–संप्रस
पौडेल ‘दिवस’
अभाव
र महंगीले भदौरे झरीमा बादलभन्दा घुर्मैलो भै ढाकेपछि एक जोडी छाक टार्ने टण्टाले
पिरप्रसाद पण्डितलाई यो रात पनि निन्द्रा परेन । सल्काएको चुरोट सकिएर हत्केला
पोलेपछि मात्रै थाहा पाउने पिरप्रसाद आपूm
जस्तै पीडित अभावले डामेको राजाराम रम्तेलकोमा जाने निधो गर्छन् । आधा
रातमा चौथी खेल्न आएको ठान्लान् भन्दै आँगनबाटै लुसुक्क फर्कन लागेका उनलाई
राजारामले देख्ने बित्तिकै चुल्हामा डाक्छन् । अघिनै खोलेकाजी पनि आइसकेकामा सबै
मिली संकटको सारंगी बजाई अभावको गीत गाउँन थाल्छन् ।
“हेर पिरप्रसाद
यो साँझ पनि खोलेपाङ्ग्रोले गर्जो टा¥यौं
।” खोलेकाजीले
दुखेसो पोखे । आवाजले पल्लोपट्टि बार्दलीमा सुतेका लखन्तरे पनि बिउँझिए र “के गर्दै आधी
रातसम्म ?” भन्दै
अर्धाङ्गिनी र एकजोडा जवान छोराछोरीको आफ्नै हातले किरिया गरेका लखन्तरे पनि
आइपुगे । भट्टीबाट छुटेर आइपुगेको भीमबहादुर भुजेल कराउँदै थियो: “भोली बिहानै
काउलीको वृक्षारोपण र भुस्याहा कुकुरको भ्यासेक्टोमी उद्घाटनका लागि केही थान
नेताहरु गाउँ आउँदैरछन् । तिमेरु पनि भ्यासेक्टोमी गर्ने हो ?” भन्दा “रातरात बाटोमा
हो–हल्ला गर्दै
हिँड्ने तिम्लाई पो लाउनुपर्ने” लखन्तरेले बके
। सबै गलल्ल हाँसे ।
बेरोजगारी
समस्याले राज्यले एमआरपी छपाएर लखेट्न बाँकी नेताहरुको महान जनयुद्धमा गाउँमै
बस्दा नमारिएको एउटै सग्लो ठिटो यही भीमबहादुर मात्रै हो । शिकारीले दच्काएको हरिण
भएका काइँलादाई र सम्पत्ति रित्तिएर चौध जोडा करङका भरले ठडिरहेका इमानसिंह साहुको
मुखियापन फिर्ता हुने छाँटकाँट छैन । यिनका मुहारमा फेरि हाँसो आउँला र ? यी प्रश्नका जवाफहरु भेटिएलान् ?
ठुटे
बिँडी ठोस्दै जरिकोटको खल्तीमा राख्छन् पिरप्रसाद । ‘जिन्दगी खोला सरी बगिरहेछ’ बिरक्तिएको गीत
गाउँदै गाइने काका आधा रातमै होटल जाँदैछन् । धन्न एउटा भैंसी छ र बेलाबेलामा दुध
बेचेर तीनपाने चाख्न पाइयाछ । “आउनोस्
गाइने भाइ, एक सर्को
चिलिम तानेर जानोस् ।” खोलेकाजीले
निम्त्याए । “आउन
त आएँ, चिलिम सिलिम
तान्दिनँ भो, खाँसी लागेर
मर्नु भा’छ
। बरु चिया खाउँ ।” गाइने काकाले
चियाको किट्लीमा एक कचौरा दुध खन्याए र उत्तिनै पानी दुधको भाँडोमा । भन्छन्, “साहुले
दुध पातलो भो भने भैँसीले कुँडो ज्यादा खाएछ भन्नुपर्ला ।”
चिया
तात्दै गएपछि किट्ली पल्टेर खरानीमा झ्वाँस्स... भयो । भ्यागुतो उफ्रेर बत्तिको
उज्यालोतिर भाग्यो । हडबडाउँदै गाइने काका भन्छन्, “भैंसीले
दुध दिन नमानेर लात्ती बजाएपछि जसोतसो सेतो लागेको दुधको भाँडो पोखरीमा डुबाएर
मानो पु¥याएँ । त्यही
मौकामा भ्यागुतो भाँडोभित्र पसेछ । माछो भए त पोली खान हुन्थ्यो, भ्यागुतो...(छिस् छिस्....) ।” भीमबहादुरसँगै
पिरप्रसाद पनि नक्कली दाँतै गिजाबाट छुटेर मजेरीमा पुग्ने गरी हाँस्दा हाँसोको
अट्टहास गुञ्जियो । दुखिया र गरिबहरुले हाँस्नु नहाँस्नु मात्र हो, हाँसेपछि दुख बिर्सेर हाँसेको हाँसो कति
मिठो हुँदो रहेछ । अस्तु । भूमध्यरेखा साप्ताहिकमा प्रकाशित‚ २०७० आश्विन
(हाल
सिद्धार्थ उच्च मा.वि., हेटौंडा)
No comments:
Post a Comment
तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।