व्यंग्य कथाः
–संप्रस पौडेल ‘दिवस’
विद्यालयका लागि भर्ना अभियान, कृषकका लागि रोपाई र अन्न भित्र्याउने काम, कर्मचारीलाई महिनाभरिको काम र तनखा, सामान्य मजदुरका लागि दिनभरीको परिश्रम र ज्यालाले जति महत्व राख्छ उति नै
महत्व नेताका लागि चुनाउले राख्दछ । यसैले चुनाउमा उठ्ने दल र नेताहरुले अत्यधिक
बहुमत प्राप्त गर्नु नै उनीहरुको सफलता ठानिन्छ । विकासका कुरा त जितेपछिका
तपसीलका विषय न हुन् । धेरै मुलुकमा आउँदो चुनाउमा आफ्नो अस्तित्वको लागि पनि
विकास गर्ने परम्परा छ । नेपालमा भने नेतृत्वमा पुग्दा विकास भन्ने प्वाँख भुत्ला
भए नभएको कुन चराको नाउँ हो, रंगमञ्चका दुईचार थान काजीहरुलाई पनि थाहा भएको होइन ।
गाउँमा उबेला वनको रुख फाँड्दै घरमा रुख रोपेर कांग्रेसको उपाधी पाएका
कांग्रेस बा नुन छर्न गए । नयाँ पार्टीले वृद्ध भत्ता बढाई दिने आशले भोट दिएकैले
एकिकृत माओवादीका नेताजीले लाशमाथि पार्टिको झण्डा ओढाई दिए । एमाले पक्षधरले
आफ्नो शासनकालका कारण वृद्ध भत्ता पाउने उनी एमाले भएको भन्दै पार्टीको झण्डा
ओढाइदियो । एकिकृत माओवादीले द्वन्द्वकालमा दुई छाक खान दिएकोमा माओवाद
जिन्दावादको नारा लाउँदै लाश उचाले । घरमा गाई पालेकोमा हिन्दु राज्य माग गर्ने
रा.प्र.पा. नेपालले शंख बजायो । ‘वीर शहिद अमर रहुन्’, ‘कांग्रेस बा अमर रहुन्’, ‘वृद्ध भत्ता पाउने बा जिन्दावाद’, ‘घरमा रुख रोप्ने कांग्रेस बा जिन्दावाद’, ‘दुई छाक भात दिने कामरेड लाल सलाम’ इत्यादी नाराले शंखका आवाजहरु विलिन भए । लाश जलाउने क्रममा चार पार्टीमा
लागेका चार भाई छोराहरुले सहमति गरी जलाउने र काजक्रियाका कामहरु सम्पन्न गरे ।
यस्तो मिल्ती देखेर सबैले गाउँमा लाशमाथि ‘राजनीति’ नगर्ने निधो गरे । गाउँमा राजनीतिक गाइजात्रालाई निषेध गरिएको छ ।
गत साता सदरमुकाममा एउटा नेताका चम्चाले भने, “एमालेकी छोरी रहिछन्, केटो पनि एमाले नै परो, ल ज्यादा कुरो किन गर्नु ? विहेको साइत कहिले जुराउने भन्नुस्” । शहरमै कन्या माग्न जाँदा अर्का पन्यूले भने, “माओवादीको भोटर र कांग्रेसले लगाइदिएको जागिर
खानेहरुसँग सहकार्य र सहमति त हुँदैन भने विवाहको कुरो छाड्दिनु” । शहरमा जजसको जे जे चर्चा भए पनि गाउँमा आजसम्म बिरामी, विवाह र मलामीमा मात्रै होइन
खेतीपातीमा समेत कोटा भाग लगाएरै भए पनि अड्को फुकाउँदै आइएको छ । राजनीतिक
गाइजात्रा पूर्णतः बन्देज छ । कहिलेकाँही सडकमा ढुंगामुढा गर्न र सदरमुकाममा
प्रहरीको लाठी खान बाहेक गाउँको विकासमा दशकौंदेखि नै माखो मार्न नसकेका दल र
नेताहरुले आउँदै गरेको चुनाउको जात्रा गाउँ शहरमा कसरी मनाउँदो हुन् ?
‘ठूला मरे वीरगती, जनताका सन्तानलाई उपचार न ओखती’ भन्ने आहान त्यसै चलेको होइन । श्रमजीवि कमिला पनि निदाएको यो देशमा हर योजना, नीति, कानूनहरु गाइजात्रे भएका छन्
। समस्या पनि कति धेर ? एकातिर टाल्दा अर्कोतिर भ्वाङ, अर्कोतिर थुन्दा एकातिर भ्वाङ
। जनता र कार्यकर्तालाई यति धेरै गाइजात्रे बनाइएको मुलुक यो मात्रै पक्कै होइन ।
यतिखेर सिरिया, इजिप्टमा पनि यस्तै ताल न हो । यसैले गाईजात्रा हाम्रो मात्रै पर्व हो भनी एकै
पोल्टामा हाल्न कहाँ पाइन्छ र ? त्यो पनि जात, धर्मको नाउँमा दर्तावाला राजनीतिक दल भएको देशमा । यहाँ बन्द हडताल गर्न पाउनु
हाम्रो मौलिक अधिकार बनाइदिएका छन् । आउँदै गरेको चुनाउ पर्व लागि घर लिपपोत गर्नु
छैन । पिँढी र आँगन टालटुल गर्नु छैन । छ त केवल भित्ते लेखनको तयारी, फेसबुक र पत्रपत्रिकामार्पmत् जनतासामू लोलोपोतो घस्दै भोट माग्ने तयारी ।
कलेजमा राजनीति हुट्टी हाँक्दाहाँक्दै पढ्ने फुर्सद नभएको अनि क्याम्पस र
घरघरमा भित्ते लेखनमा कुशल एउटा विद्यार्थी नेताले सामाजिक सञ्जालका भित्तामा
लेखेछ, “यी प्रश्नपत्रहरु कहाँ छापिँदा रहेछन् ?” यस्ता राजनीतिज्ञ र नेतृत्व वर्ग जन्मिनुभन्दा तुहिनु वेश हुन्छ भन्ने भनाई
पनि गाइजात्रे शिवाय ओम नमो शिवायः । नेतृत्वको जिम्मा लिनेले ‘सर्व भलो त जगत भलो’ लाई आत्मसात गर्न सक्नुपर्छ । भ्रष्टाचार, घुसखोरी, हुलदंगामा अगाडि पुग्ने र नाजायज मागमा सडक जाम, बन्द हड्ताल गराउने, जायज मागमा माथिको आदेश भन्दै नबोल्ने, एकअर्कालाई आरोप र प्रत्यारोप लगाउँदै आफ्नो जिम्मेवारी बिर्सने यस्ता दुई
कौडीका सस्ताहरुलाई चुनाउमा किन जिताउने ? भन्ने प्रश्न उब्जिएका छन् । गाईजात्रा हेर्न पाउनु हाम्रो मौलिक, साँस्कृतिक र राजनीतिक अधिकार
पनि हो । हेर्न नालायक राजनीतिक खिचातानीको जात्रा सर्वत्र छ । यसर्थ समाज र देशको
नेतृत्व गर्न सक्ने पौरखी र भिजन बोकेको नेतृत्व छान्ने प्रयास गरौं ।
देशको नेतृत्व वर्गमा पुग्न योग्यता कति भन्ने प्रश्नको जवाफ छैन । चुनाउको
तयारीमा लाग्ने खर्चको आचार संहिता बन्दै गरेको छ । नेताहरु चुनाउमा ज्यादा
खर्चिन्छन् । चुनाउपछि महँगा गाडि खरिद गर्छन् । महँगा ठाउँमा बसोबास गर्छन् ।
महँगा होटलमा बास बस्छन् । महँगा रिसोर्टमा छलफल गर्छन् । पचास हजार रुपियाँको
राहत बाँड्न प्लेनमा दुई लाख खर्चिन्छन् तर पनि कौटिल्यको अर्थशास्त्रको व्याख्या
गर्दै बचत गर्नुपर्ने ढ्वाङ फुक्छन् । हो, नेतृत्व भनेको सक्षम र युगानुशिल परिवर्तनमुखि हुनुपर्छ, हरामखोर त चोर नै हुन्छ । दल
र नेताहरुले सक्षम र सबलहरुलाई नेतृत्व दिउन् । भूतपूर्व अपराधीलाई दलहरुले स–सम्मान चुनाउमा उठाउने हो भने तीनका मतपत्रमा उनका
वैयक्तिक विवरण जनाउनु पर्नेछ । अझ पेशामा तस्करी, डकैती, हत्या, लुटपीट, मारमुङ्ग्री, भिजिलान्ते, दुर्व्यसनी लगायतका पेशाधारी भए सो उल्लेख गर्न सके जनताले खराबलाई भोट हाल्दै
हाल्दैनन् र खसेको भोट राम्रा मान्छेलाई परी मत खेर पनि जाँदैन । त्यत्रो हिम्मत
कस्को ? दुई तिहाई बहुमत पनि नआएर हार्ने सबै दल र नेताहरुले नसिकी नहुने पाठ यही हो ।
गाइजात्रे चुनाउ गर्नुभन्दा सफल, सक्षम, सर्वस्वीकार्य चुनाउ होस् ।
मंसिरमा धान भित्र्याउने क्रममा भोट माग्न आउनेहरुले भोटकै लागि खेत बारीमा
सघाउलान् । पाँच वर्षको नेतृत्वको कुरो हुँदा, त्यतिले नपुग्ने हो । विजयपश्चात् किसानलाई मल, बिउ, कृषि सामग्रीमा राहत, मजदुरको अनिवार्य विमा र ज्यालामा वृद्धि, विद्यार्थीको निशुल्क शिक्षा, बाटो, पुल, नहर, बाँध, अनाथालय र वृद्धालयलाई भौतिक, आर्थिक रुपले मजबुत, उद्योगधन्दाको विकास, युवालाई रोजगारी, अवसरमा सरकारी कोटाको सदुपयोगको भिजन लिएर आउने सक्षम नेतृत्वले चुनाउ जितोस्
। जितेको भोलिपल्टबाटै जनताका भोटको कदर होस् । संविधानमा यस्ता विषयहरु समावेश
गरुन् । उनको पनि जय होस्, हाम्रा पनि जय होस् । राजनीतिक चम्चा चुलेसीले एउटै चुलोमा थचिएर चुनाउलाई
चानचुने ठान्दै तिथीमिति सार्न चुकेनन् भने मंसिर चार गते चुनाउ चाड चमचमाएर
धुमधामले मनाउने नै छौं । अस्तु । (गाइजात्रा विशेष २०७०)
No comments:
Post a Comment
तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।