Saturday, July 9, 2022

पुरस्कार राशीमा व्यापक घोटाला

सुलसुले मिडिया, विशेष रिपोर्ट


हेटौंडा, २५ असार

सामान्यतयाः साहित्यकारहरूलाई समाजका समस्याबारे जानकार भई समाधानका लागि विभिन्न लेखरचनामार्फत् आवाज उठाउने सचेत व्यक्तिहरुका रुपमा चिन्ने गरिन्छ । तर यहाँ भने त्यसको ठीक उल्टो भई उनीहरू आफैं पीडित भएका छन् ।

हाम्रा सुलसुले मिडिया संवाददाताले हेटौंडाका एक स्रष्टा सम्मान कार्यक्रममा घोटाला भएको तथ्य पत्ता लगाएका छन् । सुलसुले अनुसन्धान व्यूरोद्वारा गरिएको विशेष अनुसन्धानका क्रममा यस्तो तथ्य पत्ता लागेको हो । १० हजार १ रुपैयाँको पुरस्कारमा १० हजार दिइएको तर १ रुपैयाँ गायब भएको, ५ हजार १ रुपैयाँको पुरस्कारमा पनि उस्तै १ रुपैयाँ गायब भएको र १५ हजार १ रुपैयाँको पुरस्कार राशीमा समेत १ रुपैयाँ घटाइएकोले पुरस्कृतहरू न्यायका लागि कहाँ कता जाने अन्यौलमा रहेका छन् । फूलमाला लगाएर होली खेलेझैं अबिरले राताम्मै भएर हाम्रो कार्यालयमा आएका उनीहरूलाई न्याय दिलाउने कसले ? यस्तोबेला सरकार कहाँ छ ? 

आयोजक आँचल साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटासँग बुझ्दा आफूले कुनै घोटाला नगरेको र पूर्व पदाधिकारीले गरेको हुनसक्ने आशंका गर्नुभयो । यस्तै निवर्तमान अध्यक्ष अनिता न्यौपानेसँग च्याटगरी बुझ्दा त्यो १ रुपैयाँ आफूले केही गरी नदिने बरू सबै पीडितहरूलाई एक ठाउँमा राखेर २५/२५ रुपियाँको चिया र बिस्कुट क्षतिपूर्तिबापत खुवाउन सकिने बताउनु भयो ।

अन्ततः सरकारी बैङ्कमा १ लिटर पेट्रोल खर्च गरेर १ रुपैयाँको चेक लिएर जाँदा सोको भर्पाइ दिन समेत १ घण्टा धर्कामा बस्नुपर्ने बाध्यता छँदैछ । यस्ता सस्ता तथ्य पनि सुलसुले मिडियाले अन्य मिडियाको समाचारबाट पत्तो लगाएपछि यो भव्य समाचार अर्थ मन्त्रालयको सिसिटिभी फुटेजझैं सेलाउने निश्चित देखियो । काग कराउँदै गर्छ, १ रुपैयाँ हराउँदै गर्छ ।

यस्ता समाचार न्यूज २४, न्यूज ३० तथा न्यूज ३६५ कसैले पनि नबजाउने हुँदा सुलसुले मिडिया फेरि पनि खल्तिखलाँस रित्तो गिलाँस हुन बाध्य भएको र श्रीलंकाझैं टाट फर्किएको घोषणा गर्दछ ।

नोटः यो समाचार अन्य मिडियामा सार्नु परेमा सुलसुले मिडियाको खुत्रुकेमा १ रुपैयाँ खसाल्नुपर्नेछ ।

----------------------

सुलसुले मिडियाका लागि प्रकाशक, सम्पादक, संवाददाता तथा कार्यालयका एकमात्र झाडुवाला, डाडुवाला निर्देशकः सुलसुले

[हास्यव्यङ्ग्य समाचारले कसैलाई च्वास्स परेमा परिरहोस् । हामी यस्तै त हो नि ब्रो ।]

1 comment:

  1. ख्याल ख्यालमै रमाइलो लाग्यो ।

    ReplyDelete

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २