Sunday, August 6, 2017

आलुवाद

- संप्रस पौडेल दिवस

घरजग्गाको भाउ दलालीको हातमा छ । एउटै जग्गा पचास पटक बेचाउँने दलालीहरु छन् । तिनीहरुले राज्यलाई कर तिरेका छन् ? पक्कै छैनन् । एउटा जग्गा बेचेर आएको कमिशनले गाडी चढेर हिँड्ने दलालीहरु तपाईँका छिमेकमा कत्ति छन् कत्ति । जे हुन नहुने हो‚ त्यै हो आलुवाद ।
डिग्री पास गरेको कर्मचारीको तलब २० हजार र उत्तिकै योग्यताको सिइओले २० लाख कमाउँछ । वृद्ध वृद्धाले रोइरोइ कृषी सम्हालेका छन्, युवाहरु विदेशमा पसिना बेच्दैछन् । नेताहरु डलरमा इज्जत बेच्दैछन् । जे नहुनुपर्ने हो त्यै भैराछ । यै हो आलुवाद ।
व्यापारीले किसानसँग उब्जनी किन्छन्, मनलाग्दी मूल्य राख्छन्, दोब्बर तेब्बर र चौब्बरभन्दा बढीमा बेच्छन् । पाँच रुपियाँ किलोको आलु लिएर कोल्ड स्टोरमा ८ महिना राखेपछि पचास रुपियाँमा बेच्न पाइन्छ । यै हो आलुवादको गाँठीतन्त्र ।
यतिसम्म कि व्यापारी कानून बनाउँछन्, जनता खुरुखुरु मान्छन्, सरकारलाई पनि आलुवाद फापेकै छ । बीउ के रोपियो र कस्तो रोपियोसँग सम्बन्ध हुँदैन । वादको मात्रै कुरा हुन्छ । फलिफापको मात्रै कुरा हुन्छ । त्यै हो आलुवाद ।
एउटाले मार्क्सवाद रोप्यो उपलब्धीमा आलु नै फल्यो । अर्कोले माओवाद फल्यो अन्तत आलुकै शरणमा पौनेटो भएर बस्नुपर्‍यो । सबै मिलेर विधि विधानका साथ समाजवाद रोपेको आलुवाद हौसिएको तपाईँहामी सबैले देखेकै हो । आलुवादका पारखीहरुलाई मार्क्सवाद, माओवाद, लेलिनवाद, समाजवाद केही पनि फाप्दैन । हामीलाई हाम्रो आलुवाद खुबै प्यारो छ ।
इतिहासमा कालुवाद, प्रेममा मायालुवाद, बिहारमा लालुवाद र कपालका लागि तालुवाद चल्छ । ताछेको आलु र खुइलिएको तालुमा के भिन्नता छ र ? यसैले तालु हाम्रो बौद्धिकता नाप्ने कशी र आलु हाम्रो नाङ्गो राष्ट्रियताको दशी हो । सार्वभौमिकता त खोक्रा नारा हुन् । आलुवादको भाषण नै हाम्रा प्रतिफल हुन् । आलुवाद आलुवादै हुन्, सफल हुन् कि असफल हुन् । बरु पास ठालुवाद हो भने फेल आलुवाद हो भन्न सकिन्छ ।
