Monday, June 21, 2021

माड्साप


एकछिन ल ८

स्कूल जान ठिक पर्दै थिएँ । फोन आयो- "सर एउटा जरुरी काम परेकोले अलिकति पैसा पुगेन । लौ न सापटी दिनुपर्‍यो ।" दुख देखाउँदै भनेँ-"हैन शिक्षकसँग पैसा हुन्छ भनेर पत्याइराख्ने मान्छेहरु पनि अझै छन् र भन्या । तलब त चार महिनामा मात्रै पाइन्छ नि दाइ ।"

उनले झोक्किँदै भने "अनी अगाडीको चार/चार महिनाको तलबचाहिँ जाँडरौसी धोकेरै सिध्याउँछौ कि क्या हो मास्टर ?" तिखा वचनले मन अमिलो भयो ।

उधारो दिने पसलवालाले सबैभन्दा पहिला शिक्षकसँग उधारो तिर्न अनुरोध गर्छ । दूधवालाले पनि उसै गर्छ । डेरामा बस्ने शिक्षकलाई त घरबेटीले सपनामा घरभाडा दिएको देखुन् भनेर महिनाको २९ गते नै अनुहार देखाउँछन् ।

आपत् परेर जाँदा पनि मेडिकलमा उधारो राख्न मिल्दैन । सरकारी दस्तुर उधारो हुने कुरै भएन । सरकार त शैक्षिक बेरोजगारसँग करोडौं राजश्व उठाएर गर्व गरिराछ । बेरोजगारलाई रोजगारी दिने नाममा शिक्षक सेवादेखि लोकसेवासम्म बेरोजगारलाई धोबीले लुगा निचोरे झैँ निचोर्ने नीति संघियतामा फस्टाउँदै गएको छ । रोजगारीका लागि विदेश गएका युवाबाट असूलेर देश पालिएको छ ।

शिक्षक भएर भन्दा नभएर जीवन बिताउँन सजिलो होला । कम्तीमा उधारो दिनेले "ए मास्टर जागिर खाएका छौ तिर न ।" भनेर त नभन्ला नि । आखिर बेकामे बस्नेले पनि ठेक्कापट्टा गर्छु भन्ने त हो नि । दुनियाँले ठेकदारसाब लाइहाल्छन् क्यारे ।

स्कूल पुग्नेबित्तिकै एक अभिभावकले भने "माड्साप ३ मिनेट ढिला भैसक्यो नि ।" म भन्छु "छोरीलाई बोर्डिङमा पुर्‍याउनाले एकैछिन ढिला भयो । फेरि पहिलो क्लास खाली पनि त छ नि ।" उताबाट छड्के आउँछ "ए आफू सरकारी स्कूलाँ पढाएर सन्तानचैं बोर्डिङमा ?" उत्तर दिनैपर्‍यो, भन्न मन  लाग्छ "बारीमा कपास खेती छ कपडा किनेर लाउँछौ? खेतमा लहलह धान, मकै फल्छ चिउरा र बिस्कुटमा किन पैसा खर्चन्छौ, गाइको दूध बेचेर भट्टीमा रक्सी नधोक्दा हुन्नँ ?" तर भनिनँ । निहुरिमुन्टी न लगाएर अफिसतिर लम्किएँ ।

आजकाल मास्टर शब्द सुन्दै साह्रै हासुठ्दो लाग्छ । देउसी खेल्ने केटाकेटीले पनि "ए धाराको पाएप, मास्टर साएप" लगाउँछन् हामीलाई । गीत गाउनेले पनि माया लाउँदै नजानेजस्तो "मास्टर साहेब लगाइदेऊ पिरती" भन्दै जिस्काउँछन् ।

त्यसो त साहेबबाट साब हुँदै सापमा झरेकामा मास्टरसाप, डाक्टरसाप, वकीलसाप, हवल्दारसाप, ड्राइभरसाप सबै हुन् नै । तीमध्ये मास्टरसाप मात्रै अब माड्सापमा रुपान्तर भैसके । त्यसो त आजकाल मास्टरसापहरु पनि ज.. मास्टर, ठे.. मास्टर,.खो. मास्टरमा रुपान्तरण हुन थालेका  छन् । यस्तै मौका पारेर शिक्षकको नेतृत्वमा रहेका नेताहरु पनि शिक्षकलाई माड्सापकै दर्जामा गनिरहेका हुन्छन् । शिक्षकका समस्या सुन्ने ठेक्का पाएकाहरु पनि शिक्षकलाई आफ्नो समस्या घरैमा छोडेर विद्यालय आउन सल्लाह दिन्छन् । दुनियाँका समस्या सुन्नुपर्ने शिक्षकले आफ्नो समस्या राजाको कपाल काट्नेले झैं ‌ओढारमै गएर सुनाउनुपर्ने हो र ?

अब तलबले वृद्ध बाआमादेखि सन्तानसम्मका मुखमा माड लाउन धौ धौ पर्ने पेशाधारीलाई माड्साप होइन शिक्षक भनेर सम्बोधन  गरौं । पढाइ पुगेको छैन भने पढौं । समाज परिवर्तनको महत्वपूर्ण पेशाधारीसँग सापटी मागेर जागिरको धज्जी नउडाउँ ।

कसैले  भेटेमा यो विज्ञप्ती अघि फोन गर्ने दाइलाई दिनु न है ।

.. = जग्गा दलाली, ठे.. = ठेक्कापट्टा,.खो. = कमिशनखोर

स्पष्टोक्तीः यस लेखका प्रसङ्गहरु कसैको जीवनमा मेल खाएमा त्यसलाई आफ्नै सम्झिनुहोला । 

समृद्ध समाज राष्ट्र्रिय दैनिक

स्वाङ्

 छोरी बी कलेजमा विज्ञान विषय पढाउँछिन् । उनका बा बाइ बुढ्यौली उमेरमा पनि मार्सल आर्ट सिकाउँछन् । एकदिनको कुरा हो । बा र छोरी किनमेलका लागि साइकलमा बजार जाँदै थिए । बिरालोले बाटो काट्यो । दुवैले साइकल रोके र आ-आफ्नो बाटो लागे । बेलुका घरमा भएका कुराकानी यस्तो थियो-

बाः छोरी खासमा तिमीले बिहान साइकल किन रोकेका थियौ ? छोरीः उसलाई हतार थियो नि त यसैले ।

अनी छोरी सोध्छिन्: तपाईँलेचाहिँ किन रोक्नु भएको थियो नि ? बाः मलाई हतार थिएन नि ।

दुवैजना ठूलो अट्टहासले हाँस्छन् ।

खासमा बिरालोले बाटो काट्दा अशुभ हुन्छ भन्ने अन्धविश्वास नेपाल र भारतमा पनि छँदैछ । बेलायतमा चाहिँ कालो बिरालोले बाटो काट्दा शुभ मानिँदो रहेछ । अमेरिकामा पनि क्यासिनो जानेक्रममा कालो बिरालोले बाटो काट्यो भने खुबै जितिन्छ भन्ने धारणा रहेछ ।

बाइ आफ्नी छोरीलाई भन्छन्: जुनसुकै रङ भए पनि बिरालोको धर्म भनेको मुसा मार्ने नै हो । कसैलाई जागिरमा नियुक्ती गर्दा पनि रङ, जात, धर्म, लिङ्गमा विभेद नगरी उसको कर्मलाई ध्यान दिनुपर्छ । सही ठाउँमा सही मान्छे नियुक्ती गर्नुपर्छ भन्ने कुरा सबैले सिक्न जरुरी छ । चिनियाँ उखान नै छ नि-मुसा मार्नका लागि बिरालो रोज्दा बिरालोको र नहेर्नू, क्षमता हेर्नू ।

बा र छोरी बेलुकीको खानापछि अनेकन कुराहरु गर्दछन् । आज भने सार्वजनिक सँस्थानमा रहेर शुन्य भ्रष्टाचार रहेका कुराबाट शुरु हुन्छ । गाइ पालेर दुध दोएर खानु हाम्रो स्वार्थ हो । यसैले त हामी दानापानीको व्यवस्था र स्याहारसुसार गर्छौं । अन्यथा मुसा मार्नका लागि घर जलाउँनु पनि त भएन । त्यसो त खरानी पाइने स्वार्थमा स्रोतहरुको चरम दोहन भैरहेकै छ । तिनलाई तिनकै भविष्यले सराप्नेछ । हामी त्यो देशमा छौं जहाँ भ्रष्टाचार शब्दको नाम लिँदा पनि लुगलुग कम्प छुट्छ ।

 

आमा चेन उपस्थित हुन्छिन्- प्रेममा परेको मान्छेलाई सादा पानी पनि गुलियो लाग्छ । त्यसो त मौका पाउने बित्तिकै पूरानो प्रेम र सुकेको दाउरा सल्किन थालिहाल्छन् । व्यक्तीगत स्वार्थ र सार्वजनिक स्वार्थ के हो भन्ने छुट्याउन सकिएन भने व्यक्तीले राजमार्ग, सरकारी भवन, सरकारी जग्गा सबै बेचेर सिध्याउँछन् । कतिपय देशले त आफ्नो इतिहासै बेचेछन् । कोहीचाहिँ विदेशीले लेखेका पनि किन्दा पो रहेछन् त । स्पातदेखि गाडी, रेल, प्लेनसम्म चीनले विश्व बजारमा बेचिरहेको छ । पिउने पानीका लागि पनि झण्डै ५० देश हाम्रो भर पर्नु परेको छ । हामी अक्सिजन ग्याँस बेचिरहेका छौं । ठोस, तरल र ग्याँस मात्रै होइन समय पनि हामी नै बेचिरहेका छौं । मोबाइल चलाएर मान्छेहरु समय किनिरहेका छन् । एकै समयमा धेरै समय किनबेच भैरहेको समय हो यो ।

आफ्ना देशका राम्रै राम्रा कुरा मात्रै सुन्दासुन्दै बी निदाउँन लाग्छिन् ।

बाइ भन्छिन्: अब देशको मात्रै होइन आफ्नो आयू बढाउँन पनि आराम गर्नुपर्छ । सुतौं । देशसम्बन्धी सकारात्मक सन्देशका साथ परिवार निन्द्रामा मग्न हुन्छन् ।

आफैंले ढाड नबङ्ग्याई अरुले बुई चढ्न सक्दैन । चामल, तेल र पानीमा पनि हामी परनिर्भर भएका छौं । आखिर हात्तीले माया गरे पनि झगडा गरे पनि माडिने र फाँडिने त दुबो नै हो क्यार । यसैले देश र परिवेश सुहाउँदो कृषि, उद्योग, रोजगारी, अध्यापन, प्राविधिक उत्पादन जस्ता विकासहरु प्रशस्त भैदिए स्वदेशीपनको शुरुवात हुन सक्छ । पछिल्लो पुस्तालाई देशका बारे राम्रै राम्रो पढाउन पाइने दिनको विकास होस् । आयातित शिक्षा पढेर, सिद्धान्त घोकेर,  उतैका खाना खाएर, लुगा लगाएर, मनोरञ्जनमा रमाएर अन्ततः कर्म गर्न विदेशै पुर्‍याउने देश प्रेमको स्वाङ् बिलकूल सुहाएन ।

समृद्ध समाज राष्ट्रिय दैनिक हेटौंडा २०७८

चिन्ताको मृत्यु


आजकाल मान्छेहरूलाई सबैभन्दा ठूलो चिन्ता 'चिन्ता नलिन परे हुन्थ्यो' भन्नेमा छ । यही चिन्ताले मनोरोग विशेषज्ञ, मोटिभेसनल स्पिकर, प्रवचनवाला दाह्री बाबा, थेरापिस्ट, शहरबजारका धामीझाँक्रीहरूको दुई छाक राम्रै व्यञ्जनका साथ टरेको छ ।
चिन्ताले ज्यूँदो छँदा मात्रै होइन मरेपछि पनि छोड्दैन । हजुरबा दानपान गर्न चाहनुहुन्थ्यो । बा पनि त्यस्तै । हजुरबाको बा पनि उस्तै होलान् भन्ने लख काट्न थाल्याछु ।
बा भन्नुहुन्छ "आज राती सपनामा हजुरबाले फलानो स्कूलको अक्षयकोषमा १ लाख जम्मा गर्दे भन्नुभो" । मलाई अर्को चिन्ता बढ्यो । सरसापटी र ऋणव्याज मिलाउँनै हम्मेहम्मे पर्दा अक्षयकोष कसरी खडा गर्नु । हजुरबा बितेको पन्ध्र वर्षपछि पनि उहाँको चिन्ता झन् हुर्हुरिएको रहेछ । मर्नेको चिन्ता बाँच्नेहरूमा सर्दोरछ । त्यसो त मलामी जाँदा सबैले गुणगान गाएकै हुन् । चर्चा सुन्दा‌ मर्ने व्यक्तीका कारण यो सालको ओस्कार, बुकर, पद्मश्री र मदन पुरस्कारहरू खाली हुने जस्तै ठानेका थियौँ । हामीप्रति उनीहरूको कत्रो चिन्ता भन्ने लाग्थ्यो । सबैको यस्तै हुँदोरछ । बिरालो बाँध्ने परम्परा भनेजस्तो । पहिले पहिले "तपाईँका बा/आमासँग मैले सापटी लिएको" भनेर धनसम्पत्ती मृत्युपछि फिर्ता गरेको अनी लिनुपर्नेले पनि एकबोलीमै छोराछोरीबाट फिर्ता पाएको सुनिन्छ । आजकाल पापधर्मका दिन‌ गए । र त चिन्ता झन् झाँगिएर आयो । सज्जन न फटाहा सबैले मर्नैपर्छ । आफूले झैँ गर्नु वा नगर्नु है भनी दिएको सन्देश, उधारो तिर्नुपर्ने चिन्ता, सापटी खेर ग‌एको चिन्ता... अनेकानेक चिन्ताले चितामै सती जाउँ झैँ गर्नेहरू पनि हुन्छन् । उतिखेर रायप्रसाद, रायबहादुर, रायचन्द, रायराम, रायनारायणहरू प्रशस्तै निस्कन्छन् । अनी यस्तो भन्ने मोटिभेसनल स्पिकरहरूले नै दुखमा मल्हम लगाउँछन्, "तेरो मात्रै हो र, मेरो पनि खाएर गयो ।" यी चिन्तेहरूले नै बरू मन बहलाउन सघाउँछन् । पहिले खान नपाउने चिन्ता, अहिले खाएर रोग लाग्ने चिन्ता । चिन्ता पनि कति हो कति । पहिले पहिले छरछिमेकी गाउँलेहरू 'बाछो ब्याओस् कि बाछी ब्याओस् भतुवालाई बिगौती' भनेझैँ चामलको भात खान छरछिमेकका श्राध्द कुर्थे अरे । कोही कोही त भात लागेर चितामै पनि पुग्थे होलान् । तिनको पनि श्राध्द हुन्थ्यो र फेरी अरू कोही चामलको भात खान पाउँनेमा चिन्ता मुक्त हुन्थ्यो होला । चिन्ताको मृत्यु पनि मान्छेको मृत्युसँगै हुन्नँ कि कसो हो खै । चिन्ताले चितामा पु-याउँछ भन्छन् । सगरमाथाको टुप्पो, डेथभ्यालीको फेदीदेखि चन्द्रमा, मंगल जहाँ जहाँ पुगे पनि मृत्यूभन्दा बढी सत्य अनी चिताभन्दा पर जाने ठाउँ पनि त संसारमा कहाँ पो छ र ? लेखकको व्यक्तीगत राय के छ भने जिउँदो मात्र के, मरेपछि पनि दुनियाँलाई व्यस्त, मस्त बनाउँने हुँदा चिन्ता लिन नछोडौँ । डाक्टरहरू त भन्छन्, खुशी हुँदा, हाँस्दा कोषहरू सकृय हुन्छन् । अझै थप्छन्, जो हाँस्छ, त्यो धेरै बाँच्छ । मान्छेले ज्यादै चिन्ता लिएर आजको आजै भुतुक्कै मरिहाल्ने पनि होइन रहेछ । यसैले भनिन्छ नि चिन्ताले बिस्तारै मार्छ । आखिर कसलाई हतार छ र ? ------------ २०७७ कार्तिक १६, हेटौँडा
लेख सम्पादनका लागि आदरणीय हास्यव्यंग्य सर्जक श्रीमान आर. सी. रिजालज्यूप्रति आभारी छु ।
यो लेख समृद्ध समाज राष्ट्रिय दैनिकका लागि 'एकछिन ल' स्तम्भका लागि लेखिएको पहिलो लेख हो ।

तिउन जति तरकारी भएपछि…

 मप्रसाद साह्रै सोझो मान्छे । सोझो पनि यति नि, कतैबाट आफ्नै घर फर्किंदै गर्दा यता होइन उतातिर पो हो त भनिदियो भने उतै फर्कने खालका । जीवन गुजार्न खेतीपाती गर्थे । अनुदानका नाममा कतै बिक्री नभएर अलिकति बीउबिजन पाएका थिए । सहकारीका सदस्य नभएकाले सहकारीले उसलाई मल दिनु हुँदैन भन्ने तानाशाही नियम छरछिमेकी सदस्यहरुको थियो । यस्तै मलको संकट पर्दा गाईवस्तुको गोबरमल हाल्थे । बाली राम्रो भएको खबर सुलसुले मिडियाबाट प्राप्त भएपछि कृषि कार्यालयका हाकिमहरु विदेशी डोनर लिएर आउँथे । युट्युबरहरु क्यामेरा र माइक तेस्र्याउँदै काममा बाधामात्रै दिन्थे । परिवार पाल्न धौ–धौ आम्दानी हुँदा पनि उनीहरु महिनाको चार लाख घरमै बसीबसी कमाइने भन्दै विज्ञापन गर्थे । कृषिका कर्मचारी पनि खाँट्टी दूधको खिर, पुरी, तरकारी, काँक्राका चिरा आदि खान्थे । भुँडी अटेसमटेस हुनेगरी अघौंची घिचेपछि पूरानो ग्यास्टिक सम्झिन्थे । विदेशी नआएका बेला भने फर्कनेबेला झोलामा कोसेली पनि लिएर जान्थे ।

एउटा प्राविधिकले कृषि कार्यालयले पठाइदिएको भन्दै धुलिया लाग्न थालिसकेको बीउ कोसेली पठाइदिएछ । तीन दिनमा उम्रनुपर्ने बीउ तेह्र दिनसम्म सुरसारै गरेन । अर्को बीउ खोज्दा र रोप्दा बाली ढिला भयो । यो पटक उनका केटाकेटीहरुले खेतमा कार्पेट बिछ्याएर धान रोपाईंको उद्घाटन गर्ने तयारी मिलाए । स्वदेशी प्राविधिकको अनुहार पनि आजै देखे, मप्रसादले । चुनावपछि बल्ल धान रोप्नमात्रै फर्किने भनिएका कृषिमन्त्री खेतमा आउन नभ्याएकाले उतै गमलामैं रोपेर उद्घाटन गरेको खबर आयो । आफू देशभरका किसानहरुकै प्रतिनिधि पात्र भएको ठान्ने मप्रसाद साह्रै चिन्तित भए ।

मप्रसादका छोराछोरी सबै विदेशिएका छन् । बुढाबुढी जो सकेको मिहिनेतले बाली उब्जाउ गर्छन् । घरका बुइँगलमा मुसा रोइरहेका हुन्छन्, बारीमा चरा पर्खिरहेका हुन्छन् । नेतृत्वमा रहनेले चुनढुंगा बेच्ने, राजमार्ग र विमानस्थल बनाउने नाममा हरिया वन सिध्याउँदा हर्ष माने जस्तो डहरकै नजिकका खेत भएकाले गार्ईवस्तुले पनि हरिया बाली देखेपछि मन मार्न सक्दैनन् । आक्कलझुक्कल पर्यटकका रुपमा सलह, गुबो खाने किरा, फट्के आदि पनि आइलाग्छ । जोगी, माग्ने, भिखारीसम्मलाई पाल्न पनि खेतीपाती नगरी धरै छैन ।

यसपाला मप्रसादले विविध तरकारीहरु उब्जाउ गर्‍यो । बेचेर तिर्ने शर्तमा बीउबिजन, मलखाद, विषादी ऋण गरेरै किनेको हो । शहरमा बेच्न लैजाँदा प्रतिकिलो भाडा २ रुपैयाँ, भारी बोक्ने सिण्डिकेटबाट ५० पैसा बोकेको ज्याला, एजेन्टको चार्ज प्रतिकिलो ४ रुपैयाँ, व्यापारीको मूल्य प्रतिकिलो १० रुपैयाँले बेच्यो । केही पटक यसैगरी तरकारी बेच्दै गर्नुपरेपछि बचेको पैसा लिएर बीउबिजन, विषादी, मलको पैसा तिर्न गयो । हरहिसाब गर्दा अझै अर्को बाली कुर्नुपर्ने देखियो ।

तरकारीको डोको लिन व्यापारीकहाँ पुग्दा ग्राहकले सोधेको मप्रसादद्वारा उत्पादित तरकारीको मूल्य प्रतिकेजी ५० रुपैयाँ पुगेको थियो । आज उसले गाउँका तिउनजति बजारमा तरकारी भएपछि महंगिँदा रहेछन् भन्ने थाहा पायो । ऊ थप ऋण नबढाउनका लागि खेत बाँझो राखेर बस्ने निर्णय गर्दै घर फर्कियो । सरकार भने खेत बाँझो राख्ने किसानको खेत कब्जा गर्ने नियम बनाउँदै थियो ।

समृद्ध समाज राष्ट्रिय दैनिक २०७७ जेठ ३१

बुढ्यौलीका कुरा

 जुन घरमा वृद्धवृद्धा छन्, त्यो घरको बालबच्चा सबैभन्दा बढी वौद्धिक हुन्छन् । वृद्धवृद्धाले थरीथरीका अनुभव, नीतिकथा, चालचलनका जानकारी गराउँछन्, त्यो अनुभवले बालबालिकाले नैतिक विकासमा ठूलो टेवा पुग्छ । बुढाबुढी व्यक्ती मात्र होइनन्, सिङ्गो इतिहास र अनुभव हुन् । तपाईँ-हामी बुढाबुढीका साथमा छौँ भने संसारकै सबैभन्दा भाग्यमानी हुनेछौँ ।

हप्ताको एकदिन भ‌ए पनि वृद्धवृद्धासँग समय बिताउनु, अनुभव साट्नु, उनीहरूका कुरा सुन्नु र सहज जीवनका लागि ढाडस दिनु ठूलो मानवीय कार्य हो । यो अवसर सबैलाई प्राप्त पनि त हुँदैन नि ।

यी दिनहरू आफ्नै गाउँठाउँका छरछिमेकी वृद्धवृद्धासँग कुराकानीमा समय बिताउँदैछु । उहाँहरूका अनुभव, स्मरणयोग्य घटनाहरू बारे यहाँ चर्चा गरेको छु ।

एकजनाले वर्षभरीमा १५/१६ वटा श्राध्द गर्ने गरेको सुनाउँनुहुन्छ अधिकारी हजुरबा । अनी ६ हजारमा किनेको खेतबारीको मूल्य २ करोड पुगेको कुराले पैसाको मूल्य साह्रै सस्तो भ‌एको बताउनुहुन्छ । एउटा जग्गाले अर्को जग्गा किनिरहेका मान्छेहरू पैसाले पैसा किनिरहेका छन् अरे ।

१ पैसामा लालपूर्जा बनाएको, अरूले १ पैसा पनि नभ‌एर लालपूर्जा बनाउन नसकेको कुरा सुनेर अचम्म पनि लाग्यो ।

कति सालहरू त धान खानलाई श्राध्द, पूजा र दशैँ जस्ता चाड नै कुर्नु परेको कुराले मन छोयो । मकै, कोदोको ढिँडो खाँदा खाँदा घाँटीको प्वालै ठूलो भ‌एको जस्तो भयो भन्दा अर्को पटक अवाक् भ‌एँ । धान लाग्ने जग्गा हुनुलाई गर्वका साथ हेर्ने समय बारे जानकार भ‌इयो ।

११ हजारमा ३१ कठ्टा जग्गा किन्दा स्थानीयले २ हजार बढी तिरेको भन्दै गाली गरेको (अहिले २।४ करोड लगभग) हाम्रा बाका कुरा सुन्दा अचम्म नै लाग्यो । उतिखेर २ हजारले त अर्को कित्ता नै किन्न सकिने पो रहेछ ।

३०/४० वटा बाख्रा, ४/५ वटा भैँसी, १८/२० वटा गाइ, सिङ्गै डाँडा कुँडार प्रयोग गर्ने परिवारलाई पनि पैसा चैँ देख्न मुस्किल हुने रहेछ । ऐँचोपैँचो नै मूख्य कारोबार रहेछ । मेलापातमा पर्म प्रथा अहिले पनि कायम नै छ । तर पैसा हुने र काम गर्न नसक्नेहरूले ज्याला दिएर काम लगाउँछन् । कृषिमा त्यसले फाइदा त दिँदैन नै तर खेतबारी बाँझो भने बस्दैन । हामीले देखेको फरक के हो भने आजकाल ज्याला गर्नेलाई कोल्ड ड्रिङ्क, कसैकसैलाई लोकल रक्सीसम्म खुवाउनुपर्छ । कृषी कार्य गर्न केही ठाउँहरूमा बियर र मासु अनिवार्य छ ।

२०४०/४२ सालमा १०० रूपियाँको मासिक व्याज १० रूपियाँ तिरेको, त्यसको वार्षिक कोशेली १ मुरी मकै, १ मुरी धान नतिर्दा झैझगडा परेको कुरा पनि सुनियो । धान रोप्ने, चुट्ने, मकै रोप्ने, भित्र्याउने समय साहुकै बारीमा बिताउनु पर्दा आफ्नो काम रातैभरी गर्नुपरेको सम्झँदा दुख पाउन मात्रै जन्मेको हो कि भन्ने परेको पीडा पनि सुनियो ।

बिबाहमा २ पैसे ढ्याक गोडा धोएर दिएको कुरा पनि चर्चाकै विषय बने ।
जङ्गलमा गोठ राखेर दुध, घ्यू, खुवा अत्यधिक खाइएको र त्यसैको आडले अहिलेसम्म बाँचेको कुरा सुवेदी ठूल्बा सुनाउँदै हुनुहुन्थ्यो ।

बाघको मुखबाट कलिलो बाच्छो थुतेर ल्याएको भन्ने आमाको कुराले म दङ्ग परेर हेरिरहेको थिएँ । सँगसँगै आधा रातमा एकपाथी दुध बेच्न होटल धाएको, अघीअघी गैँडाको हुल पछिपछि आफू हिँडेको बाको कुराले आङै सिरिङ्ग भयो ।

अहिले हरियो मकै बारीबाट ६ रूपैयाँ प्रतिघोगामा बेचेको कुरा अधिकारी हजुरबाले सुनाउँदा बजारमा ३० रूपैयाँमा बिक्री भैरहेको मैले जानकारी गराएँ । बीचको २६ रूपैयाँ अर्कैले खाइरहेको रहेछ, अहिले कृषिमा भैरहेको नै यही हो । वास्तविक किसान ज्यूँनु न मर्नुसँग कृषी धानिरहेका छन् ।

प्रधानमन्त्रीदेखि विपक्षी, सरकारदेखि सडकसम्मका कुरा पनि भ‌ए । तर तिनका कुरा गरेर को नै थाक्ने हो र सामन्तहरूको दबदबा रहेको समयमा हुर्किएर अहिले बुढेसकाल लाग्दासम्म रामराज्य आएको विश्लेषण सुनेर नयाँ वर्षको पहिलो दिनको भेट टुङ्ग्याइयो ।

वृध्दवृध्दाले हात थाप्दा केही दिन सकौँ, बाटो काट्दा सहयोग गर्न सकौँ, यात्रामा ठाउँ दिन सकौँ, लाइनमा बस्दा पालो दिन सकौँ । ज्यूँदा इतिहासहरूको जय होस्, जुग जुग जिउनुहोस् ।
(यो लेख डिल्लिपुरमा तयार गरिएको हो । जानु भ‌एको छैन भने मनहरी गाउपालिकाको यो ठाउँ घुम्न जानुहोस् न है ।)

समृद्ध समाज राष्ट्रिय दैनिक २०७८ जेठ

नाम

 नाममा के छैन, सर्वथोक छ । जे छ नाममै छ । पत्याउनुहुन्न ? आउनोस् केही प्रसंग हेरौं । नाम दिन जान्यो भने सिउँडी पनि ठूलै मूल्यमा बिक्री हुँदोरछ । ड्रयागन फल भनेका छन्, सिउँडीका फल बेचेका छन् । चैते फूलका नाममा कोइरालो जति बिक्री भइसके । थरमात्रै होइन, पञ्चायतकालमै अधिकार पाएर अधिकारी लेख्नेहरू पनि छन् । पण्डितले पण्डित्याईं गर्न छोडिसके । न द्विवेदीले दुई वेद पढेका छन्, न चतुर्वेदीले चार वेद । तैपनि ‘नाममा के छ र ?’ थेगो गाएर बसेका छन्, मान्छेहरू ।

नामले व्यापार पनि त बढाएको छ । ‘हर्बल’ नाम थपेर केमिकल उत्पादन बेचिरहेका छन् । हर्बल टुथपेस्ट, हर्बल लिपिस्टिक, हर्बल साबन, हर्बल लोसन, जताततै हर्बलै हर्बल । नाममा के छैन ? नाम दिएर नै भुटेको मकैले ‘पप कर्न’को ब्राण्ड पायो । तरबरे, चरेला, चुच्चे करेला, बरेला अनेक नाम गरेर भए पनि झुक्याई झुक्याई खाइन्छ ।

आजकल त चुरोट पनि हर्बल आउने रहेछ । मदिरा पनि आएको होला शायद । जाँड धोक्नेलाई जँड्याहा भनेपछि हर्बल मदिरा घुट्काउनेलाई के भन्नुपर्ने होला ? नेता–नेता जुधेका छन् । ‘मुँचका लडाइँ’ भनेका छन्, जुँगालाई दोष लाएका छन् । अनि दाह्री पाल्नेको नामै दाह्री । दाह्रीको भारी पनि देख्नेलाई मात्रै हुन्छ, पाल्नेलाई हुँदैन । दाह्री झड्काल्यो धुलो झार्‍यो, धुलो हो कि दाह्री हो नाममात्र बाँकी छ ।

नाम पहिचान हो । नाम परिचय हो । नाम इज्जत हो । नाम जागिर हो । नाम कमाई हो । नाम सर्वथोक हो । सम्धीको नामले सम्धीहरूले जागिर पाएका छन् । भिनाजुको पदले सालीहरू विदेश घुम्न पाएका छन् । दिदीको पहुँचले बहिनीहरूले एनजीओ चलाएका छन् । काकाको ढाडसले भतिजहरूले म्यानपावर हल्लाएका छन् । नामले नाममात्रै होइन, सर्वनाम नै बदलिदिएको छ ।

‘लङ्का जलाउने हनुमान, पगरी गुथ्ने ढेडु’ । ‘बाघको छालामा स्यालको रजाइँ’ । ‘आलु खाएर पेडाको धाक’ । नाम बेचेर खाने पनि हाम्रै वरपर छन् । आफूलाई स्वघोषित विद्वान बनाएका छन् । भोगीदेखि जोगीसम्मको अभिनय यात्रामा सफल छन् । मान्छेहरू नामलाई जोडेर तथानाम भन्दाहुन् । नामले सबैको नाम बनाओस्, बद्नाम नबनाओस् ।

समृद्ध समाज राष्ट्रिय दैनिक २०७७

त्यसपछि दाह्री पालेँ

 साथीभाइ भन्छन्, “ओइ दाह्रीको भकारी, खुइल्याइदे कति पाल्छस् ।”

बाआमा भन्नुहुन्छ, “स्वास्नी–छोर्छोरी पाल्ने उमेरमा केही नपाएर दाह्री पालिस् है ।”
कुरा त ठीकै होला, बाआमाले पो मलाई पाल्नुभयो म के पालुँ…

मामाहरु भन्नुहुन्छ, “अब गेरु वस्त्र किनेर ल्याइदिन्छौं, बम भोले भन्दै हिँड्नु भान्जाबाबु ।”
‘भान्जाबाबु’ पनि भन्ने अनी जोगी बनाएर लखेट्ने ‘के पारा चलाइस्यो’ मामाहरुले, बुझ्नै नसकिने ।
,,,,,,,

अनी म कविता लेख्छु । कविताचाहिँ बन्यो कि बनेन, नबने कविता बनाउने मिस्त्रीले जोडजाड, ठोकठाक, ताछतुछ, मिचमाच, तानतुन गरेर भए पनि कविताको फ्रेमभित्र अटाउने बनाइदिनु है ।

सन्तानलाई ऋण लाग्ला कि भनेर बाले रोग पाले
तिनै सन्तान भोकाउलान् कि भनी आमाले भोक पाले
देश बनाउला कि भनी दुनियाँले नेता पाले
कसैले कुकुर पाले कसैले सुँगुर पाले
नेताले गुण्डा पाले, गुण्डाले नेता पाले
जसले जे पाले, उल्टै मलमूत्र सोहोर्ने बनाए
खुवाउनु पनि नपर्ने, नुहाउनु पनि नपर्ने
कसैले बेलुनजस्ता ब्रोइलर पाले,
कसैले कपास जस्ता कुकुर पाले
धुलो यसो झड्कार्यो, पसिना उसो फड्कार्योत
पाल्ने चिज केही नपाएर मैलेचाहिँ दाह्री पालेँ ।

यस्तो राष्ट्रप्रेमले ओतप्रोत ‘युवा कविता’ राष्ट्रिय कविता प्रतियोगितामा प्रथम हुने ठानेर मख्ख थिए्ँ । सपनाहरु पनि आफ्नो अनुकूलकै देख्थेँ । अघिल्लो दिनको घटना नभइदिएको भए मेरा सुकेका जिउ पनि केही दिनमै फुक्थे होलान् । घटना यस्तो थियो,

देशमा विकास बाहेक केही थिएन । चारपुस्ते फ्रि वाइफाइ, बिजुलीगाडी मात्रै चल्ने गाउँसहर । सहरका सफा पानी, गाउँमा फक्रक्क परेको जवानी । आहा । देवकोटा अहिले हु्ँदा हुन् त “स्वर्गको टुकुडा” अझै लम्ब्याउँथे होलान् झैं लाग्ने ।

एक दिन, यो युगमा पनि कसैले चटपटे खाएर २० बर्षे तरुनीको चिल्ला गाला झैं बनेको नेपालको कुनै सडकमा एउटा खोस्टो कागज टिपेर धुरु धुरु रोइरहेको थिएँ । कसैले वातावरणविद् होलान् भनेर खादाहरु भिराइदिए । अबिर र माला अनी दोसल्ला र हल्लाहरु सडक किनारमा बाह्रै महिना वसन्त ऋतु देखाइरहने मनमोहक दृश्यहरु छोपिरहेको थियो ।

अँ साँच्ची खानेले खाइसकेपछि मेरै कविताको खोस्टो यसरी नफालिदिएको भए हुन्थ्यो नि है । बेलैमा विदेश जानेले बरु के के फाले के के पाले । खान नपाए नि माटै खाउँला नेपाल आमा भन्ने भाको, सभ्यता, नैतिकता, आचरण, आत्मसम्मान, गर्व, हर्ष आदि आदि पाल्नलाई कतै नभेटाएर मैले दाह्री पालेँ ।

समृद्ध समाज राष्ट्रिय दैनिक २०७७

स्यालको नेतृत्व

 बुढो बाघ काल गतिले मर्‍यो । सारा जनावर राजा को बनाउने भन्ने ध्याउन्नमा लागे । राजा हुन जोकोही चाहन्थ्यो तर चाहेर मात्रै कहाँ हुन्छ र ? सबैलाई स्वीकार्य पनि त हुनुपर्‍यो ।

एउटा खैरे स्याल ती सबैमध्ये चतुर थियो । राजाका धेरै आनीबानी उसलाई थाहा भएकाले उसले राजा हुनेमा आफ्नो मात्रै योग्यता रहेको भ्रम थियो । उसले त्यही बाघको सिनोबाट छाला छुट्यायो र खोल ओढेर जनावरमाझ आयो । ऊ कुनै देशबाट फर्केर आएको र पहिलेकै राजाको राजकुमार भएको पनि बतायो । झट्ट हेर्दा राजाकै अनुहार परेको देखेपछि सबैले उसका कुरा पत्याए र राजा घोषणा गर्ने बन्दोबस्त गर्न लागे ।

राजा हुन पाइने भयो भन्नेमा स्याल र उसका अन्य स्याल मित्रहरु ढुक्क थिए । उसले थुप्रै गोप्य भोजको आयोजना गर्‍यो र आफू जस्तै उटपटाङ्हरु जम्मा गर्न थाल्यो । सित्तैमा मिष्ठान्न भोजन खान पाइएपछि उसलाई सबैले भोजबाटै राजाको अलंकार पहिराइदिन्थे । ऊ त्यसै त्यसै मख्ख थियो ।
उचित साइत पनि जुर्‍यो । मरेको बाघको खोल ओढेको स्याल राजा घोषित भयो । उसै त धुर्त स्याल त्यहीमाथि बाघको छाला र राजाको पगरी पनि भिरेपछि ऊ मैमत्तको भयो । नजिकका केही सल्लाहकार र सुसारेका सहयोग पाएपछि उसले मनमनै आफैंलाई भूमण्डलकै राजा सम्झ्यो ।

राजकाज र जीवजन्तुका समस्या सुन्ने, झैझगडा मिलाउने, कामदारहरुका रासनपानीमा ध्यान नदिने तर आफू नभए संसारै प्रलय हुनेसम्मको कथा गुथेर अरुलाई त्राहीमाम बनाउन खोज्थ्यो । उसका धमिला पेट र चिप्ला मुखबारे कमैले चाल पाए । एउटाले बिराउँदा अर्काको कान काट्ने उसको न्यायिक सिद्धान्तबाट सबै आजित थिए ।

काम फिटिक्कै नगर्ने तर गाउँगाउँ डुलेर कुखुरा चोर्ने र चिया चौतारो, रक्सीभट्टीबाट सुराही तन्काउनेसम्म गर्न थालेपछि मानिसहरुले शंका गरे । उसको दिनरातको चियो चर्चो हुन थाल्यो । एकदिन राती सुत्ने बेलामा उसले ओढेको बाघको खोल शरीरबाट उतार्‍यो र कतै राख्यो । सुसारेको सहयोगमा सो खोल बाठो खरायोले सुटुक्क लियो ।

बिहानै झिस्मिसेदेखि खोल ओढेका राजाको उर्दी सुन्नुपर्ने कर्मचारीहरु आनन्दित थिए किनभने निकै दिनदेखि दरबारमा राजा अनुपस्थित थिए । खरायोले सबै जीवहरुलाई भेला गर्‍यो र भन्यो “साथीहरु राजा नभए त राजकाज कसले गर्ने ? राजा दरबारबाट बाहिरै ननिस्किने भए । अब उल्का हुने भयो । सबै भएर तिनलाई निकालौं ।” सल्लाह उचित ठानी सबै दरबार प्रवेश गरे । आफ्नो बारे सुइँको पाए भन्ने ठानेर जो लाउँछ चुक्ली उही जान्छ फुक्ली भनेझैं स्याल झ्यालबाट हाम्फालेर भाग्यो । अब सबैले राजा भनिएको जन्तु स्याल भएको पत्तो पाए भने केही केहीले आँखैले देखेर पनि स्याललाई राजाकै तक्मा दिइरहे ।

तपाईँ हाम्रा वरपर पनि आफ्नाँ स्वार्थका लागि जे पनि गर्न र भन्न सक्ने यस्तै बहुरुपी मानिसहरु हुन सक्छन् । बचौं । कुखुरा कुर्न स्याललाई नाइके नबनाऔं । अन्देखा गर्‍यौं भने साधुलाई शुली चोरलाई चौतारो हुनसक्छ । गाई खाने बाघले बाछो पनि त खान सक्छ ।

स्यालको नेतृत्व | Samriddha Samaj

सडकको गीत

 १.

सडक संघर्ष अत्यन्त उत्कर्षमा थियो । तगडा भाषण चल्थ्यो । अगुवा बम्किन्थ्यो, पछुवा चम्किन्थ्यो, पाइला माइकदेखि अनलाइनसम्म लम्किन्थ्यो । किसान रोइरहेका थिए, मजदुर शोकमा थिए, शिक्षक विद्यार्थी डराईडराई विद्यालय जान्थे । व्यापारीहरू चुनावअघि पहिले जस्तै तर्सिएका थिए ।

२.
ढाडिएका भ्यागुताहरू भुँडी घटाउने कसरतमै व्यस्त थिए । ढ्याउको हुंकार, अपान वायुको विकारले सडक अपार थियो । सपना साकार हुनेमा तिनका सेनामेना ढुक्क थिए । हुन त पहिले पनि यस्तो हुन्थ्यो । सडक छापहरू लालमोहर छाप गर्ने हैसियतमा पुगे, सबै विगत बिर्से । तर सडकलाई यो सबै एकएक हरहिसाब याद छ ।

३.
सडक ओर्लनासाथ जोकोही आफूलाई क्रान्तिकारी ठान्थ्यो । किन नठान्नु त, घरमा श्रीमतीलाई घुक्र्याएर देश राजनीति सुधार्न सडकमा आएको हुँदो हो । क्रान्तिकारीहरू होस्टे हैँसे लगाएर सडक फुट्ने गरी ग्याँस छोड्थे, त्यसमा पनि परर ताली पड्कन्थ्यो ।

४.
हिजो नेपालै जितेकादेखि शिक्षकलाई तह लगाउन राजनीतिमा छिरेकासम्म सडकमा थिए । ढाडिउञ्ज्याल ढ्याउसम्म लुकाएर बसेकाहरू सडकमा भोकमरीको गीत गाउँथे । उपस्थितहरूले बुख्याँचा बनेर नाचिदिनुपथ्र्यो । अगुवाहरू सहमतिको गन्ध सुँघेर बसिरहेका थिए । भुईँको मान्छे भुइँमै हराउँछ भन्ने बिर्सन्थे भुइँ मान्छेहरू ।

५.
एउटा ढाडी नाइके बोल्दाबोल्दै हात्तीलाई नाङ्लो ठटाएजस्तो चारपटीबाट ताली गर्जन्थ्यो । एउटाले सोध्यो “के बोल्नु भो उहाँले ?” अर्कोले बोल्यो “अर्थोक नसोध् सबैले बजाइराछन्, तँ पनि बजा” ।

६.
राष्ट्रिय सडक व्यक्तिको नाममा पास भैरहेको छ । खुशियालीको सिन्दुरजात्रादेखि बिरोधको टायरजात्रासम्म सडकले खेप्नु परेको छ । सडक पनि अभ्यस्त भैसक्यो आजकाल । “नेपाल हो नि, नेपाली हो नि ।“ थेगो सडकले जन्माएको हो । अर्थात् नेपाली हो नि, नेपाली राजनीति हो नि, नेपाली किसान हो नि, नेपाली विद्यार्थी हो नि । कति मर्महरू जोडिएका छन् यीसँग सडकको । सडकमा सुतेर धर्ना बस्दाबस्दै किसान मरेका छन् । यसको जिम्मा सडकले लिनुपर्छ भन्नेहरू पनि निस्किएलान् । अर्थात् मृत्युको दोष मृतकलाई नै भिडाउनुपर्ने नजीरहरू पनि बन्लान् ।

७.
सडकका नाइकेका केही सेनाहरूले स्वतन्त्र भएको घोषणा पनि गरे । भोलि बिहानै पार्टी कार्यालयमा जुठो खानुअघि घोषणै नगरे हुन्थ्यो । सडक यस्तो सोच्दै थियो कि ।

८.रोगी, भोका, दयावान्, बृद्ध, अबोध बालबालिका, भद्र महिलापुरूषहरूलाई छातिमा टेकेर उद्देश्य पूरा गर्न सहयोग गर्ने सडक भिडभाड, चेपटचटपट, पाकेटमार ठग, रोग, शोक, हैरानी, द्वेष, क्लेष, रीस, उन्मादलाई बोकेर हिँड्नुपर्दा आक्रान्त छ । सडकलाई उसकै गतिमा दौडिन दिउँ । अब त सडकलाई शान्ति दिउँ । बरू रचनात्मक आन्दोलन बारे सोचौं ।

एकाएक एउटा जत्था आइपुग्यो र जिन्दाबाद मूर्दावाद घन्कायो । एउटाले टायर बाल्यो, अर्कोले दमकल चलायो । सडक बाँच्दै र मर्दै तेर्सिरह्यो ।

सडकको गीत | Samriddha Samaj

हजुरबाको फ्यासबुक् ।

 “सप्पैको बनिसक्यो अरे, मेरो खोई ?” के हजुर्बा ? “घ्यारी… यता सुन् वाँ जस्ताघरेभन्दा गोडा दुई वर्षले त जेठो हुँ म । बुझिस् ।” बुझिनँ हजुर्बा । केको कुरा हो ? “मैले भत्ता खान नपाए तेरा टाउकाँ टुटुल्का उठाइदिन्छु नि ।” हजुर्बा निकै कड्किनु भो ।

लमतन्ने गाली र सत्तोसराप सुनिसकेपछि पो बल्ल थाहा भयो । अन्तमा यसो भन्नु भोः “वृद्ध भत्ता खानेबेलाँ पनि २ वर्ष ढिलै भएछ । शुभ कार्जेमा ढिलो नगर् बाबु । मेरो पनि फ्यासबुक् बनाइदे ।”

टिकटकले नेपालीको हरेक भान्छामा भात डढेको वर्षौं भैसक्यो । मान्छे होटलमा त्यसै भात खान जादैन नि । त्यही चामल उसिन्ने हो, भुटनमा आलुप्याज झानेर मरमसला लेदो घोटेर झ्वाइयँ पार्दिने हो । तिहुन् पाकिगो त । दुइटा गोलभेँडा सिलौटा ठटाएर नुनचुक छर्दिएपछि चट्नी भैगो । दुनियाँलाई सम्झाउनुभन्दा हजुरबालाई नै सम्झाउनु सजिलो छ बरु । आ हजुर्बा मान्छे चन्द्रमा पुगिसके, अन्तरिक्षमा तरकारी फलाएर खाइसके, समुन्द्रमुनि बस्ति बसाइसके, मंगल ग्रहमा बजारै बनाउने भनेर लागिराछन् । तपाईँ भने फेसबुकका कुरा नगर्नुस् अब । हजुर्बा दुई नम्बरी गाली गर्दै भन्नुहुन्छ “…जा उसो भए चन्द्रमा जाने टिकस लेर आ ।” हजुर्बा हामीजस्तालाई चन्द्रमाको टिकटै त कहाँ पाइन्छ र भन्या । बरु म फेसबुक खोल्दिन्छु तपाईँको । अनी त्यसमा लेख्ने, कोर्ने, दाँत देखाएर हाँस्ने, अर्कालाई गाली र ताली गर्ने कामचाहिँ कसले गर्छ नि ? तपाई त सक्नुहुन्नँ । हजुर्बाको जवाफ यस्तो आउँछ, “तँलाई यत्रा पढाको के काम त ?” कुरो ठीकै पनि हो । मेरो पढाई हजुर्बालाई काम नलाग्ने पनि हुन्छ र‘. । अन्ततः हजुर्बाको फेसबुक खोलिदिने सहमति नगरी धरै भएन ।

हजुर्बा कुरो मोड्नुहुन्छ “अनी बाबु त्यो कुइँकेल्नी बज्यैलाई कोरोना भाइरस लाग्या भन्या दश दिशा चहारेर हिन्छिन् त.. । भाइरस लागेर पनि नातिनीचैं भिड्यो बनाउनी बुढिमाउ चैं एक्लै नाच्नी के चर्तिकला गरेका बाबै ।” भाइरस लाग्या होइन हजुरबा भाइरल भन्या होला क्या टिकटकमा ।

“टिउटउ भन्याचाहिँ के नि ?” मलाई बुढाबुढी मान्छेलाई रमाइलोका लागि गाली गर्न लगाएर, छाडा बोल्न लगाएर, औंलाका सांकेतिक अश्लिल चिन्ह देखाएर भाइरल बनाएकोमा पारो तातेर आउँछ । अनी भन्छु छाड्दिनोस् टिकटकका कुरा, खै यता आउनोस् त… । अनी नाती हजुरबाको फोटो आफ्नै फेसबुकमा अपलोड गर्न थाल्छु ।

समृद्ध समाज राष्ट्रिय दैनिक २०७७

हजुरबाको फ्यासबुक् । | Samriddha Samaj

उखान थेरापी

 उखाने बाका उपनामले चर्चित छन् हाम्रा प्रधानमन्त्री । यसैले चुन, सुन, नुन र ऊनको मात्रै होइन उखानको पनि भण्डारै मान्न सकिन्छ नेपाललाई । त्यसो त नयाँ पुस्ताले उखानहरुको प्रयोग कम गर्दै गइरहेका छन् । उखानका सट्टामा केही हाइब्रिड शब्दहरुको विकास भैरहेको छ । ल्यांगल्यांग, झुरपटास, लास्ट, बब्बाल, इरी, दिमाग नचाट्… आदि यस्तै हाइब्रिड थेगोहरु हुन् । यसैले युवालाई लक्षित गरी केही प्रचलित उखानहरुलाई व्याख्या र प्रयोगतर्फ प्रोत्साहन गर्ने प्रयत्न गरिएको छः

नानीभन्दा आची ठूलो ।
कर्णालीमा घर छ, उनलाई केको डर छ ? प्रदेश सभा सांसद यामलाल कँडेललाई उपलब्ध गराइएको गाडी दुर्घटनामा परेको थियो । तत्पश्चात् मर्मतका लागि ४९ लाखमा किनेको गाडी मर्मत गर्न ५८ लाख माग भएछ । यस्तै हुने ठानेर हाम्रा पुस्ताले उहिल्यै नानीभन्दा आची ठूलो भनेर उखान बनाएका रहेछन् ।

नपाउनेले केरा पायो बोक्रैसित चपायो ।
सित्तैको धन फुपुको श्राद्ध ।
एउटा साबुनको मूल्य ३ हजार ८३१ रुपैयाँ परेछ । त्यो पनि लाइफब्वाय साबुनको । सम्बन्धित पक्षले साबुनको संख्या बढी नै भएको तर यहाँ छुट्न गएको भन्ने जवाफ दिएछन् । नपाउनेले केरा पायो बोत्रैmसित चपायो भनेस्तो सरकारी साबुन पाएपछि लुगा धुने, गाइ नुहाउने, भैंसीको थलो सफा गर्ने, घोडाको भुँडीको लुँडी सफा गर्ने र गाडीको टायरसम्म साबुनै घोटेपछि त्यती जाबो रकम सकिन कतिबेर लाग्ला र । अनी यसरी सित्तैमा पाएको धनले फुपुको श्राद्ध नगरे के पो गर्नु त ?

नजाने गाउँको बाटै नसोध्नु ।
अली अघि पोखराका मेयरले डोजर चलाएछन् । सुल्टो घुमाउनुपर्ने त्यसको सुँडलाई उल्टो घुमाएपछि समाचार पनि उल्टै छापिए । डोजरले हिर्काएर ५ जना घाइते भए । मेयर साब आलुबारीको उत्खनन् र शौचालयको उद्घाटनसम्म नछोड्ने अनी डोजर चलाउनै नजान्नेले किन समाचार बन्नु परेको होला ?

नाच्न नजान्ने आँगन टेढो ।
दोलखा भीमसेन पसिना आएर हैरान भएछन् । राजाका पालामा यसो हुँदा अनिष्ट हुन्छ भन्ने चलन थियो, जुन आजकाल पनि रहेछ । त्यसबेला राजाले पूजाआजा इत्यादी गरी भीमसेनलाई खुशी पार्दथे । अब त्यो जमाना रहेन । फेसबुके बुद्धिजिवीमार्पmत् सरकारलाई चौतर्फी दबाब परिरहेको छ । अब सरकारले यस्तो विज्ञप्ती निकाल्नैपर्छः देउता न मान्छे जसलाई पसिना आए पनि गर्मी याममा नुहाउने र जाडो याममा अत्तर लगाइदिने सल्लाह दिनुपर्छ । यस्ता थांग्ने कुरा छोडौं, देश विकासमा अघि बढ्यो, बढ्यो । रोकिनेवाला छैन । समृद्ध नेपाल, सुखी नेपाली साकार हुन थालिसक्यो । जे जे खबर सुने त्यसकै पछि लागेर हुन्छ ? तर पनि भीमसेन कामरेडलाई सरकारले गाडी दिन सक्छ, एसी दिन सक्छ, रुमालसम्म दिन सक्छ । पसिना रोक्ने काम उनकै हो । सरकार कोही नेपालीको पसिनालाई हाँस्यास्पद रुपमा लिँदैन । सरकार यस्ता थांगने कुरामाथि नै ज्यादै गम्भीर छ ।

कहिले सासुको पालो, कहिले बुहारीको पालो । किन चाउरिस मरिच आफ्नै पिरोले । अब भँडार खनेर आँगन पुर्नु । नत्र अपजस आफुलाई मिल्ला, जस अरुले खाला । लोभीको धन पापीले पचाउला ।
उखानको ताँदोले धान्दै आएको प्रधानमन्त्रीको पद धरापमा पर्दापर्दै यस्ता उखानहरु नेपालीलाई उखानका बानी परिसक्यो । हुन त कहिले ओलीको पालो, कहिले प्रचण्डको, कहिले देउवाको पालो कहिले लेउवाको । अब जसलाई जेसुकै समस्या होस् उखानले काम गर्न थाल्दछ । यसैले उखान बालक, युवा, वृद्ध सबैले कण्ठस्थै गर्न आवश्यक छ । बेहोस भएका मानिसलाई उखान सुनाएर व्युँताउनेसम्मको वैद्य भएको देशमा रामराज्य आएको छ । मान्छेहरु धान खेति गर्छन्, हामी उखान खेति गरीराछौं । कृषिक्रान्ति उखानैले गर्ने हो । यस्ता उखान थेरापी के युवा, के वृद्ध, के नेपाली विश्वले नै अनुशरण गर्नुपर्छ नि । नत्र त नाउँ न जस, खरानी घस होला है । कसो ?

समृद्ध समाज राष्ट्रिय दैनिक २०७७ पाैष

उखान थेरापी | Samriddha Samaj

ऐसा तैसा पैसा

 भाई अलिकति पैसा छ ?

पैसाको त एक धर्को, थोपो, सितो, पित्को, पोयो, चोइटो पनि छैन नि ।
पैसा नभएको भए के हुन्थ्यो होला ?
पैसाले स्याप्स्याप्ती परेको मान्छेले सोध्छ ।
पैसा हुँदा जे भैरहेको छ, त्यो हुन्नथ्यो ।
पैसा सापटी माग्न आएको ऊ बडो ब्रह्मज्ञान पाएझैं टाउको हल्लाएर फर्किन्छ ।
आफ्नै ज्यान धरौटी राखेर ऋण लिन मिल्दैन ? आफ्नै मन आफैंलाई सोध्छ । जागिरे पनि एक जिन्सी ज्यान धरौटी त हो नि आफैं जवाफ फर्काउँछु । अफिस नगए रेजा लाग्छ, नियमित गए महिना पुगेपछि परिश्रमको व्याज आउँछ । जागिर पनि गर्ने, साँवा पनि खोजेर त कहाँ पाइन्छ र ?

बा भन्नुहुन्छ ‘काम गर्दा नोकरले जसरी, खाँदा राजाले जसरी खानु ।’ आफ्नो बलबुद्धिले भ्याएसम्म नोकरले जसरी काम गरेर पनि चोकर खानु त भएन नि, तलबले भात खान पुग्दैन क्यार । काम गर्ने कालु मकै खाने भालु जस्तो भैरहेछ टोल, समाज, संघसंस्था र देशमा । ‘नहुनेलाई ऋणमाथि ऋणको ऋण ।’
आजकाल मान्छेहरू कोही पोलिटिक्स, कोहीरु ओलिटिक्स गर्छन् अरे । सर्प पालेर औषधी निकाल्छु भन्दा पनि यही दुईबीच भिडन्त भएछ ।

सर्प मात्रै के भ्यागुता, बिच्छी, साङ्ला, माकुरा पालेर लाखौं आम्दानी गर्न सकिन्नँ र ? युट्युब हेर्नुस् नपत्याए, तीन लाखको जागिर छोडेर खेतिपातिमा दिनमै लाख । एउटै रूखको काठ किलोको लाख पर्ने । बट्टाई पालेर लाख आम्दानीको फट्याईँ । पैसा कमाउने तरिका कति कति । अरूले त खै, भ्यूअर्स धेरै तानेर युट्युबरलेचाहीँ राम्रै कमाउलान् ।

विज्ञानका विद्यार्थी विदेशी भ्यागुता चिरिरहेछन् । देशमा भ्यागुताको पनि अभाव रैछ । खाल्डाखुल्डी, कुलेसाको भ्यागुता देखाएर ‘भ्यागुता पालनबाट १ महिनामै ३ लाख’ वाला भिडियो बनाएर ३ लाख कमाउन सकिन्नँ र ? जताततै पैसै पैसा । चल्ती अभिनेताको सुपर फ्लप फिल्म हेर्न बाध्यताको टिकट काटेका छौं । केही थान विज्ञापन एजेन्सी, मिडियाकर्मी र समालोचकहरूले दाँत ङिच्याएपछि गोजी गरीब हुन कति बेर लाग्छ र ? पैसा कमाउन र गुमाउन कति बेर लाग्दोरछ र । मनोरञ्जन दिने नाममा पैसा कमाउने थुप्रै छन् नि ।

पैसा मात्रै नभएको हो, पैसै कमाउने उपाय त कति छन् कति । सुगर रोगीलाई फाइदा पुग्ने भनेर सिउँडी बेचे पनि हुन्छ । दुबो र बन्सोको जुस प्रेसर रोगीलाई ‘जडुली’ ओखती भन्न पनि सकिन्छ । दाउने पुगेर राउने, माने पुगेर काने, शहरा“ वनमारा बेचेर पनि पैसो कमाउन सकिन्छ । आखिर अर्गानिक माग धेरै नै छ क्यार । डाक्टर पनि हैरान भैरहेको शहरा“ धामी झाँक्री मौलाएकै छन् । कतै झुक्केर हर्रो नपाउनेलाई जाइफल पो भैदिन्छ कि ।

पैसाकै कुरामा आमा भन्नुहुन्छ ‘अर्थोक केही होइन मनै धनी हो ।’ हो र होइनको दोधारमा परेर राम धनी भोर्लाको कन्दनी महसुश गरिराछु । दशतिर तिर्नुपर्ने बिल एकैपटक ओइरिएपछि दिन दुगुणा रात चौगुणा पैसा नै सोच्न पुग्छु । जाबो कागजको महत्व कति धेरै बनाइदिएको । दुनियाँ यसकै अघिपछि रूमल्लिएर हिँडिराख्दा आफूचाहिँ किन एक्लो बृहस्पति बन्नु ठानेर पैसा कमाउने उपाय खोज्न गुगलेश्वरी माता र युट्युबेश्वर बाबाको शरण पर्छु र मन्त्र पत्ता लगाउँछु “ऐसा तैसा पैसा” ।

समृद्ध समाज राष्ट्रिय दैनिक २०७७ पाैष

https://samriddhasamaj.com/archives/12379.

विल गेट्सलाई सम्बोधन

 सर्वप्रथम त आफू पहिले नेपाली कांग्रेसको कार्यकर्ता भएकोले २० वर्षे जवानका अघि ८० वर्षे वृद्ध पनि दाजु नै हुन्छन् भनी स्पष्ट पार्न चाहन्छु । रिसानी माफ होस् ।अब दा, दाजु, दाई रहनु भएन । यसैले विल गेट्स कामरेड बा, भनी सम्बोधन पो गरौं कि । केही वर्ष पहिलेदेखि मात्रै आफू एमाले भएकोले बा चलनलाई अंगाली ओली बा भन्न थालिएको हो । अरू वृद्धहरूलाई यसरी बा नभनिएकोले बा उनको ब्राण्ड पनि हो । त्यसो त बागमती प्रदेश मूख्यमन्त्री पौडेललाई पनि हेटौंडेली नेता, कार्यकर्ताहरू बा नै भन्दछन् । यसैले मेरा अल्पज्ञानले ओली बापछिको हैसियतमा पौडेल बालाई नै देख्दछ ।

पछिल्लो पटक नेकपा जन्मिनुअघि माओवादीका सशक्त कार्यकर्ताको खादा भिरेकै हो । द्वन्द्वकाल सकिएपछि अर्थात् माओवादीले सत्ताको स्वाद लिन आएपछि खुट्टो उचालेर लुसुक्क पार्टी प्रवेश गरेको कुरा यहाँ मात्रै भनौं । यसैले लाल सलाम कमरेड विल गेट्स । यसो भन्दा हामी आफूलाई अरू समानका ठान्थ्यौं । जन्मन बाँकी पनि हाम्रा हुनेवाला कामरेड नै हुन्थे । त्यही शुरमा बालाई आफूसमान ठान्दै ‘रामशरणजी’ भन्दा भेटेको चड्कनले अझै गाला तातो भएझैं लाग्छ । सम्बोधनले धेरै अर्थ राख्छ नेपालाँ ।सबै दलबल चहारी सकेपछि जोगी, भोगी, रोगी, ढोंगी सबैका आ–आफ्ना स्वार्थ देखिएकाले अब म कुनै दल विशेषको रहिनँ । कसैले लेबी नतिरीकन आफ्नै परिश्रमले कमाई खाँदै आइरहेकोले म आफूलाई ‘मात्र नेपाली’ भएको घोषणा गर्दछु । यसैले नेपालीपनको नमस्कार विल गेट्सज्यू ।

(कृपया सम्बोधनलाई लामो नठान्नुहोस् । जेलनेल, आन्दोलन, कालोमोसो, अड्डा, अदालत, तारिख र सार्वजनिक ठाउँमा चप्पल, कुर्सी खाएका, माला लाएका थुप्रै अनुभवहरू मेरा राजनीतिक, सामाजिक, व्यक्तिगत चरित्र तथा अनुभव हुन् । जसबारे पछि लेखौंला । (भाडाका लेखक लिएर बुढाबुढी, छोराछोरी, बुहारी र ज्वाईँसम्मका छुट्टाछुट्टै आत्मकथा पनि छपाउँला ।)आजकल भारत हुँदै नेपाल छिरेको (कोरोना भाइरसको कुरा होइन नि) ‘फलानो जी’ नै ज्यादा चल्दोछ ।

हाम्रा अन्तरवार्ताकारले तपाईँको चासो देखेमा विल गेट्सजी सम्बोधन गरी प्रश्न सोध्लान् । मचाहीँ अझै सम्मान गरेर ‘ज्यू’ थप्न चाहन्छु ।सम्बोधनकै कुरामा गेट्सज्यू, नेपालमा साना साना कार्यक्रम हुँदा पनि ठूला ठूला सम्बोधन हुन्छन् । विद्यालयमा चम्चा रेसको पुरस्कार बाँड्दा राजनीतिक दल, धार्मिक दल, टोल विकास, पूर्व र वर्तमान विद्यार्थी संगठन, पूर्व र वर्तमान शिक्षक, प्रहरी, निजामति, संघ, संगठन आदिका व्यक्तित्वलाई एक घण्टाको सम्बोधन गर्दै मञ्चमा बोलाइन्छ । बोलावट रोलक्रममा छुटेमा पछि भएमा कतिपय चम्चाहरू रिसाउँदै हिँडिदिन्छन् । (यस्तालाई चम्चा नै भनौं ।) प्रायः उनीहरू तोकिएको समयभन्दा ढिलो आउने र चाँडै निस्कने रोगले ग्रस्त हुन्छन् ।

टोल विकासले तीज कार्यक्रम गर्दा र पिकनिक लैजाँदा बोलाउँदै नबोलाएकाहरू पनि निशुल्क भोजनमा आइदिन्छन् । रमाइलो कुरा खानाको शुरूवात चम्चाबाट हुँदै दुबै हातसम्म पुग्छ, मुख जोतेर सलाद, पुलाउ, माछा, मासुबाट शुरू हुँदै माटैसम्मको स्वाद लिन भ्याउँछन् ।भोलि एक कार्यक्रममा तिनलाई सभापति र प्रमुख अतिथि बनाउनु छ । अहिलेलाई हाम्रो सम्बोधन र संविधान दुबै बुझ्न गाह्रा छन् भन्दै विदा हुन्छु । भन्न खोजेको यही हरफ हो । जय देश ।

(समृद्ध समाज राष्ट्रिय दैनिक २०७७ पाैष)

Sunday, June 20, 2021

म कतै हराएँ भने

---गीत---


गुनासोमा एक्लै म कराएँ भने

आफैंसँग आफैं म डराएँ भने

नदेखाउनु बाटो जाने ठाउँ

बेढंगमा म हराएँ भने ।


तिम्रो निम्तोले चिढेर हिँडेको हुँ

के दिन्छौं सोध्यौ अनि रोएर हिँडेको हुँ

उपहारजति तिमीसँग उहिल्यै

फोएर धोएर  हिँडेको हुँ ।


जुनीभर साथ दिन्छु भन्दै साइनो अन्तै गाँस्न लाग्यौ

भेटमा कतै देखेझैं पो हाँस्न लाग्यौ ।

एकछिन सक्दिनँ एक्लै बस्न भन्थ्यौ, 

आज मैविना खुशीले बाँच्न लाग्यौ ।


दुखेको छ छाति घाउ छ कि भित्र,

आँशु पुछ्ने हात पनि टाढा भयो मित्र ।

आफैं के हुँ को हुँ छोडेको छु चिन्नँ, 

आफैं देखेर आफैंलाई लागिरहेछ विचित्र ।


गुनासोमा एक्लै म कराएँ भने

आफैंसँग आफैं म डराएँ भने

नदेखाउनु बाटो जाने ठाउँको

बेढंगमा म हराएँ भने ।






च्वास्स २