Tuesday, July 25, 2017

डाक्टर सपना


हेर्दै जा बाटुली,
तेरो छोरालाई डाक्टर बनाउँछु म ।

ढाक्रेको छोरो ढाक्रे नै होला भन्ने तेरो डर,
गोफ्लेलाई ठूलै बनाउँछु भन्ने मेरो रहर,
गोफ्ले तँ राम्ररी पढ,
सरले जे भन्छ त्यही गर्,
होमकको जोहो तँ गर,
नमकको जोहो म गर्छु,
सुन् बाटुली झगडा नगर,
नाम्लो बोक्दै धाएर अर्काका जडौरी लाएर
तेरो छोरालाई डाक्टर बनाउँछु म ।

दिनको पचास भारी बोक्नुछ,
दश रुपियाँको दरले पाँच सय कमाउनु छ,
साहुको भाँडा माझेर र कपडा धोएर
तेरो खाना जोगाइस् मात्र भने पनि
बाउ छोरा खोले खाएर पनि
हेर बाटुली तेरो छोरालाई डाक्टर बनाउँछु म ।

अरुको कुरा सुन्दै नसुन्,
बनावटी कुरा गुन्दै नगुन्,
धनीले मात्र पढ्छन भनी
मनमा कुरा बुन्दै नबुन्,
रक्सी चुरोट छोडौं,
एकबारको जिन्दगीमा अघी बढौं,
तैंले पढाइमा मात्र ध्यान दे छोरा,
रुखो पिठो जे खाएनि
तँ हुन्छ मात्रै भन्दे बाटुली,
हेर बाटुली तेरो छोरालाई डाक्टर बनाउँछु म ।
मिति २०६९ असार २७ गते
पुनरावेदन अदालत‚ हेटौंडा

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २