Tuesday, August 21, 2018

छोरो प्यारो कि कुकुर

एक धनाढ्य बिहान बिहानै कुकुर डुलाउँदै हिँडिरहेका थिए ।
उक्त कुकुरलाई उनी आफै‌ंभन्दा धेरै खाने‚ छोरालाई भन्दा बढी माया गर्ने‚ बहर साँढेभन्दा धेरै डाइट खुवाउने गर्दथे ।  



एक्कासी कुकुरले सिक्री चुँडाएर भाग्यो ।
खोज्दै खोज्दै हिँडे ।
बाटामा एकजना बुज्रुकलाई सोधे "मेरो च्यान्टु देख्नु भयो ?" 
बुज्रुकः "जेठो कि कान्छो छोरो?"
धनाढ्यः "छोरो हैन क्या मेरो पप्पी"
बुज्रुकः "ए त्यो नालायक कुकुर? उ हेर्नुस् त्यहाँ नालीमा आची सोहोर्दैछ ।" 
-----------
कुकुर नजिक पुग्नासाथः
(फोनमा) श्रीमतीः "ए हजुर छोरो घरबाट हिँडेको ३ दिन भैसक्यो । खोजी गर्नु परेन ? कि कुकुरलाई नै धर्मपूत्र राख्ने शूर छ ?"
धनाढ्यः (बाटोमा उही बुज्रुकलाई सोध्दै) "भाइ तपाईँले मेरो नालायक कुकुर देख्नु भयो?"
बुज्रुकः "ह्या अघि उ त्याँ "आची घिच्दै गरेको देख्नु भएन ?"
----------------------
(आजकल शहरीया समाजमा यस्तो  सँस्कृति देखेर सिर्जना गरिएको हो‚ कसैको जीवनमा मेल खाएमा संयोग मात्रै हैन उनकै कुरा लेखिएछ भन्ने ठानी ढुक्कै भइनेछ ।)
-Sampras Paudel  (2075.5.05)

Wednesday, August 15, 2018

संघियता र सरकार दुवै फेल योजना पारित :-D :-D :-D

सरकारले कर लगाउन सकिने नयाँ क्षेत्रहरुको पहिचान गरेको छ । जसमा निम्न क्षेत्रहरु समावेश गरिएका छन् । विचार गर्नोस्‚ पिसाब गर्दा पनि ध्यान पुर्‍याएर मात्रा मिलाएर गर्नोस् ।
------------------
* आफ्नै शौचालयमा दिसा र र पिसाब गर्दा कर प्रणाली शुरु गर्ने (यसका लागि सुविधासम्पन्न होटलमा जलपान‚ लजपान र खानपान सहितको सेमिनार गर्ने)
* करेसाबारी र गमलामा रोपिएका तरकारीका गाँठा र स्याउलामा कर लगाउने
* पाइला हिँड्नेमा निश्चित मापदण्ड राख्दै मापदण्डभन्दा धेरै हिँड्नेलाई कर बढाउने
* बिउँझदा केही प्रतिशत कर र निदाउँदा सोको शतप्रतिशत कर थोपर्ने
* साइकलमा यात्रा गर्नेलाई कर लगाउने र सोको नियमन गर्न स्कार्पियोमा अनुगमन गर्ने
* यी सबै कार्यका लागि "स्वाहा" कर प्रणाली शुरु गर्ने र जनताबाट सरकार तथा संघियता फेल योजना पारित गराउने ।
कार्टुन साभार स्रोतः रविन सायमी
 

Wednesday, August 8, 2018

मुखको तितो (हेटौंडा कपडा उद्योग)

