प्रिय छोरी
दुखको कुरा सुनाऔँ भनेर नि !
४ नम्बर वडा कार्यालयमा हिजै मात्र फाइल बुझाएर आएको । आज कार्यालय डढेर सबै खरानी भइगयो ।
नगरपालिकामा आउँदो कार्यक्रमका लागि हिजै मात्रै पुगेको, त्यो पनि बर्बादै भइगयो ।
देशै के हुने भन्ने शङ्का भइरहेको बेला व्यक्तिगत र संस्थागत समस्या ठुला पनि नहोलान् नै ।
भाद्र २३ मा हामीले कल्पनै नगरेका १९ जना कलिला भविष्यहरूको हत्या भयो । त्यसमा सङ्ख्या थप हुँदै गए । घटनापश्चात् उत्तेजित Zen Z युवा अनि मौकाको फाइदा उठाउनेहरूबाट विरोधका गतिविधि भए । त्यसले विध्वंशको पराकाष्टा नै नाघ्यो । यसको नतिजा के के पो हुने हो ?
०००
हेटौँडाका लगभग सबैजसो वडा कार्यालय ध्वस्त भए । भित्रबाट आगोको लप्का ननिस्किएको उपमहानगरपालिकाको कुनै झ्याल थिएन । फेरि सम्झिएँ- हिजो मात्रै १५ दिन लगाएर जम्मा गरेको आवश्यक कागजात, सक्कल बिलभर्पाइ, चिठी, आदित्यादी बुझाएर आएको ४ नम्बर कार्यालयको आगो आज त बाध्यताले तापेरै आएँ । अब कसलाई पो फाइदा भयो ?
अन्तिम परीक्षाका लागि कम्प्युटर पढाउने मौका पाएबापत हालसम्म ७०० बढी साथीहरू निजामती भएका थिए । लाखौँका लागि एउटा विश्वसनीय संस्था लोक सेवा कार्यालय आजै सकियो । लोक सेवा तयारी कक्षासँग १३ वर्षदेखि जोडिएको छु । भावनात्मक सम्बन्ध प्रगाढ छ । आजको गतिविधिबाट कसलाई फाइदा भयो ?
जिल्ला अदालत, जहाँ यही जिल्लाका मान्छेहरूका न्यायका लागि प्रमाण बटुलिएका हुन्छन् । ती सबैजसो सिध्धिएका छन् । पुनरावेदन अदालत जहाँ बलात्कारी, सुन तस्करी, लागूऔषध कारोबारी, व्यभिचारी अनि गैँडाका खाग तस्करहरूको मुद्दाका मिसिलहरू प्रशस्त टाइप गरेको थिएँ । अदालत; जहाँ न्याय अन्याय छुट्याइन्छ । उच्च अदालतका रूपमा परिचित सो अदालत पूर्णतः जल्यो । अब कसलाई फाइदा भयो ?
०००
सरकारी कार्यालयजति कुनै बाँकी छैनन । यहीँका स्थानीयलाई रोजगारी दिएको भाटभटेनी दिनदहाडै लुटियो, जलाइयो । राजनीतिक दलसँग उहिले उहिले जोडिएकाहरू पनि अन्यत्र गएर आफ्नो घर जलाउनका लागि तयार बनाएर निरीह बनेका छन् । बन्दाबन्दैको सञ्चयकोष कार्यालय अघि भर्खर डढाए । यत्रो हुँदा आफ्नो जग्गामा बनेका अनि भाडामा लिएका पार्टी कार्यालयहरू पनि त जलाइएकै छन् । नेताका नाम सुन्नेबित्तिकै भाडामा बस्नेहरू निकालेर तिनका समेत सबै सरसामान र घरै जलाइएका छन् ।
यो विध्वंश हो,
विगत १८ वर्षदेखि शिक्षणमा छु । यो पुस्ता यस्तो विध्वंश गर्नेवाला छ भनेर पत्याउनै सक्दिनँ । त्यति शान्त जेनजीको आन्दोलन यस्तो हुन्छ भनेर तपाईँलाई पनि बताउनै सक्दिन । वर्षौँ अरूले लुटिरहेका थिए भनेर बोल्यौँ तर आज त जेनजीलाई मोहरा बनाएर देश त अर्कैले अघौँची लुट्नु लुट्यो । लुट्ने चिजै बाँकी नरहे के लुट्दो हो ? जे भो अति भो ।
अति भए कलेजमा ताल्चा लाउने र वार्ताबाट समस्या समाधान गर्न तयार हुने यो समूह हिजोको हिंसाले भड्किएको त पक्कै हो तर यत्रो विध्वंश यिनको नाममा अरूबाट पो ज्यादा भयो भन्ने बुझेको हुँ । सडकमा टायर बाल्ने बाहेक यो पुस्ता लुटपाटमा संलग्न भएको कहिल्यै थाहा थिएन । आन्दोलनको मोडालिटी, नेतृत्वबिहीन आन्दोलन र एउटाको बहकावमा भीड कुदिरहेको प्रत्यक्षत देख्नुपर्यो । उकास्ने कामले हामीबाट पनि धेरथोर गल्ती पक्कै भयो ।
०००
रोजगारी दिने व्यवसायिक संस्थाहरू सिध्याइए, प्रशासन कमजोर बनेको छ, न्यायालय, प्रशासन, वडा कार्यालयसम्मका कुनै पनि प्रमाण सग्लो रहेको छैन । सेना मूख्य सहरका सडकमा हिँड्न सुरू भएको छ । राजनीतिशास्त्रको विद्यार्थीको हिसाबले अध्ययनले के देखिन्छ भने- सेनाले कब्जा गरेका कमै मुलुकका नागरिक खुसी छन् । हाम्रो खुसी आफ्नो वा अरूको कस्तो हुने हो भोलिको बिहानदेखि बिस्तारै थाहा हुँदै जाला ।
प्रिय छोरी,
आउँदा दिनमा नेपालीकै स्थायी सरकार आएछ भने पनि ती संरचना उस्तै बनेर अभिलेखीकरणसहितका नियमित काममा सहजता हुनका लागि २० वर्ष बढी लाग्नेछ भन्ने मेरो अहिलेसम्मको बुझाइ रहेको छ ।
०००
भीडको एउटाले यो फलानाको घर हो भन्नेबित्तिकै अरूले ढुङ्गा बर्साउने र गेटमाथिबाट नाघेर घरहरू तोडफोड गरिएका घटनामा प्रत्यक्षदर्शी बनेको छु । कहाँबाट आए ? कस्ता अनुहारका आए ? हेटौँडासँग साइनो पर्ने आए कि पर्दै नपर्ने आए ? सबै भन्न सकिने अवस्था पनि छैन । आजै अरूको पहुँच नपुगोस् भनि लोकेसन, फेसबुक प्रोफाइल, स्टोरी र कन्टेन्टहरूमा अलि कडाइ गरेँ । साँच्चै म त बडो त्राही त्राही छु ।
संस्थागत हिसाबले सिस्नुपानी नेपाल मकवानपुरमा आबद्ध छु । अर्को परिवार जस्तो लाग्छ । साहित्यिक समाज बेग्लै सचेत समाज लाग्छ । भेट गर्न आतुर छु ।
देश तङ्ग्रिँदै जाओस् । अनुच्छेदहरू एकअर्कासँग जोडिन पनि जबर्जस्ती तन्काइदिनु परेको कुरा तिमीले पछि बुझ्ने नै छौ ।
विदेश जानु पर्दैन भनेर २० वर्षको उमेरदेखि कसैलाई सल्लाह नदिने मैले आज तिमीलाई लिखितरूपमा यो चिठी लेखेर अभिलेख राखेको छु । हामी यहीँ बसेर डट्ने नै छौँ । सुन्दर प्राकृतिक छटा, सहयोगी मान्छेहरू, परम्परा र नैतिकले ढकमक्क रहँदारहँदै परिवर्तित राजनीतिक घटनाक्रमले यो देश तिम्रा पुस्ताका लागि अब त बस्नयोग्य हुँदै भएन प्यारी ।
शुभरात्री ।
२०८२ भाद्र २४, २३:२५PM
No comments:
Post a Comment
तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।