– संप्रस पौडेल
‘दिवस’
शान्त रहने उपाय खोज्दा योगासन र ध्यान भन्ने सुझाउ आए । मन
स्थिर गर्ने उपाय सुझ्दा व्यस्त रहने सुझाउ आए । भुँडी घटाउनेदेखि कपाल
बढाउनेसम्मका उपायहरु छन् । लामो समय जिउनेदेखि कहिल्यै मदिरा नपिउने उपाय पनि छन्
। कुलत छोड्नेदेखि प्रेमिका जोड्ने अचुक उपायहरु छ्यास्छ्यास्ती भेटिन्छन् ।
योगासनदेखि भोगासनसम्मको ट्युसन लिन पाइन्छ । पैसा कमाउने ट्युसन भने कतै पाइएन ।
अनेक नाउँमा एनजिओ र आइएनजिओ खोलेर दाम कमाउन पल्केकाहरुका
अगाडि आपूmले गरेको योगदानले साँढेको फल जति पनि प्रतिफल पाएको होइन ।
बोर्डिङ खोलेर बालबच्चा भर्ना हाल्ने, कपडा टाल्नेदेखि दाह्री जुँगा पाल्नेसम्मका काम गरियो । ‘बाख्रापालनबाट
मनग्गे आम्दानी’ शिर्षकका समाचार सुनेर पालिएका बोकाबाख्रा खोरेतले गोठै
सखाप भए । ‘घाँस बिक्रीबाट दुई लाख कमाएको’ समाचार सुनेर
लगाइएको घाँस सुकेर पाक्दासम्म बरु रातारात चोरी भयो, किन्न कोही
आएको होइन । श्लिलदेखि अश्लिलसम्मका किताब छाप्नेदेखि थुन्चेमा इँटा बोक्ने र
झडपमा पुलिस ठोक्नेसम्मका काम गरियो, पैसा उम्रिएन । केराका झाङहरु गबाराले सिध्याए, उखुका डाङहरु
पूजापाठमा बाँडेर सिध्धिए । बाँसका गाँजहरु मुर्दा ओसार्दैमा रित्तिए । गौमाता
पालेर गोबर गहुँत सोहोर्दैमा जिन्दगी खेर गयो, पैसा आएको होइन । बिहान, दिन र
साँझहरु पैसाका लागि सोच्दासोच्दै बितिगए ।
लेखेर पैसा कमाउने उपाय पनि आएकै हो । अरुको सारेर भएन, लेख्न आउँदैन
। पूराना लेखकहरुले लेख्नलाई दम चाहियो भने, नयाँहरुले सिगरेट र चिप्पटको गम चाहियो
भने । वंशाणुगत खोकी र दम बाहेक आपूmमा लेखन्तेको दम आर्जनै भएन । नेताका चर्चा चर्चिएर लेखनदास
भै दास हुन मनले मानेन । मानेको भए नयाँ पार्टी खोल्दै अध्यक्ष पड्काइन्थ्यो, एकचोटी त
मन्त्री पद खाइन्थ्यो, खाइन्थ्यो ।
झण्डा बोकेर बेरोजगार कार्यकर्ता हुन मन लाग्दै लागेन ।
लागेको भए पैसा नकमाए पनि दुई छाकलाई धाउधाउ त हुन्थेन कि १ आमाद्वारा पिटिएको
बालक आमाकै पछि लागेर रुन्छ भनेझैं राहुका झैं शिर काटिए
पनि कार्यकर्ताहरु आफ्नै भ्रष्टाचारी नेताहरुका वरिपरी फन्फन्ती घुमिरहन्छन् भन्ने
सँधै लागिरह्यो । इमान्दारिताको पसल राखेर सित्तैमा आदर्शको ढ्वाङ्ग फुक्नेले कसरी
पैसा कमाउने हुन् ?
