Sunday, August 6, 2017

आलुवाद

- संप्रस पौडेल दिवस

घरजग्गाको भाउ दलालीको हातमा छ । एउटै जग्गा पचास पटक बेचाउँने दलालीहरु छन् । तिनीहरुले राज्यलाई कर तिरेका छन् ? पक्कै छैनन् । एउटा जग्गा बेचेर आएको कमिशनले गाडी चढेर हिँड्ने दलालीहरु तपाईँका छिमेकमा कत्ति छन् कत्ति । जे हुन नहुने हो‚ त्यै हो आलुवाद ।
डिग्री पास गरेको कर्मचारीको तलब २० हजार र उत्तिकै योग्यताको सिइओले २० लाख कमाउँछ । वृद्ध वृद्धाले रोइरोइ कृषी सम्हालेका छन्, युवाहरु विदेशमा पसिना बेच्दैछन् । नेताहरु डलरमा इज्जत बेच्दैछन् । जे नहुनुपर्ने हो त्यै भैराछ । यै हो आलुवाद ।
व्यापारीले किसानसँग उब्जनी किन्छन्, मनलाग्दी मूल्य राख्छन्, दोब्बर तेब्बर र चौब्बरभन्दा बढीमा बेच्छन् । पाँच रुपियाँ किलोको आलु लिएर कोल्ड स्टोरमा ८ महिना राखेपछि पचास रुपियाँमा बेच्न पाइन्छ । यै हो आलुवादको गाँठीतन्त्र ।
यतिसम्म कि व्यापारी कानून बनाउँछन्, जनता खुरुखुरु मान्छन्, सरकारलाई पनि आलुवाद फापेकै छ । बीउ के रोपियो र कस्तो रोपियोसँग सम्बन्ध हुँदैन । वादको मात्रै कुरा हुन्छ । फलिफापको मात्रै कुरा हुन्छ । त्यै हो आलुवाद ।
एउटाले मार्क्सवाद रोप्यो उपलब्धीमा आलु नै फल्यो । अर्कोले माओवाद फल्यो अन्तत आलुकै शरणमा पौनेटो भएर बस्नुपर्‍यो । सबै मिलेर विधि विधानका साथ समाजवाद रोपेको आलुवाद हौसिएको तपाईँहामी सबैले देखेकै हो । आलुवादका पारखीहरुलाई मार्क्सवाद, माओवाद, लेलिनवाद, समाजवाद केही पनि फाप्दैन । हामीलाई हाम्रो आलुवाद खुबै प्यारो छ ।
इतिहासमा कालुवाद, प्रेममा मायालुवाद, बिहारमा लालुवाद र कपालका लागि तालुवाद चल्छ । ताछेको आलु र खुइलिएको तालुमा के भिन्नता छ र ? यसैले तालु हाम्रो बौद्धिकता नाप्ने कशी र आलु हाम्रो नाङ्गो राष्ट्रियताको दशी हो । सार्वभौमिकता त खोक्रा नारा हुन् । आलुवादको भाषण नै हाम्रा प्रतिफल हुन् । आलुवाद आलुवादै हुन्, सफल हुन् कि असफल हुन् । बरु पास ठालुवाद हो भने फेल आलुवाद हो भन्न सकिन्छ ।
मास्टरसाप आलुलाई गोलभेँडा बनाउन खोज्छन् । आलुले कहिल्यै गोलभेँडाको ल्याकत राख्दैन । आलुलाई आलु नै रहन दिनोस् । आलुको वंशनाश गर्ने प्रयत्न नगर्नोस् । यै हो आलुवादको गुदी ।
गुन्द्रुकमा आलु‚ काउलीमा आलु‚ अचारमा आलु‚ आलुमा आलु । आलु नै सर्वमान्य ठालु हो । भैरव अर्यालले त आलुवादलाई ठालूवाद माने । तपाईँ हाम्ले किन नमान्ने ? हाम्रा नेता आलु हुन्‚ तिनका कार्यकर्ता आलु हुन्‚ मास्टर आलु हुन्‚ विद्यार्थी आलु हुन्‚ डाक्‍टर आलु हुन्‚ बिरामी आलु हुन् । तराईदेखि हिमालसम्म फल्ने कुनै बीउ छ भने त्यो आलु नै हो ।
इतिहासमा आलुलाई दौरासुरुवाल वा सारीचोलोमा सजाइयो । विगतमा आलुलाई कोटपाइन्ट र सर्टपाइन्टमा सजाइयो । आलुलाई विदेश पुर्‍याएर बेइज्जत गरिन्छ‚ कहिले टुँडिखेल र रत्नपार्कमा नाङ्गेझार पारिन्छ । कहिले बानेश्वरतिर कहिले हानेश्वरतिर‚ बिहान थानेश्वरतिर‚ बेलुकी तानेश्वरतिर पुर्‍याएर आलुको धर्म परिवर्तन गराइयो । भो अब अति भो‚ आलुलाई आलुबाहेकका वादबाट स्वतन्त्र गरियोस् । आलु छुट्टै सिद्धान्त हो‚ आलु आफैंमा आदि र अन्त हो । बिग्रे पनि बिगारे पनि आलु नै आलु हो । सप्रे पनि सपारे पनि आलु आलु नै हो । यसैले एकस्वरमा भनौं "आलुवाद जिन्दावाद !"
------------------------------------------------------------------------------------------------------------------
समकालीन साहित्य डट कममा पोष्ट भएको ।
Source: http://samakalinsahitya.com/index.php?show=detail&art_id=6130
प्रकाशन मिति : शुक्रबार, 20 श्रावण, 2074
------------------------------------------------------------------------------------------------------------------

यस वेबसाइटमा पोस्ट भएका लेखकका अन्य रचनाहरु

बाहुनका कुरा



व्यंग्यात्मक साहित्य
– संप्रस पौडेल 'दिवस'
नेपालमा नयाँ सँस्कृतिको विकास भएको छ 'नातीको न्वारान‚ बाजेको हैरान' । सय वर्ष अघिको इतिहासको प्रामाणिकता नभेटिएको बेला बाहुनले देश बिगारे भन्दै ढोल बजाइन्छ । यतिखेर बाहुनहरु तै चुप मै चुप भैराखेका छन् । यसर्थ बाहुन भएकै कारणले बाहुनबाट अरु जातिले  अन्याय भोग्नु परेको हो भन्ने भनाईलाई खण्डन गर्दछु ।
पण्डितबाजेभन्दा पहिले टोल चहार्ने पण्डितको झोला बोल्यो‚ "नेताज्यू बिहानै उठ्नुभो । शौचादी कृयाकलाप गरिसकेपछि गायत्रीवाचन गर्दै गौमुत्रले पवित्र भएर गाउँघर चहार्नु भयो ।" झोलाले बोलेपछि सबैले होला भन्ने ठाने । "जय भोला जय भोला" सबैले एकै स्वरमा भन्न भ्‍याए । नाग टाँसेपछि झोला घर फर्कियो ।
आजकल पण्डित बाजे सबैका घरघर चहार्न भ्याउँदैनन्‚ लोकतन्त्रले उनलाई झनै व्यस्त बनाएको छ । उनी घरमै घोत्लिएर इतिहास खोजिरहेका भेटिन्छन् । भन्छन् "मान्छेहरु ज्यादा झोले भए‚ नेताकाभन्दा झोलेका कुरा विश्वास गर्ने‚ झोलेकै विचार मन पर्ने‚ झोलेकै हुट्टीमा ताली बजाउँने । सबै झोले हुन लागेपछि मैले पनि झोलालाई नै गाउँठाउँ घुमाउँछु‚ सबैलाई विश्वास पनि छ ।"
आटो खाने मुखले माटो खानु नपरोस् । क्रान्तिको नारामा मात्रै बाहुनलाई गाली गरिन्छ‚ जब जब शान्तिका कुरा आउँछ तब तब सबैभन्दा पहिला "ॐ शान्ति" गाउँने त बाहुन नै हुन्छ । घरमा सबैभन्दा बढी ॐ शान्ति गाउँने बाहुन नै हो । इतिहासमा सबैभन्दा बढी खुकुरी कसले चलायो त्यो बाहुनवादको विरोधीलाई नै थाहोला । हत्या‚ हिंसा‚ अपराधमा बाहुन कहिल्यै लागेन । बरु बाहुनलाई हेरेर बाहुनको टुपी‚ ढाका टोपी‚ जनाईमाथि प्रशस्त व्यंग्यवाण भए । कहिले काट्टे बाहुन भनियो‚ कहिले बाहुनको टुपी कहिले एन्टेना न एरियल भनियो । जनाईलाई कुखुराको आन्द्रो भनियो । बाहुन‚ बिहान बिहानै डाउन भनियो । गर्न पनि बाहुनलाई डाउन गर्नुसम्म गरियो ।
इतिहासै हेर्ने हो ने बाहुन जहिल्यै पछाडी पारिएका जाति हो । आफ्नै खेतबारीमा हलो जोत्न पाइएन र अर्काको भरमा खेतबारी जिम्मा लाउनुपर्‍यो । पूजाआजामा धुँवामा रूमल्लिएर फोक्सो बिगार्दै बस्नुपर्‍योएउटा बिराउँछ‚ शाखा पिराउँछ भनेजस्तो कुनै एक बाहुनले गरेको अपराधले सबै बाहुन जातिलाई धारे हात लगाउन नमिल्ला कि !
बाहुन बाहुनै हो‚ नुहाए पनि बाहुन गन्हाए पनि बाहुन् भनिन्थ्यो तर के गर्नु त्यही बाहुनलाई कुनचाहिँले हो ठिराउँदो जाडोमा दिनदिनै नुहाउँनुपर्ने र फिलफिलाउँदो धोति लाउँने नियम बनाइदियो । एन्टेना न एरियलका रूपमा टुपी पाल्नुपर्ने भनियो । जागिरमा ठूलो पदभन्दा खरदार, डिठ्ठामै सीमित गरियो । पढ्ने पेशा बाहुनले गर्ने भन्दै बाहुनलाई सुगा बनाएर सुकाइयो । जहाँ गुलियो त्यहाँ बाहुन भुलियो भन्दै ब्राह्मण जातलाई आक्षेप लगाई जातिय द्वन्द्व निम्त्याउँने कोशिस गरियो । मिलेर बसौँ, मिलेर हिँडौँ भन्दा तँ ठूलो जात भन्दै समाजमा अन्य जातिसँग विभेद गराइयो । अरू जातले छोएको पानी पनि खान नहुने भन्दै खाद्य स्वतन्त्रताबाट मुक्त गरियो । परम्परा र धर्मसँस्कृति जोगाउनेभन्दा दुना टपरा सोहोर्ने जातिका रूपमा परिभाषित गरियो ।
ठूलाठूला क्रान्तिहरूमा लाग्ने अन्य जातीलाई तुरून्त मारिदिन्थे । मर्नेका नाम शहीदका कोटीमा सुनौला अक्षरले लेखिन्थे । चारपाटा मुडिएर जीवनभर आफ्ना आफन्त, छिमेकी, समाजको नजरमा गिर्दै पलपल मर्ने जाति बाहुन नै थियो । टंकप्रसाद आचार्यहरू जिउँदो शहीदका एक पात्र हुन् । बाहुनलाई "जातिच्यूत" गराइएको भन्नुको अर्थ नै अन्य जातिलाई सानो र बाहुनलाई ठूलो मानिएको हो । जातिच्यूत गराउने शासक वर्ग कुन जातिका थिए कसैले खोजेनन् । इतिहास हेरौं त ती बाहुन छँदैथिएनन् । अन्य जातिका पो थिए । यसैले जातिगत विभेद तिनैले गरेका हुन् भन्न किन डराउने ? नेपालको राजनीतिलाई उलटपुलट पार्ने हलो क्रान्ति‚ जयतु सँस्कृतम‚ लाइब्रेरी क्रान्ति बाहुनहरुसँग नै सम्बन्धित छन् । तिनलाई चटक्क बिर्सेर सँस्कृत पढेकै भरमा‚ पूजाआजा र श्राद्ध गरेकै कारणले नगरेको अपराध भिराएर बाहुनलाई टपरे बाहुन भन्नेहरुको विद्धता बारे भविष्यले बताउला ।
विगतलाई हेर्नुहोस्‚ बाहुनलाई व्यापारमा निषेध गर्दै धनसम्पत्ति कमाएर सम्पन्न बन्न दिइएन । केवल पढ्ने यन्त्र मात्रै बनाइयो । नपढेकाहरू कुँजिएर बस्नुपर्‍यो । होटलमा मीठो खान नदिएर सामल बोकेर यात्रा गर्नुपर्ने बनाइयो । यसैले मान्नोस् नमान्नोस् 'राष्ट्रिय रोग ग्यास्ट्राइटिस बाहुनबाटै जन्मेको हो' । बाहुन भएकै कारणले जो कसैले हेपिनु र चेपिनु नपरोस् । अरू जातिको उत्थानका नारामा बाहुनहरूले नगरेको अपराधको भार बोक्नु नपरोस् ।
झोला फेरि व्यस्त भयो‚ बोल्यो "श्राद्धमा जानुछ गुरुबा ।"
पण्डित बाजेः "कसको श्राद्ध ?"
झोलाः "श्यामबहादुरको ।"
पण्डितः "त्यो त जिउँदै छ हैन र ? अस्ती चोकमा बाहुनलाई कालोमोसो दलेर देश निकाला गर्नुपर्छ भन्दैथ्यो त ।"
झोलाः "..... आच्या श्यामबहादुरको बाउको पो हो त ।"
पण्डितः "जाउ‚ सबै कर्म पूरा गरेर आउ । ..... सर्वे भवन्तु सुखिनः ।"
पण्डित बिहानी कर्ममा लाग्नुभो । या देवी सर्व भुतेसु तृष्णा रुपिण संस्थिताऽ नमतस्यै नमतस्यै नमतस्यै नमोनमः..... ।
परिवर्तनको बाटोमा सबैलाई स्वागत छ । बाहुनलगायत सबै जातिको जय होस् ।
२०७४ श्रावण
हालः सिद्धार्थ माध्यमिक विद्यालय‚ हेटौंडा
२०७४ श्रावण २१ गते शनिबार समृद्ध समाज दैनिक‚ हेटौैडामा प्रकाशन भएको

च्वास्स २