मास्टरसाप आलुलाई गोलभेँडा बनाउन खोज्छन् । आलुले कहिल्यै गोलभेँडाको ल्याकत राख्दैन । आलुलाई आलु नै रहन दिनोस् । आलुको वंशनाश गर्ने प्रयत्न नगर्नोस् । यै हो आलुवादको गुदी ।
गुन्द्रुकमा आलु‚ काउलीमा आलु‚ अचारमा आलु‚ आलुमा आलु । आलु नै सर्वमान्य ठालु हो । भैरव अर्यालले त आलुवादलाई ठालूवाद माने । तपाईँ हाम्ले किन नमान्ने ? हाम्रा नेता आलु हुन्‚ तिनका कार्यकर्ता आलु हुन्‚ मास्टर आलु हुन्‚ विद्यार्थी आलु हुन्‚ डाक्‍टर आलु हुन्‚ बिरामी आलु हुन् । तराईदेखि हिमालसम्म फल्ने कुनै बीउ छ भने त्यो आलु नै हो ।
इतिहासमा आलुलाई दौरासुरुवाल वा सारीचोलोमा सजाइयो । विगतमा आलुलाई कोटपाइन्ट र सर्टपाइन्टमा सजाइयो । आलुलाई विदेश पुर्‍याएर बेइज्जत गरिन्छ‚ कहिले टुँडिखेल र रत्नपार्कमा नाङ्गेझार पारिन्छ । कहिले बानेश्वरतिर कहिले हानेश्वरतिर‚ बिहान थानेश्वरतिर‚ बेलुकी तानेश्वरतिर पुर्‍याएर आलुको धर्म परिवर्तन गराइयो । भो अब अति भो‚ आलुलाई आलुबाहेकका वादबाट स्वतन्त्र गरियोस् । आलु छुट्टै सिद्धान्त हो‚ आलु आफैंमा आदि र अन्त हो । बिग्रे पनि बिगारे पनि आलु नै आलु हो । सप्रे पनि सपारे पनि आलु आलु नै हो । यसैले एकस्वरमा भनौं "आलुवाद जिन्दावाद !"
------------------------------------------------------------------------------------------------------------------
समकालीन साहित्य डट कममा पोष्ट भएको ।
Source: http://samakalinsahitya.com/index.php?show=detail&art_id=6130
प्रकाशन मिति : शुक्रबार, 20 श्रावण, 2074
------------------------------------------------------------------------------------------------------------------

यस वेबसाइटमा पोस्ट भएका लेखकका अन्य रचनाहरु

बाहुनका कुरा



व्यंग्यात्मक साहित्य
– संप्रस पौडेल 'दिवस'
नेपालमा नयाँ सँस्कृतिको विकास भएको छ 'नातीको न्वारान‚ बाजेको हैरान' । सय वर्ष अघिको इतिहासको प्रामाणिकता नभेटिएको बेला बाहुनले देश बिगारे भन्दै ढोल बजाइन्छ । यतिखेर बाहुनहरु तै चुप मै चुप भैराखेका छन् । यसर्थ बाहुन भएकै कारणले बाहुनबाट अरु जातिले  अन्याय भोग्नु परेको हो भन्ने भनाईलाई खण्डन गर्दछु ।
पण्डितबाजेभन्दा पहिले टोल चहार्ने पण्डितको झोला बोल्यो‚ "नेताज्यू बिहानै उठ्नुभो । शौचादी कृयाकलाप गरिसकेपछि गायत्रीवाचन गर्दै गौमुत्रले पवित्र भएर गाउँघर चहार्नु भयो ।" झोलाले बोलेपछि सबैले होला भन्ने ठाने । "जय भोला जय भोला" सबैले एकै स्वरमा भन्न भ्‍याए । नाग टाँसेपछि झोला घर फर्कियो ।
आजकल पण्डित बाजे सबैका घरघर चहार्न भ्याउँदैनन्‚ लोकतन्त्रले उनलाई झनै व्यस्त बनाएको छ । उनी घरमै घोत्लिएर इतिहास खोजिरहेका भेटिन्छन् । भन्छन् "मान्छेहरु ज्यादा झोले भए‚ नेताकाभन्दा झोलेका कुरा विश्वास गर्ने‚ झोलेकै विचार मन पर्ने‚ झोलेकै हुट्टीमा ताली बजाउँने । सबै झोले हुन लागेपछि मैले पनि झोलालाई नै गाउँठाउँ घुमाउँछु‚ सबैलाई विश्वास पनि छ ।"
आटो खाने मुखले माटो खानु नपरोस् । क्रान्तिको नारामा मात्रै बाहुनलाई गाली गरिन्छ‚ जब जब शान्तिका कुरा आउँछ तब तब सबैभन्दा पहिला "ॐ शान्ति" गाउँने त बाहुन नै हुन्छ । घरमा सबैभन्दा बढी ॐ शान्ति गाउँने बाहुन नै हो । इतिहासमा सबैभन्दा बढी खुकुरी कसले चलायो त्यो बाहुनवादको विरोधीलाई नै थाहोला । हत्या‚ हिंसा‚ अपराधमा बाहुन कहिल्यै लागेन । बरु बाहुनलाई हेरेर बाहुनको टुपी‚ ढाका टोपी‚ जनाईमाथि प्रशस्त व्यंग्यवाण भए । कहिले काट्टे बाहुन भनियो‚ कहिले बाहुनको टुपी कहिले एन्टेना न एरियल भनियो । जनाईलाई कुखुराको आन्द्रो भनियो । बाहुन‚ बिहान बिहानै डाउन भनियो । गर्न पनि बाहुनलाई डाउन गर्नुसम्म गरियो ।
इतिहासै हेर्ने हो ने बाहुन जहिल्यै पछाडी पारिएका जाति हो । आफ्नै खेतबारीमा हलो जोत्न पाइएन र अर्काको भरमा खेतबारी जिम्मा लाउनुपर्‍यो । पूजाआजामा धुँवामा रूमल्लिएर फोक्सो बिगार्दै बस्नुपर्‍योएउटा बिराउँछ‚ शाखा पिराउँछ भनेजस्तो कुनै एक बाहुनले गरेको अपराधले सबै बाहुन जातिलाई धारे हात लगाउन नमिल्ला कि !
