गाईजात्रा विशेषः हाँस्यव्यंग्य
भ्रष्ट जात्रा
– संप्रस पौडेल ‘दिवस’
श्रीमती घरमा तरकारीमा नुन नहालेर कानमा सुन नभएको कुरो
सुनाउँछिन् । जाबो कान्तिपुर किने त एक किलो सुन आइहाल्छ नि भन्ने पनि यिनलाई थाहा
छैन । कान्तिपुर किन्दा सुन, अन्नपूर्ण किन्दा
झोला, रिचार्ज गर्दा मोबाइल, चाउचाउ किन्दा घर, जुत्ता
किन्दा टि.भि., पेय पदार्थ किन्दा फ्रिज, मोबाइल किन्दा कम्प्युटर सित्तैमा अफर बजारका गल्लीगल्लीमा
भेटिन्छन्, रेडियो, टि.भि., पत्रिकामा छ्यासछ्यास्ती छापिन्छन् ।
अनेक बहाना गराएर जताततै पैसा असूल्ने मात्रै ध्याउन्न छ । यस्तो कमिशनको जात्रा
गाई भैंसीको जात्रा कहाँ हुन सक्छ । यो लोफरहरुको अफर जात्रा पो हो ।
भनिन्छ ‘पैसाले पोल्छ’
। सार्वजनिक रुपमा जनताको सेवा गरे बापत लिइने घुस,
रिसवत, चन्दा, दान, उपहार
आदित्यादिलाई भ्रष्टाचार भनिन्छ । आजकल सरकारी ठेक्कापट्टादेखि घडेरीको किनबेच र
गा.वि.स. को सिफारिसदेखि मालपोतको तिरोसम्ममा भ्रष्टाचारले डुङडुङ्ती गन्ध छोडेको
छ । कर्मचारी प्रशासनमा भ्रष्टाचारले नछोएको सग्ला र सरसौँदो मानिस भेट्टाउनै
समस्या पर्न लागिसक्यो । कर्मचारी प्रशासनमा हाकिमदेखि पियनसम्म, झोलदेखि तिहुनसम्म भ्रष्टाचारको जात्रा चुर्लुम्म डुबेर
सदाचारको हाँक मात्रै तैरिइरहेको छ ।
कहिलेकाहीँ बजारमा पाइने रियल जुस किन्दा जीवनजल पनि सित्तैमा
किन्नुपर्ने हुन्छ । कहिले बुल (साँढे) जस्तो बलियो हुन खाइएको रेडबुल सँगसँगै
क्याल्सियम पाइने ट्याब्लेट पनि खानुपर्छ । कुनै सामान टु इन वन अर्थात् एक दुई
किन्दा एक सित्तैमा पाइन्छन् । कहिले मोबाइलको सस्तो सीम बाँडेर अत्यधिक चार्ज
लिएर पनि सेवाग्राही ठगिएका छन् । हर्बल उत्पादनको नाउँमा पेप्सोडेन्ट, कोलगेट, डाबर इत्यादी
उत्पादकले टुथपेस्टहरु बजारमा ल्याएका छन् । बुटी र यन्त्रको नाउँमा विज्ञापन गरेर
समेत ठगिएका छौं । यसैले ठगहरुको आर्थिक अत्याचारको जात्रा भरिएको देशमा गाईजात्रा
मनाउनुको के अर्थ ?
मानिसले जात्रामात्रा गर्न थालेको रामापिथेकसको पालादेखि नै
हो क्यारे । यस बारे चर्चा गर्न लागियो भने भैरव अर्यालको भोलिवादझैं जुग बित्ने र
शंकर लामिछानेको चिन्तनप्याजभैंm नबुझिसाध्येको
हुँदो हो ।
केहि दिन अघि अफिसमा घुस खुवाउने एउटा पनि सेवाग्राही नआउँदा
पल्लोघरका टपर्टुइयाँ दाईलाई हप्ताभर निन्द्रा परेन । एक दिन घुस खान नपाउँदा आपूmमाथिको जिम्मेवारी धान्न पनि हम्मे हम्मे परेछ । गाउँमा
जात्रामात्रामा जाने र तरुनी जिस्काउने बानी लागेपछि सत्र खेल्न नजान्नेले म्यारिज
खेल्छ, जुस पनि डराई डराई पिउनेले तिनपाने सजिलै
पचाउन सिक्छ । दुव्र्यसनीले एकछिन ती पदार्थ सेवन नगरी अडिन नसके जस्तो एक दिन घुस
खान नपाउँदा टपर्टुइयाँ दाईले कत्रो मानसिक सास्ती भोग्नु परेछ ।
भ्रष्टाचारीलाई किरा परोस् भन्ने गन्जी बाँड्दै उनले भने “भाई जसलाई किरा परोस् भन्यो उसको ज्यादा फलिफाप हुन्छ । सकेको घुस खानु ।” नैतिकता तेस्र्याउँन लाग्दा उनी थप्थे, “बरु खाइसकेपछि पञ्चामृतले चोख्याउनु ।” उनको पञ्चामृतको भेउ आजसम्म खुल्न आएको छैन । गाईजात्रा पर्वको गाई र
पञ्चामृतले उनलाई परेको किरा मार्ने काम गर्दो हो ।
भ्रष्टाचार र सदाचारको बारेमा उनको विचार यस्तो थियो,
“हुन त आजभन्दा पच्चीस तीस हजार बर्ष पहिले होमोसेपियेको
पालादेखि नै घरमा कुकुरले बास पाएको देखिन्छ । घरमा पालिएको कुखुरा र खसीबोका त
तरकारी खाइएला ती कुकुर, बिरालो, मुसा, माहुरी, माउसुली, साङ्ला, किर्ना, उपियाँ, उडुस, जुम्रा, चमजुम्रालाई न रोष्ट बनाई खानु न टोष्टको सुप बनाउँनु । आफैंलाई खाने किर्ना, उपियाँ,
उडुस, जुम्रा, चमजुम्रा, लामखुट्टे र
भुसुनालाई पनि पाल्नु परेपछि मान्छेले धन सम्पत्ति जति कमाए पनि नपुग्ने रहेछ ।
कुनियत राखी सात पुस्तालाई कमाउने धन नै भ्रष्टाचार हो भन्नुभन्दा मानिस बाहेकका
घरपालुवा जीव जनावर, किरा फट्यांग्राका सत्र पुस्ता
पाल्नु परेपछि भ्रष्टाचारी नभएर को सदाचारी रहन सक्ला ? कि त दुनियाँ
छोडेर जोगी हुनुपर्यो, हैन भने
भ्रष्टाचार नगरी घर चल्दैन महाशय ।”
राती सपनामा सरकारी जागिर खाएको र व्यापक घुस खाएको सपना
देखियो । घुस पनि यति खाइएछ कि शहरमा तला गन्दा टोपी झर्ने महल, तात्तातो तरुनीको भीड लाग्ने स–शुल्क पार्क, विदेशमा अपार्टमेन्ट, अन्तर्राष्ट्रिय व्यापार, नेता, मन्त्रीसँगको भेटघाटमा व्यस्त भइएछ ।
विज्ञानले बढीमा सात मिनेटको सपना देख्ने भनेपछि सात पुस्तासम्मलाई सम्पत्ति
कमाइएको र सात पूर्खाको श्राद्ध गर्न भ्याइएको सपना चानचुने सपना थिएन । टन्न
कमाएको पैसामा अख्तियारको आँखा लागेछ । खलखली पसिनाले ओछ्यानै भिजेपछि सानामा
कान्लातिर सु गरेको सपना देखिएछ कि भन्ने पनि लाग्यो । अख्तियारको अन्धो आँखा लागेपछि
खरबौं कुम्लाएर जेलमा भए पनि स–सम्मान र सुविधा
भोगेर बस्न पाउनु अनी केही हजार धरौटीमा छुट्न पाउनु गजबकै कानून बनेछ भन्ने पनि
लाग्यो । नेता मन्त्रीले गजबकै कानून बनाएछन् । आउँदो चुनाउमा पनि फिटिक्क नपढेका
र कखरा खुट्याउन पनि नसक्नेहरुलाई जिताउनु पर्छ र देशको कानूनी व्यवस्थाको धज्जी
उडाउनु पर्छ भन्ने पाठ त्यहीबाट सिकियो । अन्यथा सपनामा देखे जस्तो विपनामा
भोग्नेहरुका लागि केका फाइदा । बाले कुन्नी कुन अङ्गप्रत्यङ्गसम्म घाम लागिसक्यो,
पाटे अल्छी खेत खन्न जा भनेपछि पो आफ्नो सपना सम्झिएर
कुतकुती लागेर आयो । भ्रष्ट नेता, भ्रष्ट मन्त्री, छुस्छुसे कर्मचारी, लामो हात गर्ने बटुवा, मौकामा खुट्टा
तान्ने अगुवा, हगुवा यावत भएको देशमा "भ्रष्टाचारीलाई किरा परोस्" भन्ने गन्जी लगाउनुको के अर्थ ?
घुएत्रो फाल्दिएँ । सरापी सदाचार, च्यापी अत्याचार, भ्रष्टमुक्त
बनाउने कुरा कत्राकत्रा, भ्रष्टाचारले
च्यापेको देशमा केको ह्याप्पी गाईजात्रा ? अस्तु । २०७० भाद्र
No comments:
Post a Comment
तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।