Tuesday, July 25, 2017

मन्त्रिज्यूका पाँच कामः गरीब हटाउने अभियान



संप्रस पौडेल 'दिवस'
---------------------------
मन्त्री हुनु त यस्तो
जुन काम पनि आफैंबाट शुरु गर्ने ।

कुरा जे गरे पनि बेकार भन्ने
कुरा जति गरे पनि धिक्कार भन्ने
यस्ता होनहार विचारका धनी माननीय
भाषणताषण गर्ने समय होइन यो भन्दै जाग्याछन्‚
आफैंबाट परिवर्तन गरेरै देखाउँछु भनेर लाग्याछन् ।

पहिलो काम गरीबी घटाउनु अरे
देशमा गरीबी घटाउनका लागि‚
आफैंबाट शुरु गरे‚
तीन तीन बंगला बनाए‚ 
छोराछोरी र सालासालीलाई
एकौटा गाडी किनिदिए
धर्मपत्नीलाई मितव्ययी बन्दै कनिकुथी
दुई सय थान साडी किनिदिए ।

दोश्रो काम; बाटाघाटा खाल्डाखुल्डी देखेर
पर्खालभित्र एउटा पौडी पोखरीको खाल्डो खनाएछन्
मर्निङ वाकका लागि जम्मा दुई करोड खर्चेर 
सानो खेल मैदान पनि बनाएछन् ।

तेश्रो काम; खुल‍ा दिसामुक्त क्षेत्र भन्थे
झण्डै आधा करोड खर्चेर शौचालय बनाए
नयाँ शौचालयको उद्घाटन 
प्रधानमन्त्रीबाट गराउने अरे
योजना‚ निर्माण र कार्यक्रमको खर्च
शहरी विकास मन्त्रालयबाट भराउने अरे ।

चौथो काम दाइजोनिषेधित क्षेत्र भन्थे
दाइजो लिनेदिनेलाई कारबाही गर्छु भन्नेले
आफ्नो स्रोतमा दाइजोबापतको सुनचाँदी 
हिरा र बैंक ब्यालेन्स लेखाए
पैतृक तीन कठ्ठा र दाइजोको तीस बिगाहा देखाए ।

पाँचौं काम; कर्मयोगीलाई करछुट भन्दै
आफ्ना आफन्तका उद्योगधन्दाहरुलाई
व्यापक करछुट गराए
आफूले जस्तै अरु मन्त्रीले पनि
गरीबी निवारणमा लाग्नुपर्छ भन्दै कराए ।

मन्त्री हुनु त यस्तो
जुन काम पनि आफैंबाट शुरु गर्ने
हिजै मात्र भन्थेः
"मन्त्री परिषदको बैठकमा मन्त्रीहरुलाई 
जाबो गरीबी हटाउँन नसक्ने भन्दै हकारेँ
आए जति  लतार्नोस्‚ भन्दै एक ढ्याउ डकारेँ ।"

हतार भैसक्यो अरे‚
लौ न गरीबी आजैबाट निर्मूल गर्नुछ‚
जेहोस् गरीबी आफैंबाट निर्मूल गर्नुछ ।
--------------------------------------------
२०७४ श्रावण १०‚ हेटौंडा

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २