Sunday, July 21, 2019

प्रकृतिका ईञ्जिनीयर

संसारमा अचम्मका ईञ्जिनीयरिङ संरचनाहरू बनेका छन् । प्राविधिक गडबडीले ठूलो धनजनको क्षति पुगेका घटनाहरू पनि प्रशस्तै छन् ।

यहाँ भने मानव निर्मित नभएर प्रकृतिका इञ्जिनियर बारे चर्चा गरिएको छ ।

ब्लगर संप्रस पौडेलको आफ्नै घरबारी (मनहरी गाउँपालिका-५, मकवानपुर) मा रहेको नरिवलको बोटमा केही गुँडहरू रहेका छन् । यी चराका गुँड हुन् । जाबो चराको गुँडको के चर्चा भन्ने कुरा पनि आउला । यसलाई यहाँ प्रष्ट पारिएको छ:
भँगेरा जत्रै आकार र वजनका तोपचराले वर्षाअगावै नयाँ गुँडहरू बनाएका हुन् । यी गुँडहरू लामा आकारका छन् । यस्तै गुँडहरू पातमा झुण्ड्याइएका छन् । यहाँ बनेका सबै गुँडमा सिरू (धान जस्तै घाँस) जस्ता झारहरूबाट बनेका छन् । यी गुँडमा छिर्नका लागि तल जमिनपट्टीको भागबाट ढोका राखिएको हुन्छ । प्रत्येक गुँडभित्र कोठाहरू रहेका हुन्छन् । यस्तै अन्य चराभन्दा यसको विशेषता के भने तोपचराले राती उज्यालोको लागि जुनकिरीलाई भित्रै राख्ने गरेको छ ।
अजीवको गुँड, गुँडभित्र कोठाहरू, पातमा झुण्ड्याइएका र बुनिएका गुँड, उज्यालोका लागि जुनकीरी राखिने र धेरै समूहले एकै रूखमा गुँड बनाउँने हुँदा यस चरालाई प्रकृतिका ईञ्जिनियर भन्ने उपमा दिन मन लाग्यो ।
यी विषयवस्तु तपाईँलाई कस्तो लाग्यो? लेख्न नभूल्नु ल !
- संप्रस पौडेल 'दिवस'

Wednesday, July 17, 2019

बकम्फुसे पत्रुकारिताका केही उदाहरणहरु

हेटाैडा खबरकाे एउटा समाचार

घरमै बसेर अरुका सामाजिक सञ्जालका पोष्ट साभार गरी समाचार बनाउँदाको परिणामः
यसलाई मैले बकम्फुसे पत्रुकारिताको उपमा दिएको छु ।
उदाहरण १
जानकारीः निर्दोष मानिसलाई सिरिन्ज आक्रमणको आरोप लगाउँदाको परिणामस्वरुप शिक्षक खगेन्द्र पाठकले स्थानीयको कुटाई खाँदै प्रहरीसम्म पुग्नुपर्‍यो । आरोप प्रमाणित नहुँदासम्म कोही पनि अपराधी हुँदैनन् तर हाम्रा पत्रिकाले हतारमै उनलाई अपराधी बनाइदिए ।
--------------
बिबिसीकाे एउटा समाचार



Sunday, June 30, 2019

समाचारकै अपरेसन-१

अनलाइन खबरमा २०७६ असार १४ गते प्रकाशित समाचारको हेडलाइन पढ्नुहोस् न । यसमा जो सुकैले पनि थाहा पाउन सक्ने खालको गल्ती रहेको छ ।
कुरो के भने करिष्मालाई पद चाहिएको हो कि पदाधिकारी ?
उनलाई पार्टीले नै पदाधिकारी  दिएपछि उनले ती पदाधिकारीहरुलाई के गर्ने होलान् ?
कहाँ लगेर राख्ने होलान् ? घरमा विनोद मानन्धर छँदैछन् । उनले के भन्दा हुन् ?
फेरि कतिवटा पदाधिकारी चाहिएको होला ?
उनले अरु पार्टीमा लाग्दाचाहिँ पदाधिकारी मिल्ला त ?
-------------------
यसैले समाचार लेख्दा त्यसको अर्थ बारे समाचारदाता र सम्पादक पनि जानकार हुनुपर्छ ।
जानकार त पक्कै होलान् तर यस समाचारले भने 'पद' चाहिएकोलाई 'पदाधिकारी' चाहिएको  बनाइदियो ।
:-D :-D :-D :-D :-D

Monday, June 24, 2019

बाहुनवाद-३

बाहुनवाद, नेवारवाद, तामाङवाद, शेर्पावाद, लिम्बुवाद, मधेशवाद, मधेशका पनि बाहुनवाद, दलितवाद...
के के वाद, केके वाद ।
कतै जिन्दावाद, कतै मूर्दावाद ।
एउटा जातिलाई गाली गर्दा अर्कोको नाक फुलेर घिरौंला वाद ।
गाली खानेको ओठमुख सुकेर सुकौरा वाद ।
वादको गन्धः
# शेर्पाहरुले सगरमाथा चढे, त्यहाँ शेर्पावादको गन्ध आउला ।
# नेवारहरुले सँस्कृति धाने, त्यहाँ नेवारवादकाे गन्ध आउला ।
# मधेशमा चेतना बढ्दै गयो, त्यहाँ पनि मधेशवादको गन्ध आउला ।
# अपाङ्ग, महिला र पिछडाहरुको पहुँच बढ्दै गयो, त्यहाँ पनि गन्ध आउला ।
अब कुनै कुरामा अब्बल जातिहरुको पछि लागेर न्वारानदेखिको बल निकाल्दै हुर्मत लिने बेला हो र यो ?

बाहुनवाद-२


Wednesday, June 19, 2019

देश र माटो सुहाउँदो गणतन्त्रको मौलिक परिभाषा



हामीले भोग्नु परेका गणतन्त्रका अपरिहार्य तत्वहरुः
----------------------------------------------------------
शान्तिपूर्ण आन्दोलनः लोकतन्त्र ।
शक्तिका आडमा आदेशः तोकतन्त्र ।
पानीको फोहरा र लाठी चार्जः ठोकतन्त्र ।
प्रधानमन्त्रीको ठट्यौली जवाफः जोकतन्त्र ।
प्रतिपक्षीको आवाजः खोकतन्त्र ।
चियागफमा राज्य हाँक्नेः चोकतन्त्र ।
ठूला होटलमा कृषि, गरिब, पिछडाको कार्यक्रमः धोकतन्त्र ।
विकासको मागः भोकतन्त्र ।
वास्तविकताः लूटतन्त्र ।

अरुलाई बदल्न सकिँदैन, आफैंलाई बदल्नु आवश्यक छ


Saturday, June 8, 2019

सरकारी लुटेरा

म पनि गाउँकै हुँ भन्दै
गाउँ छिरी मकै भुटेर खायो ।

चुनावअघि माया गर्नेले
शहर पसी लुटेर खायो ।

छोक्रा बन्दै रसादी आउँन छोडेपछि
निचोरेर नपुगी घोटेर खायो ।

जनताका जति रित्तिँदै गएपछि
सदनमा अर्कालाई कुटेर खायो ।

पसिनाको पूजा गर्छु भन्नेले
सरकारमा अरुसँग जुटेर खायो ।
२०७६ जेठ २५

 हेटौंडा-५




Tuesday, May 28, 2019

समृध्दीले डकारेको देश

समृध्दिलाई चिन्न नसक्नेहरू ।
---
ए पूरातनवादीहरू,
ए विकास विरोधीहरू,
ए प्रतिगामी र षडयन्त्रकारीहरू,
ए दृष्टीभ्रम पालेका,
समृध्दिलाई चिन्न नसक्नेहरू ‌।

देशमा केही छैन भन्नेहरू हो,
देशमा विकासै विकास भन्दा के छ,
नपत्याए भित्रि मनले हेर्नोस् त,
कानले देख्नोस्, आँखाले सुन्नोस् त ।

कान्लामा आची गर्दा बेशीँ पुग्छ,
यस्ता प्रविधिलाई विकास नभन्ने?
सडकको धुलो जम्मा गरेर
गमलामा धान रोप्न मिल्छ,
यस्ता गतिविधिलाई विकास नमान्ने?