"नेपाल बन्द कारखाना सञ्चालन गर्ने देश हुँदै होइन मन्त्री र प्रधानमन्त्री उत्पादन गर्ने कारखाना हो ।"
विभिन्न समयमा बनेका सरकारका प्रधानमन्त्री‚ उद्योगमन्त्री‚ अर्थमन्त्रीहरुमध्ये बाबुराम भट्टराई‚ केपि शर्मा वली‚ कर्णबहादुर थापा‚ महेश बस्नेत‚ नविन्द्रराज जोशी आदिले बन्द कपडा कारखाना सूचारु हुने बताएकै हुन् । उद्योग तथा वाणिज्य मन्त्री मात्रिका यादव पनि त्यही मेसो बुनिरहेकै छन् । विगतमा झैं प्रतिवेदनले पनि उद्योग सुचारु गर्न सकिने बेहोरा सार्वजनिक गरेकै छ । कपडा उद्योग पुन सञ्चालनसम्बन्धमा धेरैवटा समिति बनेर सञ्चालन गर्न सकिन्छ भन्ने आशयको प्रतिवेदन प्रकाशन हुन्छ । यो पटक पनि त्यस्तै भएको छ ।
सबैले सञ्चालन हुन्छ‚ गर्न सकिन्छ भन्दाभन्दै गर्न नदिनेचाहिँ को रहेछ ? बुझ्नै सकिएन ।
यो देशमा कारखानाका मेसिनभन्दा धेरै नेता चल्छन्‚ मेसिनले भन्दा धेरै नेताले हानिकारक ग्यास उत्सर्जन गर्छन्‚ फ्याक्ट्री र मेसिनभन्दा धेरै नेता नै बिक्छन् ।
नेपला सरकारका पूर्व अर्थसचिव रामेश्वर खनाल भन्नुहुन्छ "संसारकै उत्कृष्ट सिइओ पाए पनि बुटवल धागो कारखाना‚ विराटनगर जुटमिल वा गोरखकाली रबर उद्योग ठाडै घाटामा जान्छन् ।" यस भनाइले नेपालमा सरकारी लगानी वा विदेशी सहयोगको कसरी अपचलन भैरहेको छ प्रष्टै हुन सकिन्छ ।
विदेशीले दिएका कलकारखाना सञ्चालन गर्न पनि हामीलाई कति गाह्रो भएको होला । पकाइवरी ल खाउ भन्दा "जाँगर छैन भुँडीमै पुग्नेगरी कोच्याइदे न" भन्ने हाम्रो परम्परा बन्न लागिसकेछ ।
अन्त्यमा "नेपाल बन्द कारखाना सञ्चालन गर्ने देश हुँदै होइन मन्त्री र प्रधानमन्त्री उत्पादन गर्ने कारखाना हो ।" सबैजना मिलेर हानिकारक नेता उत्पादन गर्ने कारखाना चलाइरहेका छौं । यसैमा हामी मख्ख छौं । कल्प कल्प टिक्नुपर्ने विकास अल्प अल्पमै टुंग्याइनुले कुन नेपालीलाई भलो होला र ?

Monday, June 25, 2018

फुटबल खेलको शुरुवात ग्रीसबाट होइन‚ नेपालबाट भएको खुलासा

ऐतिहासिक आधारहरुः
* फुटबल र बुटवल झण्डै झण्डै मिल्दाजुल्ला छन् ।
* यस्तै बाह्रखरीमा 'फ' र 'ब' एकअर्का छिमेकी हुन् ।
* 'भ' नामको वस्तु कुण्डमा झरेकोले भकुण्डो नाम रहन गएको हो ।
* पहिलेका नेवार विदेशिइर नेयमार भएका हुन् ।
* हाम्रा बाघ‚ बिराला‚ कुकुर‚ भेडाहरु पनि खेलमा सहभागी हुन्छन् । मुसाहरु फूटबल खेल्न नेपालबाटै विदेश गएका हुनुपर्छ ।
* थम सारु मगर नै विदेशिएर थोमस मुलर भएको हुनुपर्छ ।
* मेचीका लिलानल नै विदेशिएर लियोनल मेसी भएको हुनुपर्छ ।

* रोन आले दोभानचौर हुन् भने उनैको रोन आल दो भन्दाभन्दै अपभ्रम्स हुँदै नाम रोनाल्डो भएको हुनुपर्छ ।
* अरुका सल्लाह मान्ने नेपालका सोझा नेपाली काम खोज्दै विदेश जाँदा नामै सलाह रहन गयो र उतै व्यस्त भए । उनैलाई आज मोहम्मद सलाह भनी चिनिन्छ ।
* मकवानपुर हर्नामाडीका युवा खेलाडीलाई विदेशीले किनेर हर्नान्डेन नाम राखिदियो । तै पनि हामी चुप छौं ।
* तितेमाछा समाउन सिपालु तिते दाई आज ब्राजिलमा फूटबल पढाइरहेका छन् ।
यत्तिका आधार‚ कारण र प्रमाणहरु ऐनाझै‌ं छर्लङ्ग हुँदा हुँदै पनि हामी हाम्रो इतिहास मान्न किन तयार छैनौं ?? खोज्नै पर्ने भएको छ ।
रमाइलाे लाग्यो वा लागेन ? कमेन्ट गर्नुहोस् है त ।

Wednesday, June 13, 2018

नेतैनेता हाम्लाई के था'?


दायाँ पनि नेता रैछन्
बायाँ पनि नेता
गाली गर्नु गरियो
हाम्लाई के थाहा?

छतमाथि नि नेता रैछन्
पाइताला मुनि नि नेता
इज्जत हुर्मत लिइयो
हाम्लाई के थाहा?


काम गर्दा घुस माग्ने
बजारमा जुस माग्ने
पुगेकै कागजपत्रलाई पनि
पुगेन भन्ने तिमीलाई थाङ्ने ।

कहिले शिक्षक बन्दिने
कहिले निजामती भन्दिने
जग्गा किनबेच नि गर्‍याछ
ठेक्का पनि पर्‍याछ ।

कहिले मूर्ति चोरेर 
रङ्गे हात पक्डियौं
फिर्ता गरी उहिबेला 
यसो नगर्नु भनी कड्कियौं ।

दुर्व्यवहार गर्दा समाजमै
पीडितको खुट्टा ढोगायौं 
सुध्रेला कि भनेर 
जोगाउनुसम्म जोगायौं।

समाजसेवी बनेर
घर ठड्याउने पेटाहा
तिमी साँच्चैको नेता भन्ने
हाम्लाईचाहिँ के थाहा?

विकास गर्छु नि भन्दिने
निकास दिन्छु नि भन्दिने
बोलीको भाँती स्वदेशी
छोराछोरीनाती विदेशी ।

यता पनि मिल्याछौ
उता पनि ठीक पार्छौ
'ट्याक्टिस' मिलाउन जानेका
जत्थाहरुले नि मानेका ।

राजनीति पनि गर्दारैछौ
कहिले यता कहिले त्यता
तिमी नेपालकै नेता भन्ने
हाम्लाईचाहिँ के थाहा?

विकासमा भाँजो हालेछौ
अन्तैका साँढे पालेछौ
छरछिमेकी तर्साएर
मन्दिर र शालिक ढालेछौ ।

आफ्नै टोलमा आको विकासलाई
पर्दैन भनी भनेछौ
आफैंले खनेको खाडलमा
आज आफैं परेछौ ।

भुक्नुसम्म भुकिइयो
डुक्रनुसम्म डुक्रिइयो
हपार्ने त कुरै छौडौं
थुक्नुसम्म थुकियो ।

थप्पड लाउँदा नि चुपचापै बस्ने
कसूरदार ठानेर सात्तोपुत्लो खस्ने
लात्तिले भकुर्दा नि बोल्दैनौ
मुख पनि खोल्दैनौ ।


जुत्ता पनि चटाइयो
नालीमा पनि पठाइयो
कालो मोसो नि दलियो
काउसो पनि त रोलियो ।

यसो झोला खोलियो
पार्टीको झण्डा बोलिगो
हत्तेरिका माफी पाउँ महोदय
यो 'जुत्तै' यस्तो हो भनेको केही गर्दैन
'तपाईँ' पनि उस्तै क्या...
म नेता हुँ भनेर पहिल्यै भन्नु पर्दैन?
२०७५ जेठ ३०



