“दशैंले डामेको एक महिना नबित्दै तिहारको अगुल्टो थाप्नुपर्यो, अझ चुनाउको चाड पनि आउँदैछ रे” भन्दै
कर्किनी बज्यै कर्किइन् । महंगीले “बज्यै” भनी बोलाउला भनी त्यसै त्यसै झर्किइन् । सरकारी राहतको समाचार
र व्यापारीको आहतको अत्याचारले अचारभन्दा अमिलो मन पारी थैली फुकाउन लागेकी
कर्किनी बज्यैलाई दशैंतिहारको ऋणको व्याज तिर्न पो ज्यादा चिन्ता थियो । तिहारमा
मरमसालाको जोहो, माइतसम्म जान लाग्ने भाडा र फर्किँदा
दाजुभाइको दक्षिणामा थप्नुपर्ने पैसाको जोहो गर्न पनि उनलाई हम्मे हम्मे भयो रे । “हाम्रा बाजे गरिब भए पैसैविनाले” भन्दै आहान सुनाउने उनी जस्ता मेरा गावैभरी तितरवितर भई
रन्थनिएका छन् । “एउटाले ऋण खोजेर धेरै व्याज खाने
आशले आसामी लगाएको लगानी नउठेपछि मेटासिट किन्न गएको उतै बेपत्ता भयो” भन्दै ‘एफएम टावर’ उपनाम राखिएकी सुबेदार्नी बज्यैबाट पधेँरामा समाचार वाचन
भैरहेको थियो । उता आलु बेचेर गाउँमा आँगन ढलान गरेका आलु साह, अदुवा बेचेर कुखुरा पालन गरेका कुखुरा अधिकारीदेखि बोर्डिङ्ग
खोलेर स्वाहा भएका बिडारीसम्मलाई चाडबाडको महंगीले चुर्लुम्म डुबाएको थियो । नाम
मात्रका पाँडे काजीदेखि ट्विँके दर्जीसम्म र गाउँले हतियारका डिजाइनर बिश्वकर्मा
काकादेखि मागेरै ठुटे चुरोटले जिन्दगी गुजार्ने हुक्के हजुर्बासम्मलाई चाडबाडको
महंगीको लंगौटी बिक्ने भए बेचुँ कि राखुँ भएको थियो । सानातिना ज्ञान लिन बुद्ध
जस्तो रुखमुनी बास र योगी जस्तो भिखको आश गर्नु पर्दैन भन्ने भनाई मेरा
गाउँलेहरुबाटै सिक्न सकिन्छ ।
बिगतको चुनाउँलाई बिर्सँदै दैलाको
ठेलामा घामको झूल्को नपुग्दै मेला जानुपर्ने हुँदा राजनीतिक गफमा कसैलाई चासो हुन
छोडेको थियो । खेताला जाँदा बचाएको दुई मुठी भटमासले बेलुकाको तरकारीको गर्जो
टार्नुपर्ने हुनाले देशको तिर्तियांश वा पूर्ण बजेटको कसैलाई हेक्कै थिएन । कुखुरा
बासेपछि उज्यालो हुने र झ्याउँकिरी गुञ्जिएपछि साँझ पर्ने कुरो बाहेक पृथ्वी घुमेर
दिनरात हुने गरेको कुरो कसैलाई सुनाउँनै हुन्थेन । नेताहरु गाउँ पसेपछि चुनाउको
नाटक मञ्चन हुन लागेछ भनी चउर र दोबाटो, चौबाटोहरुमा गाउँलेहरु
थुप्रिन्थे । भाषणै सुन्न त किन जान्थे र ?
बरु आपूmले टेलिभिजनमा देखेका अनुहार साँच्चै चैं कस्ता हुने रहेछन्
भनी हेर्न र भरे टेलिभिजनमा भिडिओ आउला कि भनी नेताको वरिपरि झुम्मिन्थे । नेताहरु
पनि चिनेझैं घरघरमा नमस्कारको काउसो बोकेर आउँथे
। तैपनि मेरा सोझा गाउँलेहरु साँढे पालेर दुध खोजे जस्तो भोट हालेर विकास खोज्दथे
।
टेलिभिजन हेर्दा दुई चार थान नयाँ
कम्युनिष्ट नेताहरुले दशैंमा टिका नलगाएकामा पण्डित काका रिसले रन्थनिएका थिए ।
ब्लड प्रेसर हुनेले आवेशमा आउनु हुन्न भनी डाक्टरले भनेका भनाईमा काका ओठ
लेप्य्राउँदै टाउको हल्लाउँथे । बगरेले मासु खुर्किएर हड्डी मात्रै बाँकी राखे
जस्तो नेपालका डाक्टरले बगली र सम्पत्ति खुर्किएर गरिब हुन पुगेकाले गाउलेहरु
बाध्यताले आज पनि धामीझाँक्रीलाई सस्ता र सुलभ डाक्टर मानिरहेका छन् ।
देउसी भैलीलाई दियोमा बत्ति बालेर
नाङ्लामा धान चामल, टपरीमा सेल रोटी सजिएका दिनहरु
नेताका तालु जस्तै खुइलिसकेछन् । देउसी भैली आउनु एक हप्तापूर्व नै हजार हजारको
लमतन्ने बाह्रहाते चिठी र भाग्यमानीलाई कहिल्यै नपर्ने भाग्योदय चिठ्ठाहरुले गाउँ
तिहार अघि नै कंगाल बनाउन थालेको रहेछ । सरकार पनि कंगालको कंकाल सर्लाकी भनी
अंगाल्न डराउँदो रहेछ भन्ने कुरा थाहा नपाएर पनि भावी पिँढीले भोट हाल्न सिकुन्
भन्दै गाउँलेहरु भोट हाल्दाहाल्दै मर्दा रहेछन् ।
दशैं तिहारमा जुवा तासले गाँस न बास भएका र साहुको ऋणले
उठिबास भएकाहरु धेरै भएपछि सरकारका गरिबी परिचयपत्र मेरै गाउँमा एक खाङ्ग्रे
बाँड्नुपर्ला कि भन्ने लागेको छ । प्रजातन्त्रले तन्त्रेको, बहुदलले
बहुलाएको, लोकतन्त्रले
लुछेको र गणतन्त्रले गुण्डागर्दी बढाएको वास्तविकता बताउँदा गाउँलेहरु चुनाउमा
उठ्नोस् भोट तपाइलाई दिम्छम् भन्न थालेका छन् । “उठ बाओ उठ, गाउँलेहरुलाई नेतालाई भोट
हालेदेखिम् एक से आठ गाई दान गरे सरह धर्म हुन्छ भन्नुपर्छ अझैं भोट
हाल्चन् बाओ“ भन्दै
जुठे काका कोरा सर्टिफिकेटी बेरोजगार म आफैंलाई चुनाउमा उठ्नलाई कर गर्दै लेघ्रो
तान्दैछन् । संविधान सभाको भोट हालेर राजनीतिको जुठो लाइयो, खै
चुनाउमा उठ्न्या हुन् कि राजनीतिबाटै चुठ्न्याहुम् ? बिलखबन्दमा छु । हारेर
पनि पद पाइयो भने त ठीकै भो नत्र न चुनाउको चौपाटे मुण्डन र पञ्चखत डाम देखाएर
गाउँशहर गर्नु पन्र्या बेलाँ केरी मुख देखार हिँड्नु खै ! अस्तु
। (रामकुमार एलनद्वारा सम्पादित ‘रामवाण’ का लागि)
No comments:
Post a Comment
तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।