अब विकासका नाम फेर्ने बेला भो,
सबैले विदेशी नाम राख्न थाले,
कसरी विकास विकासै भैराख्ने हो,
विकास बहादुर थापाले कक्षा ८ मै नाम फेरेछ,
निकास अधिकारीले पनि नाम फेरेछ,
अब सन्तानको नाम विकास राख्नोस्,
समृध्दि, परिवर्तन र निकास राख्नोस्,
राजदूतको पद साली र सालामा,
अनि विकास र आमूल परिवर्तन हाम्रै पालामा ।

अनी सुन्नोस्,
डुङ्गालाई जहाज भनौँ,
३० फिटे गाडीलाई रेल मानौँ,
पुलिसले समात्ने बित्तिकै छानविनविनै अपराधि घोषणा गरौँ,
बा आमाको अर्तीलाई बल मिचाईँ मानौँ,
रुखो खेतमा परेको शीतलाई सिँचाई मानौँ । ।

माल पाएर चाल नपाएको भन्दै
विदेशीले हकारेको देश,

स्वदेशीले नागरिकता त्याग्दै

विदेश पुगी खकारेको देश, 

नेता र कर्मचारी मिली भगतमा

चोरमाथि चकारेको देश ।

आफ्नो दुनो अन्त तेर्सिँदा,

एकले अर्कोलाई हकारेको देश,

खान्न खान्न लोकाचार राख्दै डकारेको देश ।

यसैलाई ठानौँ नयाँ नेपालको रीति,
कत्ति पनि प्रेसर नबढाउनोस्,
देशमा विकासै विकास रहेछ, 
घोडाको गोबर, गाइको लिती,
यै हो खितिति हाँसो उठ्ने समृध्दि ।


Thursday, May 9, 2019

उखु किसान र नाथे मास्टर

यहाँ त खाली दिमाग भएकालाई देश विदेशका भविष्य कोरिदिने शिक्षकलाई 'नाथे मास्टर' र दुनियाँका मुखमा माड भरिदिने कृषकलाई 'खेतिपाति गर्ने मान्छे' कै  पगरी काफी छ । म शिक्षक हुँ वा म कृषक हुँ भन्दा राज्यको पहिलो दर्जाको नागरिकका हैसितले ढक्क छाति बनोस् न । पेशा गर्नुको मज्जा पनि त्यसमै हुँदो हो ।
                          
 आजकल यी दुवै पेशा उस्तै उस्तै लाग्छ । उखु किसान रसिला उखु उत्पादन गर्छन्, त्यसको फाइदा चिनी मिलले लिन्छ । किसानसँग उखु लिएर ४ वर्षमा पनि भुक्तानी गर्दैनन् ।
शिक्षकको तलब पनि उस्तै हालतको हुन्छ । वर्षभरि अध्यापन गर्छन्, आफ्ना प्रयोगशालाबाट देशका भावी प्रशासक, राजनीतिज्ञ, इन्जिनियर, डाक्टर, कलाकार आदित्यादी उत्पादन गर्छन् । तर रगत र पसिनाको मूल्यमा जहिल्यै अवमूल्यन हुन्छ । चैत्र र बैशाख महिनाको तलब जेठमा पाउँछन् । साउन महिनादेखिको तलब एकैपटक दशैंतिहारमा पाउँछन् । 
यस्ता पीडित कत्ति छन् कत्ति भन्दै चित्त बुझाउनु यी दुवै पेशाधारीको बाध्यता भैसकेको छ ।
तपाईँ भन्नुहोला कुन नयाँ कुरो भो र ? भारतमा कपास खेति गर्ने कृषकहरुले आत्महत्या गरेको दर बढी छ । हङकङमा व्यवस्थापकको तनावले एक शिक्षिकाले आत्महत्या गरेकी छिन् ।  नेपालमा त्यसो भएको छैन । यत्ति फरक हो कि ! कामको चाप धेरै भएर मर्नु परेका घटनाहरु नयाँ छैनन् ।  उखु किसानहरुले आत्मदाहको धम्की दिनु परेको छ भने शिक्षकले महिनाभरि काम गरेर पनि पारिश्रमिक हात नपरेपछि घर झगडा गर्नु परेको छ । कतिपय पक्षहरु देखिँदैनन्, लेखिँदैनन् पनि ।
समाचारमा बरु यस्तो छापिन्छ, "शिक्षकले फेल गराएपछि छात्राद्वारा आत्महत्या", अब प्रतिकृया यसरी शुरु हुन्छ "त्यो शिक्षकको नाममा कलंक हो । त्यसलाई त फाँसी दिनुपर्छ ।...." कारणहरु खोजिँदैनन्, नीतिहरु बनाइँदैनन्, प्रयोगात्मकभन्दा घोकन्ते शिक्षा प्रणाली छँदैछ । विद्यार्थी अनुत्तीर्ण भएका कारणहरु शिक्षक मात्रै बनाइन्छन् ।
बजार पनि यस्तै छ, जे बिक्छ, त्यही बेच्ने चलन पूरानै होइन र ?
राजनीति गर्नेहरु केका लागि र कसका लागि गर्दैछु भन्ने बिर्सेर कमाउ धन्दामा लागेका छन् । राजनीति गर्नेमा शिक्षक नै अगाडी पर्दछन्, आफूले नेता बनाएकाहरु दिनानुदिन नयाँ नयाँ "राजा" बन्दैछन् भने शिक्षकले केका लागि राजनीति गर्ने ? कसका लागि राजनीति गर्ने ? समाजसेवाका नाममा विद्यालय प्रवेश गरेका राजनीतिज्ञहरु जीवनभर सरकारका कर्मचारीको हैसियत भएकाहरुलाई आफ्ना मुठ्ठीभित्र राख्न चाहन्छन् । आफ्ना हैसियत, योग्यता र क्षेत्राधिकार बिर्सिएर मनलाग्दी ओठे निर्णयहरु गरिरहेका छन् । शिक्षकमाथि अनावश्यक दबाब दिनेभन्दा खुशी बनाएर सेवा लिन सकिन्छ भन्ने ज्ञान उनीहरुलाई कसले दिने हो ? कुन स्कूलको शिशु कक्षामा भर्ना गर्ने उनीहरुलाई ? सुध्रिन हतार भैसकेको छैन र ?
समग्रमा देशमा राजनीतिक परिवर्तनपछि पनि उखु किसान र शिक्षक दुवैले अन्याय भोगी नै रहेका छन् ।  हुन त कृषि नीति, कार्यक्रमहरु सदरमुकाम र तारे होटलहरुमै सीमित हुँदा उखु किसान मात्रै नभएर कृषि क्षेत्र नै खाडलमा भासिसकेकाे छ । किसान र शिक्षकको यी समस्याहरुको समाधान यथाशीघ्र हुनु जरुरी छ ।

Wednesday, May 1, 2019

झूठा मिडिया

झुठा मिडियाहरूको बिगबिगी छ, छानेर पढौँ, सुनौँ ।
* मिडिया हिमालमा 'यति'को पाइला भन्दै हुङ्कार गर्छ
* निर बिरालोलाई डार्विनको विकासवादी सिध्दान्त अनुसारको परिवर्तित जनावर भन्दै हल्ला गर्छ
* अनुजाले पैसा भेटेर फिर्ता गरेको भन्दै राष्ट्रपति, प्रधानमन्त्रिको बधाई छपाउन व्यस्त हुन्छ
* रातोपाटी र सेतोपाटीहरू आ-आफ्नै पार्टीका डम्फु बजाउँदैछन्
* नेकपा नेताका कर्तुत खुलाउँदा कांग्रेसका कुरा निकालेर तैँ चुप मैँ चुप गराउछ
* सँगसँगै बसेर जाँड पान गर्नेको नकारात्मक समाचार हेर्दा पनि हेर्दैन
* सबैलाई भाइरल हुनुपर्ने नाउँमा व्यक्तिगत र पारिवारिक गोप्यतामा मानहानी
* एनसेल प्रकरणमा कतिपय मिडिया विज्ञापन नआउने डरले लेख्दै लेख्दैनन्
* फेसबुकबाट समाचार चोर्ने चोर मिडियाको विगविगी बढेको छ, आफू फिल्डमा जानुभन्दा अरूको पोष्ट पर्खेर आफ्ना मिडिया चलाउनेको विगविगी छ
हो अब,
आफूलाई आनन्दित राख्न चाहनुहुन्छ भने समाचार पढ्नै छोड्नुस् ।