बाहुन बाहुनै हो‚ नुहाए पनि बाहुन गन्हाए पनि बाहुन् भनिन्थ्यो तर के गर्नु त्यही बाहुनलाई कुनचाहिँले हो ठिराउँदो जाडोमा दिनदिनै नुहाउँनुपर्ने र फिलफिलाउँदो धोति लाउँने नियम बनाइदियो । एन्टेना न एरियलका रूपमा टुपी पाल्नुपर्ने भनियो । जागिरमा ठूलो पदभन्दा खरदार, डिठ्ठामै सीमित गरियो । पढ्ने पेशा बाहुनले गर्ने भन्दै बाहुनलाई सुगा बनाएर सुकाइयो । जहाँ गुलियो त्यहाँ बाहुन भुलियो भन्दै ब्राह्मण जातलाई आक्षेप लगाई जातिय द्वन्द्व निम्त्याउँने कोशिस गरियो । मिलेर बसौँ, मिलेर हिँडौँ भन्दा तँ ठूलो जात भन्दै समाजमा अन्य जातिसँग विभेद गराइयो । अरू जातले छोएको पानी पनि खान नहुने भन्दै खाद्य स्वतन्त्रताबाट मुक्त गरियो । परम्परा र धर्मसँस्कृति जोगाउनेभन्दा दुना टपरा सोहोर्ने जातिका रूपमा परिभाषित गरियो ।
ठूलाठूला क्रान्तिहरूमा लाग्ने अन्य जातीलाई तुरून्त मारिदिन्थे । मर्नेका नाम शहीदका कोटीमा सुनौला अक्षरले लेखिन्थे । चारपाटा मुडिएर जीवनभर आफ्ना आफन्त, छिमेकी, समाजको नजरमा गिर्दै पलपल मर्ने जाति बाहुन नै थियो । टंकप्रसाद आचार्यहरू जिउँदो शहीदका एक पात्र हुन् । बाहुनलाई "जातिच्यूत" गराइएको भन्नुको अर्थ नै अन्य जातिलाई सानो र बाहुनलाई ठूलो मानिएको हो । जातिच्यूत गराउने शासक वर्ग कुन जातिका थिए कसैले खोजेनन् । इतिहास हेरौं त ती बाहुन छँदैथिएनन् । अन्य जातिका पो थिए । यसैले जातिगत विभेद तिनैले गरेका हुन् भन्न किन डराउने ? नेपालको राजनीतिलाई उलटपुलट पार्ने हलो क्रान्ति‚ जयतु सँस्कृतम‚ लाइब्रेरी क्रान्ति बाहुनहरुसँग नै सम्बन्धित छन् । तिनलाई चटक्क बिर्सेर सँस्कृत पढेकै भरमा‚ पूजाआजा र श्राद्ध गरेकै कारणले नगरेको अपराध भिराएर बाहुनलाई टपरे बाहुन भन्नेहरुको विद्धता बारे भविष्यले बताउला ।
विगतलाई हेर्नुहोस्‚ बाहुनलाई व्यापारमा निषेध गर्दै धनसम्पत्ति कमाएर सम्पन्न बन्न दिइएन । केवल पढ्ने यन्त्र मात्रै बनाइयो । नपढेकाहरू कुँजिएर बस्नुपर्‍यो । होटलमा मीठो खान नदिएर सामल बोकेर यात्रा गर्नुपर्ने बनाइयो । यसैले मान्नोस् नमान्नोस् 'राष्ट्रिय रोग ग्यास्ट्राइटिस बाहुनबाटै जन्मेको हो' । बाहुन भएकै कारणले जो कसैले हेपिनु र चेपिनु नपरोस् । अरू जातिको उत्थानका नारामा बाहुनहरूले नगरेको अपराधको भार बोक्नु नपरोस् ।
झोला फेरि व्यस्त भयो‚ बोल्यो "श्राद्धमा जानुछ गुरुबा ।"
पण्डित बाजेः "कसको श्राद्ध ?"
झोलाः "श्यामबहादुरको ।"
पण्डितः "त्यो त जिउँदै छ हैन र ? अस्ती चोकमा बाहुनलाई कालोमोसो दलेर देश निकाला गर्नुपर्छ भन्दैथ्यो त ।"
झोलाः "..... आच्या श्यामबहादुरको बाउको पो हो त ।"
पण्डितः "जाउ‚ सबै कर्म पूरा गरेर आउ । ..... सर्वे भवन्तु सुखिनः ।"
पण्डित बिहानी कर्ममा लाग्नुभो । या देवी सर्व भुतेसु तृष्णा रुपिण संस्थिताऽ नमतस्यै नमतस्यै नमतस्यै नमोनमः..... ।
परिवर्तनको बाटोमा सबैलाई स्वागत छ । बाहुनलगायत सबै जातिको जय होस् ।
२०७४ श्रावण
हालः सिद्धार्थ माध्यमिक विद्यालय‚ हेटौंडा
२०७४ श्रावण २१ गते शनिबार समृद्ध समाज दैनिक‚ हेटौैडामा प्रकाशन भएको

Tuesday, July 25, 2017

प्यारो राष्ट्रियता


जहाँ दिनमा एक छाक खानसम्म नपाएर
भोकभोकै बाँचिरहेका (?) हरु अनगिन्ति छन्,
जहाँ खलोको धान ढिकीमा कुटेर अनी
उब्रेको खाना बटुलेर खानेहरुको अनगिन्ति छन्,
जहाँ जानेर नजानेर भिटामिन ए पाइने
सिस्नोले बाध्यताको तिहुन् टार्नु परेको छ,
जहाँ अत्यधिक उत्पादन हुने हाइब्रिड बिउ किन्दै रोपेर
महंगो मल र खडेरीको मारमा अल्प उब्जाउ हुन्छ,
त्यस्तो देशका किसान हामी
जौ उब्जाएर पूजामा खर्चिरहेछौं,
कोदो उब्जाएर जाँड बनाइरहेछौं,
भात खाने चामलको औसानी र
पुरेतलाई दानदेखि अक्षेतासम्म अनि
झाँँक्रीले मन्छाउनेसम्म
चामलको छ्याङ् खाएर भातै खान बिर्सेकाहरु
स्याउको खार्पाली रक्सी बनाएर छाक टारिरहेछौं ।

गुड फ्राइडेमा मातिनेहरुको केको नैतिकता ?
ह्याप्पी होलिडेमा झुम्नेहरुको केको पवित्रता ?
मित्रकी पत्नीसंग पेग लिँदै अश्लिल नाच्नेहरुको कस्तो मित्रता ?
स्वदेशी स्वादमा डुङ्ग गन्हाए पनि
तिमीलाई तिम्रै जस्तै,
हामीलाई नि हाम्रै राष्ट्र र राष्ट्रियता प्यारो छ ।

डाक्टर सपना


हेर्दै जा बाटुली,
तेरो छोरालाई डाक्टर बनाउँछु म ।

ढाक्रेको छोरो ढाक्रे नै होला भन्ने तेरो डर,
गोफ्लेलाई ठूलै बनाउँछु भन्ने मेरो रहर,
गोफ्ले तँ राम्ररी पढ,
सरले जे भन्छ त्यही गर्,
होमकको जोहो तँ गर,
नमकको जोहो म गर्छु,
सुन् बाटुली झगडा नगर,
नाम्लो बोक्दै धाएर अर्काका जडौरी लाएर
तेरो छोरालाई डाक्टर बनाउँछु म ।

दिनको पचास भारी बोक्नुछ,
दश रुपियाँको दरले पाँच सय कमाउनु छ,
साहुको भाँडा माझेर र कपडा धोएर
तेरो खाना जोगाइस् मात्र भने पनि
बाउ छोरा खोले खाएर पनि
हेर बाटुली तेरो छोरालाई डाक्टर बनाउँछु म ।

अरुको कुरा सुन्दै नसुन्,
बनावटी कुरा गुन्दै नगुन्,
धनीले मात्र पढ्छन भनी
मनमा कुरा बुन्दै नबुन्,
रक्सी चुरोट छोडौं,
एकबारको जिन्दगीमा अघी बढौं,
तैंले पढाइमा मात्र ध्यान दे छोरा,
रुखो पिठो जे खाएनि
तँ हुन्छ मात्रै भन्दे बाटुली,
हेर बाटुली तेरो छोरालाई डाक्टर बनाउँछु म ।
मिति २०६९ असार २७ गते
पुनरावेदन अदालत‚ हेटौंडा

नयाँ पुस्ता (New Generation)

----------------------------
संप्रस पौडेल
----------------------------
सुरिलो स्वर लुकाई डेड मेटल गाउँने भयौ ।
बाउ-आमा सक्षमै थिए च्यातेको लाउँने भयौ ।।


आधा आँखा छोपी कपालले गराउने अरे जलन ।
महंगो मोबाइल पछाडी भिरेर फुटाउने कस्तो चलन ?


चाउचाउ सँस्कृतिमा हुर्केर, चिकेन चिल्ली मात्रै रुच्ने ।
बिरामी भए त उपचारै गरुँला, गए ज्यान कहाँ खोज्ने ?

झर्झराउँदो पालुवा पलाउने बेला, ओइलायौ कि झैं लाग्दछ ।
कलियुगमा केटाकेटी हरे, बहुलायौ कि झै लाग्दछ ।।

मादल बेच्यौ अरे, खैजडी भजनमा लाज भो भन्छन् ।
इज्जत हुर्मतको 'बाल मतलब' रे पैसा मात्रै पो गन्छन् ।

सुरिलो स्वर लुकाई डेड मेटल गाउँने भयौ ।
बाउ-आमा सक्षमै थिए च्यातेको लाउँने भयौ ।।

मन्त्रिज्यूका पाँच कामः गरीब हटाउने अभियान



संप्रस पौडेल 'दिवस'
---------------------------
मन्त्री हुनु त यस्तो
जुन काम पनि आफैंबाट शुरु गर्ने ।

कुरा जे गरे पनि बेकार भन्ने
कुरा जति गरे पनि धिक्कार भन्ने
यस्ता होनहार विचारका धनी माननीय
भाषणताषण गर्ने समय होइन यो भन्दै जाग्याछन्‚
आफैंबाट परिवर्तन गरेरै देखाउँछु भनेर लाग्याछन् ।

