संप्रस पौडेल
कानून र व्यवहारिक
घटनालाई केलाउँन मज्जा आउँथ्यो । व्यवहारिक समस्यालाई प्राकृतिक कानूनले निदान गराउँथ्यौँ
। प्रथा परम्परा र सँस्कृतिलाई पनि ख्याल गर्नुपर्छ भन्थ्यौँ । कुप्रथा र कुसँस्कारका
विरुद्ध समाजमा चेतना दिलाउन नसकी अन्जानमा भएका सानातिना गल्तीले पीडक र पीडितले अदालत
धाउँदा धाउँदै मर्नु नपरोस् भन्थ्यौँ ।
हामी कानून
पढ्थ्यौँ, कानूनकै हरफहरुलाई दशैंमा अघोषित रुपमा बढेको
गाडी भाडाका कुरामा सवाल जवाफ गर्थ्यौँ । मास्टरहरुले साना साना लालाबालालाई कान समातेर
चुईचुईँ उठबस गराएकामा कानूनका दफाका बहस गर्थ्यौँ । किसानले सुई लगाएर काँक्रो बढाएकोमा उसलाई चेतना दिनुपर्छ
भन्थ्यौँ । अवैध विषादी बेच्नेलाई कारबाही हुनुपर्छ भन्थ्यौँ । कानून पढेकैले व्याजप्रसादहरुसँग
मुखामुख गर्न सक्ने भयौँ ।
कानूनले अवैध
भनेको काम कसरी वैध हुन्छ ? पढेका र जानेकाहरु
पनि हुन्छ भनेसि हुन्छ भनिदिन्थे । फागु पूर्णीमामा रमाइलो गर्ने नाउँमा उछिल्लिएकाहरु
गल्ली गल्लीमा विदेशी केटिहरुका छातिमा हात पुर्याउँथेँ । बेचेर दशैं मनाउँला भनी
फलाएका काँक्रा, कागति, फलफूल तरकारीहरु तिजको चौथीका दिनमा चोरेर खाइदिन्थे । सोमलाल बिहानै दशैंलाई जग्गा धितो राखी सयकडा १० को व्याज तिरी ऋण
पाउँन अनुरोधका लागि मुखियाँकहाँ पुग्थ्यो । चौथीमा दलिनै अगाडि प्लास्टिकमा पोको पारेर
राखिदिन्थे मानव मलमूत्र । "रमाइलो गर्ने पनि हद हुन्छ नि, अरुलाई दुख दिएर के रमाइलो गर्नु ?" यस्तै भन्दै मुखिनी बज्यै सरसफाई गर्थिन् ।
रोजगारीका
लागि शहर छिरेपछि हाम्रो कानूनको पढाई बेकामे जस्तै भएको छ । साथीहरु कोही गाउँमै चक्रीय
खेतीमा लागेका छन् । कोही खाजाघर चलाउँछन् । कानून पढेको कोही सामाजिक विषय पढाउँदैछन्
। कोही प्रोजेक्टमा जागिरे छन् ।
शहरमा कतिपय
पेशा देखादेखी अवैध देखिन्छन् । खाना खाने होटलमा १२ बर्षे केटो भाँडा माझ्दैछ । संविधानमा
प्रदत्त बालबालिका सम्बन्धी मौलिक हकका धाराले उसलाई रोजगारी दिलाउँदैन बरु खोस्छ ।
सडक विभागले सडक पिच गर्ने जिम्मा दिएकामा काम गर्ने केटो आफ्नो उमेर १५ वर्ष बताउँछ
। फुटपाथमा दुई हात फैलाएर हिड्ने बालबालिकालाई वैध माग्ने बनाउँन गाविसले सिफारिस
दिएर माग्न पठाउँछ ।
रेडलाइटको
मागको कुरा चर्काचर्की सुनिन्छन् बजारमा । गृहमन्त्री फेरिनासाथ संसद अवरुद्ध भए जसरी
अवरुद्ध हुन्छन् रात्री जीवनहरु । विभिन्न सम्झौतापछि चल्छन् । चलिरहेका छन् । कानून
बेश्यावृत्तिलाई अवैध भन्छ । पत्रकारहरु वैध बनाउँछन् र भन्छन् केही समयका लागि आफ्ना
ज्यान र पैसा साट्ने यस्ता हर्कतलाई 'यौन व्यवसाय'
।
आज पनि बार,
अदालत, सरकारी कार्यालयहरुमा
टाँसिएका नागरिक बडापत्रको बोर्ड र भित्ताहरुमा हामी कानून पढिरहेका छौं । लेखे जस्तो
भैदिए.... भन्दै कल्पना गरिरहेका छौं । कानुन पढ्ने विषय हो कि व्यवहारमा लाद्ने
विषय हो अझैसम्म अनभिज्ञ छु ।
No comments:
Post a Comment
तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।