Tuesday, April 9, 2019

आभासः मलाई मनपर्ने व्यक्तित्व-१

पञ्चायतकालमा देशमा आमूल परिवर्तन गर्छु भन्ने नेताहरुले आफ्नै बोली बिर्सँदै गएको कारण लेखिएको एउटा गीत, जुन अहिले पनि उत्तिकै महत्व राख्दछः
गीतकार, संगीतकार र गायकः आभास (अच्युतप्रसाद फुयाँल)

Sunday, March 31, 2019

कपी-पेस्ट


सामाजिक सञ्जालमा मनमा लागेका कुराहरू पोष्ट गरिन्छ । फेसबुकमा कसैले फोटोमाथि फोटो, फोटोमुनी फोटो, दायाँ फोटो, बायाँ फोटो, फोटो अनी फोटो... मात्रै पोस्ट गर्छन् । कसैले टेक्स्ट (अक्षर), साहित्य, विचार, सिध्दान्त, समाचार आदि पोस्ट गर्छन् । कोही सबै मिलाएर पोस्ट गरिरहेका हुंझझजझझझन्छन् । तीमध्ये कोही भिडियो, टिकटक आदित्यादीमा अल्मलिन्छन् । कोही स्रोत नलेखी अरूकै पोस्ट कपि गर्छन् र आएको कमेन्टमा फुर्किन्छन् । कोही कपि पेस्ट मात्रै लेख्छन्, स्रोत राख्नु आवश्यक ठान्दैनन् । यूट्युब पनि यसमा अछुतो छैन । गीत, फिल्म, विविध भिडियो कपी गर्दै पोष्ट गरिएका हुन्छन्, जहाँ सर्जक वा अधिकारवालाको कुनै सहमति नै हुँदैन ।
कपि गर्दा के के हुँदोरैछ, तल पढौँ है त ।
१. ओरिजिनल: इन्जिनियर हुँ भन्दै बिहा गरेको केटो १० कक्षा मात्रै पास
कपी: नयाँ वर्ष २०७५ अफर:- १० कक्षा पास गर्नुहोस्, इन्जिनियर केटी बिहा गर्नुहोस्
२. ओरिजिनल: अनमोल केसीसँग फुलन्देकी आमाको रोमान्स
कपी हुँदा: अनमोल केसीले फुलन्देकी आमालाई बिहा गर्ने, फुलन्दे पनि खुशी
३. ओरिजिनल: भिटेनले आफूभन्दा कान्छोलाई दाई भने
कपी हुँदा: वेनटेन र भिटेन दाजुभाई
४. ओरिजिनल: चिया पसलबाट म्यासेन्जरमा SEE प्रश्नोत्तर
कपी हुँदा: परिक्षा हलबाट म्यासेन्जरमा चिया पठाउँदै
५. ओरिजिनल: लालबाबु राउतले थरको पछाडी गद्दी थपे
कपी हुँदा: लालबाबु पण्डितद्वारा गद्दी आरोहण
६. ओरीजिनल: परीक्षा दिन जाँदा करिष्माको गाडी पञ्चर
कपी हुँदा: करिष्माको पञ्चर हुुँदा परीक्षा दिन ढिला ।

तिम्ले मिस कल गर्दा, भक्कानो सङ्गालिएको खाङ्ग्रे

  तिम्ले मिस कल गर्दा , भक्कानो सङ्गालिएको खाङ्ग्रे यो गीतलाई केवल प्रेमगीतका रूपमा हेर्नु पर्याप्त हुँदैन। श्रवण मुकारुङले यहाँ नेपाली स...