Monday, August 24, 2015

नेपाल बन्द

तिमी पनि बन्द गर्ने
म नि बन्द गर्ने
बन्दै बन्दबीचमा
घर कसरी चल्छ प्रिय ?

अफिस जाने को हो ?
पैसा कमाउँने को हो ?
पेटले बन्द गरौँ भन्दैन
लौ भन कसरी गर्ने  जोहो ?

बन्द र माग्ने ।


Magne Poem by : Chatyangmaster 
माग्ने ।।।
....
माग्ने अब यस्तरी माग्ने
विश्व थर्काई माग्ने,
ऋण दान अनुदान जे पाइन्छ
त्यै माग्ने
माग्दा माग्दा; धनी हामी
दिने बन्नेछ माग्ने ।.....


Banda ra Magne Poem by : Divas
बन्द हो बन्दले गर्छ,
बन्दले धेरै गर्यो,
इतिहासले यही भन्छ,
बन्दले नै काइतेलाई चर्चित बनायो,
सडकमा चोरेर खानेहरू सदनमा पुगे,
लुटेर खानेहरू सत्तामा पुगे,

Thursday, August 6, 2015

निन्द्रै परेन



दिवस
उमेरले तीन दशक पूरा गर्न लागेपछि निकै ठूलो सपना देख्ने जमर्को गरियो, अब्दुल कलामले भनेजस्ता । त्यसैले मत मिलेकै आधारमा त कलामलाई सलाम गरियो नि । तर खै ठूलो सपना मरिगए देखिएन ।
रातभर निदाउँने प्रयास निकै गरियो । उत्तानो परियो, सिलिङ फ्यान झर्‍यो भने त पानी भन्न पाइन्नँ भन्ने ठानेर निन्द्रै परेन । कोल्टो फेरियो, भुइँचालोले यो भित्तो ढल्यो भने आत्था पनि भन्न नपाइएला भनेर निन्द्रा परेन । घोप्टो परुँ न त भन्दा आफूभन्दा पहिले भुँडी अघि बढ्छ र श्वासनली ख्याप्प पार्छ । पचासको उमेर कटेपछि कुर्सीमा बसेर निदाउँने हाकिम जस्तो कुर्सीमा क्वाँ क्वाँ घुरेर निन्द्रै पर्दैन । गाडीमा बसुँ भने आजकल चारपटिका टायर कता छन् यात्रुले ध्यान दिनु जरुरी छ । गाडी खसेको कुरो ड्राइभरले बाँच्यो भने मात्रै पत्तो पाउँछ । केही गरे निन्द्रा परेन । घरमा होस् कि सहरमा, कतै जाँदा निन्द्रै परेन ।

Friday, May 15, 2015

लघुकथाः कानून




संप्रस पौडेल
कानून र व्यवहारिक घटनालाई केलाउँन मज्जा आउँथ्यो । व्यवहारिक समस्यालाई प्राकृतिक कानूनले निदान गराउँथ्यौँ । प्रथा परम्परा र सँस्कृतिलाई पनि ख्याल गर्नुपर्छ भन्थ्यौँ । कुप्रथा र कुसँस्कारका विरुद्ध समाजमा चेतना दिलाउन नसकी अन्जानमा भएका सानातिना गल्तीले पीडक र पीडितले अदालत धाउँदा धाउँदै मर्नु नपरोस् भन्थ्यौँ ।
हामी कानून पढ्थ्यौँ, कानूनकै हरफहरुलाई दशैंमा अघोषित रुपमा बढेको गाडी भाडाका कुरामा सवाल जवाफ गर्थ्यौँ । मास्टरहरुले साना साना लालाबालालाई कान समातेर चुईचुईँ उठबस गराएकामा कानूनका दफाका बहस गर्थ्यौँ । किसानले  सुई लगाएर काँक्रो बढाएकोमा उसलाई चेतना दिनुपर्छ भन्थ्यौँ । अवैध विषादी बेच्नेलाई कारबाही हुनुपर्छ भन्थ्यौँ । कानून पढेकैले व्याजप्रसादहरुसँग मुखामुख गर्न सक्ने भयौँ ।
कानूनले अवैध भनेको काम कसरी वैध हुन्छ ? पढेका र जानेकाहरु पनि हुन्छ भनेसि हुन्छ भनिदिन्थे । फागु पूर्णीमामा रमाइलो गर्ने नाउँमा उछिल्लिएकाहरु गल्ली गल्लीमा विदेशी केटिहरुका छातिमा हात पुर्‍याउँथेँ । बेचेर दशैं मनाउँला भनी फलाएका काँक्रा, कागति, फलफूल तरकारीहरु तिजको चौथीका दिनमा चोरेर खाइदिन्थे । सोमलाल बिहानै दशैंलाई  जग्गा धितो राखी सयकडा १० को व्याज तिरी ऋण पाउँन अनुरोधका लागि मुखियाँकहाँ पुग्थ्यो । चौथीमा दलिनै अगाडि प्लास्टिकमा पोको पारेर राखिदिन्थे मानव मलमूत्र । "रमाइलो गर्ने पनि हद हुन्छ नि, अरुलाई दुख दिएर के रमाइलो गर्नु ?" यस्तै भन्दै मुखिनी बज्यै सरसफाई गर्थिन् ।
रोजगारीका लागि शहर छिरेपछि हाम्रो कानूनको पढाई बेकामे जस्तै भएको छ । साथीहरु कोही गाउँमै चक्रीय खेतीमा लागेका छन् । कोही खाजाघर चलाउँछन् । कानून पढेको कोही सामाजिक विषय पढाउँदैछन् । कोही प्रोजेक्टमा जागिरे छन् ।
शहरमा कतिपय पेशा देखादेखी अवैध देखिन्छन् । खाना खाने होटलमा १२ बर्षे केटो भाँडा माझ्दैछ । संविधानमा प्रदत्त बालबालिका सम्बन्धी मौलिक हकका धाराले उसलाई रोजगारी दिलाउँदैन बरु खोस्छ । सडक विभागले सडक पिच गर्ने जिम्मा दिएकामा काम गर्ने केटो आफ्नो उमेर १५ वर्ष बताउँछ । फुटपाथमा दुई हात फैलाएर हिड्ने बालबालिकालाई वैध माग्ने बनाउँन गाविसले सिफारिस दिएर माग्न पठाउँछ ।
रेडलाइटको मागको कुरा चर्काचर्की सुनिन्छन् बजारमा । गृहमन्त्री फेरिनासाथ संसद अवरुद्ध भए जसरी अवरुद्ध हुन्छन् रात्री जीवनहरु । विभिन्न सम्झौतापछि चल्छन् । चलिरहेका छन् । कानून बेश्यावृत्तिलाई अवैध भन्छ । पत्रकारहरु वैध बनाउँछन् र भन्छन् केही समयका लागि आफ्ना ज्यान र पैसा साट्ने यस्ता हर्कतलाई 'यौन व्यवसाय'
आज पनि बार, अदालत, सरकारी कार्यालयहरुमा टाँसिएका नागरिक बडापत्रको बोर्ड र भित्ताहरुमा हामी कानून पढिरहेका छौं । लेखे जस्तो भैदिए.... भन्दै कल्पना गरिरहेका छौं । कानुन पढ्ने विषय हो कि व्यवहारमा लाद्ने विषय हो अझैसम्म अनभिज्ञ छु ।

Wednesday, January 28, 2015

चाहिएको पहिचान कि परिचय पत्र ?

-संप्रस पौडेल 'दिवस'
साराका सारा पहिचान खोज्ने धुनमा छन् । धर्म–सनातन वा परिवर्तित (किनेको वा बेचेको), सँस्कृति– आयातित वा निर्यातित, जात– मूलवासी वा अन्य, भाषा– मातृभाषा वा आर्जित, झण्डा– राष्ट्रको वा दलको, राष्ट्रियता– संघको कि सिंगो देशको, भूगोल–मधेशको वा पहाडको, बसाइ– पिछडिएको वा सुगम..... इत्यादिको पहिचान चाहिएको छ । भनौं परिचयपत्र चाहिएको छ ।
आधुनिक नेपालको अढाई सय वर्षको सुस्पष्ट इतिहास नभएको अवस्थामा हामी जातजाति, उपजातिको चिन्तनमननमा तल्लिन छौं । मगर जातिको इतिहास हँगेरीका ‘मग्यार’ सँग माग्दै छौं । जिरीबासी मगरलाई जिरेल र सिन्धुपाल्चोकबासी तामाङलाई ह्योल्म्यो बनाइयो भन्दै जनजातिको राजनीति टुस्याएर रोपिसकेका छौं । वनमा जीविका गर्ने चेपाङलाई समाजमा ल्याएर वनकरिया भनी दिएका छौं । पहिचानको बिल्ला भिराएर असामाजिक कृयाकलाप धानेका राउटेलाई भत्ता दिएर वनमै छोडेका छौं । तिनका नाउँमा बनेका थेसिस र डकुमेन्टरी विदेश पठाएर डलर कमाउँने बाटो पहिल्याउँदै छौं ।
अब कर्णालीका क्षेत्रीलाई खसको दर्जा दिँदा आदिवासीको सूचीमा चढाइदिने जस खोजिरहेका छन् कोही । लिम्बुसहित सबैको परिचय भएको गाउँ लिम्बुवान भई अन्यको पहिचान विलिन गरिरहेका छौं । तामाङ बाहेक अन्यको परिचय गुगललाई जिम्मा लगाएर ताम्सालिङ नाउँमा मिडिया हाँकिरहेका छौं । मधेश आन्दोलनका नाउँमा पहाडिया खेद्ने राजनीति कसले सिकायो ? अष्ट्रेलियामा जस्तो आदिवासी समुदाय नै नष्ट गरिएको थिएन, पहिचान सबैको एक थियो हामीकहाँ । अब हामीलाई हरेकको छुट्टाछुट्टै पहिचान चाहिएको छ, उही पहिचानको परिचयपत्र चाहिएको छ । परिचयपत्रमा सीमित हुन चाहन्छौं हामी ।
नेता र नेतृत्व, आस्था र अस्तित्व टुक्रिएर छिया छिया परेको छ । अदुवा खानेलाई त्यागेर मुला खानेलाई सभामा प्रवेश गराएका छौं । भोटका लागि लाखौंलाई आँखा चिम्लेर नागरिकता बाँडेका छौं । पशुपतिमा विदेशी नै भए पनि भट्ट ब्राह्मण, मनकामनामा मगर, गढिमाईमा थारु, हलेसीमा राई,
यतिखेर हग्नेले भन्दा पाद्नेले देश हाँकेको छ । त्यही हँकाई हामीलाई प्रिय पनि छ । यसैले हामीलाई देशकोभन्दा संघको ज्यादा चासो छ, संघको भन्दा नेताको ज्यादा चर्चा छ, हामीजति पनि विवेक र बुद्धि नभएका हामीमध्येकै छनौटालाई नेतृत्व दिएर आफ्नो पहिचानको खोजीमा छौं । हामी एक एक राष्ट्रियता भूलेर परिचयपत्रमा सीमित हुन चाहेका छौं ।
यतिखेर विदेशीले हाम्रै मथिङ्गलमा बिष्ट्याएका छन्, हामी आपूm गन्हाएर चन्दनको व्यापार गरिरहेका छौं । हाम्रो राष्ट्रियता घटेको हो कि, घटाइएको हो हामीमा विवेक कसले भरिदिने हा ? अब देशको पहिचान खोज्ने बेलामा नारा लगाइरहेछौं, ‘ए फलानो तिम्ले दिएर हुने भए हाम्रो पहिचान खै ?’
विदेशी दाताको लगानी भित्र्याउँन धर्म परिवर्तनको नदेखिँदो बाढीलाई आफैंमाथि बगाएका छौं । बसेको पिर्का पनि बाँकल वा चुरोको भन्नेमा विवाद गर्न लागेका छौं । दुई लोभी बिराला दाजुभाईको रोटीको भागबण्डामा बाँदरको रजाईँ पनि हामीलाई हाम्रै पहिचान पो लाग्न थालेको छ । पहिचान शुरुदेखि गर्ने वा अन्त्यदेखि ? इतिहासबाट गर्ने वा विज्ञानबाट ? पहिचानको निर्धारण भूगोलले गर्ने वा आस्थाले गर्ने ? शिक्षाले गर्ने वा विवेकले ? कुनै न कुनै निहुँ झिकेर पहिचान सबैलाई चाहिएको छ राष्ट्रियता मिचेर वा त्यागेर, अंगालेर वा आकार फेरेर ।

च्वास्स २