई ग्यास्ट्रिकले सताएको छ । खानाभन्दा चुरोटको
सहारा लिने यिनी अल्सरले सरकारी अस्पतालको सित्तैको कोरिडरमा मण्डिमा
गुँडुल्किएर पडिरहेका छन् । कान्छा दाईका नानीबाबुहरुले सरकारी राहतको
किताब पाउन सकेका छैनन् । पिरलोले काखको छोरा सहित उर्लदो राप्तीमा फाल
हालेकी कान्छी भाउजुका कारण वर्षेनी पाउने सरकारी छात्रवृत्तिको चार सय
रुपैयाँ पनि बुझिदिने अभिभावक भेटिएको छैन । ग्यास्ट्रिक, अल्सर, पत्थरी,
पहेले रोग, घाउ खटिरा जस्ता गाउँले रोगले मात्रै होइन आजकल
ठूलाबडाका भनिने चिनीरोग, मुटुका रोग र उच्च रक्तचापले पनि एक छेउबाट गाउँ
खान शुरु गरेको छ । भो सञ्चो विसन्चोका कुरै नगर । रोगैरोग छ, छैन बाँच्ने
क्वै भर ।
तमाम विदेशिने साथीहरु,
गाउँ शहरको हाल सोध्ने
विदेशिने मनहरु, न्याय नपाई छटपटिएका जस्ताघरे काकाको उमेरले नेटो काटेको छ
। तारिख धाउँदा धाउँदा अदालतको चौतारीसँग मीत साइनो गाँसेका उनी उतै
पेटीतिरै बाघ घुराईमा पल्टिरहेका भेटिन्छन् । सस्तो अदालती प्रक्रिया र
वास्तविक गरिबको लागि वकालत गरिदिनेहरु नभए न्याय पनि कतिसाह्रो महंगो
हुँदो रहेछ भन्छन् जस्ताघरे काका । यिनका छोरा नातीले पनि त्यै तारिख धाउनु
परे के न्याय व्यवस्था ? छि कस्तो अन्याय छ गाउँ शहरमा अचेल । यो लट पनि
कलेज पढ्ने भाइबहिनीहरु डेराको खोजीमा व्यस्त छन् । डेराभाडा तिर्न गाउँको
खेत निखन्नु परेको कथा पूरानो हुन थालिसक्यो । श्याम काकाको छोराले एक
कठ्ठा बेचेर बर्षभरीको डेरा भारा तिरिसकेको छ । भाडा अग्रिम नतिरे बस्न
नपाइँने, पानी बत्तीको शुल्क लाग्नेभन्दा दोब्बर असूल्ने मात्रै होइन
नगरपालिकाको सरसफाई शुल्क समेत क्याल्कुलेटरमा भाग लगाएर तिर्नु परेको
व्यथा छ । गाउँ विकसित भई बनेको शहर पनि कति कठोर छ अचेल । खसी पाल्ने हुत्ती नभएकाहरु डोरी बाँधेर कुकुर डोर्याउँछन् । पशुप्रेमीहरुको खै मानवीयता ? मनमा हरि
नभएकाहरु बढ्दो छन् अचेल ।
जिरे मोरो र गिर्धारी बाहरु ‘जिउँदै’ छन् अझै
गाउँमा
अपाङ्गता भएकाहरुको जिन्दगी बेकार छ । यिनका लागि सालको लाथ्रो नै बैशाखी र
ह्वीलचेकर भएका छन् । जिरो अझसम्म जिउँदै छ । वर्षमा एकताका बेलैमा कपाल
पूmलेका विदेशीहरु आएर फोटो र भिडियो खिचेर लैजान्छन् । बर्षको एकदुई दिन
झोला र विदेशी चाउचाउ खाएर यसले पनि विदेशको अनुभव लिएको छ । अरुबेला ठुटे
चुरोट खान पनि कत्तिको घिनलाग्दो दया पो पाउनु पर्छ । वृद्धहरुको स्थिति
दयनिय छ । लिन आउनु पर्ने काल खै के बाध्यताले ढिला गरिरहेको छ । आन्दोलन र
चक्काजामले पो हो कि ! “सानै छँदा सँगसँगै खेलिरहेको भाई अज्ञात रोगले
तुरुन्तै परमधाम भएपछि लिन आएको काल अब त दाह्रीजुँगा फुलेर मान्छे ओसार्न
नसक्ने भैसक्यो होला” भन्थे गिर्धारी बा । उनै बाकै अगाडि बाइस बर्षे लक्का
जवान नाती कालले टपक्क टिपेर लगेपछि काल पनि आँखा धमिलो भएर मान्छे चिन्न
नसक्ने भैसकेको ठहर्याउँदै पो थिए । खै सृष्टिको के उल्का गर्न लाग्यो
हामीलाई ।
तिखेको घरझगडाको विकराल रुप
नौ बर्षदेखि बेपत्ता भएको
तिखेका बा अझै घर फिरेको छैन भन्थ्यौं । मानव अधिकारकर्मी र राजनीति कर्मीहरुले
उसका नाउँ बेपत्ताको लिस्टमा दराएका पनि हुन् । खै जिउँदै भेटिने आशहरु
मर्दै गएको छ भन्दै बहस गर्थ्यौं । दुध उमालेर खेर फालेको निहुँमा घर झगडा
भएदेखि तिखेका बाआमाको बोलचाल हराएको थियो । तिखेका बा बेपत्ता भएपछि पनि
गोडा तीन छोराछोरी जन्मिएका छन् । गत शाता तिखेका बा सरसौंदो फर्की आए ।
आमाचैंले कुन्नी एउटा समूहमा गएर उजुरी दिएर उसका बाउलाई महिला हिंसा गरेको
भन्दै सबैले लघारेपछि बकैनाको बोटमा गएर पासो लगाएर फलेको पाँचै दिन
मात्रै भाको छ । मिलाउनभन्दा बिगार्न र भत्काउन अघी बढेका छन् हाम्रा
सँस्थाहरु । मन मिल्दैन भने एकै ठाउँमा बस्नुको अर्थ हुन्न रे । खै के
भनेका हुन् । दुई छाकको बन्दोबस्त गर्न नसक्नेहरुले कमाई ल्याउनेहरुलाई उनका आश्रीतसँग किन छुटाउनु ?
बिगार्ने जति गाउँले
विषैविषले फलाएको तरकारी खाएर
शहरियालाई रोग पसाएको आरोपमा गाउँलेहरुले नगदे बाली लगाउन छोडेका छन् ।
विदेशिएकाहरुले पैसा पठाउला र खाउँला भनी बारी बाँझै राख्नेहरु बढेपछि
चामलहरु बोरामा फल्न थालेका छन् । बर्षामा हिलो पसेर पँधेरो बन्द हुँदा
मिनरल वाटर मगाउनेहरु बढ्न थालेका छन् । दुखि गाउँमा बसेर टन्न खाएर
डकार्नेहरु पनि छन् तर छन् त केवल हुनेहरु नै छन् । त्यही मिनरल वाटरका
बोत्तलमा मट्टितेल किनेर तरकारीका भिटामिनको बोत्तलमा सलेदोले टुकी
बाल्नेदेखि दियालोमा दाउरा सल्काउनेहरु राष्ट्रिय गरिबी योजनाभन्दा
पाखापट्टि पो छन् । तरकारीमा विष हाले राम्रो फल्छ भन्दै उकास्ने बिउ
व्यापारी, बारीमा फलाएको धान बजारमा पुर्याउँदा चामलमा सेता ढुंगा मिसाउने,
गाउँबाट तोरी किनेर नानाभाँती मिसाएर प्याकेटमा बेच्ने व्यापारीहरु आजकल
नउम्रने बिउ, नबढ्ने विरुवा, थोते फल्ने मकै, हौसिने धान र हजारौं मूल्य
चुकाउनु पर्ने बिषादी सिफारिस गर्दैछन् । शहरिया प्रतिवेदकहरुले शहरियालाई
रोग लगाउने कारक नै सोझा र निर्धा गाउँलेहरुलाई ठानेको छ । हो यो देशमा
संविधान लेखन, विकास, योजना, शिक्षा नीति, शान्ति सारा बिगार्ने गाउँलेहरु
पो भएका छन् सोमबहादुर र उमाकान्तहरु ।
तिम्रा सवालका जवाफ मसँग छैनन्
अधिकारी
भाई, गाउँका विकासको सवालका जवाफहरु मसँग भैदिए तिमीलाई भन्न केको
कन्जुस्याइँ गर्थेँ हुँला । मुख्य राजमार्गभन्दा जेठो फायरलाइनमा पिच र
ढलानका कुरा छोडेर ग्रेवलिङ हुन पनि सकेको छैन । बर्षेनी आएको बजेट खै कता
सकिन्छ, कता विकास हुन्छ ? तिम्राहाम्रा पहुँचका कुरै होइनन् । सूसुचित
हुने अधिकार पत्रकारलाई छ तिमीहामीलाई संविधानका हरफहरुमा मात्रै छ ।
रोजगारीका लागि बोली गायब छ युवाहरुको । युवाको जमात छैन । सदरमुकाममा खुल्न लागेका
फ्याक्ट्रिहरु चलाउन विदेशी कामदार चाहिने भएको छ । घरघरपिच्छे चारचार वटा
दलका सक्रिय सदस्यहरु छन् । अस्ति मात्रै एउटा एमालेकी छोरीको अर्को
माओवादीका छोरासँग विवाह हुँदा झुक्याएर भयो भन्दै छोडपत्र भैसकेको छ ।
कांग्रेसको योजना, राप्रपाको बजेट, एमालेको शिलान्यास र माओवादीको
उद्घाटनका लागि खाल्डे चर्पी बाहेक सबै पत्रपत्रिकामा छापिएका छापियै छन् ।
मानो काढेर बनाएको क्रियापुत्री बस्ने छाप्रो दयनिय छ । शहरमा भएका उद्योगधन्दा
बन्द हुँदैछन् । राष्ट्रियता र पहिचानको नाउँमा जातजातबीच काटाकाट पो छ ।
नामुद तस्करहरुले गर्दा जंगलमा घाँस दाउरा गर्न डरमर्दो छ । डढेलो, बाढी र
दोहोरो भिडन्त पछिको बाँकी रहेको भग्नावशेष जस्तो छ गाउँठाउँ । जंगलका
जनावरका सिङ र खुरहरु कता पुगे, तिमीहामी सिङ खुर लिन कहिले गयौं र ?
जंगलमा केही नपाएर बाघले गाउँको खोरखोरबाट दशैं मनाउनुपर्ने खसीबाख्रा लुछि
लगेका छन् । गाउँ पूरै खण्डहर छ भाइ । तिमीले हरसमय सोध्ने तिम्रा प्रश्नका जवाफहरु मसँग छैनन् ।
छन् भने यिनै हरफहरुमा खोज्नु ।
धार्मिक प्रवचन दिने पण्डित बा, लडाइँका कथा तुन्ने लाहुरे दाई, रोधी गाउने मगरसेनीहरु जातजातिको वहसमा व्यस्त छन् ।
कसैलाई
फुर्सत छैन । कसैको काम पनि छैन । जातजातिबीच मन्दिर, विद्यालय,
चियाहोटेलदेखि पानी पँधेरोसम्म बहस चलेको छ । जात्रामात्रामा एउटा जातले
अर्कोको टाउको नफुटाएको बर्ष छैन । सार्वजनिक बाटो, चौतारो, स्कुलको चउर
पनि जातजातिको कुरा काट्ने र पहिचान देखाउने भन्दै निन्दा गरिने
कार्यक्रमले व्यस्त हुने गर्छ राजधानीबाट संघियताको नाटक मञ्चन गर्न आउने
नेता आएताका ।
मास्टरले पढाएको केटाकेटी मास्टर पनि नहुने भए ।
विद्यालयमा
पढाई हुन छोडेको छ । बन्द, हड्ताल, भिडन्त, ग्याङफाइट, कालोमोसो,
तालाबन्दी, कालोपट्टी, कलम बन्द र सिजनमा काम नगरे भोकै बस्नु पर्नाले
विद्यालयमा कहिले काँही पढाई हुने गरेको छ । डाक्टर बन्छु भन्ने भाईहरु
ठेला धकेल्ने हैसियतका सम्म नहुने अनुमान छ । इन्जिनियर बन्ने अठोट
गर्नेहरु डोको, डालो, थाङ्ना, राल, सिँगान र आधा दर्जन बालबच्चाका आमा भएर
माटोसँगै मिल्नु परेको छ । खै मास्टरले पढाएका विद्यार्थीहरु मास्टरसम्म
पनि बन्लान् जस्तो छैन हे युवा ।
छानो छाउन मात्र के‚ ओछ्याउन पनि काम छैन यी सर्टिफिकेटहरु
भएको
अस्थायी जागिर पनि हाकिम रिझाउन नसक्दा खोसिएको छ । दलको टिकट नलिएकोले
पुनःर्स्थापना गर्न सकिएको छैन । यी दिनहरु रात जस्ता छन् । पहिले रातमा
हुने गरेका हत्या, हिंसा, आतंक, तोडफोड, चोरी, डकैती, बलात्कारहरु दिनदहाडै
हुन थालेका छन् । दिनमै यस्ता क्रियाकलाप हुने भएपछि यी दिनहरु के दिन ?
केका कारणले दिन ? दिनका कल्पनाहरु र भावनाहरु स्वर्गीय छैनन् । विचारहरु
तार्किक छैनन् । अनुभवहरु चिरस्मयी छैनन् । सपनाहरु राम्रा छैनन् । आरोपहरु
कपोलकल्पित र भ्रामक छन् । दुखाईहरु सहनयोग्य नहुँदा नहुँदै सहन बाध्य
पारिएको छ । दबाबहरु चौतर्फी छन् । देश देश जस्तो छैन माइला दाई । माटोमा
आफ्नोपन भेटिएन रामबाबु । उमेश र दिनेशहरु तिमीले पिउने नुनिला आँशुभन्दा
यहाँका पानी अमिला र पिरा छन् । यहाँको हावा नै दुषित र विशाक्त छन् हरि र दीपकहरु । चोरी चोरी रोपेका फूलका बिरुवाहरु क्वै छैनन् । गोरेटो र
गल्लीहरुमा विरक्त लाग्दो उन्यू र काँस फुल्न लागेको छ । पानीका मुहानहरु
सुक्न थालेका छन् । उराठ र उजाड बाहेक रमाउने ठाउँ केही भेटिन्नन् यहाँ
उत्तम, हिमाल, महेन्द्र, कृष्ण, सुब्बा र निराजनहरु । पाएका डिग्रीका
सर्टिफिकेटहरुले काम पाइएको होइन । न बर्षामा छानो टाल्न हुनु, न हिउँदमा
सिरक डस्नामा प्रयोग गर्न मिल्नु । निल्नु न ओकल्नुका सर्टिफिकेटका चाङहरु
जोगाउनै मुस्किल परेको छ आजकल ।
बाँचेका युवाहरुको ताल
सँगै खेल्दै
हिँड्ने चौर हडपेका छन् । खेतीपातीले भकुण्डो खेल्ने चौर पनि विलिन भएको छ ।
नाम मात्रका युवाक्लवका भग्नावशेष पनि बाँकी छैनन् । दलका पुच्छर
लाग्नेहरुले विहानीको आश्वासनले दिनभर पछि लाग्दा मात्रै रातमा एक गिलाँस र
तीन चोक्टा सुकुटी चेप्ने मौका पाएका छन् ।
बिबाह र मलामीमा पनि दलबल
छुटिन थालेका छन् । कोही मरिहाले मलामी बनी काँध फेर्ने युवाहरु भेट्टिन्न्
यहाँ । शिलोक गाउँने बास्कोटा ठूल्बाहरु उहिल्यै बिते । गाउँलेले देख्ने
गरी नहर र खानेपानीका विकास गरिदिने बर्तौला ठूल्बाहरु स्वर्गे भए ।
गाउँठाउँमा सुख दुख र समस्यामा उचित निर्णय दिने, लोग्नेस्वास्नी र
बाउछोराका अंशका घरझगडा पनि मिलाइदिने जेठा बा यी दिन नदेख्दै परमधाम भए ।
उखरमाउलो गर्मीमा शितल दिने, तिजमा तिजगीत, तिहारमा भैली र बेला बेला रोधी
गाउँने, बुढापाकाले शिलोक सुनाउने, गाउँलेलाई सुख दुखमा साथ दिने एउटा वरको
बोट पनि ढलेको छ । हो हामी बालसखाहरु नाच्दै र उफ्रँदै हुर्केको चौतारीको
वर ढलेको छ । अस्तु । मितिः २०७० श्रावण
No comments:
Post a Comment
तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।