पहिलो काम गरीबी घटाउनु अरे
देशमा गरीबी घटाउनका लागि‚
आफैंबाट शुरु गरे‚
तीन तीन बंगला बनाए‚ 
छोराछोरी र सालासालीलाई
एकौटा गाडी किनिदिए
धर्मपत्नीलाई मितव्ययी बन्दै कनिकुथी
दुई सय थान साडी किनिदिए ।

दोश्रो काम; बाटाघाटा खाल्डाखुल्डी देखेर
पर्खालभित्र एउटा पौडी पोखरीको खाल्डो खनाएछन्
मर्निङ वाकका लागि जम्मा दुई करोड खर्चेर 
सानो खेल मैदान पनि बनाएछन् ।

तेश्रो काम; खुल‍ा दिसामुक्त क्षेत्र भन्थे
झण्डै आधा करोड खर्चेर शौचालय बनाए
नयाँ शौचालयको उद्घाटन 
प्रधानमन्त्रीबाट गराउने अरे
योजना‚ निर्माण र कार्यक्रमको खर्च
शहरी विकास मन्त्रालयबाट भराउने अरे ।

चौथो काम दाइजोनिषेधित क्षेत्र भन्थे
दाइजो लिनेदिनेलाई कारबाही गर्छु भन्नेले
आफ्नो स्रोतमा दाइजोबापतको सुनचाँदी 
हिरा र बैंक ब्यालेन्स लेखाए
पैतृक तीन कठ्ठा र दाइजोको तीस बिगाहा देखाए ।

पाँचौं काम; कर्मयोगीलाई करछुट भन्दै
आफ्ना आफन्तका उद्योगधन्दाहरुलाई
व्यापक करछुट गराए
आफूले जस्तै अरु मन्त्रीले पनि
गरीबी निवारणमा लाग्नुपर्छ भन्दै कराए ।

मन्त्री हुनु त यस्तो
जुन काम पनि आफैंबाट शुरु गर्ने
हिजै मात्र भन्थेः
"मन्त्री परिषदको बैठकमा मन्त्रीहरुलाई 
जाबो गरीबी हटाउँन नसक्ने भन्दै हकारेँ
आए जति  लतार्नोस्‚ भन्दै एक ढ्याउ डकारेँ ।"

हतार भैसक्यो अरे‚
लौ न गरीबी आजैबाट निर्मूल गर्नुछ‚
जेहोस् गरीबी आफैंबाट निर्मूल गर्नुछ ।
--------------------------------------------
२०७४ श्रावण १०‚ हेटौंडा

Tuesday, May 30, 2017

तिम्रो इङ्लिश र मेरो अंग्रेजी

तिम्रो इङ्लिश र मेरो अंग्रेजीः (part-5)
* UNICEF लाई युनिसेफ भन्न हुने भए WHO लाई 'हु' किन भन्न नहुने ?
* शिक्षकले school भनेर सिकाए व्यापारीले skul भन्दैछन् ।
* वाच सेन्टरलाई व्यापारीले 'वाँच सेन्टर' बनाइदिए ।
* डाम्नालाई damn भन्यौ ।
* एजुकेसनलाई एडुकेसन भन्यौ ।
* गाली गर्दा डुडेँ नभन्नु भन्दै ड्यूड (dude) भन्न सिकायौ।
* फाइनान्सलाई फिनान्स भन्न सिकायौ ।
* फिनेललाई फिनाइल भन्नु पर्छ भन्यौ ।
* देश र ट्वाइलेटको नाम ल्याटिन कसरी भयो ?
* a लाई अ भन्ने कि ए ?
* जक्सन, ज्याक्सन, जैक्सनमा के भिन्नता ?
* अड्कलाइजेशन, अन्दाजीफिकेसन, नेपालोप्याथी, सोमरसोथेरापी, मोज योरसेल्फ नेपाङ्ग्रेजी शब्द खुबै चलेका छन् । यो पनि तिम्रो कमाल हो कि ? 
अली अली जानेको मेरो अंग्रेजी सखाप बनाएर सिध्यायौ इङ्लिशवाला हो ।

च्वास्स २