Thursday, February 20, 2020

"जी" को नालीबेली


"जी" हाम्रो सँस्कार, परम्परा र सम्मानको उँचो स्तर हो । जस्तो रामजी, श्यामजी, सीताजी, बास्कोटाजी, महराजी आदि ।
कसैले जी र ज्यू एउटै हो भन्ने पनि गर्छन् । यी दुवै एक होइनन् भन्ने मेरो खोक्रो ज्ञानको एउटा जिउँदो उदाहरण दिन चाहन्छुः नेवारी भाषामा "बजी"-चिउरा तथा खाजा भन्ने बुझिन्छ भने "बज्यू" भन्ने थर रहेको छ । यस्तै हजुरबालाई "बाजी" भन्दा भन्दै "बाजे" भएको हो कि भन्ने यो निबन्धकारको एकलौटी आशंका रहेको छ । "बजी", "ताजी", "हाजी", "पाजी" "चाजी", "दाजी" शब्दहरु हाम्रा विभिन्न भाषामा प्रयोगमैँ त छन् ।
प्रसङ्ग बदलौँ, कतै केही सफलता मिली हालेमा हामी लड्डु खान र खुवाउन चाहन्छौं । त्यसमा पनि हामीलाई "सुजी" को लड्डु ठीक लाग्छ । हामीमा हरेक छाक "सब्जी" खानुपर्छ भन्ने मान्यता छ । सुख्खा याममा "सब्जी" नपाइएला भनी हाम्रा पुर्खाले हाम्रै पौरखमा सागसब्जीका गुन्द्रुक बनाउँन सिकाएका हुन् । यस्तै हामीलाई चउरमा उफ्रनुभन्दा मोबाइलमै झुण्डिएर "पब्जी" खेल्न मनपर्छ ।

Monday, February 17, 2020

छोरीलाई सन्देश

छोरी, भोलीपर्सी तिमीले पनि बुझ्छौ यी कुरा:-
ए फर एपल त अन्तैको कुरा, हाम्रैमा पनि धेरै परिवर्तन भ‌एछन् ।
 कपुरी क - कमल क
 गाइगोडे ग - गमला ग
ओठ काट्यो ट - टपरी ट
 ठड्यौरो ठ - ठग ठ
डाङडुङे ड - डमरू ड
--
तीन धर्के ण पहिल्यै हरायो । थरमस 'थ' विशुध्द नेपाली भैसक्यो । दैलोको ठेलासँगै दैली 'द' पनि बेपत्ता भो । सत्यनिरूपण आयोगमा कसले पो उजुरी गर्ने हो ? निउरीमुन्टी 'न' ले त्यतिसारो निहुरेर नरिवल 'न' मा बदलिएको छ । पाटीमा बस्ने खाने 'प' सर्वहाराको नाइके सात पुस्तालाई पुग्नेगरी धनाढ्य भ‌एको छ । जन्मनासाथ मन्टेश्वरी र होस्टेल भर्ना गराउने फर्सी 'फ' हरूले किन छोरी बोकिरहन्थे र । बोरामा चामल किन्न पाउँनेहरूले 'भ' को भकारी किन देखून्, किन लेखुन् । 'र' लाई भूकम्प प्रतिरोधी पिल्लर आइसकेपछि कसले खाँबो हालिरहोस् । तल थोप्ली 'व' को थोप्लो पहिल्यै हराएर आफ्नो नाममा पास भैसकेको वकील 'व' ले के बहस गर्ला र ? लृ त उहिल्यै खुइलियो, ऋ पनि हराउँन लाग्यो गाँठे । अब लेजर प्रविधीले 'ष' को पेट नचिरी शल्यकृया हुने होला । 'श' को मोटोपन घटाउँने थरीथरीका विदेशी ग्रीन टीहरू भित्रिँदै होलान् । छेपारी 'क्ष' को छेपारी छिन्नेगरी भाषा बदलिसक्यो, तिनलाई अझै ज्ञानी 'ज्ञ' नै मानिरहनु पर्ने हो कि खै !

च्वास्स २