- संप्रस पौडेल 'दिवस'
स्थानीय कुकुरहरू
कहिलेकाहीँ झगडा गरे पनि अन्ततः मिलेरै आ–आफ्नो राज्य चलाउँथे
। वल्लो गाउँको कुकुर अर्को गाउँमा जानुपर्दा त्यस गाउँका लोकल कुकुरका अगाडि
पुच्छर टाङमुनि लुकाएर हिँड्थ्यो । अर्को गाउँका कुकुर वल्लो गाउँमा जाँदा पनि यही
नियम लागू हुन्थ्यो । कुनै अपरिचित कुकुर गाउँहरूमा आए गाउँका सबै कुकुर मिलेर
घेर्थे । अझ पुच्छर ठाडो पारी बडो शानले आए त्यसलाई पुच्छर ठड्याएर अमर्यादित भएको
र आफ्ना राज्यका नियमलाई मिचेको आरोपमा टोक्दै र भुक्दै खेदेर सिमापार गराउँथे ।
जस्तै लुते र खोरण्डो कुकुर पनि आफ्नो राष्ट्रियता र सार्वभौमिकताका रक्षार्थ
बहादुर र शुरवीर भएर मैदानमा छाति उघारेर उत्रन्थ्यो । एउटा राज्यमा एउटा कुकुर
मात्रैले शासन गर्दथ्यो । यसरी जनसंख्या र आत्मसम्मानको आधारमा कुकुरहरूले सामाजिक
संघियताको सूत्रपात गरे ।
कुनै समय बिरालो र
बाघ साथी साथी थिए । अहिले पनि झट्ट हेर्दा बाघ र बिरालोको स्वरूप र जिउडाल उस्तै
देखिन्छन् । केवल बाघ कलरपूmल र बिरालो मोनोक्रम मात्रै न हुन् । दुवैको दोस्ती
राम्रैसँग चलिरहेथ्यो । दोस्तीभन्दा पनि बिरालो बाघको गुरू पो थियो । बिरालोले
बाघलाई दौड्न, शिकार गर्न, आक्रमण गर्न, पौड्न सबै सिकायो । खाली पानाको दिमागवाला
विद्यार्थीलाई कखरा खुट्याएर माथिल्लो कक्षामा पठाएपछि उनै शिक्षकमाथि धावा बोल्ने
आजका धेरै विद्यार्थी र बाघमा एउटै रूप देखाप¥यो । बाघले बिरालोबाट
सबै सिकेपछि अब आपूmलाई बाँच्न उसको आवश्यकता नपर्ने ठान्यो । यस्तैमा एक दिन बिरालोलाई नै
खान्छु भनी लखेट्न थाल्यो । बिरालो पनि आफ्नो प्रिय शिष्य तथा साथीले आपैंmलाई मार्न लखेटेपछि
भाग्दै एउटा रुखमा चढेर ज्यान जोगायो । बाघले तलबाट ‘मलाई रुख चढ्न किन
नसिकाएको ?’
भन्यो
। बिरालोले ‘तिमीले आफ्नो असली रूप देखायौ, यस्तै हुन्छ भन्ने
सोचेर मैले नसिकाएको’
भन्यो
। अन्ततः बाघले बिरालोलाई ‘तँ त के तेरो दिसा पनि छोड्दिन’ भन्दै हवाला दियो र बिरालोलाई पूर्णतः शत्रुको
कोटीमा राख्यो । त्यसैबेलादेखि अहिलेसम्म पनि बिरालोले आफ्नो दिसा (काट्टो) कसैले
नदेख्ने गरी माटो वा अन्य चिजमा खोस्रिएर पुर्ने गर्छ । नत्र घरका धानका भकारी र
मकैका कुन्युमा हेर्नुस् त । यस पाठबाट पनि बाघ र बिरालोले जातिय दृष्टिले बेग्ला
बेग्लै संघ बनाई बाघ जंगलमा र बिरालो घरमा बसी जातिय संघियताको सूत्रपात गरे ।
चिमोटे बाख्रो पनि
कराउँछ तर खुट्टै काटे पनि जिराफ कराउँदैन । आफ्नो हक र अधिकारका लागि नबोली
सहनेहरूका धैर्यता पनि एउटा मृत्यु हो । भेडा भेडासित, बाख्रा बाख्रासित
भन्ने उखान चलेकै छ । कागको हुलमा बकुल्लो गएर सिनो टिप्दैन । एक्लै परे पनि
बकुल्लाको हुलमा काग मिसिएर माछा मार्न हिँड्दैन । माछाको पर्खाईमा बकुल्लो खोला
नजिकैको ढुंगामा घण्टौं ध्यानमग्न हुन्छ । काग पनि सिनो भेटेपछि आफ्नो धर्म अनुसार
सबै कागलाई डाकेर खान आह्वान गर्दछ । यसरी धर्मको आधारमा संघियता जनावरहरूमा
सृष्टिको शुरुवातदेखि नै चलिआएको पाइन्छ ।
शक्तिको आधारमा ठूला
जीवहरूले सागर, महासागरमा आफ्नो संघियता खडा गरे । साना किरा, झिँगेमाछा, गड्यौला र हिले, बुदुनाहरूले सीम, धाप र खोलानालामा
संघियताको अखडा जमाए । यसरी शक्तिको आडमा संघियताको निर्माण हिजो आज भएको होइन ।
यो त एककोषियबाट बहुकोषिय जीवको जन्म हुनासाथ सृष्टिको पूर्वाद्धमा नै शुरु हुन
गएको मानिन्छ । यसैले समाजका परिश्रमी सदस्यहरूले शक्तिको आधारमा संघियता लागू गरी
आएको पाइन्छ । यो ठूला र शक्तिवान जीवलाई फाइदा जनक भए पनि साना र निमुखा तथा
अल्पसंख्यकहरूका लागि अप्रजातान्त्रिक संघियता हो ।
गाई, भैंसी, खसीबाख्रा, घोडा, गधा, भेडा, कुकुर, किर्ना, उडुस, उपिया, लामखुट्टे इत्यादिले
अरुको दास भएर समय बिताउन चाहे । त्यसैले संसारमा बाघ पालेर दुध दुहुने मानिस कोही
भेट्टाउँन सकिन्न । किनकी बाघ जातिय संघियताको पक्षधर हो । यसैले आफ्नो दुई छाक
घाँस खान पाएकैले त्यसैलाई जीवनको सर्वश्रेष्ठ प्राप्ती ठान्नेहरूले आपूmलाई घोडा, गधा, गाई, कुकुर, उडुस, किर्ना इत्यादि भई
मानिसका आडमा टाँसिएर पापी पेटको माग र आवश्यकताको सिद्धान्तको परिपूर्तिको
संघियता रोजे । यो निमुखाहरूको संघियता हो । जसमा ती निमुखाहरूको कुनै हक र अधिकार
भन्ने हुँदैन । यसैले मायाँ गरेर पालेको खसी पनि काटेर खाने चलन रहेको छ ।
आज आम नेपालीले सदियौंदेखिको
राजसँस्था, निरंकुश तानाशाही सरकार ढालेर बुद्धि र विवेकको आधारमा संघियता ल्याउनु
परेको छ । दुध उमालेर खेर गएको निहुँमा राजमार्ग बन्द गराउने र उडुसले टोकेर
मर्नेलाई सहिदमा दराउने कामले संघियतामा तगारो हालिरहेछ । मान्छे मार्नेलाई धमाधम
क्षतिपूर्तिको रकम बुझाउँदै थुम्थुम्याउँन लागेको सरकारले पुनः रकम फिर्ता भन्दै
फच्चेको खेल खेलिरहेछ । भ्रष्टाचार, अत्याचार, जाली कारोबार, तस्करी दिन दुईगुणा
रात चारगुणा बढेको छ । रातमा हुने हत्या, बलात्कार, चोरी, डकैती, तस्करी यावत घटना
दिनदहाडै हुन थालेको छ । दिन पनि दिन जस्तो छैन अचेल । घाम लागेर भएको उज्यालोले
दिन कहाँ हँदो रहेछ र ? रातमा हुने गैरकानूनी, अव्यवहारिक
क्रियाकलाप दिनदहाडै भएपछि यहाँ चौबिसै घण्टा रात परिरहेको छ । देशको मायाँ भनेको
नेता र सरकारलाई मायाँ गर्नु होइन । तैपनि संघियताको नारा झिकेर नेताजी अर्को चुनाउको
धाक लगाएर गाउँ आइपुगेका छन् । सार्वभौमसत्ता र राष्ट्रियतालाई यतिखेरै प्रयोग
गर्ने हो भने उपयुक्त भिजन भएकाहरूलाई कान्लो उकाल्दै संसदमा कोकोहोलो मच्चाउनेलाई
चुनावबाटै बहिष्कार गर्नु परेको छ । जात, धर्म, पेशाको आधारमा होइन
विवेकको आधारमा संघियताको नारा बोक्नेहरूलाई नेतृत्व दिनुपर्ने देखिन्छ । अस्तु । २०७० भाद्र
No comments:
Post a Comment
तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।