Friday, November 1, 2013

दशैं मानेर मर्नु न

 – संप्रस पौडेल ‘दिवस’
जताततैको माग सुनेर कान पाकेको छ । माग्नेदेखि थाङ्नेसम्म, भुक्नेदेखि टोक्नेसम्मको मागको लिस्ट सुन्नुपर्दा पाकेको कान थाकेको छ । विद्यार्थीले नेतासँग माग्ने, नेताले सरकारसँग माग्ने, सरकारले विदेशीसँग माग्ने गर्दा चुनाउका लागि पाँच सय सामानको लिस्ट बोकेर सरकार मागिरहेको छ । जोगीको घरमा सन्नेसी पाहुना भनेझैं साना माग्नेका माग सुन्न कसलाई चटारो ? कसैलाई चुनाउको तारो, कसैलाई वहिष्कारको लठारो ।
मागस्वरूप चुनाउमा कसैले झण्डा पाउने, कसैले डण्डा पाउने । रंगशाला र फिल्म हलको झैं उम्मेदवारीको टिकट ब्ल्याकमा पाइने भए के हालत हुँदो हो ? यसैले एकअर्कासँग माग्दामाग्दै संसारै माग्नेमय पो हुँदो रहेछ । गोलमेच मागेर झोलमेच भागपर्दा ढुंगा खोज्दा देउता भेटेकै मान्नुपर्ने तैपनि मागको चक्र पूरा घुमेको घुम्यै ।
‘दिने भए देऊ, नदिने भए नि देऊ’ भन्दै चन्दावाला शैक्षिक भ्रमण, उपहार, सहयोग, दान इत्यादिको नाममा माग राख्छन् । पारिवारिक अर्थतन्त्र नै डामाडोल बनाइदिन्छन् र पारिवारिक आर्थिक परिसुचांकले उँधो लाग्दछ । यसैले मितव्ययिता अपनाउन एउटा चिठ्ठा भिडाउनेलाई अर्को चिठ्ठा भिडाउनु पर्ने भएको छ ।
देश चुनाउमय हुँदा कार्यकर्ताको माग छ, ‘चुनाउ जित र एकौटा जागिर लाइदेऊ ।’ भन्छन्, ‘नारा मागेर झारा लाउन त्यसै कहाँ पाइयो र ?’ शक्ति र समूह, परिश्रम र लगनको फल खै ? किसान माग राख्छन्, ‘अनाज, तरकारी र दूधको भाउ बढाऊ, विषादी, मल, बिउबिजनको भाउ घटाऊ, कमिशनतन्त्रको खेल बन्द गर ।’ विद्यार्थी, कर्मचारी, मजदुर, देशी, विदेशी सबैको आ–आफ्नै माग छ । रोटीको नाममा कसैलाई भोकै पार्ने र धोतीको नाममा अरुलाई नांगै पार्नेहरुको माग बारे बहसको पनि माग हुनुपर्ने पो हो कि ?
चाडबाडमा निस्फिक्रीसँग अर्काको सिक्री माग गर्नेहरु पनि छन् । हाजिर गर्न कलम र घाउमा मल्हम माग गर्नेहरूले कहिल्यै फिर्ता गरेको होइन । पात्रो र कात्रो माग्नेसँग फिर्ता माग्ने कुरो पनि भएन । उहिले बिहेमा दाइजोका रूपमा खुलेरै मोटरसाइकल माग्नेहरू आजकल मोटरसाइकल किन्ने ह्याउ जस्को नि हुन्छ बरु डिजेल चैं दाइजो दिनुप¥यो भन्दै डिजेल पो माग्न थालेका छन् रे । सामानमा पन्ध्र प्रतिशत कमिशन जोडेर उधारोमा अर्को दश प्रतिशत व्याज जोड्ने व्यापारीको माग पनि सुन र मदिरा व्यापारीको विगतको मागभन्दा कम छैन ।
किलिण्डरले भाडा बढाएर माग गर्दा बढुवा भाडा असूलेर बुझाउने आयल निगमले कर्मचारी मात्र के सवारी धनी र यात्रुलाई समेत बोनस खुवाउनु पर्ने पो हो । भाडा नबढेको र आफूले साविककै भाडा तिरेको बताउन लाग्दा ऊ रनवन घन्काउँछ र जबर्जस्ती निचोरेर चाहिँदो असूलेर मात्र छोड्छ ।
दशैं नजिकिँदा छिमेकी बाजेलाई काल पर्खिन गाह्रो परिरहेको छ । दिन कहिले बित्ला भन्दै उनी हरपल समय सोधिरहेका छन् । उनका पनि आफ्नै माग छ । बेलाबेला नाती आउँछ र बुढो हड्डीको सहारा लिई काखैमा बस्दछ । बाजे भन्छन्, “नाती बा बुढो भयो । अब त मर्छु है ।” बाजेको कुराको पूर्णविराम आफैं तानेर नाती माग तेस्र्याउँछ, “बाजे दशैं मानेर मर्नु न ।” अस्तु । भूमध्यरेखा साप्ताहिकमा प्रकाशित‚ आश्विन २०७०

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २