Monday, June 21, 2021

उखान थेरापी

 उखाने बाका उपनामले चर्चित छन् हाम्रा प्रधानमन्त्री । यसैले चुन, सुन, नुन र ऊनको मात्रै होइन उखानको पनि भण्डारै मान्न सकिन्छ नेपाललाई । त्यसो त नयाँ पुस्ताले उखानहरुको प्रयोग कम गर्दै गइरहेका छन् । उखानका सट्टामा केही हाइब्रिड शब्दहरुको विकास भैरहेको छ । ल्यांगल्यांग, झुरपटास, लास्ट, बब्बाल, इरी, दिमाग नचाट्… आदि यस्तै हाइब्रिड थेगोहरु हुन् । यसैले युवालाई लक्षित गरी केही प्रचलित उखानहरुलाई व्याख्या र प्रयोगतर्फ प्रोत्साहन गर्ने प्रयत्न गरिएको छः

नानीभन्दा आची ठूलो ।
कर्णालीमा घर छ, उनलाई केको डर छ ? प्रदेश सभा सांसद यामलाल कँडेललाई उपलब्ध गराइएको गाडी दुर्घटनामा परेको थियो । तत्पश्चात् मर्मतका लागि ४९ लाखमा किनेको गाडी मर्मत गर्न ५८ लाख माग भएछ । यस्तै हुने ठानेर हाम्रा पुस्ताले उहिल्यै नानीभन्दा आची ठूलो भनेर उखान बनाएका रहेछन् ।

नपाउनेले केरा पायो बोक्रैसित चपायो ।
सित्तैको धन फुपुको श्राद्ध ।
एउटा साबुनको मूल्य ३ हजार ८३१ रुपैयाँ परेछ । त्यो पनि लाइफब्वाय साबुनको । सम्बन्धित पक्षले साबुनको संख्या बढी नै भएको तर यहाँ छुट्न गएको भन्ने जवाफ दिएछन् । नपाउनेले केरा पायो बोत्रैmसित चपायो भनेस्तो सरकारी साबुन पाएपछि लुगा धुने, गाइ नुहाउने, भैंसीको थलो सफा गर्ने, घोडाको भुँडीको लुँडी सफा गर्ने र गाडीको टायरसम्म साबुनै घोटेपछि त्यती जाबो रकम सकिन कतिबेर लाग्ला र । अनी यसरी सित्तैमा पाएको धनले फुपुको श्राद्ध नगरे के पो गर्नु त ?

नजाने गाउँको बाटै नसोध्नु ।
अली अघि पोखराका मेयरले डोजर चलाएछन् । सुल्टो घुमाउनुपर्ने त्यसको सुँडलाई उल्टो घुमाएपछि समाचार पनि उल्टै छापिए । डोजरले हिर्काएर ५ जना घाइते भए । मेयर साब आलुबारीको उत्खनन् र शौचालयको उद्घाटनसम्म नछोड्ने अनी डोजर चलाउनै नजान्नेले किन समाचार बन्नु परेको होला ?

नाच्न नजान्ने आँगन टेढो ।
दोलखा भीमसेन पसिना आएर हैरान भएछन् । राजाका पालामा यसो हुँदा अनिष्ट हुन्छ भन्ने चलन थियो, जुन आजकाल पनि रहेछ । त्यसबेला राजाले पूजाआजा इत्यादी गरी भीमसेनलाई खुशी पार्दथे । अब त्यो जमाना रहेन । फेसबुके बुद्धिजिवीमार्पmत् सरकारलाई चौतर्फी दबाब परिरहेको छ । अब सरकारले यस्तो विज्ञप्ती निकाल्नैपर्छः देउता न मान्छे जसलाई पसिना आए पनि गर्मी याममा नुहाउने र जाडो याममा अत्तर लगाइदिने सल्लाह दिनुपर्छ । यस्ता थांग्ने कुरा छोडौं, देश विकासमा अघि बढ्यो, बढ्यो । रोकिनेवाला छैन । समृद्ध नेपाल, सुखी नेपाली साकार हुन थालिसक्यो । जे जे खबर सुने त्यसकै पछि लागेर हुन्छ ? तर पनि भीमसेन कामरेडलाई सरकारले गाडी दिन सक्छ, एसी दिन सक्छ, रुमालसम्म दिन सक्छ । पसिना रोक्ने काम उनकै हो । सरकार कोही नेपालीको पसिनालाई हाँस्यास्पद रुपमा लिँदैन । सरकार यस्ता थांगने कुरामाथि नै ज्यादै गम्भीर छ ।

कहिले सासुको पालो, कहिले बुहारीको पालो । किन चाउरिस मरिच आफ्नै पिरोले । अब भँडार खनेर आँगन पुर्नु । नत्र अपजस आफुलाई मिल्ला, जस अरुले खाला । लोभीको धन पापीले पचाउला ।
उखानको ताँदोले धान्दै आएको प्रधानमन्त्रीको पद धरापमा पर्दापर्दै यस्ता उखानहरु नेपालीलाई उखानका बानी परिसक्यो । हुन त कहिले ओलीको पालो, कहिले प्रचण्डको, कहिले देउवाको पालो कहिले लेउवाको । अब जसलाई जेसुकै समस्या होस् उखानले काम गर्न थाल्दछ । यसैले उखान बालक, युवा, वृद्ध सबैले कण्ठस्थै गर्न आवश्यक छ । बेहोस भएका मानिसलाई उखान सुनाएर व्युँताउनेसम्मको वैद्य भएको देशमा रामराज्य आएको छ । मान्छेहरु धान खेति गर्छन्, हामी उखान खेति गरीराछौं । कृषिक्रान्ति उखानैले गर्ने हो । यस्ता उखान थेरापी के युवा, के वृद्ध, के नेपाली विश्वले नै अनुशरण गर्नुपर्छ नि । नत्र त नाउँ न जस, खरानी घस होला है । कसो ?

समृद्ध समाज राष्ट्रिय दैनिक २०७७ पाैष

उखान थेरापी | Samriddha Samaj

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २