– दिवस
उमेरले तीन दशक पूरा गर्न लागेपछि निकै
ठूलो सपना देख्ने जमर्को गरियो, अब्दुल कलामले भनेजस्ता । त्यसैले मत
मिलेकै आधारमा त कलामलाई सलाम गरियो नि । तर खै ठूलो सपना मरिगए देखिएन ।
रातभर निदाउँने प्रयास निकै गरियो ।
उत्तानो परियो, सिलिङ फ्यान झर्यो भने त पानी
भन्न पाइन्नँ भन्ने ठानेर निन्द्रै परेन । कोल्टो फेरियो, भुइँचालोले यो
भित्तो ढल्यो भने आत्था पनि भन्न नपाइएला भनेर निन्द्रा परेन । घोप्टो परुँ न त
भन्दा आफूभन्दा पहिले भुँडी अघि बढ्छ र श्वासनली ख्याप्प पार्छ । पचासको उमेर
कटेपछि कुर्सीमा बसेर निदाउँने हाकिम जस्तो कुर्सीमा क्वाँ क्वाँ घुरेर निन्द्रै
पर्दैन । गाडीमा बसुँ भने आजकल चारपटिका टायर कता छन् यात्रुले ध्यान दिनु जरुरी छ
। गाडी खसेको कुरो ड्राइभरले बाँच्यो भने मात्रै पत्तो पाउँछ । केही गरे निन्द्रा
परेन । घरमा होस् कि सहरमा, कतै जाँदा निन्द्रै परेन ।
सानातिना सपना त जहिले पनि देखिएकै हो
। घिउ खाएका, लुगा लाएका, निदाइएका,
सपना
देखिएका सपना त कति देखिए कति ? तिलश्मी चस्मा लगाएर दिलचस्पी सपना
देखिन्छ कि भन्यो, झन् त्यै रात रातभरी भुतले सताउँछ । आँखा खोल्न
पनि दिँदैन, आँखा बन्द गर्न पनि दिँदैन । न चल्न पाउँनु,
न
नचल्न पाउँनु । ऐठनले अत्याउँछ ।
निन्द्रैमा एउटा करायो, “मुनामदनको
हुट्टी हाँक्ने, सपना चपली हाइटको देख्ने । अनी निन्द्रा
कहाँबाट पर्छ ?” हैट दिनमा साथीहरुसँग छाडा बोल्दै हिँडेको
निन्द्रैमा पो के के देख्न थालेछु । रातभर निन्द्रा परेन ।
पहिले पहिले उनी भन्थिन् मलाई सपनामा
देख्नु । खुबै देखिन्थ्यो पनि । आजकल त उनलाई देख्नेबित्तिकै निन्द्रा भंग हुन्छ ।
धन्न आजसम्म यो कुरो उनलाई भनेको छैन, उनले पनि त्यसै गर्दिहुन् । टोटल्ली
कम्प्रमाइज्ड गाइज... ।
एउटा जमाना थियो । एसएलसीमा गुल्टुङ
खाएर पनि डाक्टर भाको सपना देखियो । त्यै साल इन्जिनियर भएर सत्र तलाको घर र पूलको
डिजाइन गरेको सपना देखियो । त्यस्तै डिजाइनले पो हो कि बहत्तर सालमा धेरै त
गल्र्याम्गुर्लुम् ढले । पाइलट भएर प्लेन त कति उडाइयो कति । त्यही विद्याले हो कि
बर्षैसाल आकाशमै धेरै मरे । बडो नर्तक बनेको सपना देखियो तर खै हातगोडा मरिगए
नाच्दैनन् । नाच्नुपर्दा प्यारालाइसिस छन् । खुब पप गायक बनेको सपना देखियो,
अलि
ठूलो स्वरले गाए घरबेटीले भाडा बढाउँलान् जस्ता । स्कूल हुँदा सिरानी उल्टो पनि
पारियो, आफैं उल्टो परियो । हात लाग्यो शुन्य । होइन सपना
देखेर मात्रै केही हुन्न रैछ भन्ने दिव्यज्ञान अहिले मात्रै घुस्यो । त्यै बानीले
पनि निन्द्रै पर्दैन ।
सपना देख्न चरकाचार्य र वा वागभटको
विधि अपनाइयो । तातोछारो केही लागेन । फ्रायड पढियो, तै पनि अनसक्सेस
। ह..य......ट
डिभिको सपना पूरा नभएपछि रक्सौल गएर
रेल हेरेर चित्त बुझाइयो । नबुझे पनि रक र डेडमेटल सुनियो । ज्याज र प्याज बजाइयो
। काम गर्ने समयमा निदाएर फोकटको सपना देखेर उधारो व्याज खाइयो । छोरीभन्दा आमा
