Tuesday, September 9, 2025

छोरीलाई चिठी: यो देश बस्न लायक भएन ।

प्रिय छोरी

दुखको कुरा सुनाऔँ भनेर नि !

४ नम्बर वडा कार्यालयमा हिजै मात्र फाइल बुझाएर आएको । आज कार्यालय डढेर सबै खरानी भइगयो ।

नगरपालिकामा आउँदो कार्यक्रमका लागि हिजै मात्रै पुगेको, त्यो पनि बर्बादै भइगयो ।


देशै के हुने भन्ने शङ्का भइरहेको बेला व्यक्तिगत र संस्थागत समस्या ठुला पनि नहोलान् नै ।

भाद्र २३ मा हामीले कल्पनै नगरेका १९ जना कलिला भविष्यहरूको हत्या भयो । त्यसमा सङ्ख्या थप हुँदै गए । घटनापश्चात् उत्तेजित Zen Z युवा अनि मौकाको फाइदा उठाउनेहरूबाट विरोधका गतिविधि भए । त्यसले विध्वंशको पराकाष्टा नै नाघ्यो । यसको नतिजा के के पो हुने हो ?

०००

हेटौँडाका लगभग सबैजसो वडा कार्यालय ध्वस्त भए । भित्रबाट आगोको लप्का ननिस्किएको उपमहानगरपालिकाको कुनै झ्याल थिएन । फेरि सम्झिएँ- हिजो मात्रै १५ दिन लगाएर जम्मा गरेको आवश्यक कागजात, सक्कल बिलभर्पाइ, चिठी, आदित्यादी बुझाएर आएको ४ नम्बर कार्यालयको आगो आज त बाध्यताले तापेरै आएँ । अब कसलाई पो फाइदा भयो ?


अन्तिम परीक्षाका लागि कम्प्युटर पढाउने मौका पाएबापत हालसम्म ७०० बढी साथीहरू निजामती भएका थिए । लाखौँका लागि एउटा विश्वसनीय संस्था लोक सेवा कार्यालय आजै सकियो । लोक सेवा तयारी कक्षासँग १३ वर्षदेखि जोडिएको छु । भावनात्मक सम्बन्ध प्रगाढ छ । आजको गतिविधिबाट कसलाई फाइदा भयो ?


जिल्ला अदालत, जहाँ यही जिल्लाका मान्छेहरूका न्यायका लागि प्रमाण बटुलिएका हुन्छन् । ती सबैजसो सिध्धिएका छन् ।  पुनरावेदन अदालत जहाँ बलात्कारी, सुन तस्करी, लागूऔषध कारोबारी, व्यभिचारी अनि गैँडाका खाग तस्करहरूको मुद्दाका मिसिलहरू प्रशस्त टाइप गरेको थिएँ । अदालत; जहाँ न्याय अन्याय छुट्याइन्छ । उच्च अदालतका रूपमा परिचित सो अदालत पूर्णतः जल्यो । अब कसलाई फाइदा भयो ?

०००

सरकारी कार्यालयजति कुनै बाँकी छैनन । यहीँका स्थानीयलाई रोजगारी दिएको भाटभटेनी दिनदहाडै लुटियो, जलाइयो । राजनीतिक दलसँग उहिले उहिले जोडिएकाहरू पनि अन्यत्र गएर आफ्नो घर जलाउनका लागि तयार बनाएर निरीह बनेका छन् । बन्दाबन्दैको सञ्चयकोष कार्यालय अघि भर्खर डढाए । यत्रो हुँदा आफ्नो जग्गामा बनेका अनि भाडामा लिएका पार्टी कार्यालयहरू पनि त जलाइएकै छन् । नेताका नाम सुन्नेबित्तिकै भाडामा बस्नेहरू निकालेर तिनका समेत सबै सरसामान र घरै जलाइएका छन् ।


यो विध्वंश हो, 

विगत १८ वर्षदेखि शिक्षणमा छु । यो पुस्ता यस्तो विध्वंश गर्नेवाला छ भनेर पत्याउनै सक्दिनँ । त्यति शान्त जेनजीको आन्दोलन यस्तो हुन्छ भनेर तपाईँलाई पनि बताउनै सक्दिन । वर्षौँ अरूले लुटिरहेका थिए भनेर बोल्यौँ तर आज त जेनजीलाई मोहरा बनाएर देश त अर्कैले अघौँची लुट्नु लुट्यो । लुट्ने चिजै बाँकी नरहे के लुट्दो हो ? जे भो अति भो ।


अति भए कलेजमा ताल्चा लाउने र वार्ताबाट समस्या समाधान गर्न तयार हुने यो समूह हिजोको हिंसाले भड्किएको त पक्कै हो तर यत्रो विध्वंश यिनको नाममा अरूबाट पो ज्यादा भयो भन्ने बुझेको हुँ । सडकमा टायर बाल्ने बाहेक यो पुस्ता लुटपाटमा संलग्न भएको कहिल्यै थाहा थिएन । आन्दोलनको मोडालिटी, नेतृत्वबिहीन आन्दोलन र एउटाको बहकावमा भीड कुदिरहेको प्रत्यक्षत देख्नुपर्‍यो । उकास्ने कामले हामीबाट पनि धेरथोर गल्ती पक्कै भयो ।

०००

रोजगारी दिने व्यवसायिक संस्थाहरू सिध्याइए, प्रशासन कमजोर बनेको छ, न्यायालय, प्रशासन, वडा कार्यालयसम्मका कुनै पनि प्रमाण सग्लो रहेको छैन । सेना मूख्य सहरका सडकमा हिँड्न सुरू भएको छ । राजनीतिशास्त्रको विद्यार्थीको हिसाबले अध्ययनले के देखिन्छ भने- सेनाले कब्जा गरेका कमै मुलुकका नागरिक खुसी छन् । हाम्रो खुसी आफ्नो वा अरूको कस्तो हुने हो भोलिको बिहानदेखि बिस्तारै थाहा हुँदै जाला ।


प्रिय छोरी, 

आउँदा दिनमा नेपालीकै स्थायी सरकार आएछ भने पनि ती संरचना उस्तै बनेर अभिलेखीकरणसहितका नियमित काममा सहजता हुनका लागि २० वर्ष बढी लाग्नेछ भन्ने मेरो अहिलेसम्मको बुझाइ रहेको छ ।

०००

भीडको एउटाले यो फलानाको घर हो भन्नेबित्तिकै अरूले ढुङ्गा बर्साउने र गेटमाथिबाट नाघेर घरहरू तोडफोड गरिएका घटनामा प्रत्यक्षदर्शी बनेको छु । कहाँबाट आए ? कस्ता अनुहारका आए ? हेटौँडासँग साइनो पर्ने आए कि पर्दै नपर्ने आए ? सबै भन्न सकिने अवस्था पनि छैन । आजै अरूको पहुँच नपुगोस् भनि लोकेसन, फेसबुक प्रोफाइल, स्टोरी र कन्टेन्टहरूमा अलि कडाइ गरेँ । साँच्चै म त बडो त्राही त्राही छु ।


संस्थागत हिसाबले सिस्नुपानी नेपाल मकवानपुरमा आबद्ध छु । अर्को परिवार जस्तो लाग्छ । साहित्यिक समाज बेग्लै सचेत समाज लाग्छ । भेट गर्न आतुर छु । 

देश तङ्ग्रिँदै जाओस् । अनुच्छेदहरू एकअर्कासँग जोडिन पनि जबर्जस्ती तन्काइदिनु परेको कुरा तिमीले पछि बुझ्ने नै छौ ।

विदेश जानु पर्दैन भनेर २० वर्षको उमेरदेखि कसैलाई सल्लाह नदिने मैले आज तिमीलाई लिखितरूपमा यो चिठी लेखेर अभिलेख राखेको छु । हामी यहीँ बसेर डट्ने नै छौँ । सुन्दर प्राकृतिक छटा, सहयोगी मान्छेहरू, परम्परा र नैतिकले ढकमक्क रहँदारहँदै परिवर्तित राजनीतिक घटनाक्रमले यो देश तिम्रा पुस्ताका लागि अब त बस्नयोग्य हुँदै भएन प्यारी ।

शुभरात्री ।

२०८२ भाद्र २४, २३:२५PM

Friday, June 14, 2024

व्यङ्ग्य लेख || पशुपतिको जात्रा, कात्रोको व्यापार || फित्कौली

 संप्रस पौडेल

कात्रो भन्नाले "मनुस्यले होस हराएर संसार त्याग्दा अन्तिममा पहिर्‍याइदिने लासपोस भन्ने जनाउँछ ।" हुन त घाट अनि कात्रो हेरेर कसैलाई मरूँ मरूँ पनि लाग्दो हो । समयअनुसार मान्छेले जे बढी रुचाउँछ उसैको बेपार हुने नौलो परम्परा पनि होइन ।

कात्रेप्रसाद अहिलेका चर्चित व्यक्ती हुन् । पेशाले कात्रो बेच्छन् । बुढाबुढी भएको घरमा पुगेर केही न केही त छोडेर जानैपर्छ भन्दै कात्रो बेच्छन् यिनी । बुढाबुढी पनि होमा हो लगाएर किनिदिन्छन् चार भाग बढी मूल्य तिरेर । तिर्थयात्रामा जाँदा पनि कात्रो किनाउन लिएर जान्छन् उनी । कात्रो बेचेर लाद्रो भर्ने हुनाले होला उनलाई कात्रोको बेपारले लाद्रोको ठेकेदार बनाएको प्रष्ट हुन्छ । जाडो महिना लागेपछि लेक छिर्छन् त गर्मी लागेपछि बेसी झर्छन् । लेकमा पुग्दा बुढाबुढी माघलाई भन्दै आफ्नो बेपार जमाउँछन् त बेसी झरेपछि दुईखुट्टे, चारखुट्टे, छखुट्टे अनेकबाट रोगको प्रकोप बढेको भन्दै अपारको बेपार गर्छन् । आज मरे भोली दुई दिन भन्दै भोलीपल्ट कात्रो के काम भन्ने उनी सरकारको स्वास्थ्य वीमा कार्यक्रमविपरित हरेक घरपरिवारका लागि एक एक सेट कात्रो लिन लगाउँछन् ।

मिठाइ व्यापारबाट मालामाल भई नाम, दाम र कामको चौतर्फी चर्चाको चुलीमा पुगेका व्यक्ती हुन् चित्रप्रसाद चम्लागाईँ । उनको कात्रोको बेपारले अपार हुँन थालेपछि नै उनलाई धेरैले कात्रेप्रसाद नामले पुकार्न थालेका हुन् । अब त चोकको नाम पनि कात्रो चोक, बाटाको नाम कात्रो मार्ग, भवनको नाम कात्रो भवन हुन थालिसक्यो ।

 


कलियुगका कुबेर कम्ती कसरत गरेका छैनन् उनले । अस्पतालको लाश अड्डामा पुगेर होस् कि खोलाछेउको शव दाहस्थलमा पुगेर होस् अरुले किनेका त नक्कली कात्रो परेछ अनी आफ्नोचाहिँ पात्रो हेरेर किनेको कात्रो भन्न भ्याउँछन् । यिनलाई सेवामुखि काम गरेको भनेर कसैले सम्मान गर्‍यो भने पनि खादा र दोसल्लाको सट्टामा कात्रो नै माग्दाहुन् भनेर टोलमा चर्चा हुने गरेको छ । तर पनि कसैले यिनलाई कात्रोमा खल्ती सिलाउन नलगाएकामा चित्त दुखाएका भने छैनन् ।

कात्रोमा खल्ती राख्ने चलन किन नचलेको होला ? खल्ती हुँदो हो त जीवनभरका नैतिक, अनैतिक जुन रीतले समाएको वा कमाएको धनमाल बोकेर लैजान सकिन्थ्यो कि ! यस्तो भए कात्रोमा बुट्टा हुन्थ्यो होला । महिलाका लागि बेग्लै, पुरुषका लागि बेग्लै कात्रो बन्थ्यो होला । धनीका कात्रो र गरीबका कात्रोमा भिन्नता हुन्थ्यो होला ।

 

कात्रो बन्ने कपडाबाट एक सय एक फेसनका कपडा सिलाउने चलन किन नआएको होला ? कात्रोको कोट हुँदो हो त पाइन्ट पनि हुँदो हो । पाइन्ट हुँदो हो त कात्रोकै जुत्ता पनि हुँदो हो । जुत्ता हुँदो हो त मोजा पनि कात्रोकै हुँदो हो । कात्रोमा खल्ती हुँदो हो त खल्तीमा हाल्ने रुमाल पनि कात्रोकै हुँदो हो । यस्तै कोटको भित्री हुँदो हो त बाहिरी पनि हुँदो हो ।  बाहिरी हुँदो हो त जगेडा पनि हुँदो हो । जगेडा भएपछि आफ्नो कमाई तगडा हुँदो हो । कमाई तगडा हुँदो हो त बखेडा पनि हुँदो हो । यसैले कात्रो सत्यको परिचायक पनि हो ।

 

कात्रोको सर्वत्र चर्चा भएपछि लेखकहरूले पनि कात्रोकै बारेमा लेख्दा हुन् । किताब पनि यस्ता यस्ता नामका छापिँदा हुन्- 'कात्रो परिचय', 'कात्रोको इतिहास', 'कात्रोमा सत्र वर्ष', 'कात्रोमा सात दिन', 'कात्रोतिर बरालिँदा', 'कात्रो हराएको मान्छे', 'कात्रोको अंश', 'कात्रोको कारोबार कसरी गर्ने', 'कात्रोकी स्वास्नी र म', 'कात्रोको खोज', 'कात्रोमा मोज', 'कात्रोः लाउने कसरी पाउने कसरी', 'कात्रोको बाबु आमा र छोरा', 'कात्रोको देशमा', 'कात्रोमा लास', 'कात्रोमा हार', 'कात्रो र बन्दुक', 'कात्रो काँडा कि फूल', 'कात्रो क्रान्ति र समाजवाद', 'कात्रोभारा', 'कात्रो लिपि', 'कात्रो शब्दकोष', 'कात्रो प्रणाली', 'कात्रोरिया आदि ।

 

कात्रो व्यापारका लागि फूटपाथदेखि ठूला ठूला सपिङ मल खुल्दा हुन् । चोक चोकमा यस्ता पसल खुल्लान् 'बाजेको कात्रो पसल', 'सक्कली बाजेको कात्रो पसल', 'पूरानो बाजेको कात्रो पसल' । त्यहाँसम्म ठीकै मान्न सकिएला यस्ता पसल पनि खुल्लान्- 'हाम्रो कात्रो पसल', 'कात्रो एण्ड कात्रो ब्रदर्श', 'दिदीबहिनी कात्रो पसल', 'कात्रो सप्लायर्स', 'कात्रो एण्ड सन्स' । कात्रो बेपारीले साइनबोर्डमा लेख्दा हुन्- यहाँ आरामदायी कात्रो पाइन्छ । अर्कोले अझै आकर्षक बनाएर लेख्दो हो- हामीकहाँ जाडोमा न्यानो र गर्मीमा चिसो दिने कात्रो पाइन्छ ।

 

कात्रोको ठेकेदार, बेपारी आदि चुनावमा प्रतिनिधि भए भने चुनाव चिन्ह पनि कात्रो नै पाउलान् । नाराहरू बन्लान्- चार छाप कात्रोमा लगाउँ । कात्रो चिन्हमा आफ्नो अमूल्य मत प्रदान गरौं । चुनावअघि मासुभात, पेट्रोल छोडेर कात्रो वितरण कार्यक्रम तय होलान् । कात्रो लगाएर, कात्रोकै झण्डा बोकेर र्‍यालीको भिड चल्दा हुन् । आन्दोलन गर्दा पनि टायर छोडेर कात्रो बाल्दा हुन् । कात्रोलाई लिएर प्रतिनिधिले घोषणा पत्रमा लेख्दा हुन्- हामी मृतकहरूलाई निशुल्क कात्रो वितरण गर्दछौं । हामी हरेक युवालाई कात्रो बनाउने तालिम दिन्छौं । हामी कात्रो देखेर सात्तो जानेहरूको निधनमा निशुल्क कात्रोको व्यवस्था गर्नेछौं । हामी कात्रोमा भएको व्यापक मूल्यवृद्धि घटाउँछौं । अघिल्लो पटक पालिकामा रहँदा फलाना पार्टीले कात्रोमा लगाएको कर मिनाहा गर्नेछौं । कात्रो सबैको साझा अधिकार हो भन्नेमा हामी विश्वस्त छौं । कात्रोमा भोट हाल्नोस्, पूण्यकर्म थाल्नुहोस्, परलोक गमनको सुमार्ग चाल्नुहोस् भनेर चुनावी घोषणापत्र बन्थे होलान् । जति थुपारे पनि अन्त्येष्टीमा ओढेर परमधाम यात्राका ओढाउ कात्रोलाई चुनावचिन्हमा समावेश नगरेकोमा कात्रेप्रसाद खुबै गुनासो गर्छन् ।

जय सिस्नुपानी ।

(लेखक सिस्नुपानी मकवानपुरमा आबद्ध हुनुहुन्छ ।)                                              २५ बैशाख २०७९

फित्कौली

 

गीतको चर्चा || राई माइलाले गावैँ छाड्यो रे || श्रवण मुकारूङ || सुनिता थेगिम || कालीप्रसाद बासकोटा

 


Wednesday, January 4, 2023

चुनाव अघि र पछि

चुनावअघि बालाई खेदौं खेदौं

चुनावपछि बालाई भेटौं भेटौं ।


चुनावअघि बाहरूलाई विदा गरौं

चुनावपछि बाकै नेतृत्वमा मन्त्री बनौं


चुनावअघि नो नट अगेट

चुनावपछि बा, अगेन एण्ड अगेन ।


चुनावअघि नाकको डाँडी भाँच्ने भाषण

चुनावपछि बस्ने ठाउँलाई आफ्नै हातको आसन ।


चुनावअघि 'स्याउँ स्याउँ मन्त्री धेर भो धेर भो'

चुनावपपछि नारा चल्यो 'मेरै हो मेरै हो' ।


पहिले पहिले खान नपाएर निराश निराश

अब नहोस् धेरै खाएर गुराँस गुराँस ।

सहरमा जसको चर्चा छ - ४

कैलाश कार्की, हास्यव्यङ्ग्य सर्जक/कलाकार

जन्मः तिङ्ला, सोलुखुम्बु

उहाँका केही चर्चित सिर्जनाहरूः

·      कोही यहाँ भोकै छन् तिमी छिन छिनमा खाइराको छौ

अरूलाई महिनौ हुने खाना तिमी एक दिनमा खाइराको छौ

दुई छाक खाको भनेर मख्ख नपर ए नेपाली

एक छाक त तिमीले ऋणमा खाइराका छौ ।

·      कविहरूलाई २ मिनेटजति हेर्‍यो भने आफैं रोउँ रोउँ लाग्छ ।

·      कहिलेकाँही त विदेश गइदिउँ गइदिउँ लाग्छ

अनि युट्युब खोलेर हेर्छु

मनपरी बोलेर भए पनि भाइरल भैदिउँ भैदिउँ लाग्छ ।

·      २ हजारको जुत्ता लुकाएर २० हजार मागिराछन् सालीहरू ।

·      धनी र गरीबको ट्वाइलेटबीच पनि विभेद छ । उनीहरूको ट्वाइलेट

मात्रै होइन, स्वीमिङ पुल नै हो । हाम्रोचाहिँ किटाणुले हात जोडेर भनिराछ- अरे यार कहिलेकाहिँ हार्पिक हालेर सफा त गर् ।


·      पैसा नै नहुँदो हो त क्या मज्जा हुन्थ्यो होला । सामानले सामान साटिन्थ्यो होला । मोबाइल चाहियो भने मोबाइल पसलमा राँगो लिएर जानुपर्थ्यो होला । एनसेलको रिचार्ज हाल्नुपर्‍यो भने भाले च्यापेर जानुपर्थ्यो होला ।

    •        यो सहर त एकाबिहानै कुद्नेहरूको सहर न रहेछ
धनीहरू पेट फाल्न कुदेको देख्छु 
अनि गरीबहरू पेट पाल्न कुदेको देख्छु ।

 

कला जीवनको शुभकामना कैलाश ।


Tuesday, December 27, 2022

सहरमा जसको चर्चा छ-३

व्यङ्ग्य कविता

डायपर गलत ठाउँमा परेपछि

मार्क ट्वेन महोदय,

हामी पहिले पहिले 'लिडरफेर्दैनथ्यौं

डायपर मात्र फेर्थ्यौं

जसको नतिजा

डायपर, समयअगावै विष्फोट हुन्थ्यो ।

 

डायपर

कहिले उत्तरतिर त

कहिले दक्षिणतिर झोलिन्थ्यो

डायपर

कहिले दुतावास त 

कहिले नियोगतिर चुहिन्थ्यो ।

 

तर अब समय उस्तो रहेन

यसपाला हामीले

थुप्रै 'लिडरफेर्‍यौं

उत्तिकै थान डायपर पनि फेर्‍यौं ।

 

मुखमा पनि लगाइदिनुपर्ने रहेछ डायपर

नछुट्नुपर्ने छुट्न गएछ ।



अफसोस छ

पश्चाताप छ मार्क,

हामी अझै उस्तै तनावले पिल्सिएका छौं

जुन भर्खरै मात्रै पत्तो पायौं-

झोल्लिएको हाम्रै गोप्यता रहेछ

चुहिएको हाम्रै कुटनीति रहेछ ।



हो मार्क,

लगाउनु पर्ने ठाउँमा

लगाइएनछ डायपर

डायपर त उनीहरूका

दिमागमा पनि लगाइदिनु पर्ने रहेछ ।

संप्रस, २०७९ पौष १२ हेटौंडा

 

Monday, December 26, 2022

विण्डोज ११ का महत्वपूर्ण सर्टकर्ट कीः

विण्डोज ११ का अति महत्वपूर्ण सर्टकर्ट कीहरूः 

विण्डोज की र डब्ल्यू (windows+W)

विण्डोज ११ का प्रयोगकर्ताले मौसमसहित विभिन्न समाचार हेर्नको लागि कुनै ब्राउजर खोलिरहनु पर्दैन । विण्डोज की र डब्ल्यू थिचेमा प्रयोगकर्ताले मौसम सम्बन्धि जानकारीसहित विश्वभरका पछिल्ला समाचारहरु थाहा पाउँन सक्छन् ।

विण्डोज की र एन (Windows+N)

विण्डोज ११ अपरेटिª सिस्टम प्रयोगकर्ताहरुले कम्युटरमा भएका नोटिफिकेसनहरु हेर्न विण्डोज की र एन थिचे पुग्छ ।

विण्डोज की र ए (Windows+A)

यस सिस्टममा विण्डोज की र ए थिच्दा प्रयोगकर्ताले विण्डोज ११ मा वाईफाई, ब्लुतुथजस्तो अप्सनमा जान सक्छन् । यसले कम्युटरको सेटिङ अप्सनमा पुर्याउँछ ।

विण्डोज की र जेड (Windows+z)

विण्डाेज ११ सिस्टममा विण्डोज की र जेड थिच्दा प्रयोगकर्ता विन्डोजको लेआउट अप्सनमा पुग्छन् । जसले लेआउट कस्तो बनाउने भनेर छनोटको सुविधा दिन्छ ।

विण्डोज की र सी (Windows+C)

यस सिस्टममा माइक्रोसफ्टको टिम्स इनबिल्ट छ । विण्डोज की र सी थिचेर प्रयोगकर्ता सिंधै माइक्रोसफ्ट टिम्सको च्याटमा पुग्न सक्छन् ।

स्रोतः https://pradeshreport.com/technology/10562/

Sunday, December 25, 2022

सहरमा जसको चर्चा छ- २

 

२०७९ पौष १०

पत्रकारः नमस्कार नेताज्यू ।
नेपालः  विना देउवाके नमस्कार ।

पत्रकारः कस्तो लागिरहेको छ ?
नेपालः एकपटक चिमोटेर हेरेँ । दुख्यो । अनी हो रहेछ भनेर पत्याएँ ।

पत्रकारः अब के गर्नुहुन्छ ? 
नेपालः अब राष्ट्रपतिका लागि दाम चढाउनु पनि भएन । के गर्ने ? अब त त्यो लामिछानेले घुर्न पनि दिँदैन होला ।

पत्रकारः नेकपा यसबाट नेकपा त्यसमा जाने कुरा त छैन नि ?
नेपालः त्यस्तो कुनै योजना छैन । पर्ख र हेर अनुशरण गर्ने मान्छे हुँ ।

पत्रकारः अनी आज तपाईँले 'वर्तमान परिप्रेक्ष्यमा' थेगो भुसुक्कै हुनु भयो कि कसो ? कि एउटा देउवाले अर्को दाहालले लैजानु भयो ?
क्यामेरा म्यानः त्यसो होइन । उहाँको वर्तमान हरायो हरायो, परिप्रेक्ष्य पनि बेपत्तै भयो ।
नेपालः यो ओली गुटको परेछ कि क्या हो ?
(मिश्रित हाँसोपश्चात्)
पत्रकारः हवस् । कार्यक्रममा आइदिनु भएकोमा धन्यवाद ।
नेपालः विना ढेउवाके ?
पत्रकारः हजुर, टोलटोल मिडियाको घरघर अनलाइन पत्रिकाको अर्थशाखा कमजोर रहेकोले हामीले अन्तर्वार्तामा पाल्नुहुने पाहुनालाई विना ढेउवाके नै बोलाउने गरेका छौं ।
नेपालः लौ लौ ।

सहरमा जसको चर्चा छ - १

 

२०७९ पौष १०

Monday, December 12, 2022

साइँला रक्स || सुन साहिँली प्यारोडी

😂😂😂

(साहिँलाले अघिल्लो चुनाव जितेको पाँचौ वर्षमा...)

सुन साइँली साइँली
५ वर्ष यस्सै टारियो
डोजर र ट्रिप्पर जोडियो

सुन साइँली साइँली
डाँडोलाई सम्मै खारियो
बगरलाई विदेश तारियो ।

---
(साहिँलाले यो पटकको चुनाव हारेको पाँचौ वर्षसम्म)
सुन साइँली साइँली
संसद थ्यो सँधै हरियो
फुस्किँदा दङ्गै परियो ।

आश्वासन त दिएको परर
भोट अन्तै सर्‍यो सरर ।

कानून बनाई मान्छे कुटाउँथे
कानून सच्याई जेलबाट छुटाउँथे ।


शहरमा जसको चर्चा छ || रेशम प्यारोडी



 हे, हे, हे

आ-हा-हा-हा, हा-हा-हा

हा-हा-हो-हो, ओ-हो


रेशम, रेशम

सानोमा सानो कमलको हाँगा, रेशम...

सानोमा सानो कमलको हाँगा, रेशम...

जेलबाट छुट्छ भालाले घोचेर हो, रेशम...


अस्तिको कुरा बिर्स्यौ कि कुन्नी, रेशम....

म फिर्ने छैन तिमीलाई कुर्सी नदिई, रेशम

म फिर्ने छैन तिमीलाई कुर्सी नदिई, रेशम

तिमीलाई हो, छोडेर हो रेशम...


स्यालुट खाँदै नख्खु जेलैमा, रेशम...

गुड बनाउने हो  सरकारमा मिलेरै हो, रेशम


नक्कली अध्यादेश ल्याउँछ छुटाउँन, रेशम

यो माया सम्झी मन लाग्छ अंगालो हाल्न, रेशम

यो माया सम्झी मन लाग्छ अंगालो हाल्न, रेशम


काट्दै र किट्दै दाह्रा र खुकुरी, रेशम

मुखको तालमा सिध्धिए एसएसपि नै, रेशम


अल्लारे जनता जिस्काउँछन् मलाई, रेशम

अल्लारे जनता जिस्काउँछन् मलाई, रेशम

भोटैर नहाली काँ जालान्  उम्केर हो, रेशम

कहाँ जालान् उम्केर हो, रेशम रेशम


रेशम, रेशम्, चौधरी रेशम

रेशम, रेशम्, चौधरी रेशम


छोरीलाई चिठी: यो देश बस्न लायक भएन ।

प्रिय छोरी दुखको कुरा सुनाऔँ भनेर नि ! ४ नम्बर वडा कार्यालयमा हिजै मात्र फाइल बुझाएर आएको । आज कार्यालय डढेर सबै खरानी भइगयो । नगरपालिकामा आ...