Wednesday, September 29, 2021

आजको हेडलाइन हास्य




मेयरलाई मुक्का हान्ने युवक ५ हजार धरौटीमा रिहा ।

मुक्का महंगी भयो । सरकार अलीकता छुट गर्न मिल्दैन ? बेरोजगारलाई कति सास्ती दिएको ?

 संसद चलिरहेको छैन, निर्वाचन आवश्यक छः ओली

अझै सिध्धिन मन छ । 

धुलो पिठो माटो हुन मन छ । 

कुरो बुझ्‍न पर्च ।

जसको सरकार बन्छ, उतै टाँसिन पर्च ।

कालो धन ल्याउँन दिन्‍नौं यसले विपत्ति ल्याउँः ओली

पहेंलोचाहिँ के गर्ने कामरेड ? पहिलेका क्‍वीन्टलका क्‍वीन्टल हिसाब मिलान बाँकी नै छ ।

शौचालय छ पानी छैन, बीचैमा पढाई छाड्छन् छात्राहरू 

हग्‍नेलाईभन्दा देख्‍नेलाई लाज । हेडमास्टर, समिति र स्थानीय तहका पदाधिकारी कता घुरिराछन् ?

आकाशमा दुई घण्टा फन्को मारेको बुद्धको जहाज अन्ततः ल्याण्डिङ, ७७ जनाको ज्यान जोगियो 

सलाम छ, जुग जुग जिउनुहोस् पाइलटजी, हामी नेपालीहरु इतिहास चाँडै बिर्सन्छौं । बिर्सन सुरु भैसकेको छ ।

एलन मस्ककी प्रेमिकासँगको सम्बन्ध समाप्त (तल पोल हेर्नुहोस् ।)

१७% खुशीः- ज्यादै खुसी हुनु पर्दैन । मस्कको सम्पत्ति लिएर हामीसँग बिहे गर्ने होइन क्यार ।

१७% दुखीः- दुख मान्नु पर्दैन ।  तपाईँ-हाम्रो श्रीमती चोरेर लगेका होइन क्यार ।

५४% अचम्मितः- अघिसम्म घरमैं थिइ भनेजस्तो ।

४% आक्रोशितः- मानौं आफ्नै सम्पत्ति लिएर कुलेलम ठोकेकी जस्तो ।

(व्यंग्यका द‍ृष्टिले रचिएका हुन् । हाँसो उठेन भने काउकुती लाउनुहोस् ।)



Friday, September 10, 2021

आजको हेडलाइन हाँस्य

पहिले हातहातमा मोबाइल थ्यो अहिले हातहातमा सांसद ।

तातो आलु खेल्या जस्तो । एउटाले समाउँछ, फाल्छ । अर्कोले पनि उसै गर्छ । कोही त राख ।


बजेटको आकार घट्यो, आर्थिक वृद्धिदरको लक्ष्य बढ्यो ।

आर्थिक वृद्धिदर लक्ष्य बढेको हो, वृद्धि भएको होइन । वृद्धि भए भोली नेप्से सूचकांककै वृद्धि होला ।


नेपाल पनि निपा भाइरस संक्रमणको जोखिममा ।

नेपालको नामसँग मिल्दोजुल्दो निपा भाइरससँग हाम्रो न बाबुपटीको काका न आमापटीको मामा कुनै पनि नाता नभएको स्पष्ट पार्दछु ।


एमालेका सांसद भन्छन्, सभामुखका कारण संसदमा नाराबाजी गर्नुपर्‍यो ।

त्यही नाराबाजी गर्ने संसद पनि सिध्याइसकेका थिए भन्ने भुसुक्कै बिर्सने अलजाइमर्सहरु ।


पढ्दै पैसा कमाउँदै ।

पहिले पहिले साथीहरु स्कूल पढ्न आउँदा अमला, अमारो, बयर अनी पुस्टकारी बेच्थे । सरकारले हाम्रो स्कूलबाट पनि केही त सिकेछ ।


युवासंघका कार्यकर्ता र प्रहरीबीच झडप

यो शैली पूरानै हो ।

अर्थमन्त्री जनार्दन शर्मा दौडिँदै रोस्टममा ।

उनलाई कुर्सी उचालेको पूरानो घटना याद थियो । अनी दौडिनु परेन ? अनुभवी भन्या अनुभवी हो नि ।


अघिल्ला सरकारका राजदूतदेखि अन्य नियुक्ती फिर्ता

यो सरकारले फिर्ता गर्दै गर्दै आफ्नै नियुक्ती पनि फिर्ता गरिदेला नि ! 


कुहिएका दाल फेरि गोदाममैं ।

राखौं राखौं, अझै कुहाएर राखौं । अहिले घुन मात्रै होला पछि पुत्ला र पुतली पनि लागोस् । अर्कोसाल पनि बाढी पहिरो जाला, कोभिड संकट दोहोरिएला । अझै राखौं । 


बहराइनमा आन्दोलनरत श्रमिकलाई चित्त बुझाउन नसके फिर्ता पठाउँछौं : बहराइन सरकार

फिर्ता पठाउनु । नेपालमा चुनाव आउँदैछ । सरकार र प्रतिपक्षी सबै सबै एयरपोर्टमा स्वागत गर्न तयार छ ।


तालिवानले भन्यो- पत्रकार कुटपीटबाट लज्जित छौं, अब यस्तो गर्दैनौं।

अब कस्तो गर्लान् ? झनै डर पो हुन गयो त ।


यी सामग्रीहरु हास्यव्यंग्यका उद्देश्यले तयार गरिएका हुन् । कसैका पूर्पुरो दुखेमा तातो तेल लगाएर मालिस गराउनु होला । बेला खराब छ ।
(यो शैलीको लेखाइ हास्यव्यंग्य सर्जक मनोज गजुरेलज्यूबाट प्रेरित भई लेख्न थालेको हुँ ।)


Thursday, September 9, 2021

उपरखुट्टी रोक्न पिर्का कानून खाँचो

सामान्यतयाः खाट, फलैंचा, टाँड आदिमा बस्दा एक खुट्टामाथि अर्को खुट्टा पर्नेगरी बस्ने आसनलाई उपरखुट्टी भनिन्छ । आजकाल कुर्सी, सोफामा थच्चिँदा पनि यस शब्द र आसनले प्रधानता पाएकै छ । जापान, फ्रान्स, स्वीडेनमा समेत यसरी बस्नु अशोभनिय मानिन्छ । 


उपरखुट्टी लगाएर बस्दा खुट्टाको नसा तथा मांशपेसी संकुचित भै  खुट्टा तथा ढाडमा अस्थायी प्यारालाइसिसको संभावना बढाउने बताइन्छ । 

खासगरी आफुभन्दा ठूलाबडा, गन्यमान्य व्यक्तिको सामुन्ने ‘उपरखुट्टी लगाउनु’ लाई शोभनिय मानिदैन । आफ्नै बालाई 'हे जोन' भन्ने, मावलीलाई 'कौन' भन्ने र आदरमा 'मौन' रहने विदेशीहरुलाई एक दिने ट्युसन पढाएरै भेट्न दिनुपर्ने भैसकेछ ।

नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाटमा अमेरिकी सहयोग परियोजना एमसीसी उपाध्यक्ष फतिमा सुमारको बसाइ पनि उस्तै भद्दा भएको विषय चर्चामा आयो । चिटिक्क परेकी फतिमाको बसाइ फिटिक्क मिलेन भन्दै नेपालभरका बसाइविज्ञहरु स्टाटस र ट्वीटमार्फत् आन्दोलन गर्दैछौं ।

MCC को चर्चामा चिल्ला जुत्ताले कुतकुती लगाइरहेको द‍ृश्यले काटेको घाउमा नुन छरेको धेरैलाई लागेको पनि रहेछ । भन्न त मौकामा कोढीको पनि पाउ मोल्नुपर्छ भन्छन् । ५० अर्ब डलरको डाँक लिएर आएकी फतिमाको डलरकै धाक पो हो कि भन्ने पनि नलागेको होइन । उपरखुट्टीको खुट्टीमा नाक पुगेको हो कि भन्ने पनि लागेकै हो ।

अनिकालको भात खान ठूलो मुख आँ गर् भनेजस्तो कसैलाई के भन्दा घरज्वाइँलाई खानाको धन्दा भनेजस्तो पनि । MCC विवादित रहेका बेला ठाँटले आएकी फतिमालाई हात्ती आयो हात्ती आयो फुस्सा बनाउँन पाए त हुन्थ्यो नि ।

अँ बरु फतिमाभन्दा जुत्ता अगाडी पुगेकोले न्यू पिन्च गरे कि भन्ने हल्ला पनि हुन सक्छ ।

काठमाण्डौंका एक इन्स्पेक्टरले आफ्नो अगाडी उपरखुट्टी लगाएर बसेको निहुँमा ६ घण्टा थुनेको कुरा  त सुनेकै हो ।  पूर्व परराष्ट्र मन्त्री ज्ञवालीका अघि पनि बुल्गेरियाकी मन्त्रीले चिल्लो जुत्ता देखाएको यी तल हेर्न सक्नुहुनेछ । जुत्ता त राम्रै हो नि । हाम्रा मन्त्री के भाका ? आफ्ना मोजाचाहिँ देखाउनु पर्दैन ? कि प्वाल परेको छ ?

पिर्का/पिरा हराएर कुर्सी सोफामा बस्ने चलन बढ्दै गएकोले नै टपरटुइयाँहरुले उपरखुट्टीको आसनलाई जताततै दुरुपयोग गर्न थालेका हुन् । यसैलाई आधार बनाएर सरकारले अध्यादेशबाट भए पनि पिर्का कानून २०७८ जारी गरोस् । यसो गर्दा निर्देशिका अभावमा पनि पिर्के सलामी खानेहरुलाई सजिलो पनि हुन्छ ।
पलेटी बस्नुपर्दा कलेटी पार्नेहरुका भुँडीमा लागेको बोसोको लुँडी घटाउन सघाउ पुग्ने हुँदा यो कानून जारी गर्नुपरेको हो भन्ने स्पष्ट पार्न जरुरी भएको छ ।

राणा कालमा भए भइँ न भाँडामा भएका भनी तरबारै भेट्थे होलान् । राजा कालमा भए ताजा आदेशले कता पुग्नुपर्थ्यो । जुत्ता देखाउँनेलाई जुत्ता फूकालेर मोजा देखाउँ, त्यो पनि बुढी औंला निस्केको । अँ साँच्ची खुट्टीले गर्दा जागिरबाट छुट्टी भने कसैलाई मिलेको छ कि छैन होला ?

बालबालिकालाई सुनाएर मनोरञ्जन गराउन सकिने केही चुट्किलाहरु

 बालबालिकालाई सुनाएर मनोरञ्जन गराउन सकिने केही चुट्किलाहरुः

१. कुखुराको बिहेः
एउटा कुखुराको गिद्धसँग बिहे भयो ।
भाले कुखुराले सोध्योः म हुँदा हुँदै किन गिद्धसँग बिहे गरेकी हँ ?
पोथी कुखुरीले भनीः मेरो बाबाआमा चाहन्थे कि मेरा पति पाइलट होस् ।

----
२. बालविवाहः


एकजना मानिसको तालुमा जम्मा २ वटा कपाल थिए ।
दुवै एक अर्कालाई साह्रै मन पराउँथे ।
तर पनि उनीहरु बिहे गर्न सक्दैनथे ।
किन होला ???
.
.
किन भने बालविवाह निषेध छ ।

---
३. बुक
शिक्षकः आज घर गएर एकचोटी बुक पल्टाएर हेर्‍यौ ?
विद्यार्थीः हेरेँ म्याम ।
शिक्षकः कुन बुक ?
विद्यार्थीः फेसबुक ।
---
४. असल मान्छे

शिक्षकः असल मान्छे त्यो हो जो अरुलाई अप्ठ्यारो पर्दा सघाउँछ ।
विद्यार्थीः तल परीक्षाका बेलामा तपाईँ हामीलाई किन सघाउँनु हुन्न त ?
---
५. बाबु-छोरा
छोराः बाबा बाबा, चन्द्रमामा पहिलो पाइला कसले राखे ?
बाबुः निल आर्मस्ट्रङले नि ।
ल उसो भए दोश्रो पाइला कसले राखे भन त ।
छोराः दोश्रो पाइला पनि उनैले राखे । एक खुट्टे खेल्दै त पक्कै गएनन् होला ।
---
६. कम्प्युटर शिक्षक र विद्यार्थी
शिक्षकः ल भन त भाइबहिनीहरु माइक्रोसफ्ट एक्सेल के हो ?
विद्यार्थीः सर्फ एक्सेलको छोरा हो सर ।
---
७. आमा-छोरी सामान्यज्ञान (GK) छलफल गर्दै
आमाः ल भन त नानी इशापूर्व ५६३ मा के भएको थियो ?
छोरीः गौतम बुद्ध जन्मिएका थिए ।
आमाः अनी ५६७ मा नि ?
छोरीः त्यतिखेर त बुद्ध ४ वर्षका थिए ।
---
८. जिरोको आविष्कार
हजुरबाः नाती जिरोको आविष्कार कसले गरेका हुन् ?
नातीः आर्यभट्टले गरेका हुन् ।
किन गरेका हुन् थाहा छ तपाईँलाई ?
म जस्तैको मार्कसिटमा जिरो लेख्नका लागि ।
---
९. दुइजना मानिसहरु कुरा गर्दै
एकः मेरी बुढी साह्रै जिद्दी छे यार । गलत जति मैले गर्दा भएको मात्रै भन्छे ।
दुईः मेरी त जहिल्यै आफैं स्वीकार्छे यार ।
हिजो यस्तो भन्दै थिई- "तिमीसँग बिहे गरेर साह्रै पछुताएँ ।"
---
१०. दाजु-भाइ
दाइः ल भन् अण्डा पहिला आएको हो कि कुखुरा ?
भाइः यसपछि अर्को प्रश्न नसोध्नु है त ।
दाइः हुन्छ ।
भाइः उसो भए अण्डा पहिले आएको ।
दाइः अण्डा केले पार्‍यो त ?
भाइः अर्को प्रश्न सोध्न पाइँदैन ।

Monday, June 21, 2021

माड्साप


एकछिन ल ८

स्कूल जान ठिक पर्दै थिएँ । फोन आयो- "सर एउटा जरुरी काम परेकोले अलिकति पैसा पुगेन । लौ न सापटी दिनुपर्‍यो ।" दुख देखाउँदै भनेँ-"हैन शिक्षकसँग पैसा हुन्छ भनेर पत्याइराख्ने मान्छेहरु पनि अझै छन् र भन्या । तलब त चार महिनामा मात्रै पाइन्छ नि दाइ ।"

उनले झोक्किँदै भने "अनी अगाडीको चार/चार महिनाको तलबचाहिँ जाँडरौसी धोकेरै सिध्याउँछौ कि क्या हो मास्टर ?" तिखा वचनले मन अमिलो भयो ।

उधारो दिने पसलवालाले सबैभन्दा पहिला शिक्षकसँग उधारो तिर्न अनुरोध गर्छ । दूधवालाले पनि उसै गर्छ । डेरामा बस्ने शिक्षकलाई त घरबेटीले सपनामा घरभाडा दिएको देखुन् भनेर महिनाको २९ गते नै अनुहार देखाउँछन् ।

आपत् परेर जाँदा पनि मेडिकलमा उधारो राख्न मिल्दैन । सरकारी दस्तुर उधारो हुने कुरै भएन । सरकार त शैक्षिक बेरोजगारसँग करोडौं राजश्व उठाएर गर्व गरिराछ । बेरोजगारलाई रोजगारी दिने नाममा शिक्षक सेवादेखि लोकसेवासम्म बेरोजगारलाई धोबीले लुगा निचोरे झैँ निचोर्ने नीति संघियतामा फस्टाउँदै गएको छ । रोजगारीका लागि विदेश गएका युवाबाट असूलेर देश पालिएको छ ।

शिक्षक भएर भन्दा नभएर जीवन बिताउँन सजिलो होला । कम्तीमा उधारो दिनेले "ए मास्टर जागिर खाएका छौ तिर न ।" भनेर त नभन्ला नि । आखिर बेकामे बस्नेले पनि ठेक्कापट्टा गर्छु भन्ने त हो नि । दुनियाँले ठेकदारसाब लाइहाल्छन् क्यारे ।

स्कूल पुग्नेबित्तिकै एक अभिभावकले भने "माड्साप ३ मिनेट ढिला भैसक्यो नि ।" म भन्छु "छोरीलाई बोर्डिङमा पुर्‍याउनाले एकैछिन ढिला भयो । फेरि पहिलो क्लास खाली पनि त छ नि ।" उताबाट छड्के आउँछ "ए आफू सरकारी स्कूलाँ पढाएर सन्तानचैं बोर्डिङमा ?" उत्तर दिनैपर्‍यो, भन्न मन  लाग्छ "बारीमा कपास खेती छ कपडा किनेर लाउँछौ? खेतमा लहलह धान, मकै फल्छ चिउरा र बिस्कुटमा किन पैसा खर्चन्छौ, गाइको दूध बेचेर भट्टीमा रक्सी नधोक्दा हुन्नँ ?" तर भनिनँ । निहुरिमुन्टी न लगाएर अफिसतिर लम्किएँ ।

आजकाल मास्टर शब्द सुन्दै साह्रै हासुठ्दो लाग्छ । देउसी खेल्ने केटाकेटीले पनि "ए धाराको पाएप, मास्टर साएप" लगाउँछन् हामीलाई । गीत गाउनेले पनि माया लाउँदै नजानेजस्तो "मास्टर साहेब लगाइदेऊ पिरती" भन्दै जिस्काउँछन् ।

त्यसो त साहेबबाट साब हुँदै सापमा झरेकामा मास्टरसाप, डाक्टरसाप, वकीलसाप, हवल्दारसाप, ड्राइभरसाप सबै हुन् नै । तीमध्ये मास्टरसाप मात्रै अब माड्सापमा रुपान्तर भैसके । त्यसो त आजकाल मास्टरसापहरु पनि ज.. मास्टर, ठे.. मास्टर,.खो. मास्टरमा रुपान्तरण हुन थालेका  छन् । यस्तै मौका पारेर शिक्षकको नेतृत्वमा रहेका नेताहरु पनि शिक्षकलाई माड्सापकै दर्जामा गनिरहेका हुन्छन् । शिक्षकका समस्या सुन्ने ठेक्का पाएकाहरु पनि शिक्षकलाई आफ्नो समस्या घरैमा छोडेर विद्यालय आउन सल्लाह दिन्छन् । दुनियाँका समस्या सुन्नुपर्ने शिक्षकले आफ्नो समस्या राजाको कपाल काट्नेले झैं ‌ओढारमै गएर सुनाउनुपर्ने हो र ?

अब तलबले वृद्ध बाआमादेखि सन्तानसम्मका मुखमा माड लाउन धौ धौ पर्ने पेशाधारीलाई माड्साप होइन शिक्षक भनेर सम्बोधन  गरौं । पढाइ पुगेको छैन भने पढौं । समाज परिवर्तनको महत्वपूर्ण पेशाधारीसँग सापटी मागेर जागिरको धज्जी नउडाउँ ।

कसैले  भेटेमा यो विज्ञप्ती अघि फोन गर्ने दाइलाई दिनु न है ।

.. = जग्गा दलाली, ठे.. = ठेक्कापट्टा,.खो. = कमिशनखोर

स्पष्टोक्तीः यस लेखका प्रसङ्गहरु कसैको जीवनमा मेल खाएमा त्यसलाई आफ्नै सम्झिनुहोला । 

समृद्ध समाज राष्ट्र्रिय दैनिक

स्वाङ्

 छोरी बी कलेजमा विज्ञान विषय पढाउँछिन् । उनका बा बाइ बुढ्यौली उमेरमा पनि मार्सल आर्ट सिकाउँछन् । एकदिनको कुरा हो । बा र छोरी किनमेलका लागि साइकलमा बजार जाँदै थिए । बिरालोले बाटो काट्यो । दुवैले साइकल रोके र आ-आफ्नो बाटो लागे । बेलुका घरमा भएका कुराकानी यस्तो थियो-

बाः छोरी खासमा तिमीले बिहान साइकल किन रोकेका थियौ ? छोरीः उसलाई हतार थियो नि त यसैले ।

अनी छोरी सोध्छिन्: तपाईँलेचाहिँ किन रोक्नु भएको थियो नि ? बाः मलाई हतार थिएन नि ।

दुवैजना ठूलो अट्टहासले हाँस्छन् ।

खासमा बिरालोले बाटो काट्दा अशुभ हुन्छ भन्ने अन्धविश्वास नेपाल र भारतमा पनि छँदैछ । बेलायतमा चाहिँ कालो बिरालोले बाटो काट्दा शुभ मानिँदो रहेछ । अमेरिकामा पनि क्यासिनो जानेक्रममा कालो बिरालोले बाटो काट्यो भने खुबै जितिन्छ भन्ने धारणा रहेछ ।

बाइ आफ्नी छोरीलाई भन्छन्: जुनसुकै रङ भए पनि बिरालोको धर्म भनेको मुसा मार्ने नै हो । कसैलाई जागिरमा नियुक्ती गर्दा पनि रङ, जात, धर्म, लिङ्गमा विभेद नगरी उसको कर्मलाई ध्यान दिनुपर्छ । सही ठाउँमा सही मान्छे नियुक्ती गर्नुपर्छ भन्ने कुरा सबैले सिक्न जरुरी छ । चिनियाँ उखान नै छ नि-मुसा मार्नका लागि बिरालो रोज्दा बिरालोको र नहेर्नू, क्षमता हेर्नू ।

बा र छोरी बेलुकीको खानापछि अनेकन कुराहरु गर्दछन् । आज भने सार्वजनिक सँस्थानमा रहेर शुन्य भ्रष्टाचार रहेका कुराबाट शुरु हुन्छ । गाइ पालेर दुध दोएर खानु हाम्रो स्वार्थ हो । यसैले त हामी दानापानीको व्यवस्था र स्याहारसुसार गर्छौं । अन्यथा मुसा मार्नका लागि घर जलाउँनु पनि त भएन । त्यसो त खरानी पाइने स्वार्थमा स्रोतहरुको चरम दोहन भैरहेकै छ । तिनलाई तिनकै भविष्यले सराप्नेछ । हामी त्यो देशमा छौं जहाँ भ्रष्टाचार शब्दको नाम लिँदा पनि लुगलुग कम्प छुट्छ ।

 

आमा चेन उपस्थित हुन्छिन्- प्रेममा परेको मान्छेलाई सादा पानी पनि गुलियो लाग्छ । त्यसो त मौका पाउने बित्तिकै पूरानो प्रेम र सुकेको दाउरा सल्किन थालिहाल्छन् । व्यक्तीगत स्वार्थ र सार्वजनिक स्वार्थ के हो भन्ने छुट्याउन सकिएन भने व्यक्तीले राजमार्ग, सरकारी भवन, सरकारी जग्गा सबै बेचेर सिध्याउँछन् । कतिपय देशले त आफ्नो इतिहासै बेचेछन् । कोहीचाहिँ विदेशीले लेखेका पनि किन्दा पो रहेछन् त । स्पातदेखि गाडी, रेल, प्लेनसम्म चीनले विश्व बजारमा बेचिरहेको छ । पिउने पानीका लागि पनि झण्डै ५० देश हाम्रो भर पर्नु परेको छ । हामी अक्सिजन ग्याँस बेचिरहेका छौं । ठोस, तरल र ग्याँस मात्रै होइन समय पनि हामी नै बेचिरहेका छौं । मोबाइल चलाएर मान्छेहरु समय किनिरहेका छन् । एकै समयमा धेरै समय किनबेच भैरहेको समय हो यो ।

आफ्ना देशका राम्रै राम्रा कुरा मात्रै सुन्दासुन्दै बी निदाउँन लाग्छिन् ।

बाइ भन्छिन्: अब देशको मात्रै होइन आफ्नो आयू बढाउँन पनि आराम गर्नुपर्छ । सुतौं । देशसम्बन्धी सकारात्मक सन्देशका साथ परिवार निन्द्रामा मग्न हुन्छन् ।

आफैंले ढाड नबङ्ग्याई अरुले बुई चढ्न सक्दैन । चामल, तेल र पानीमा पनि हामी परनिर्भर भएका छौं । आखिर हात्तीले माया गरे पनि झगडा गरे पनि माडिने र फाँडिने त दुबो नै हो क्यार । यसैले देश र परिवेश सुहाउँदो कृषि, उद्योग, रोजगारी, अध्यापन, प्राविधिक उत्पादन जस्ता विकासहरु प्रशस्त भैदिए स्वदेशीपनको शुरुवात हुन सक्छ । पछिल्लो पुस्तालाई देशका बारे राम्रै राम्रो पढाउन पाइने दिनको विकास होस् । आयातित शिक्षा पढेर, सिद्धान्त घोकेर,  उतैका खाना खाएर, लुगा लगाएर, मनोरञ्जनमा रमाएर अन्ततः कर्म गर्न विदेशै पुर्‍याउने देश प्रेमको स्वाङ् बिलकूल सुहाएन ।

समृद्ध समाज राष्ट्रिय दैनिक हेटौंडा २०७८

चिन्ताको मृत्यु


आजकाल मान्छेहरूलाई सबैभन्दा ठूलो चिन्ता 'चिन्ता नलिन परे हुन्थ्यो' भन्नेमा छ । यही चिन्ताले मनोरोग विशेषज्ञ, मोटिभेसनल स्पिकर, प्रवचनवाला दाह्री बाबा, थेरापिस्ट, शहरबजारका धामीझाँक्रीहरूको दुई छाक राम्रै व्यञ्जनका साथ टरेको छ ।
चिन्ताले ज्यूँदो छँदा मात्रै होइन मरेपछि पनि छोड्दैन । हजुरबा दानपान गर्न चाहनुहुन्थ्यो । बा पनि त्यस्तै । हजुरबाको बा पनि उस्तै होलान् भन्ने लख काट्न थाल्याछु ।
बा भन्नुहुन्छ "आज राती सपनामा हजुरबाले फलानो स्कूलको अक्षयकोषमा १ लाख जम्मा गर्दे भन्नुभो" । मलाई अर्को चिन्ता बढ्यो । सरसापटी र ऋणव्याज मिलाउँनै हम्मेहम्मे पर्दा अक्षयकोष कसरी खडा गर्नु । हजुरबा बितेको पन्ध्र वर्षपछि पनि उहाँको चिन्ता झन् हुर्हुरिएको रहेछ । मर्नेको चिन्ता बाँच्नेहरूमा सर्दोरछ । त्यसो त मलामी जाँदा सबैले गुणगान गाएकै हुन् । चर्चा सुन्दा‌ मर्ने व्यक्तीका कारण यो सालको ओस्कार, बुकर, पद्मश्री र मदन पुरस्कारहरू खाली हुने जस्तै ठानेका थियौँ । हामीप्रति उनीहरूको कत्रो चिन्ता भन्ने लाग्थ्यो । सबैको यस्तै हुँदोरछ । बिरालो बाँध्ने परम्परा भनेजस्तो । पहिले पहिले "तपाईँका बा/आमासँग मैले सापटी लिएको" भनेर धनसम्पत्ती मृत्युपछि फिर्ता गरेको अनी लिनुपर्नेले पनि एकबोलीमै छोराछोरीबाट फिर्ता पाएको सुनिन्छ । आजकाल पापधर्मका दिन‌ गए । र त चिन्ता झन् झाँगिएर आयो । सज्जन न फटाहा सबैले मर्नैपर्छ । आफूले झैँ गर्नु वा नगर्नु है भनी दिएको सन्देश, उधारो तिर्नुपर्ने चिन्ता, सापटी खेर ग‌एको चिन्ता... अनेकानेक चिन्ताले चितामै सती जाउँ झैँ गर्नेहरू पनि हुन्छन् । उतिखेर रायप्रसाद, रायबहादुर, रायचन्द, रायराम, रायनारायणहरू प्रशस्तै निस्कन्छन् । अनी यस्तो भन्ने मोटिभेसनल स्पिकरहरूले नै दुखमा मल्हम लगाउँछन्, "तेरो मात्रै हो र, मेरो पनि खाएर गयो ।" यी चिन्तेहरूले नै बरू मन बहलाउन सघाउँछन् । पहिले खान नपाउने चिन्ता, अहिले खाएर रोग लाग्ने चिन्ता । चिन्ता पनि कति हो कति । पहिले पहिले छरछिमेकी गाउँलेहरू 'बाछो ब्याओस् कि बाछी ब्याओस् भतुवालाई बिगौती' भनेझैँ चामलको भात खान छरछिमेकका श्राध्द कुर्थे अरे । कोही कोही त भात लागेर चितामै पनि पुग्थे होलान् । तिनको पनि श्राध्द हुन्थ्यो र फेरी अरू कोही चामलको भात खान पाउँनेमा चिन्ता मुक्त हुन्थ्यो होला । चिन्ताको मृत्यु पनि मान्छेको मृत्युसँगै हुन्नँ कि कसो हो खै । चिन्ताले चितामा पु-याउँछ भन्छन् । सगरमाथाको टुप्पो, डेथभ्यालीको फेदीदेखि चन्द्रमा, मंगल जहाँ जहाँ पुगे पनि मृत्यूभन्दा बढी सत्य अनी चिताभन्दा पर जाने ठाउँ पनि त संसारमा कहाँ पो छ र ? लेखकको व्यक्तीगत राय के छ भने जिउँदो मात्र के, मरेपछि पनि दुनियाँलाई व्यस्त, मस्त बनाउँने हुँदा चिन्ता लिन नछोडौँ । डाक्टरहरू त भन्छन्, खुशी हुँदा, हाँस्दा कोषहरू सकृय हुन्छन् । अझै थप्छन्, जो हाँस्छ, त्यो धेरै बाँच्छ । मान्छेले ज्यादै चिन्ता लिएर आजको आजै भुतुक्कै मरिहाल्ने पनि होइन रहेछ । यसैले भनिन्छ नि चिन्ताले बिस्तारै मार्छ । आखिर कसलाई हतार छ र ? ------------ २०७७ कार्तिक १६, हेटौँडा
लेख सम्पादनका लागि आदरणीय हास्यव्यंग्य सर्जक श्रीमान आर. सी. रिजालज्यूप्रति आभारी छु ।
यो लेख समृद्ध समाज राष्ट्रिय दैनिकका लागि 'एकछिन ल' स्तम्भका लागि लेखिएको पहिलो लेख हो ।

तिउन जति तरकारी भएपछि…

 मप्रसाद साह्रै सोझो मान्छे । सोझो पनि यति नि, कतैबाट आफ्नै घर फर्किंदै गर्दा यता होइन उतातिर पो हो त भनिदियो भने उतै फर्कने खालका । जीवन गुजार्न खेतीपाती गर्थे । अनुदानका नाममा कतै बिक्री नभएर अलिकति बीउबिजन पाएका थिए । सहकारीका सदस्य नभएकाले सहकारीले उसलाई मल दिनु हुँदैन भन्ने तानाशाही नियम छरछिमेकी सदस्यहरुको थियो । यस्तै मलको संकट पर्दा गाईवस्तुको गोबरमल हाल्थे । बाली राम्रो भएको खबर सुलसुले मिडियाबाट प्राप्त भएपछि कृषि कार्यालयका हाकिमहरु विदेशी डोनर लिएर आउँथे । युट्युबरहरु क्यामेरा र माइक तेस्र्याउँदै काममा बाधामात्रै दिन्थे । परिवार पाल्न धौ–धौ आम्दानी हुँदा पनि उनीहरु महिनाको चार लाख घरमै बसीबसी कमाइने भन्दै विज्ञापन गर्थे । कृषिका कर्मचारी पनि खाँट्टी दूधको खिर, पुरी, तरकारी, काँक्राका चिरा आदि खान्थे । भुँडी अटेसमटेस हुनेगरी अघौंची घिचेपछि पूरानो ग्यास्टिक सम्झिन्थे । विदेशी नआएका बेला भने फर्कनेबेला झोलामा कोसेली पनि लिएर जान्थे ।

एउटा प्राविधिकले कृषि कार्यालयले पठाइदिएको भन्दै धुलिया लाग्न थालिसकेको बीउ कोसेली पठाइदिएछ । तीन दिनमा उम्रनुपर्ने बीउ तेह्र दिनसम्म सुरसारै गरेन । अर्को बीउ खोज्दा र रोप्दा बाली ढिला भयो । यो पटक उनका केटाकेटीहरुले खेतमा कार्पेट बिछ्याएर धान रोपाईंको उद्घाटन गर्ने तयारी मिलाए । स्वदेशी प्राविधिकको अनुहार पनि आजै देखे, मप्रसादले । चुनावपछि बल्ल धान रोप्नमात्रै फर्किने भनिएका कृषिमन्त्री खेतमा आउन नभ्याएकाले उतै गमलामैं रोपेर उद्घाटन गरेको खबर आयो । आफू देशभरका किसानहरुकै प्रतिनिधि पात्र भएको ठान्ने मप्रसाद साह्रै चिन्तित भए ।

मप्रसादका छोराछोरी सबै विदेशिएका छन् । बुढाबुढी जो सकेको मिहिनेतले बाली उब्जाउ गर्छन् । घरका बुइँगलमा मुसा रोइरहेका हुन्छन्, बारीमा चरा पर्खिरहेका हुन्छन् । नेतृत्वमा रहनेले चुनढुंगा बेच्ने, राजमार्ग र विमानस्थल बनाउने नाममा हरिया वन सिध्याउँदा हर्ष माने जस्तो डहरकै नजिकका खेत भएकाले गार्ईवस्तुले पनि हरिया बाली देखेपछि मन मार्न सक्दैनन् । आक्कलझुक्कल पर्यटकका रुपमा सलह, गुबो खाने किरा, फट्के आदि पनि आइलाग्छ । जोगी, माग्ने, भिखारीसम्मलाई पाल्न पनि खेतीपाती नगरी धरै छैन ।

यसपाला मप्रसादले विविध तरकारीहरु उब्जाउ गर्‍यो । बेचेर तिर्ने शर्तमा बीउबिजन, मलखाद, विषादी ऋण गरेरै किनेको हो । शहरमा बेच्न लैजाँदा प्रतिकिलो भाडा २ रुपैयाँ, भारी बोक्ने सिण्डिकेटबाट ५० पैसा बोकेको ज्याला, एजेन्टको चार्ज प्रतिकिलो ४ रुपैयाँ, व्यापारीको मूल्य प्रतिकिलो १० रुपैयाँले बेच्यो । केही पटक यसैगरी तरकारी बेच्दै गर्नुपरेपछि बचेको पैसा लिएर बीउबिजन, विषादी, मलको पैसा तिर्न गयो । हरहिसाब गर्दा अझै अर्को बाली कुर्नुपर्ने देखियो ।

तरकारीको डोको लिन व्यापारीकहाँ पुग्दा ग्राहकले सोधेको मप्रसादद्वारा उत्पादित तरकारीको मूल्य प्रतिकेजी ५० रुपैयाँ पुगेको थियो । आज उसले गाउँका तिउनजति बजारमा तरकारी भएपछि महंगिँदा रहेछन् भन्ने थाहा पायो । ऊ थप ऋण नबढाउनका लागि खेत बाँझो राखेर बस्ने निर्णय गर्दै घर फर्कियो । सरकार भने खेत बाँझो राख्ने किसानको खेत कब्जा गर्ने नियम बनाउँदै थियो ।

समृद्ध समाज राष्ट्रिय दैनिक २०७७ जेठ ३१

बुढ्यौलीका कुरा

 जुन घरमा वृद्धवृद्धा छन्, त्यो घरको बालबच्चा सबैभन्दा बढी वौद्धिक हुन्छन् । वृद्धवृद्धाले थरीथरीका अनुभव, नीतिकथा, चालचलनका जानकारी गराउँछन्, त्यो अनुभवले बालबालिकाले नैतिक विकासमा ठूलो टेवा पुग्छ । बुढाबुढी व्यक्ती मात्र होइनन्, सिङ्गो इतिहास र अनुभव हुन् । तपाईँ-हामी बुढाबुढीका साथमा छौँ भने संसारकै सबैभन्दा भाग्यमानी हुनेछौँ ।

हप्ताको एकदिन भ‌ए पनि वृद्धवृद्धासँग समय बिताउनु, अनुभव साट्नु, उनीहरूका कुरा सुन्नु र सहज जीवनका लागि ढाडस दिनु ठूलो मानवीय कार्य हो । यो अवसर सबैलाई प्राप्त पनि त हुँदैन नि ।

यी दिनहरू आफ्नै गाउँठाउँका छरछिमेकी वृद्धवृद्धासँग कुराकानीमा समय बिताउँदैछु । उहाँहरूका अनुभव, स्मरणयोग्य घटनाहरू बारे यहाँ चर्चा गरेको छु ।

एकजनाले वर्षभरीमा १५/१६ वटा श्राध्द गर्ने गरेको सुनाउँनुहुन्छ अधिकारी हजुरबा । अनी ६ हजारमा किनेको खेतबारीको मूल्य २ करोड पुगेको कुराले पैसाको मूल्य साह्रै सस्तो भ‌एको बताउनुहुन्छ । एउटा जग्गाले अर्को जग्गा किनिरहेका मान्छेहरू पैसाले पैसा किनिरहेका छन् अरे ।

१ पैसामा लालपूर्जा बनाएको, अरूले १ पैसा पनि नभ‌एर लालपूर्जा बनाउन नसकेको कुरा सुनेर अचम्म पनि लाग्यो ।

कति सालहरू त धान खानलाई श्राध्द, पूजा र दशैँ जस्ता चाड नै कुर्नु परेको कुराले मन छोयो । मकै, कोदोको ढिँडो खाँदा खाँदा घाँटीको प्वालै ठूलो भ‌एको जस्तो भयो भन्दा अर्को पटक अवाक् भ‌एँ । धान लाग्ने जग्गा हुनुलाई गर्वका साथ हेर्ने समय बारे जानकार भ‌इयो ।

११ हजारमा ३१ कठ्टा जग्गा किन्दा स्थानीयले २ हजार बढी तिरेको भन्दै गाली गरेको (अहिले २।४ करोड लगभग) हाम्रा बाका कुरा सुन्दा अचम्म नै लाग्यो । उतिखेर २ हजारले त अर्को कित्ता नै किन्न सकिने पो रहेछ ।

३०/४० वटा बाख्रा, ४/५ वटा भैँसी, १८/२० वटा गाइ, सिङ्गै डाँडा कुँडार प्रयोग गर्ने परिवारलाई पनि पैसा चैँ देख्न मुस्किल हुने रहेछ । ऐँचोपैँचो नै मूख्य कारोबार रहेछ । मेलापातमा पर्म प्रथा अहिले पनि कायम नै छ । तर पैसा हुने र काम गर्न नसक्नेहरूले ज्याला दिएर काम लगाउँछन् । कृषिमा त्यसले फाइदा त दिँदैन नै तर खेतबारी बाँझो भने बस्दैन । हामीले देखेको फरक के हो भने आजकाल ज्याला गर्नेलाई कोल्ड ड्रिङ्क, कसैकसैलाई लोकल रक्सीसम्म खुवाउनुपर्छ । कृषी कार्य गर्न केही ठाउँहरूमा बियर र मासु अनिवार्य छ ।

२०४०/४२ सालमा १०० रूपियाँको मासिक व्याज १० रूपियाँ तिरेको, त्यसको वार्षिक कोशेली १ मुरी मकै, १ मुरी धान नतिर्दा झैझगडा परेको कुरा पनि सुनियो । धान रोप्ने, चुट्ने, मकै रोप्ने, भित्र्याउने समय साहुकै बारीमा बिताउनु पर्दा आफ्नो काम रातैभरी गर्नुपरेको सम्झँदा दुख पाउन मात्रै जन्मेको हो कि भन्ने परेको पीडा पनि सुनियो ।

बिबाहमा २ पैसे ढ्याक गोडा धोएर दिएको कुरा पनि चर्चाकै विषय बने ।
जङ्गलमा गोठ राखेर दुध, घ्यू, खुवा अत्यधिक खाइएको र त्यसैको आडले अहिलेसम्म बाँचेको कुरा सुवेदी ठूल्बा सुनाउँदै हुनुहुन्थ्यो ।

बाघको मुखबाट कलिलो बाच्छो थुतेर ल्याएको भन्ने आमाको कुराले म दङ्ग परेर हेरिरहेको थिएँ । सँगसँगै आधा रातमा एकपाथी दुध बेच्न होटल धाएको, अघीअघी गैँडाको हुल पछिपछि आफू हिँडेको बाको कुराले आङै सिरिङ्ग भयो ।

अहिले हरियो मकै बारीबाट ६ रूपैयाँ प्रतिघोगामा बेचेको कुरा अधिकारी हजुरबाले सुनाउँदा बजारमा ३० रूपैयाँमा बिक्री भैरहेको मैले जानकारी गराएँ । बीचको २६ रूपैयाँ अर्कैले खाइरहेको रहेछ, अहिले कृषिमा भैरहेको नै यही हो । वास्तविक किसान ज्यूँनु न मर्नुसँग कृषी धानिरहेका छन् ।

प्रधानमन्त्रीदेखि विपक्षी, सरकारदेखि सडकसम्मका कुरा पनि भ‌ए । तर तिनका कुरा गरेर को नै थाक्ने हो र सामन्तहरूको दबदबा रहेको समयमा हुर्किएर अहिले बुढेसकाल लाग्दासम्म रामराज्य आएको विश्लेषण सुनेर नयाँ वर्षको पहिलो दिनको भेट टुङ्ग्याइयो ।

वृध्दवृध्दाले हात थाप्दा केही दिन सकौँ, बाटो काट्दा सहयोग गर्न सकौँ, यात्रामा ठाउँ दिन सकौँ, लाइनमा बस्दा पालो दिन सकौँ । ज्यूँदा इतिहासहरूको जय होस्, जुग जुग जिउनुहोस् ।
(यो लेख डिल्लिपुरमा तयार गरिएको हो । जानु भ‌एको छैन भने मनहरी गाउपालिकाको यो ठाउँ घुम्न जानुहोस् न है ।)

समृद्ध समाज राष्ट्रिय दैनिक २०७८ जेठ

नाम

 नाममा के छैन, सर्वथोक छ । जे छ नाममै छ । पत्याउनुहुन्न ? आउनोस् केही प्रसंग हेरौं । नाम दिन जान्यो भने सिउँडी पनि ठूलै मूल्यमा बिक्री हुँदोरछ । ड्रयागन फल भनेका छन्, सिउँडीका फल बेचेका छन् । चैते फूलका नाममा कोइरालो जति बिक्री भइसके । थरमात्रै होइन, पञ्चायतकालमै अधिकार पाएर अधिकारी लेख्नेहरू पनि छन् । पण्डितले पण्डित्याईं गर्न छोडिसके । न द्विवेदीले दुई वेद पढेका छन्, न चतुर्वेदीले चार वेद । तैपनि ‘नाममा के छ र ?’ थेगो गाएर बसेका छन्, मान्छेहरू ।

नामले व्यापार पनि त बढाएको छ । ‘हर्बल’ नाम थपेर केमिकल उत्पादन बेचिरहेका छन् । हर्बल टुथपेस्ट, हर्बल लिपिस्टिक, हर्बल साबन, हर्बल लोसन, जताततै हर्बलै हर्बल । नाममा के छैन ? नाम दिएर नै भुटेको मकैले ‘पप कर्न’को ब्राण्ड पायो । तरबरे, चरेला, चुच्चे करेला, बरेला अनेक नाम गरेर भए पनि झुक्याई झुक्याई खाइन्छ ।

आजकल त चुरोट पनि हर्बल आउने रहेछ । मदिरा पनि आएको होला शायद । जाँड धोक्नेलाई जँड्याहा भनेपछि हर्बल मदिरा घुट्काउनेलाई के भन्नुपर्ने होला ? नेता–नेता जुधेका छन् । ‘मुँचका लडाइँ’ भनेका छन्, जुँगालाई दोष लाएका छन् । अनि दाह्री पाल्नेको नामै दाह्री । दाह्रीको भारी पनि देख्नेलाई मात्रै हुन्छ, पाल्नेलाई हुँदैन । दाह्री झड्काल्यो धुलो झार्‍यो, धुलो हो कि दाह्री हो नाममात्र बाँकी छ ।

नाम पहिचान हो । नाम परिचय हो । नाम इज्जत हो । नाम जागिर हो । नाम कमाई हो । नाम सर्वथोक हो । सम्धीको नामले सम्धीहरूले जागिर पाएका छन् । भिनाजुको पदले सालीहरू विदेश घुम्न पाएका छन् । दिदीको पहुँचले बहिनीहरूले एनजीओ चलाएका छन् । काकाको ढाडसले भतिजहरूले म्यानपावर हल्लाएका छन् । नामले नाममात्रै होइन, सर्वनाम नै बदलिदिएको छ ।

‘लङ्का जलाउने हनुमान, पगरी गुथ्ने ढेडु’ । ‘बाघको छालामा स्यालको रजाइँ’ । ‘आलु खाएर पेडाको धाक’ । नाम बेचेर खाने पनि हाम्रै वरपर छन् । आफूलाई स्वघोषित विद्वान बनाएका छन् । भोगीदेखि जोगीसम्मको अभिनय यात्रामा सफल छन् । मान्छेहरू नामलाई जोडेर तथानाम भन्दाहुन् । नामले सबैको नाम बनाओस्, बद्नाम नबनाओस् ।

समृद्ध समाज राष्ट्रिय दैनिक २०७७

त्यसपछि दाह्री पालेँ

 साथीभाइ भन्छन्, “ओइ दाह्रीको भकारी, खुइल्याइदे कति पाल्छस् ।”

बाआमा भन्नुहुन्छ, “स्वास्नी–छोर्छोरी पाल्ने उमेरमा केही नपाएर दाह्री पालिस् है ।”
कुरा त ठीकै होला, बाआमाले पो मलाई पाल्नुभयो म के पालुँ…

मामाहरु भन्नुहुन्छ, “अब गेरु वस्त्र किनेर ल्याइदिन्छौं, बम भोले भन्दै हिँड्नु भान्जाबाबु ।”
‘भान्जाबाबु’ पनि भन्ने अनी जोगी बनाएर लखेट्ने ‘के पारा चलाइस्यो’ मामाहरुले, बुझ्नै नसकिने ।
,,,,,,,

अनी म कविता लेख्छु । कविताचाहिँ बन्यो कि बनेन, नबने कविता बनाउने मिस्त्रीले जोडजाड, ठोकठाक, ताछतुछ, मिचमाच, तानतुन गरेर भए पनि कविताको फ्रेमभित्र अटाउने बनाइदिनु है ।

सन्तानलाई ऋण लाग्ला कि भनेर बाले रोग पाले
तिनै सन्तान भोकाउलान् कि भनी आमाले भोक पाले
देश बनाउला कि भनी दुनियाँले नेता पाले
कसैले कुकुर पाले कसैले सुँगुर पाले
नेताले गुण्डा पाले, गुण्डाले नेता पाले
जसले जे पाले, उल्टै मलमूत्र सोहोर्ने बनाए
खुवाउनु पनि नपर्ने, नुहाउनु पनि नपर्ने
कसैले बेलुनजस्ता ब्रोइलर पाले,
कसैले कपास जस्ता कुकुर पाले
धुलो यसो झड्कार्यो, पसिना उसो फड्कार्योत
पाल्ने चिज केही नपाएर मैलेचाहिँ दाह्री पालेँ ।

यस्तो राष्ट्रप्रेमले ओतप्रोत ‘युवा कविता’ राष्ट्रिय कविता प्रतियोगितामा प्रथम हुने ठानेर मख्ख थिए्ँ । सपनाहरु पनि आफ्नो अनुकूलकै देख्थेँ । अघिल्लो दिनको घटना नभइदिएको भए मेरा सुकेका जिउ पनि केही दिनमै फुक्थे होलान् । घटना यस्तो थियो,

देशमा विकास बाहेक केही थिएन । चारपुस्ते फ्रि वाइफाइ, बिजुलीगाडी मात्रै चल्ने गाउँसहर । सहरका सफा पानी, गाउँमा फक्रक्क परेको जवानी । आहा । देवकोटा अहिले हु्ँदा हुन् त “स्वर्गको टुकुडा” अझै लम्ब्याउँथे होलान् झैं लाग्ने ।

एक दिन, यो युगमा पनि कसैले चटपटे खाएर २० बर्षे तरुनीको चिल्ला गाला झैं बनेको नेपालको कुनै सडकमा एउटा खोस्टो कागज टिपेर धुरु धुरु रोइरहेको थिएँ । कसैले वातावरणविद् होलान् भनेर खादाहरु भिराइदिए । अबिर र माला अनी दोसल्ला र हल्लाहरु सडक किनारमा बाह्रै महिना वसन्त ऋतु देखाइरहने मनमोहक दृश्यहरु छोपिरहेको थियो ।

अँ साँच्ची खानेले खाइसकेपछि मेरै कविताको खोस्टो यसरी नफालिदिएको भए हुन्थ्यो नि है । बेलैमा विदेश जानेले बरु के के फाले के के पाले । खान नपाए नि माटै खाउँला नेपाल आमा भन्ने भाको, सभ्यता, नैतिकता, आचरण, आत्मसम्मान, गर्व, हर्ष आदि आदि पाल्नलाई कतै नभेटाएर मैले दाह्री पालेँ ।

समृद्ध समाज राष्ट्रिय दैनिक २०७७

स्यालको नेतृत्व

 बुढो बाघ काल गतिले मर्‍यो । सारा जनावर राजा को बनाउने भन्ने ध्याउन्नमा लागे । राजा हुन जोकोही चाहन्थ्यो तर चाहेर मात्रै कहाँ हुन्छ र ? सबैलाई स्वीकार्य पनि त हुनुपर्‍यो ।

एउटा खैरे स्याल ती सबैमध्ये चतुर थियो । राजाका धेरै आनीबानी उसलाई थाहा भएकाले उसले राजा हुनेमा आफ्नो मात्रै योग्यता रहेको भ्रम थियो । उसले त्यही बाघको सिनोबाट छाला छुट्यायो र खोल ओढेर जनावरमाझ आयो । ऊ कुनै देशबाट फर्केर आएको र पहिलेकै राजाको राजकुमार भएको पनि बतायो । झट्ट हेर्दा राजाकै अनुहार परेको देखेपछि सबैले उसका कुरा पत्याए र राजा घोषणा गर्ने बन्दोबस्त गर्न लागे ।

राजा हुन पाइने भयो भन्नेमा स्याल र उसका अन्य स्याल मित्रहरु ढुक्क थिए । उसले थुप्रै गोप्य भोजको आयोजना गर्‍यो र आफू जस्तै उटपटाङ्हरु जम्मा गर्न थाल्यो । सित्तैमा मिष्ठान्न भोजन खान पाइएपछि उसलाई सबैले भोजबाटै राजाको अलंकार पहिराइदिन्थे । ऊ त्यसै त्यसै मख्ख थियो ।
उचित साइत पनि जुर्‍यो । मरेको बाघको खोल ओढेको स्याल राजा घोषित भयो । उसै त धुर्त स्याल त्यहीमाथि बाघको छाला र राजाको पगरी पनि भिरेपछि ऊ मैमत्तको भयो । नजिकका केही सल्लाहकार र सुसारेका सहयोग पाएपछि उसले मनमनै आफैंलाई भूमण्डलकै राजा सम्झ्यो ।

राजकाज र जीवजन्तुका समस्या सुन्ने, झैझगडा मिलाउने, कामदारहरुका रासनपानीमा ध्यान नदिने तर आफू नभए संसारै प्रलय हुनेसम्मको कथा गुथेर अरुलाई त्राहीमाम बनाउन खोज्थ्यो । उसका धमिला पेट र चिप्ला मुखबारे कमैले चाल पाए । एउटाले बिराउँदा अर्काको कान काट्ने उसको न्यायिक सिद्धान्तबाट सबै आजित थिए ।

काम फिटिक्कै नगर्ने तर गाउँगाउँ डुलेर कुखुरा चोर्ने र चिया चौतारो, रक्सीभट्टीबाट सुराही तन्काउनेसम्म गर्न थालेपछि मानिसहरुले शंका गरे । उसको दिनरातको चियो चर्चो हुन थाल्यो । एकदिन राती सुत्ने बेलामा उसले ओढेको बाघको खोल शरीरबाट उतार्‍यो र कतै राख्यो । सुसारेको सहयोगमा सो खोल बाठो खरायोले सुटुक्क लियो ।

बिहानै झिस्मिसेदेखि खोल ओढेका राजाको उर्दी सुन्नुपर्ने कर्मचारीहरु आनन्दित थिए किनभने निकै दिनदेखि दरबारमा राजा अनुपस्थित थिए । खरायोले सबै जीवहरुलाई भेला गर्‍यो र भन्यो “साथीहरु राजा नभए त राजकाज कसले गर्ने ? राजा दरबारबाट बाहिरै ननिस्किने भए । अब उल्का हुने भयो । सबै भएर तिनलाई निकालौं ।” सल्लाह उचित ठानी सबै दरबार प्रवेश गरे । आफ्नो बारे सुइँको पाए भन्ने ठानेर जो लाउँछ चुक्ली उही जान्छ फुक्ली भनेझैं स्याल झ्यालबाट हाम्फालेर भाग्यो । अब सबैले राजा भनिएको जन्तु स्याल भएको पत्तो पाए भने केही केहीले आँखैले देखेर पनि स्याललाई राजाकै तक्मा दिइरहे ।

तपाईँ हाम्रा वरपर पनि आफ्नाँ स्वार्थका लागि जे पनि गर्न र भन्न सक्ने यस्तै बहुरुपी मानिसहरु हुन सक्छन् । बचौं । कुखुरा कुर्न स्याललाई नाइके नबनाऔं । अन्देखा गर्‍यौं भने साधुलाई शुली चोरलाई चौतारो हुनसक्छ । गाई खाने बाघले बाछो पनि त खान सक्छ ।

स्यालको नेतृत्व | Samriddha Samaj

च्वास्स २