Tuesday, June 12, 2018

तस्वीर आफैं बोल्छ


अब के बजारिया साहुजीहरु हातहातमा झोला बोकेर कुकुरको आची थाप्दै हिँड्ने दिन आएको हो ?
के देख्नुपर्ने दिन आयो गाँठे !!!
(चन्द्रागिरी नगरपालिकाको यस कार्यलाई अत्यन्त सम्मान गर्दछु ।)
फोटो स्रोतः Dev Poudel को फेसबुक वालबाट
Date : 2075.02.29

Monday, June 11, 2018

सरकारी नेपालबन्द ।


अस्ती बन्द एकादशी
हिजो बन्द द्वादशी
आज बन्द त्रयोदशी
भोली बन्द चर्तुर्दशी
यस्तै यस्तै हरेक दिन
हुन लागे बन्द
काम गर्ने गराउने
सबै अलखबन्द ।

बन्दोत्सव धुमधामले मनाउँदै छन् कोही
बन्द सप्ताह मनाउँदै गन्हाउँदै छन् कोही ।
बन्दकर्ता भन्दै नाउँ जनाउँदैछन् कोही
बन्दका खर दुषणको कथा सुनाउँदैछन् कोही ।

एउटा बन्दकर्ताले अवज्ञा गर्नेको टाउको फुटायो
अवज्ञा गर्नेले भोलीपल्टै बन्दकर्ताको घर लुटायो ।
घर लुटिएको निहुँमा त्यहीदिन बन्द गर्न समाज जुटायो
बन्द गर्नेले फेरि सद्दे हुनेको टाउको फुटायो ।

जुटाउनु, फुटाउनु, लुटाउनु बन्दको खेल
गाडी प्लेन सबै बन्द, बन्नुअगाडि बन्द भो रेल ।
बन्द भो सुधार गृह, बन्द भो जेल
बन्द भो सहिष्णुता, बन्द भो मेल ।

बन्द माता, बन्द गौरी, बन्द पिता महेश्वर
बन्द चितवन, बन्द गुल्मी, बन्द छ जलेश्वर ।
बन्द अदालत, बन्द स्कूल, बन्द सबै कार्यालय
बन्द मन्दिर र वृद्धाश्रम, बन्द छ अनाथालय ।

घरबार अलखबन्द छ
सडकमा अश्रुको गन्ध छ
भाषणैभाषणको छन्द छ
बन्द धेरै चल्दोरैछ, विकासचाहिँ मन्द छ ।

बन्द गर्नेलाई नेपालाँ कहिले पो दण्ड छ
तिनैलाई पुलिसको सुरक्षा हुँदा यसैले त उद्दण्ड छ ।

पुलिस पनि सँगै छ नारा मात्रै लाउँदैन
बन्द नगर भनेर मुखसम्म नि बाउँदैन ।

सरकार (पुलिस) र बन्दकर्ता सँगसँगै हिँड्या देख्दा
हाम्लाई भन्न करै लाग्छ आज 'सरकारी नेपाल बन्द' छ ।
- संप्रस पौडेल 'दिवस'
हेटौंडा २०७३-०७५

Sunday, June 10, 2018

पत्रकारको बिजोग



अब पनि सार्वजनिक कार्यक्रममा सहभागिता जनाउँदा गन्यमान्य भनिनेहरुले नै फोटो खिच्ने हो?
--------------------
अली पहिले विभिन्न प्रोग्रामहरुमा फोटो खिच्दथेँ । फोटो खिच्नु सानैदेखिको सोख हो । प्यारा मामाहरुको संगतले म सानैदेखि क्यामेरा चलाउँथेँ । आजभन्दा २५/२६ वर्ष अघिदेखि नै ।
--------------------
 

आजकल मैले लगभग सबैजसो प्रोग्राम पूरै सुन्छु वा हेर्छु तर आफू फोटो खिच्दिनँ (प्रायजसो) ।
किनकी---
आजकल सभामा फोटो खिच्नेहरु को को हुन्छन् ?
* सभापति
* प्रमुख अतिथि
* विशिष्ट अतिथी
* अतिथी
* अन्य विविध आलंकारिक व्यक्तित्वहरु
* राजनीतिक दलका नेता र कार्यकर्ता (जसलाई कुर्सीमा टक्रिन माइकिङ गरिन्छ)
* कार्यक्रम प्रस्तोता
* सहभागी‚ दर्शक श्रोता आदित्यादी

प्रश्न रहन सक्छ । उनीहरुले वास्तविक पत्रकारलाई त ठेलम्ठेल नै गरेका छन् । भन्नुहोला तिमीलाई के फरक पर्छ भाइ ?
वास्तविक कुरो के भने फोटो खिच्न मञ्चमा जाँदा सबैले लामो हात गर्छन्‚ मोबाइल झिकेर दिँदै.....
एउटा प्रोग्राममा त ८ वटा मोबाइल जम्मा भएछ । अन्तमा तिनीहरुको साधनले फोटो लिँदा लिँदै आफ्नो क्यामेरा/मोबाइलले फोटो लिन पाइएन ।
"एउटा रियल कुरो बुझ्नुभो ।"

Sunday, August 6, 2017

आलुवाद

- संप्रस पौडेल दिवस

घरजग्गाको भाउ दलालीको हातमा छ । एउटै जग्गा पचास पटक बेचाउँने दलालीहरु छन् । तिनीहरुले राज्यलाई कर तिरेका छन् ? पक्कै छैनन् । एउटा जग्गा बेचेर आएको कमिशनले गाडी चढेर हिँड्ने दलालीहरु तपाईँका छिमेकमा कत्ति छन् कत्ति । जे हुन नहुने हो‚ त्यै हो आलुवाद ।
डिग्री पास गरेको कर्मचारीको तलब २० हजार र उत्तिकै योग्यताको सिइओले २० लाख कमाउँछ । वृद्ध वृद्धाले रोइरोइ कृषी सम्हालेका छन्, युवाहरु विदेशमा पसिना बेच्दैछन् । नेताहरु डलरमा इज्जत बेच्दैछन् । जे नहुनुपर्ने हो त्यै भैराछ । यै हो आलुवाद ।
व्यापारीले किसानसँग उब्जनी किन्छन्, मनलाग्दी मूल्य राख्छन्, दोब्बर तेब्बर र चौब्बरभन्दा बढीमा बेच्छन् । पाँच रुपियाँ किलोको आलु लिएर कोल्ड स्टोरमा ८ महिना राखेपछि पचास रुपियाँमा बेच्न पाइन्छ । यै हो आलुवादको गाँठीतन्त्र ।
यतिसम्म कि व्यापारी कानून बनाउँछन्, जनता खुरुखुरु मान्छन्, सरकारलाई पनि आलुवाद फापेकै छ । बीउ के रोपियो र कस्तो रोपियोसँग सम्बन्ध हुँदैन । वादको मात्रै कुरा हुन्छ । फलिफापको मात्रै कुरा हुन्छ । त्यै हो आलुवाद ।
एउटाले मार्क्सवाद रोप्यो उपलब्धीमा आलु नै फल्यो । अर्कोले माओवाद फल्यो अन्तत आलुकै शरणमा पौनेटो भएर बस्नुपर्‍यो । सबै मिलेर विधि विधानका साथ समाजवाद रोपेको आलुवाद हौसिएको तपाईँहामी सबैले देखेकै हो । आलुवादका पारखीहरुलाई मार्क्सवाद, माओवाद, लेलिनवाद, समाजवाद केही पनि फाप्दैन । हामीलाई हाम्रो आलुवाद खुबै प्यारो छ ।
इतिहासमा कालुवाद, प्रेममा मायालुवाद, बिहारमा लालुवाद र कपालका लागि तालुवाद चल्छ । ताछेको आलु र खुइलिएको तालुमा के भिन्नता छ र ? यसैले तालु हाम्रो बौद्धिकता नाप्ने कशी र आलु हाम्रो नाङ्गो राष्ट्रियताको दशी हो । सार्वभौमिकता त खोक्रा नारा हुन् । आलुवादको भाषण नै हाम्रा प्रतिफल हुन् । आलुवाद आलुवादै हुन्, सफल हुन् कि असफल हुन् । बरु पास ठालुवाद हो भने फेल आलुवाद हो भन्न सकिन्छ ।
मास्टरसाप आलुलाई गोलभेँडा बनाउन खोज्छन् । आलुले कहिल्यै गोलभेँडाको ल्याकत राख्दैन । आलुलाई आलु नै रहन दिनोस् । आलुको वंशनाश गर्ने प्रयत्न नगर्नोस् । यै हो आलुवादको गुदी ।
गुन्द्रुकमा आलु‚ काउलीमा आलु‚ अचारमा आलु‚ आलुमा आलु । आलु नै सर्वमान्य ठालु हो । भैरव अर्यालले त आलुवादलाई ठालूवाद माने । तपाईँ हाम्ले किन नमान्ने ? हाम्रा नेता आलु हुन्‚ तिनका कार्यकर्ता आलु हुन्‚ मास्टर आलु हुन्‚ विद्यार्थी आलु हुन्‚ डाक्‍टर आलु हुन्‚ बिरामी आलु हुन् । तराईदेखि हिमालसम्म फल्ने कुनै बीउ छ भने त्यो आलु नै हो ।
इतिहासमा आलुलाई दौरासुरुवाल वा सारीचोलोमा सजाइयो । विगतमा आलुलाई कोटपाइन्ट र सर्टपाइन्टमा सजाइयो । आलुलाई विदेश पुर्‍याएर बेइज्जत गरिन्छ‚ कहिले टुँडिखेल र रत्नपार्कमा नाङ्गेझार पारिन्छ । कहिले बानेश्वरतिर कहिले हानेश्वरतिर‚ बिहान थानेश्वरतिर‚ बेलुकी तानेश्वरतिर पुर्‍याएर आलुको धर्म परिवर्तन गराइयो । भो अब अति भो‚ आलुलाई आलुबाहेकका वादबाट स्वतन्त्र गरियोस् । आलु छुट्टै सिद्धान्त हो‚ आलु आफैंमा आदि र अन्त हो । बिग्रे पनि बिगारे पनि आलु नै आलु हो । सप्रे पनि सपारे पनि आलु आलु नै हो । यसैले एकस्वरमा भनौं "आलुवाद जिन्दावाद !"
------------------------------------------------------------------------------------------------------------------
समकालीन साहित्य डट कममा पोष्ट भएको ।
Source: http://samakalinsahitya.com/index.php?show=detail&art_id=6130
प्रकाशन मिति : शुक्रबार, 20 श्रावण, 2074
------------------------------------------------------------------------------------------------------------------

यस वेबसाइटमा पोस्ट भएका लेखकका अन्य रचनाहरु

बाहुनका कुरा



व्यंग्यात्मक साहित्य
– संप्रस पौडेल 'दिवस'
नेपालमा नयाँ सँस्कृतिको विकास भएको छ 'नातीको न्वारान‚ बाजेको हैरान' । सय वर्ष अघिको इतिहासको प्रामाणिकता नभेटिएको बेला बाहुनले देश बिगारे भन्दै ढोल बजाइन्छ । यतिखेर बाहुनहरु तै चुप मै चुप भैराखेका छन् । यसर्थ बाहुन भएकै कारणले बाहुनबाट अरु जातिले  अन्याय भोग्नु परेको हो भन्ने भनाईलाई खण्डन गर्दछु ।
पण्डितबाजेभन्दा पहिले टोल चहार्ने पण्डितको झोला बोल्यो‚ "नेताज्यू बिहानै उठ्नुभो । शौचादी कृयाकलाप गरिसकेपछि गायत्रीवाचन गर्दै गौमुत्रले पवित्र भएर गाउँघर चहार्नु भयो ।" झोलाले बोलेपछि सबैले होला भन्ने ठाने । "जय भोला जय भोला" सबैले एकै स्वरमा भन्न भ्‍याए । नाग टाँसेपछि झोला घर फर्कियो ।
आजकल पण्डित बाजे सबैका घरघर चहार्न भ्याउँदैनन्‚ लोकतन्त्रले उनलाई झनै व्यस्त बनाएको छ । उनी घरमै घोत्लिएर इतिहास खोजिरहेका भेटिन्छन् । भन्छन् "मान्छेहरु ज्यादा झोले भए‚ नेताकाभन्दा झोलेका कुरा विश्वास गर्ने‚ झोलेकै विचार मन पर्ने‚ झोलेकै हुट्टीमा ताली बजाउँने । सबै झोले हुन लागेपछि मैले पनि झोलालाई नै गाउँठाउँ घुमाउँछु‚ सबैलाई विश्वास पनि छ ।"
आटो खाने मुखले माटो खानु नपरोस् । क्रान्तिको नारामा मात्रै बाहुनलाई गाली गरिन्छ‚ जब जब शान्तिका कुरा आउँछ तब तब सबैभन्दा पहिला "ॐ शान्ति" गाउँने त बाहुन नै हुन्छ । घरमा सबैभन्दा बढी ॐ शान्ति गाउँने बाहुन नै हो । इतिहासमा सबैभन्दा बढी खुकुरी कसले चलायो त्यो बाहुनवादको विरोधीलाई नै थाहोला । हत्या‚ हिंसा‚ अपराधमा बाहुन कहिल्यै लागेन । बरु बाहुनलाई हेरेर बाहुनको टुपी‚ ढाका टोपी‚ जनाईमाथि प्रशस्त व्यंग्यवाण भए । कहिले काट्टे बाहुन भनियो‚ कहिले बाहुनको टुपी कहिले एन्टेना न एरियल भनियो । जनाईलाई कुखुराको आन्द्रो भनियो । बाहुन‚ बिहान बिहानै डाउन भनियो । गर्न पनि बाहुनलाई डाउन गर्नुसम्म गरियो ।
इतिहासै हेर्ने हो ने बाहुन जहिल्यै पछाडी पारिएका जाति हो । आफ्नै खेतबारीमा हलो जोत्न पाइएन र अर्काको भरमा खेतबारी जिम्मा लाउनुपर्‍यो । पूजाआजामा धुँवामा रूमल्लिएर फोक्सो बिगार्दै बस्नुपर्‍योएउटा बिराउँछ‚ शाखा पिराउँछ भनेजस्तो कुनै एक बाहुनले गरेको अपराधले सबै बाहुन जातिलाई धारे हात लगाउन नमिल्ला कि !
बाहुन बाहुनै हो‚ नुहाए पनि बाहुन गन्हाए पनि बाहुन् भनिन्थ्यो तर के गर्नु त्यही बाहुनलाई कुनचाहिँले हो ठिराउँदो जाडोमा दिनदिनै नुहाउँनुपर्ने र फिलफिलाउँदो धोति लाउँने नियम बनाइदियो । एन्टेना न एरियलका रूपमा टुपी पाल्नुपर्ने भनियो । जागिरमा ठूलो पदभन्दा खरदार, डिठ्ठामै सीमित गरियो । पढ्ने पेशा बाहुनले गर्ने भन्दै बाहुनलाई सुगा बनाएर सुकाइयो । जहाँ गुलियो त्यहाँ बाहुन भुलियो भन्दै ब्राह्मण जातलाई आक्षेप लगाई जातिय द्वन्द्व निम्त्याउँने कोशिस गरियो । मिलेर बसौँ, मिलेर हिँडौँ भन्दा तँ ठूलो जात भन्दै समाजमा अन्य जातिसँग विभेद गराइयो । अरू जातले छोएको पानी पनि खान नहुने भन्दै खाद्य स्वतन्त्रताबाट मुक्त गरियो । परम्परा र धर्मसँस्कृति जोगाउनेभन्दा दुना टपरा सोहोर्ने जातिका रूपमा परिभाषित गरियो ।
ठूलाठूला क्रान्तिहरूमा लाग्ने अन्य जातीलाई तुरून्त मारिदिन्थे । मर्नेका नाम शहीदका कोटीमा सुनौला अक्षरले लेखिन्थे । चारपाटा मुडिएर जीवनभर आफ्ना आफन्त, छिमेकी, समाजको नजरमा गिर्दै पलपल मर्ने जाति बाहुन नै थियो । टंकप्रसाद आचार्यहरू जिउँदो शहीदका एक पात्र हुन् । बाहुनलाई "जातिच्यूत" गराइएको भन्नुको अर्थ नै अन्य जातिलाई सानो र बाहुनलाई ठूलो मानिएको हो । जातिच्यूत गराउने शासक वर्ग कुन जातिका थिए कसैले खोजेनन् । इतिहास हेरौं त ती बाहुन छँदैथिएनन् । अन्य जातिका पो थिए । यसैले जातिगत विभेद तिनैले गरेका हुन् भन्न किन डराउने ? नेपालको राजनीतिलाई उलटपुलट पार्ने हलो क्रान्ति‚ जयतु सँस्कृतम‚ लाइब्रेरी क्रान्ति बाहुनहरुसँग नै सम्बन्धित छन् । तिनलाई चटक्क बिर्सेर सँस्कृत पढेकै भरमा‚ पूजाआजा र श्राद्ध गरेकै कारणले नगरेको अपराध भिराएर बाहुनलाई टपरे बाहुन भन्नेहरुको विद्धता बारे भविष्यले बताउला ।
विगतलाई हेर्नुहोस्‚ बाहुनलाई व्यापारमा निषेध गर्दै धनसम्पत्ति कमाएर सम्पन्न बन्न दिइएन । केवल पढ्ने यन्त्र मात्रै बनाइयो । नपढेकाहरू कुँजिएर बस्नुपर्‍यो । होटलमा मीठो खान नदिएर सामल बोकेर यात्रा गर्नुपर्ने बनाइयो । यसैले मान्नोस् नमान्नोस् 'राष्ट्रिय रोग ग्यास्ट्राइटिस बाहुनबाटै जन्मेको हो' । बाहुन भएकै कारणले जो कसैले हेपिनु र चेपिनु नपरोस् । अरू जातिको उत्थानका नारामा बाहुनहरूले नगरेको अपराधको भार बोक्नु नपरोस् ।
झोला फेरि व्यस्त भयो‚ बोल्यो "श्राद्धमा जानुछ गुरुबा ।"
पण्डित बाजेः "कसको श्राद्ध ?"
झोलाः "श्यामबहादुरको ।"
पण्डितः "त्यो त जिउँदै छ हैन र ? अस्ती चोकमा बाहुनलाई कालोमोसो दलेर देश निकाला गर्नुपर्छ भन्दैथ्यो त ।"
झोलाः "..... आच्या श्यामबहादुरको बाउको पो हो त ।"
पण्डितः "जाउ‚ सबै कर्म पूरा गरेर आउ । ..... सर्वे भवन्तु सुखिनः ।"
पण्डित बिहानी कर्ममा लाग्नुभो । या देवी सर्व भुतेसु तृष्णा रुपिण संस्थिताऽ नमतस्यै नमतस्यै नमतस्यै नमोनमः..... ।
परिवर्तनको बाटोमा सबैलाई स्वागत छ । बाहुनलगायत सबै जातिको जय होस् ।
२०७४ श्रावण
हालः सिद्धार्थ माध्यमिक विद्यालय‚ हेटौंडा
२०७४ श्रावण २१ गते शनिबार समृद्ध समाज दैनिक‚ हेटौैडामा प्रकाशन भएको

तिम्ले मिस कल गर्दा, भक्कानो सङ्गालिएको खाङ्ग्रे

  तिम्ले मिस कल गर्दा , भक्कानो सङ्गालिएको खाङ्ग्रे यो गीतलाई केवल प्रेमगीतका रूपमा हेर्नु पर्याप्त हुँदैन। श्रवण मुकारुङले यहाँ नेपाली स...