कागभुसुण्डीलाई पूजेर ज्ञान पाएकाहरुले आफ्ना समूह बिर्सेर
पद र पैसाका लागि समूह र पार्टि परित्याग गर्न थाले । दलबल नै नभई पैसा कमाउन
नसकिने तथ्य प्रतिपादन गरेर पनि पैसा कमाइएको होइन । पैसा भन्ने कुरो घरमै बसेर
पनि कमाउन सकिने रहेछ भनी इन्टरनेटमा विभिन्न विज्ञापन पढियो । अनेकन गर्दा पनि
कसैले आफ्नो बैंक खातामा पैसा पठाएन । कहिले मृगौला रोगी भनियो, कहिले मुटुको
शल्यक्रिया भनियो, पैसा जुटेन । जो भएको पैसा पत्रपत्रिकामा विज्ञापन गर्दैमा
सिध्धिए ।
ट्यूसन तथा कोचिङ सेन्टर आजका पैसा कमाउने सँस्था हुन्
भन्ने लाग्यो । फेरि केको ट्युसन पढाउने ? नक्कली मार्कसिट र सर्टिफिकेट बनाउँने
केही सँस्थाहरुको सम्पर्क पनि गरियो । बेलाबेलामा पुलिसलाई बुझाउनुपर्ने टिप्सले
गर्दा टिप्स तिर्नै अर्कै जागिर खानुपर्ने बाध्यताले झण्डै मुर्छा पो परियो ।
पुलिस फेरिए धन्दा नै चौपट हुने पनि रहेछ । खास त त्यस्ता ट्यूसन सेन्टर खोलेर
शुक्राचार्य झैं राज्यका विद्रोहीलाई ज्ञान दिन पनि मन भएन । काम गर्ने, सेवा गर्ने
राम्रा सँस्था खोलेर विज्ञापन नगरी चल्ने कुरो भएन, उधारो विज्ञापन गर्दा मिडियाले भोलिपल्ट
उधारो बक्यौताको लिस्टमा नाम प्रकाशन गर्ने डर ।
पानीको व्यापार बढ्दो छ, खोलाको पानी खेर गएको गयै छ । एक
रुपियाँको बोत्तलमा टन्न पानी भरेर बीस रुपियाँमा बेच्दा त उन्नाइस रुपियाँ फाइदा
गुज्रने रहेछ । एउटा टिभिवालाले घरिघरी फोहोर पानी बेचेको भन्दै चर्चित नेता तथा
धनाढ्यका पानी उद्योगमाथि धावा बोलेको बेलामा खोलाको पानीले ज्यान गए तिर्ने पैसा
मात्रै होइन, तारिख धाउने शुल्कै जुटाउन पनि धौधौ पर्ने भो । सस्तो
अदालती सेवा तर धाउनु पर्ने तारिख ज्यादा महँगो हुँदो रहेछ ।
काठको व्यापार गरेर साइकल चढ्नेले बाइक, बाइक चढ्नेले
कार किनेको छ । झुपडि छोडेर शहरमा महल ठड्याएको उदाहरण टन्न छन् । काठ पो कसरी
ल्याउने र बेच्ने । तस्करहरुले नयाँ तस्कर जन्मँन नदिने, नेताहरुले
ठूला तस्करलाई मात्र जोगाउने । जुठो खानै परेपछि नेताको खानु भनेझैं बुढो, थोत्रो र कुख्यात
भए पनि ठूलै नेताको ओत लाग्नुपर्यो भन्ने पनि मनमा आएकै हो । ओत लागेर के गर्ने, यिनले भोट
पाएर जित्ने खुबी रहेनछ । सबै नयाँ पार्टी, नयाँ पार्टी भन्छन् । देशमा झण्डै डेढसय
पार्टि हुन लागिसके । फेरि राजनैतिक चेतना धेरै भएका नेपालीहरुमा राजनीति गर्नै
पनि गाह्रो । केही उपाय नलागेपछि अस्थायी जागिरमा थन्किएको छु, बेलाबेला
रन्किएको छु, रीस उठ्दा बम्किएको छु, खाँदा छाकैपिच्छे खन्किएको छु । सेवा
अवधिभर इमान्दारिताको दोकान खोलेर आदर्शको ढ्वाङ्ग फुकिरहेछु । पैसा कमाउन नसके
पनि दुई छाक खान पनि सोच्नुपर्ने तलब नेपाल सरकारले दिएकै छ । हो, जिन्दगी
खोलासरी बगिरहेछ । अस्तु । २०७०
हाल
सिद्धार्थ उच्च मा.वि., हेटौंडा www.facebook.com/nepali.sampraspaudel
No comments:
Post a Comment
तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।