तरुनी भनेजस्तो विपनामा काम गर्न छोडेर दिउँसै
सपना देख्न थालेपछि सारा काम चौपट भयो ।
सपना त गिनिज बुकमा नाम लेखाएको सम्मको
देखियो । ‘हुर्रे’ भन्दै उफ्रिँदा हजुर्बाले चुरे पुग्नेगरी
लखेट्छन् । तर खै एउटा सपना पनि पूरा भएनन् । बक्सिङ जितेको सपना देख्दा सँगै
सुतेको भाइलाई धोबी चुटेको हुन्छु । जंगल सफारीको सपनामा सर्पले लखेटेको कारण
घरैभरीकालाई ‘सर्प आयो’ भन्दै अत्याउँछु
। सबै जम्मा भएपछि बिउँझिएर ‘सर्प त भागेछ’ भन्दै कुरो
मिलाउँछु । यो निन्द्रालाई के त, निदाउँन नदिनु न हो ।
आकाशमा उडेको सपना देखियो, अर्को
दिन ग्याङ मिलेर धोबी हाने । बिजुली चम्केको देखे मालदार भइन्छ भने खै के के दार
भइयो, अरु जे छन् आफू त्यही त हो ।
हरियो वन देखे शुभ समाचार भन्छन्, मुखमा गाँस हाल्ने बेलामा चिन्दै
नचिनेको फुपुपटिको आफन्तको जुठो परेको खबर प्राप्त हुन्छ । चन्द्रमा देखे
प्रतिष्ठा मिल्छ भन्थे, तीनवटा चन्द्रमा देखियो उठ्दा हात खाली हुन्छ ।
पान खाइयो, केही पूरा भएन । सपनामा पहाड चढियो, उल्टै
झरेर खाटमुनि परियो । केही हात लागेन, भो सपनाको कुरा नगर, निन्द्रा
भन्छ, झक्झकाउ तर निन्द्रा पूरा नगर ।
सपना देख्ने रहरले बिरामी भइयो र
डाक्टरको सहारा लिइयो । डाक्टरले स्लिपिङ ट्याब्लेट खाने सल्लाह दियो । उसैबेला
डाक्टर भन्छन्, सपना कस्तो देख्नुहुन्छ । त्यो सपनाका कुराले म
बेहोस भएछु, बिउँझिदा घरमै फलैँचामा पो रहेछु । धत् कस्तो
सपना देख्न गएछु । त्यसपछि भित्रभित्रै हाँसो उकुसमुकुस पार्दैमा दिनरातभर
निन्द्रै परेन ।
उमेर हुँन्ज्याल रोजगारी पाइएन,
बेरोजगार
हुँदा घर चलेन भन्दै सरकारी फेसबुक पेजमा निकै लेखियो । जति लेखे नि सुन्ने हैन ।
भैंसीको कानमा बिन बजाएर के गर्नु । आफ्नालागि न सपनाले काम गर्यो, न
सरकारले काम गर्यो भन्दै फेसबुकभरी उफ्रियो । सरकारको खेदो खनियो । बुझेपछि कालले
मर्नेको जिब्रोलाई दोष दिएर के गर्नु भन्दै थन्किइयो ।
विकट होस् कि निकट अस्पतालमा सित्तैमा
कण्डम पाइन्छ, बिरामी पर्दा सिटामोल जति पियन र अहेबले बेचेर
सिध्याउँछन् । सिटामोल नपाएर मर्ने थुप्रै छन्, कण्डम नपाएर
मरेको सुनेको छैन । यसरी पैसाको भूत चढेपछि मलाई मात्र हैन सबैलाई निन्द्रा पर्दै
पर्दैन । यसैले त ‘अख्तियारले झम्टेको सुब्बा, हुलाकी
देख्दा नि तर्सिन्छ’ भन्थे । अख्तियारलाई नि के थाहा, खानेलाई
चारो, कमाउँनेलाई गाह्रो । विपनामै
सपना देख्न थालेपछि ती पीडित सुब्बा र मेरो हाल उस्तै भाछ । ती जस्तै आजकल
सपनादेखि निकै तर्सिएको छु । धत्तेरीका ठूला सपना देख्नु नि बेकारको रहेछ । आयुको
छोरालाई वायुले खाँदैन त भन्नलाई मात्रै हो, निदाउँनै नपाई
फुस्स जाने हो कि के हो ? लौ न हो तल्लाघरे, माथ्लाघरे,
साततले,
भुइातले,
अपार्टमेन्टवाला,
फुटपाथवाला,
पाटीवाला,
टायलवाला,
जस्ताघरे
गाउँले हो, के भो के भो...... निन्द्रै परेन गाँठे ।
२०७२ श्रावण २१
www.fb.com/sampraspaudel
बडो गज्जबको लेख पढियो
ReplyDelete