Friday, November 1, 2013

दशैं मानेर मर्नु न

 – संप्रस पौडेल ‘दिवस’
जताततैको माग सुनेर कान पाकेको छ । माग्नेदेखि थाङ्नेसम्म, भुक्नेदेखि टोक्नेसम्मको मागको लिस्ट सुन्नुपर्दा पाकेको कान थाकेको छ । विद्यार्थीले नेतासँग माग्ने, नेताले सरकारसँग माग्ने, सरकारले विदेशीसँग माग्ने गर्दा चुनाउका लागि पाँच सय सामानको लिस्ट बोकेर सरकार मागिरहेको छ । जोगीको घरमा सन्नेसी पाहुना भनेझैं साना माग्नेका माग सुन्न कसलाई चटारो ? कसैलाई चुनाउको तारो, कसैलाई वहिष्कारको लठारो ।
मागस्वरूप चुनाउमा कसैले झण्डा पाउने, कसैले डण्डा पाउने । रंगशाला र फिल्म हलको झैं उम्मेदवारीको टिकट ब्ल्याकमा पाइने भए के हालत हुँदो हो ? यसैले एकअर्कासँग माग्दामाग्दै संसारै माग्नेमय पो हुँदो रहेछ । गोलमेच मागेर झोलमेच भागपर्दा ढुंगा खोज्दा देउता भेटेकै मान्नुपर्ने तैपनि मागको चक्र पूरा घुमेको घुम्यै ।
‘दिने भए देऊ, नदिने भए नि देऊ’ भन्दै चन्दावाला शैक्षिक भ्रमण, उपहार, सहयोग, दान इत्यादिको नाममा माग राख्छन् । पारिवारिक अर्थतन्त्र नै डामाडोल बनाइदिन्छन् र पारिवारिक आर्थिक परिसुचांकले उँधो लाग्दछ । यसैले मितव्ययिता अपनाउन एउटा चिठ्ठा भिडाउनेलाई अर्को चिठ्ठा भिडाउनु पर्ने भएको छ ।
देश चुनाउमय हुँदा कार्यकर्ताको माग छ, ‘चुनाउ जित र एकौटा जागिर लाइदेऊ ।’ भन्छन्, ‘नारा मागेर झारा लाउन त्यसै कहाँ पाइयो र ?’ शक्ति र समूह, परिश्रम र लगनको फल खै ? किसान माग राख्छन्, ‘अनाज, तरकारी र दूधको भाउ बढाऊ, विषादी, मल, बिउबिजनको भाउ घटाऊ, कमिशनतन्त्रको खेल बन्द गर ।’ विद्यार्थी, कर्मचारी, मजदुर, देशी, विदेशी सबैको आ–आफ्नै माग छ । रोटीको नाममा कसैलाई भोकै पार्ने र धोतीको नाममा अरुलाई नांगै पार्नेहरुको माग बारे बहसको पनि माग हुनुपर्ने पो हो कि ?
चाडबाडमा निस्फिक्रीसँग अर्काको सिक्री माग गर्नेहरु पनि छन् । हाजिर गर्न कलम र घाउमा मल्हम माग गर्नेहरूले कहिल्यै फिर्ता गरेको होइन । पात्रो र कात्रो माग्नेसँग फिर्ता माग्ने कुरो पनि भएन । उहिले बिहेमा दाइजोका रूपमा खुलेरै मोटरसाइकल माग्नेहरू आजकल मोटरसाइकल किन्ने ह्याउ जस्को नि हुन्छ बरु डिजेल चैं दाइजो दिनुप¥यो भन्दै डिजेल पो माग्न थालेका छन् रे । सामानमा पन्ध्र प्रतिशत कमिशन जोडेर उधारोमा अर्को दश प्रतिशत व्याज जोड्ने व्यापारीको माग पनि सुन र मदिरा व्यापारीको विगतको मागभन्दा कम छैन ।
किलिण्डरले भाडा बढाएर माग गर्दा बढुवा भाडा असूलेर बुझाउने आयल निगमले कर्मचारी मात्र के सवारी धनी र यात्रुलाई समेत बोनस खुवाउनु पर्ने पो हो । भाडा नबढेको र आफूले साविककै भाडा तिरेको बताउन लाग्दा ऊ रनवन घन्काउँछ र जबर्जस्ती निचोरेर चाहिँदो असूलेर मात्र छोड्छ ।
दशैं नजिकिँदा छिमेकी बाजेलाई काल पर्खिन गाह्रो परिरहेको छ । दिन कहिले बित्ला भन्दै उनी हरपल समय सोधिरहेका छन् । उनका पनि आफ्नै माग छ । बेलाबेला नाती आउँछ र बुढो हड्डीको सहारा लिई काखैमा बस्दछ । बाजे भन्छन्, “नाती बा बुढो भयो । अब त मर्छु है ।” बाजेको कुराको पूर्णविराम आफैं तानेर नाती माग तेस्र्याउँछ, “बाजे दशैं मानेर मर्नु न ।” अस्तु । भूमध्यरेखा साप्ताहिकमा प्रकाशित‚ आश्विन २०७०

थुइक्क, कठै, च...च, उस्


 –संप्रस पौडेल  ‘दिवस’
नेपालका राजनीति र राजनीतिक दललाई सत्तोसराप गर्नेहरु धेरै छन् । आजकल त उनकै आसेपासे कार्यकर्ताले पनि आफ्नै मालिकलाई धारे हात लाउन थालिसके । ओरालो लागेको हरिणलाई बाछोले पनि खेद्छ भनेको यही होला । दुईचार ठाउँमा मुक्कामुक्की भएको कुरा सामान्य नै हुन थाले । सामान्य जनताको श्रापले नेतालाई झिँगोको श्रापले डिँगो मर्दैन भन्ने उक्ति लागू हुँदो हो । श्रापैले मर्ने हुन् त नेपालका आधा नेताको श्राद्ध भैरहन्थे, बाँकी बचेखुचेका पनि कोही बैशाखी टेकेर बामे सर्दै त अन्य घिटिक घिटिक बाँचिरहेका हुन्थे होलान् । लंका जलाउने हनुमान, जस पाउने ढेडु भएपछि कार्यकर्ता पनि के चुप लागी बस्थे । यिनलाई जति श्राप दियो उती आशिर्वाद हुने र जति पुत्ला जलायो, उति आयु बढ्ने कुरो अकाट्य प्राय छ । फेरि तिनैलाई बाचुञ्जेल सत्तोसराप गर्ने र मरेपछि गुनगान गाउने प्रचलनले च....च, छि, कठै, उस् गर्नुको के अर्थ ?
भनिन्छ, कलेज जाने युवाहरुमध्ये पच्चिस प्रतिशत राजनीतिमा लाग्छन् । पच्चिस प्रतिशत केटी जिस्काउन र कलेज युनिफर्ममा पार्क घुम्नमा । पच्चिस प्रतिशत जागिर र कलेज सँगसँगै लैजान खोज्छन् । बाँकी पच्चिस प्रतिशत शुरुमा पढ्नतिर लाग्छन् । पढाईमा लाग्ने पच्चिस प्रतिशतका पच्चिस प्रतिशत पढ्दा पढ्दै फ्रस्टेट भएर अन्यत्र लाग्छन् । अर्को पच्चिस प्रतिशत साधुबाबाको सँगतमा पुग्छन् र भोले बाबाको भक्त बन्छन् । पच्चिस प्रतिशत दादागिरी गर्नमा त बाँकी पच्चिस प्रतिशत मात्र पढाई सफल हुन्छन् । यसैले धेरैको शैक्षिक योग्यताको सर्टिफिकेट बढेर पनि ज्ञानको भण्डार खुम्चिन पुगेको छ । छोराछोरी बिग्रिएर कहिले प्रहरीको खोरबाट त कहिले पार्कबाट समातेर घर ल्याउनु परेको छ । कहिले बाटो बन्द गर्दागर्दै हुलमुलमा झडपमा परी हस्पिटलबाट त कहिले सुधारगृहबाट फर्काउनु परेको छ । कहिले कलेजको अनुशासन कक्षबाट त कहिले फिरौतीवाला र दादागिरीको पञ्जाबाट मुक्त गराउनु परेको छ । धेरै कलेज पढ्ने विद्यार्थीहरुमा न शिक्षा छ न सुरक्षा छ । न आचार छ न बौद्धिकता छ । नैतिकताको पुच्छर र इमान्दारिताको ठुँड मात्र होइन धैर्यताको पखेटा र सफलताको उडान भन्ने कुन चराको नाउँ पत्तो छैन । कुरा गर्नु तिखारी, झाडा गर्नु निखारी त्यसै भनिएको कहाँ हो र ? कुरोको चुरो अभिभावकको लाखौंको लगानी, समयको बर्बादी, इच्छाको अन्त्य भएपछि कठै, च..च.., छि, धत्तेरी, हत्तेरिका, उस् भन्नु सिवाय अर्को के विकल्प रह्यो र ?
एकदिन प्रेमवादको कट्टर समर्थक र प्रेमवादका अनुयायी दुईबीच भेट भएछ । एकै विद्यालयको भर्ना नै उनीहरुको मिलनको संयोग परेछ । एकदिन कक्षामा दुवै जना सोचमा मग्न हुँदा शिक्षिकाले समस्या बारे सोधिन् । एकले भन्यो, “बीस बर्षको केटा र बीस बर्षको केटीबीच शारीरिक सम्बन्ध भयो भने बच्चा हुन्छ ?” शिक्षिकाले हुन्छ भनिन् । अर्कीले सोधिन्, “सोह्र वर्षको केटा र सोह्र वर्षकी केटीबीच भए नि ?” शिक्षिकाले हुन्छ भनिन् । एकले सोध्यो, “दश वर्षको केटा र दश वर्षकै केटीबीच त ?” शिक्षिकाले अहँ हुन्न भनिन् । दुवै जनाले एउटा पाठ सिके र ढुक्क भएर घर फिरे । यी त एउटा उपयोग न हुन्, यस्तै नलेखिएका कथाहरु प्रशस्त घट्ने गरेका छन् । यस घटनामा उमेरका कारणले धन्न व्यहोर्नु नपरेको समस्या देखिएको छ । धन्न अभिभावकले च...च, छि, धत्तेरिका, थुइँक्क, उस्, उप्m, हे भगवान त भन्नु परेको छैन । इन्टरनेटले सदुपयोग र दुरुपयोग गर्न दुवै सिकाउँछन् ।
‘जनता, लोकतन्त्र, गणतन्त्र, विकासको लागि राजनीति’ भन्ने उक्ति नेपाली नेताका भन्ने कुरा न हुन् । लाखौं जनता भोट हाल्ने रहर मर्दै गएपछि मतदाता परिचय पत्र बनाउँन गएनन् । धेरैले चियागफमा नेपालको राजनीति र गधाको लिदीलाई समान ठम्याए । शिक्षितहरुले फेसबुक लगायत सामाजिक सञ्जालमा राजनीतिक दल र तिनका नेताहरुलाई गर्नुसम्म गाली गरे । दलहरुले नै एकले अर्कोलाई गाली गर्दै आपूm गाली शिरोमणि कहलाइरहेको स्थितिमा एउटा दलले अर्को दललाई यसो भन्यो, “फलानो दल विदेशी पूँजीपतिहरुको दलाल हो ।” अर्कोले भन्यो, “फलानो दलका नेताहरुमा लोकतान्त्रिक राजनीति गर्ने क्षमता नै छैन” । अर्काले भन्यो, “फलानो दललाई झुक्किएर निर्वाचन आयोगले दर्ता ग¥यो, मतदाताले थाहै नपाई भोट दिए र सत्ताको खेलमा लाग्यो ।” अर्काले भन्यो, “फलानो दलमा राष्ट्रियताको कमी भएको पाइयो, त्यसैले उसका नेताहरुले राज्यले दिएको सुविधामध्येको कुटनैतिक पासपोर्ट बेचेर गुमनाम कमायो ।” कुराले मात्र चिउरा भिज्दैन नेताज्यू । जनताले भोट खेर गएको र कार्यकर्ताले केही साल राजनीतिमा सहयोग गरेपछि जागिर नलगाई दिएकोमा नेतालाई गाली गर्न थाले । एउटा दलका नेताले यस्तो प्रतिक्रिया दियो, “कहाँको विदेशी शक्तिका तपध्यानले पाएको विदेशी दलालीको बिल्ला, कहाँको तुन्द्रुङ्ग झुण्ड्याउन बनाइदिएको नागरिकता पाएको नेपाली जनता र कार्यकर्ता” भो झिँगोको श्रापले डिँगो मर्दैन, पद पाइयो त आफ्नै बलबुँताले पाइयो । आपूmलाई बोकेर पदमा पु¥याउने युवाहरुलाई फल खुवाउने तर बोट नचिनाउने प्रवृत्ति भएसम्म युवाले देश हाँक्ने कुरो कुरोमै सीमित रहने भई गयो । फेरि बैंश गुमाएपछि पोइल गएर के काम ? यी सबै जानेपछि पनि राम्रा दल खुट्याउन नसकी पुनः उसैलाई भोट दिई दिई लौ खा भन्दै हुत्याइदिएपछि दिनेले दियो, खानेले खायो । क्वाप्लाक्क पारेपछि आच्या, लौ न, धत्, आ, हत्तेरिका, थुइक्क, कठै, च....च, उस् गर्नुको के अर्थ ? सक्षम र उत्कृष्ट छानेर विगतको इतिहासलाई पनि विचार गरेर हाम्रालाई भन्ने होइन राम्रालाई चैं भोट हालौं । अस्तु । २०७० आश्विन

दुख बिर्सेको हाँसो



संप्रस  पौडेल दिवस
अभाव र महंगीले भदौरे झरीमा बादलभन्दा घुर्मैलो भै ढाकेपछि एक जोडी छाक टार्ने टण्टाले पिरप्रसाद पण्डितलाई यो रात पनि निन्द्रा परेन । सल्काएको चुरोट सकिएर हत्केला पोलेपछि मात्रै थाहा पाउने पिरप्रसाद आपूm जस्तै पीडित अभावले डामेको राजाराम रम्तेलकोमा जाने निधो गर्छन् । आधा रातमा चौथी खेल्न आएको ठान्लान् भन्दै आँगनबाटै लुसुक्क फर्कन लागेका उनलाई राजारामले देख्ने बित्तिकै चुल्हामा डाक्छन् । अघिनै खोलेकाजी पनि आइसकेकामा सबै मिली संकटको सारंगी बजाई अभावको गीत गाउँन थाल्छन् ।

विवेकको संघियता



- संप्रस पौडेल 'दिवस'
स्थानीय कुकुरहरू कहिलेकाहीँ झगडा गरे पनि अन्ततः मिलेरै आआफ्नो राज्य चलाउँथे । वल्लो गाउँको कुकुर अर्को गाउँमा जानुपर्दा त्यस गाउँका लोकल कुकुरका अगाडि पुच्छर टाङमुनि लुकाएर हिँड्थ्यो । अर्को गाउँका कुकुर वल्लो गाउँमा जाँदा पनि यही नियम लागू हुन्थ्यो । कुनै अपरिचित कुकुर गाउँहरूमा आए गाउँका सबै कुकुर मिलेर घेर्थे । अझ पुच्छर ठाडो पारी बडो शानले आए त्यसलाई पुच्छर ठड्याएर अमर्यादित भएको र आफ्ना राज्यका नियमलाई मिचेको आरोपमा टोक्दै र भुक्दै खेदेर सिमापार गराउँथे । जस्तै लुते र खोरण्डो कुकुर पनि आफ्नो राष्ट्रियता र सार्वभौमिकताका रक्षार्थ बहादुर र शुरवीर भएर मैदानमा छाति उघारेर उत्रन्थ्यो । एउटा राज्यमा एउटा कुकुर मात्रैले शासन गर्दथ्यो । यसरी जनसंख्या र आत्मसम्मानको आधारमा कुकुरहरूले सामाजिक संघियताको सूत्रपात गरे ।
कुनै समय बिरालो र बाघ साथी साथी थिए । अहिले पनि झट्ट हेर्दा बाघ र बिरालोको स्वरूप र जिउडाल उस्तै देखिन्छन् । केवल बाघ कलरपूmल र बिरालो मोनोक्रम मात्रै न हुन् । दुवैको दोस्ती राम्रैसँग चलिरहेथ्यो । दोस्तीभन्दा पनि बिरालो बाघको गुरू पो थियो । बिरालोले बाघलाई दौड्न, शिकार गर्न, आक्रमण गर्न, पौड्न सबै सिकायो । खाली पानाको दिमागवाला विद्यार्थीलाई कखरा खुट्याएर माथिल्लो कक्षामा पठाएपछि उनै शिक्षकमाथि धावा बोल्ने आजका धेरै विद्यार्थी र बाघमा एउटै रूप देखाप¥यो । बाघले बिरालोबाट सबै सिकेपछि अब आपूmलाई बाँच्न उसको आवश्यकता नपर्ने ठान्यो । यस्तैमा एक दिन बिरालोलाई नै खान्छु भनी लखेट्न थाल्यो । बिरालो पनि आफ्नो प्रिय शिष्य तथा साथीले आपैंmलाई मार्न लखेटेपछि भाग्दै एउटा रुखमा चढेर ज्यान जोगायो । बाघले तलबाट मलाई रुख चढ्न किन नसिकाएको ? भन्यो । बिरालोले तिमीले आफ्नो असली रूप देखायौ, यस्तै हुन्छ भन्ने सोचेर मैले नसिकाएको भन्यो । अन्ततः बाघले बिरालोलाई तँ त के तेरो दिसा पनि छोड्दिन भन्दै हवाला दियो र बिरालोलाई पूर्णतः शत्रुको कोटीमा राख्यो । त्यसैबेलादेखि अहिलेसम्म पनि बिरालोले आफ्नो दिसा (काट्टो) कसैले नदेख्ने गरी माटो वा अन्य चिजमा खोस्रिएर पुर्ने गर्छ । नत्र घरका धानका भकारी र मकैका कुन्युमा हेर्नुस् त । यस पाठबाट पनि बाघ र बिरालोले जातिय दृष्टिले बेग्ला बेग्लै संघ बनाई बाघ जंगलमा र बिरालो घरमा बसी जातिय संघियताको सूत्रपात गरे ।
चिमोटे बाख्रो पनि कराउँछ तर खुट्टै काटे पनि जिराफ कराउँदैन । आफ्नो हक र अधिकारका लागि नबोली सहनेहरूका धैर्यता पनि एउटा मृत्यु हो । भेडा भेडासित, बाख्रा बाख्रासित भन्ने उखान चलेकै छ । कागको हुलमा बकुल्लो गएर सिनो टिप्दैन । एक्लै परे पनि बकुल्लाको हुलमा काग मिसिएर माछा मार्न हिँड्दैन । माछाको पर्खाईमा बकुल्लो खोला नजिकैको ढुंगामा घण्टौं ध्यानमग्न हुन्छ । काग पनि सिनो भेटेपछि आफ्नो धर्म अनुसार सबै कागलाई डाकेर खान आह्वान गर्दछ । यसरी धर्मको आधारमा संघियता जनावरहरूमा सृष्टिको शुरुवातदेखि नै चलिआएको पाइन्छ ।
शक्तिको आधारमा ठूला जीवहरूले सागर, महासागरमा आफ्नो संघियता खडा गरे । साना किरा, झिँगेमाछा, गड्यौला र हिले, बुदुनाहरूले सीम, धाप र खोलानालामा संघियताको अखडा जमाए । यसरी शक्तिको आडमा संघियताको निर्माण हिजो आज भएको होइन । यो त एककोषियबाट बहुकोषिय जीवको जन्म हुनासाथ सृष्टिको पूर्वाद्धमा नै शुरु हुन गएको मानिन्छ । यसैले समाजका परिश्रमी सदस्यहरूले शक्तिको आधारमा संघियता लागू गरी आएको पाइन्छ । यो ठूला र शक्तिवान जीवलाई फाइदा जनक भए पनि साना र निमुखा तथा अल्पसंख्यकहरूका लागि अप्रजातान्त्रिक संघियता हो ।
गाई, भैंसी, खसीबाख्रा, घोडा, गधा, भेडा, कुकुर, किर्ना, उडुस, उपिया, लामखुट्टे इत्यादिले अरुको दास भएर समय बिताउन चाहे । त्यसैले संसारमा बाघ पालेर दुध दुहुने मानिस कोही भेट्टाउँन सकिन्न । किनकी बाघ जातिय संघियताको पक्षधर हो । यसैले आफ्नो दुई छाक घाँस खान पाएकैले त्यसैलाई जीवनको सर्वश्रेष्ठ प्राप्ती ठान्नेहरूले आपूmलाई घोडा, गधा, गाई, कुकुर, उडुस, किर्ना इत्यादि भई मानिसका आडमा टाँसिएर पापी पेटको माग र आवश्यकताको सिद्धान्तको परिपूर्तिको संघियता रोजे । यो निमुखाहरूको संघियता हो । जसमा ती निमुखाहरूको कुनै हक र अधिकार भन्ने हुँदैन । यसैले मायाँ गरेर पालेको खसी पनि काटेर खाने चलन रहेको छ ।
आज आम नेपालीले सदियौंदेखिको राजसँस्था, निरंकुश तानाशाही सरकार ढालेर बुद्धि र विवेकको आधारमा संघियता ल्याउनु परेको छ । दुध उमालेर खेर गएको निहुँमा राजमार्ग बन्द गराउने र उडुसले टोकेर मर्नेलाई सहिदमा दराउने कामले संघियतामा तगारो हालिरहेछ । मान्छे मार्नेलाई धमाधम क्षतिपूर्तिको रकम बुझाउँदै थुम्थुम्याउँन लागेको सरकारले पुनः रकम फिर्ता भन्दै फच्चेको खेल खेलिरहेछ । भ्रष्टाचार, अत्याचार, जाली कारोबार, तस्करी दिन दुईगुणा रात चारगुणा बढेको छ । रातमा हुने हत्या, बलात्कार, चोरी, डकैती, तस्करी यावत घटना दिनदहाडै हुन थालेको छ । दिन पनि दिन जस्तो छैन अचेल । घाम लागेर भएको उज्यालोले दिन कहाँ हँदो रहेछ र ? रातमा हुने गैरकानूनी, अव्यवहारिक क्रियाकलाप दिनदहाडै भएपछि यहाँ चौबिसै घण्टा रात परिरहेको छ । देशको मायाँ भनेको नेता र सरकारलाई मायाँ गर्नु होइन । तैपनि संघियताको नारा झिकेर नेताजी अर्को चुनाउको धाक लगाएर गाउँ आइपुगेका छन् । सार्वभौमसत्ता र राष्ट्रियतालाई यतिखेरै प्रयोग गर्ने हो भने उपयुक्त भिजन भएकाहरूलाई कान्लो उकाल्दै संसदमा कोकोहोलो मच्चाउनेलाई चुनावबाटै बहिष्कार गर्नु परेको छ । जात, धर्म, पेशाको आधारमा होइन विवेकको आधारमा संघियताको नारा बोक्नेहरूलाई नेतृत्व दिनुपर्ने देखिन्छ । अस्तु । २०७० भाद्र

गाइजात्रामय चुनाउ

व्यंग्य कथाः

संप्रस पौडेल दिवस
विद्यालयका लागि भर्ना अभियान, कृषकका लागि रोपाई र अन्न भित्र्याउने काम, कर्मचारीलाई महिनाभरिको काम र तनखा, सामान्य मजदुरका लागि दिनभरीको परिश्रम र ज्यालाले जति महत्व राख्छ उति नै महत्व नेताका लागि चुनाउले राख्दछ । यसैले चुनाउमा उठ्ने दल र नेताहरुले अत्यधिक बहुमत प्राप्त गर्नु नै उनीहरुको सफलता ठानिन्छ । विकासका कुरा त जितेपछिका तपसीलका विषय न हुन् । धेरै मुलुकमा आउँदो चुनाउमा आफ्नो अस्तित्वको लागि पनि विकास गर्ने परम्परा छ । नेपालमा भने नेतृत्वमा पुग्दा विकास भन्ने प्वाँख भुत्ला भए नभएको कुन चराको नाउँ हो, रंगमञ्चका दुईचार थान काजीहरुलाई पनि थाहा भएको होइन ।
गाउँमा उबेला वनको रुख फाँड्दै घरमा रुख रोपेर कांग्रेसको उपाधी पाएका कांग्रेस बा नुन छर्न गए । नयाँ पार्टीले वृद्ध भत्ता बढाई दिने आशले भोट दिएकैले एकिकृत माओवादीका नेताजीले लाशमाथि पार्टिको झण्डा ओढाई दिए । एमाले पक्षधरले आफ्नो शासनकालका कारण वृद्ध भत्ता पाउने उनी एमाले भएको भन्दै पार्टीको झण्डा ओढाइदियो । एकिकृत माओवादीले द्वन्द्वकालमा दुई छाक खान दिएकोमा माओवाद जिन्दावादको नारा लाउँदै लाश उचाले । घरमा गाई पालेकोमा हिन्दु राज्य माग गर्ने रा.प्र.पा. नेपालले शंख बजायो । वीर शहिद अमर रहुन्, ‘कांग्रेस बा अमर रहुन्, ‘वृद्ध भत्ता पाउने बा जिन्दावाद, ‘घरमा रुख रोप्ने कांग्रेस बा जिन्दावाद, ‘दुई छाक भात दिने कामरेड लाल सलाम इत्यादी नाराले शंखका आवाजहरु विलिन भए । लाश जलाउने क्रममा चार पार्टीमा लागेका चार भाई छोराहरुले सहमति गरी जलाउने र काजक्रियाका कामहरु सम्पन्न गरे । यस्तो मिल्ती देखेर सबैले गाउँमा लाशमाथि राजनीति नगर्ने निधो गरे । गाउँमा राजनीतिक गाइजात्रालाई निषेध गरिएको छ ।
गत साता सदरमुकाममा एउटा नेताका चम्चाले भने, एमालेकी छोरी रहिछन्, केटो पनि एमाले नै परो, ल ज्यादा कुरो किन गर्नु ? विहेको साइत कहिले जुराउने भन्नुस् । शहरमै कन्या माग्न जाँदा अर्का पन्यूले भने, माओवादीको भोटर र कांग्रेसले लगाइदिएको जागिर खानेहरुसँग सहकार्य र सहमति त हुँदैन भने विवाहको कुरो छाड्दिनु । शहरमा जजसको जे जे चर्चा भए पनि गाउँमा आजसम्म बिरामी, विवाह र मलामीमा मात्रै होइन खेतीपातीमा समेत कोटा भाग लगाएरै भए पनि अड्को फुकाउँदै आइएको छ । राजनीतिक गाइजात्रा पूर्णतः बन्देज छ । कहिलेकाँही सडकमा ढुंगामुढा गर्न र सदरमुकाममा प्रहरीको लाठी खान बाहेक गाउँको विकासमा दशकौंदेखि नै माखो मार्न नसकेका दल र नेताहरुले आउँदै गरेको चुनाउको जात्रा गाउँ शहरमा कसरी मनाउँदो हुन् ?
ठूला मरे वीरगती, जनताका सन्तानलाई उपचार न ओखती भन्ने आहान त्यसै चलेको होइन । श्रमजीवि कमिला पनि निदाएको यो देशमा हर योजना, नीति, कानूनहरु गाइजात्रे भएका छन् । समस्या पनि कति धेर ? एकातिर टाल्दा अर्कोतिर भ्वाङ, अर्कोतिर थुन्दा एकातिर भ्वाङ । जनता र कार्यकर्तालाई यति धेरै गाइजात्रे बनाइएको मुलुक यो मात्रै पक्कै होइन । यतिखेर सिरिया, इजिप्टमा पनि यस्तै ताल न हो । यसैले गाईजात्रा हाम्रो मात्रै पर्व हो भनी एकै पोल्टामा हाल्न कहाँ पाइन्छ र ? त्यो पनि जात, धर्मको नाउँमा दर्तावाला राजनीतिक दल भएको देशमा । यहाँ बन्द हडताल गर्न पाउनु हाम्रो मौलिक अधिकार बनाइदिएका छन् । आउँदै गरेको चुनाउ पर्व लागि घर लिपपोत गर्नु छैन । पिँढी र आँगन टालटुल गर्नु छैन । छ त केवल भित्ते लेखनको तयारी, फेसबुक र पत्रपत्रिकामार्पmत् जनतासामू लोलोपोतो घस्दै भोट माग्ने तयारी ।
कलेजमा राजनीति हुट्टी हाँक्दाहाँक्दै पढ्ने फुर्सद नभएको अनि क्याम्पस र घरघरमा भित्ते लेखनमा कुशल एउटा विद्यार्थी नेताले सामाजिक सञ्जालका भित्तामा लेखेछ, यी प्रश्नपत्रहरु कहाँ छापिँदा रहेछन् ? यस्ता राजनीतिज्ञ र नेतृत्व वर्ग जन्मिनुभन्दा तुहिनु वेश हुन्छ भन्ने भनाई पनि गाइजात्रे शिवाय ओम नमो शिवायः । नेतृत्वको जिम्मा लिनेले सर्व भलो त जगत भलो लाई आत्मसात गर्न सक्नुपर्छ । भ्रष्टाचार, घुसखोरी, हुलदंगामा अगाडि पुग्ने र नाजायज मागमा सडक जाम, बन्द हड्ताल गराउने, जायज मागमा माथिको आदेश भन्दै नबोल्ने, एकअर्कालाई आरोप र प्रत्यारोप लगाउँदै आफ्नो जिम्मेवारी बिर्सने यस्ता दुई कौडीका सस्ताहरुलाई चुनाउमा किन जिताउने ? भन्ने प्रश्न उब्जिएका छन् । गाईजात्रा हेर्न पाउनु हाम्रो मौलिक, साँस्कृतिक र राजनीतिक अधिकार पनि हो । हेर्न नालायक राजनीतिक खिचातानीको जात्रा सर्वत्र छ । यसर्थ समाज र देशको नेतृत्व गर्न सक्ने पौरखी र भिजन बोकेको नेतृत्व छान्ने प्रयास गरौं ।
देशको नेतृत्व वर्गमा पुग्न योग्यता कति भन्ने प्रश्नको जवाफ छैन । चुनाउको तयारीमा लाग्ने खर्चको आचार संहिता बन्दै गरेको छ । नेताहरु चुनाउमा ज्यादा खर्चिन्छन् । चुनाउपछि महँगा गाडि खरिद गर्छन् । महँगा ठाउँमा बसोबास गर्छन् । महँगा होटलमा बास बस्छन् । महँगा रिसोर्टमा छलफल गर्छन् । पचास हजार रुपियाँको राहत बाँड्न प्लेनमा दुई लाख खर्चिन्छन् तर पनि कौटिल्यको अर्थशास्त्रको व्याख्या गर्दै बचत गर्नुपर्ने ढ्वाङ फुक्छन् । हो, नेतृत्व भनेको सक्षम र युगानुशिल परिवर्तनमुखि हुनुपर्छ, हरामखोर त चोर नै हुन्छ । दल र नेताहरुले सक्षम र सबलहरुलाई नेतृत्व दिउन् । भूतपूर्व अपराधीलाई दलहरुले ससम्मान चुनाउमा उठाउने हो भने तीनका मतपत्रमा उनका वैयक्तिक विवरण जनाउनु पर्नेछ । अझ पेशामा तस्करी, डकैती, हत्या, लुटपीट, मारमुङ्ग्री, भिजिलान्ते, दुर्व्यसनी लगायतका पेशाधारी भए सो उल्लेख गर्न सके जनताले खराबलाई भोट हाल्दै हाल्दैनन् र खसेको भोट राम्रा मान्छेलाई परी मत खेर पनि जाँदैन । त्यत्रो हिम्मत कस्को ? दुई तिहाई बहुमत पनि नआएर हार्ने सबै दल र नेताहरुले नसिकी नहुने पाठ यही हो । गाइजात्रे चुनाउ गर्नुभन्दा सफल, सक्षम, सर्वस्वीकार्य चुनाउ होस् ।
मंसिरमा धान भित्र्याउने क्रममा भोट माग्न आउनेहरुले भोटकै लागि खेत बारीमा सघाउलान् । पाँच वर्षको नेतृत्वको कुरो हुँदा, त्यतिले नपुग्ने हो । विजयपश्चात् किसानलाई मल, बिउ, कृषि सामग्रीमा राहत, मजदुरको अनिवार्य विमा र ज्यालामा वृद्धि, विद्यार्थीको निशुल्क शिक्षा, बाटो, पुल, नहर, बाँध, अनाथालय र वृद्धालयलाई भौतिक, आर्थिक रुपले मजबुत, उद्योगधन्दाको विकास, युवालाई रोजगारी, अवसरमा सरकारी कोटाको सदुपयोगको भिजन लिएर आउने सक्षम नेतृत्वले चुनाउ जितोस् । जितेको भोलिपल्टबाटै जनताका भोटको कदर होस् । संविधानमा यस्ता विषयहरु समावेश गरुन् । उनको पनि जय होस्, हाम्रा पनि जय होस् । राजनीतिक चम्चा चुलेसीले एउटै चुलोमा थचिएर चुनाउलाई चानचुने ठान्दै तिथीमिति सार्न चुकेनन् भने मंसिर चार गते चुनाउ चाड चमचमाएर धुमधामले मनाउने नै छौं । अस्तु । (गाइजात्रा विशेष २०७०)

चुनाउको डाम



दशैंले डामेको एक महिना नबित्दै तिहारको अगुल्टो थाप्नुपर्‍यो, अझ चुनाउको चाड पनि आउँदैछ रेभन्दै कर्किनी बज्यै कर्किइन् । महंगीले बज्यैभनी बोलाउला भनी त्यसै त्यसै झर्किइन् । सरकारी राहतको समाचार र व्यापारीको आहतको अत्याचारले अचारभन्दा अमिलो मन पारी थैली फुकाउन लागेकी कर्किनी बज्यैलाई दशैंतिहारको ऋणको व्याज तिर्न पो ज्यादा चिन्ता थियो । तिहारमा मरमसालाको जोहो, माइतसम्म जान लाग्ने भाडा र फर्किँदा दाजुभाइको दक्षिणामा थप्नुपर्ने पैसाको जोहो गर्न पनि उनलाई हम्मे हम्मे भयो रे । हाम्रा बाजे गरिब भए पैसैविनालेभन्दै आहान सुनाउने उनी जस्ता मेरा गावैभरी तितरवितर भई रन्थनिएका छन् । एउटाले ऋण खोजेर धेरै व्याज खाने आशले आसामी लगाएको लगानी नउठेपछि मेटासिट किन्न गएको उतै बेपत्ता भयोभन्दै एफएम टावरउपनाम राखिएकी सुबेदार्नी बज्यैबाट पधेँरामा समाचार वाचन भैरहेको थियो । उता आलु बेचेर गाउँमा आँगन ढलान गरेका आलु साह, अदुवा बेचेर कुखुरा पालन गरेका कुखुरा अधिकारीदेखि बोर्डिङ्ग खोलेर स्वाहा भएका बिडारीसम्मलाई चाडबाडको महंगीले चुर्लुम्म डुबाएको थियो । नाम मात्रका पाँडे काजीदेखि ट्विँके दर्जीसम्म र गाउँले हतियारका डिजाइनर बिश्वकर्मा काकादेखि मागेरै ठुटे चुरोटले जिन्दगी गुजार्ने हुक्के हजुर्बासम्मलाई चाडबाडको महंगीको लंगौटी बिक्ने भए बेचुँ कि राखुँ भएको थियो । सानातिना ज्ञान लिन बुद्ध जस्तो रुखमुनी बास र योगी जस्तो भिखको आश गर्नु पर्दैन भन्ने भनाई मेरा गाउँलेहरुबाटै सिक्न सकिन्छ ।
बिगतको चुनाउँलाई बिर्सँदै दैलाको ठेलामा घामको झूल्को नपुग्दै मेला जानुपर्ने हुँदा राजनीतिक गफमा कसैलाई चासो हुन छोडेको थियो । खेताला जाँदा बचाएको दुई मुठी भटमासले बेलुकाको तरकारीको गर्जो टार्नुपर्ने हुनाले देशको तिर्तियांश वा पूर्ण बजेटको कसैलाई हेक्कै थिएन । कुखुरा बासेपछि उज्यालो हुने र झ्याउँकिरी गुञ्जिएपछि साँझ पर्ने कुरो बाहेक पृथ्वी घुमेर दिनरात हुने गरेको कुरो कसैलाई सुनाउँनै हुन्थेन । नेताहरु गाउँ पसेपछि चुनाउको नाटक मञ्चन हुन लागेछ भनी चउर र दोबाटो, चौबाटोहरुमा गाउँलेहरु थुप्रिन्थे । भाषणै सुन्न त किन जान्थे र ? बरु आपूmले टेलिभिजनमा देखेका अनुहार साँच्चै चैं कस्ता हुने रहेछन् भनी हेर्न र भरे टेलिभिजनमा भिडिओ आउला कि भनी नेताको वरिपरि झुम्मिन्थे । नेताहरु पनि चिनेझैं घरघरमा नमस्कारको काउसो बोकेर आउँथे । तैपनि मेरा सोझा गाउँलेहरु साँढे पालेर दुध खोजे जस्तो भोट हालेर विकास खोज्दथे ।
टेलिभिजन हेर्दा दुई चार थान नयाँ कम्युनिष्ट नेताहरुले दशैंमा टिका नलगाएकामा पण्डित काका रिसले रन्थनिएका थिए । ब्लड प्रेसर हुनेले आवेशमा आउनु हुन्न भनी डाक्टरले भनेका भनाईमा काका ओठ लेप्य्राउँदै टाउको हल्लाउँथे । बगरेले मासु खुर्किएर हड्डी मात्रै बाँकी राखे जस्तो नेपालका डाक्टरले बगली र सम्पत्ति खुर्किएर गरिब हुन पुगेकाले गाउलेहरु बाध्यताले आज पनि धामीझाँक्रीलाई सस्ता र सुलभ डाक्टर मानिरहेका छन् ।
देउसी भैलीलाई दियोमा बत्ति बालेर नाङ्लामा धान चामल, टपरीमा सेल रोटी सजिएका दिनहरु नेताका तालु जस्तै खुइलिसकेछन् । देउसी भैली आउनु एक हप्तापूर्व नै हजार हजारको लमतन्ने बाह्रहाते चिठी र भाग्यमानीलाई कहिल्यै नपर्ने भाग्योदय चिठ्ठाहरुले गाउँ तिहार अघि नै कंगाल बनाउन थालेको रहेछ । सरकार पनि कंगालको कंकाल सर्लाकी भनी अंगाल्न डराउँदो रहेछ भन्ने कुरा थाहा नपाएर पनि भावी पिँढीले भोट हाल्न सिकुन् भन्दै गाउँलेहरु भोट हाल्दाहाल्दै मर्दा रहेछन् ।
दशैं तिहारमा जुवा तासले गाँस न बास भएका र साहुको ऋणले उठिबास भएकाहरु धेरै भएपछि सरकारका गरिबी परिचयपत्र मेरै गाउँमा एक खाङ्ग्रे बाँड्नुपर्ला कि भन्ने लागेको छ । प्रजातन्त्रले तन्त्रेको, बहुदलले बहुलाएको, लोकतन्त्रले लुछेको र गणतन्त्रले गुण्डागर्दी बढाएको वास्तविकता बताउँदा गाउँलेहरु चुनाउमा उठ्नोस् भोट तपाइलाई दिम्छम् भन्न थालेका छन् । उठ बाओ उठ, गाउँलेहरुलाई नेतालाई भोट हालेदेखिम् एक से आठ गाई दान गरे सरह धर्म हुन्छ भन्नुपर्छ अझैं भोट हाल्चन् बाओभन्दै जुठे काका कोरा सर्टिफिकेटी बेरोजगार म आफैंलाई चुनाउमा उठ्नलाई कर गर्दै लेघ्रो तान्दैछन् । संविधान सभाको भोट हालेर राजनीतिको जुठो लाइयो, खै चुनाउमा उठ्न्या हुन् कि राजनीतिबाटै चुठ्न्याहुम् ? बिलखबन्दमा छु । हारेर पनि पद पाइयो भने त ठीकै भो नत्र न चुनाउको चौपाटे मुण्डन र पञ्चखत डाम देखाएर गाउँशहर गर्नु पन्र्या बेलाँ केरी मुख देखार हिँड्नु खै ! अस्तु । (रामकुमार एलनद्वारा सम्पादित रामवाणका लागि)

च्वास्स २