Tuesday, May 28, 2019

समृध्दीले डकारेको देश

समृध्दिलाई चिन्न नसक्नेहरू ।
---
ए पूरातनवादीहरू,
ए विकास विरोधीहरू,
ए प्रतिगामी र षडयन्त्रकारीहरू,
ए दृष्टीभ्रम पालेका,
समृध्दिलाई चिन्न नसक्नेहरू ‌।

देशमा केही छैन भन्नेहरू हो,
देशमा विकासै विकास भन्दा के छ,
नपत्याए भित्रि मनले हेर्नोस् त,
कानले देख्नोस्, आँखाले सुन्नोस् त ।

कान्लामा आची गर्दा बेशीँ पुग्छ,
यस्ता प्रविधिलाई विकास नभन्ने?
सडकको धुलो जम्मा गरेर
गमलामा धान रोप्न मिल्छ,
यस्ता गतिविधिलाई विकास नमान्ने?

अब विकासका नाम फेर्ने बेला भो,
सबैले विदेशी नाम राख्न थाले,
कसरी विकास विकासै भैराख्ने हो,
विकास बहादुर थापाले कक्षा ८ मै नाम फेरेछ,
निकास अधिकारीले पनि नाम फेरेछ,
अब सन्तानको नाम विकास राख्नोस्,
समृध्दि, परिवर्तन र निकास राख्नोस्,
राजदूतको पद साली र सालामा,
अनि विकास र आमूल परिवर्तन हाम्रै पालामा ।

अनी सुन्नोस्,
डुङ्गालाई जहाज भनौँ,
३० फिटे गाडीलाई रेल मानौँ,
पुलिसले समात्ने बित्तिकै छानविनविनै अपराधि घोषणा गरौँ,
बा आमाको अर्तीलाई बल मिचाईँ मानौँ,
रुखो खेतमा परेको शीतलाई सिँचाई मानौँ । ।

माल पाएर चाल नपाएको भन्दै
विदेशीले हकारेको देश,

स्वदेशीले नागरिकता त्याग्दै

विदेश पुगी खकारेको देश, 

नेता र कर्मचारी मिली भगतमा

चोरमाथि चकारेको देश ।

आफ्नो दुनो अन्त तेर्सिँदा,

एकले अर्कोलाई हकारेको देश,

खान्न खान्न लोकाचार राख्दै डकारेको देश ।

यसैलाई ठानौँ नयाँ नेपालको रीति,
कत्ति पनि प्रेसर नबढाउनोस्,
देशमा विकासै विकास रहेछ, 
घोडाको गोबर, गाइको लिती,
यै हो खितिति हाँसो उठ्ने समृध्दि ।


Thursday, May 9, 2019

उखु किसान र नाथे मास्टर

यहाँ त खाली दिमाग भएकालाई देश विदेशका भविष्य कोरिदिने शिक्षकलाई 'नाथे मास्टर' र दुनियाँका मुखमा माड भरिदिने कृषकलाई 'खेतिपाति गर्ने मान्छे' कै  पगरी काफी छ । म शिक्षक हुँ वा म कृषक हुँ भन्दा राज्यको पहिलो दर्जाको नागरिकका हैसितले ढक्क छाति बनोस् न । पेशा गर्नुको मज्जा पनि त्यसमै हुँदो हो ।
                          
 आजकल यी दुवै पेशा उस्तै उस्तै लाग्छ । उखु किसान रसिला उखु उत्पादन गर्छन्, त्यसको फाइदा चिनी मिलले लिन्छ । किसानसँग उखु लिएर ४ वर्षमा पनि भुक्तानी गर्दैनन् ।
शिक्षकको तलब पनि उस्तै हालतको हुन्छ । वर्षभरि अध्यापन गर्छन्, आफ्ना प्रयोगशालाबाट देशका भावी प्रशासक, राजनीतिज्ञ, इन्जिनियर, डाक्टर, कलाकार आदित्यादी उत्पादन गर्छन् । तर रगत र पसिनाको मूल्यमा जहिल्यै अवमूल्यन हुन्छ । चैत्र र बैशाख महिनाको तलब जेठमा पाउँछन् । साउन महिनादेखिको तलब एकैपटक दशैंतिहारमा पाउँछन् । 
यस्ता पीडित कत्ति छन् कत्ति भन्दै चित्त बुझाउनु यी दुवै पेशाधारीको बाध्यता भैसकेको छ ।
तपाईँ भन्नुहोला कुन नयाँ कुरो भो र ? भारतमा कपास खेति गर्ने कृषकहरुले आत्महत्या गरेको दर बढी छ । हङकङमा व्यवस्थापकको तनावले एक शिक्षिकाले आत्महत्या गरेकी छिन् ।  नेपालमा त्यसो भएको छैन । यत्ति फरक हो कि ! कामको चाप धेरै भएर मर्नु परेका घटनाहरु नयाँ छैनन् ।  उखु किसानहरुले आत्मदाहको धम्की दिनु परेको छ भने शिक्षकले महिनाभरि काम गरेर पनि पारिश्रमिक हात नपरेपछि घर झगडा गर्नु परेको छ । कतिपय पक्षहरु देखिँदैनन्, लेखिँदैनन् पनि ।
समाचारमा बरु यस्तो छापिन्छ, "शिक्षकले फेल गराएपछि छात्राद्वारा आत्महत्या", अब प्रतिकृया यसरी शुरु हुन्छ "त्यो शिक्षकको नाममा कलंक हो । त्यसलाई त फाँसी दिनुपर्छ ।...." कारणहरु खोजिँदैनन्, नीतिहरु बनाइँदैनन्, प्रयोगात्मकभन्दा घोकन्ते शिक्षा प्रणाली छँदैछ । विद्यार्थी अनुत्तीर्ण भएका कारणहरु शिक्षक मात्रै बनाइन्छन् ।
बजार पनि यस्तै छ, जे बिक्छ, त्यही बेच्ने चलन पूरानै होइन र ?
राजनीति गर्नेहरु केका लागि र कसका लागि गर्दैछु भन्ने बिर्सेर कमाउ धन्दामा लागेका छन् । राजनीति गर्नेमा शिक्षक नै अगाडी पर्दछन्, आफूले नेता बनाएकाहरु दिनानुदिन नयाँ नयाँ "राजा" बन्दैछन् भने शिक्षकले केका लागि राजनीति गर्ने ? कसका लागि राजनीति गर्ने ? समाजसेवाका नाममा विद्यालय प्रवेश गरेका राजनीतिज्ञहरु जीवनभर सरकारका कर्मचारीको हैसियत भएकाहरुलाई आफ्ना मुठ्ठीभित्र राख्न चाहन्छन् । आफ्ना हैसियत, योग्यता र क्षेत्राधिकार बिर्सिएर मनलाग्दी ओठे निर्णयहरु गरिरहेका छन् । शिक्षकमाथि अनावश्यक दबाब दिनेभन्दा खुशी बनाएर सेवा लिन सकिन्छ भन्ने ज्ञान उनीहरुलाई कसले दिने हो ? कुन स्कूलको शिशु कक्षामा भर्ना गर्ने उनीहरुलाई ? सुध्रिन हतार भैसकेको छैन र ?
समग्रमा देशमा राजनीतिक परिवर्तनपछि पनि उखु किसान र शिक्षक दुवैले अन्याय भोगी नै रहेका छन् ।  हुन त कृषि नीति, कार्यक्रमहरु सदरमुकाम र तारे होटलहरुमै सीमित हुँदा उखु किसान मात्रै नभएर कृषि क्षेत्र नै खाडलमा भासिसकेकाे छ । किसान र शिक्षकको यी समस्याहरुको समाधान यथाशीघ्र हुनु जरुरी छ ।

Wednesday, May 1, 2019

झूठा मिडिया

झुठा मिडियाहरूको बिगबिगी छ, छानेर पढौँ, सुनौँ ।
* मिडिया हिमालमा 'यति'को पाइला भन्दै हुङ्कार गर्छ
* निर बिरालोलाई डार्विनको विकासवादी सिध्दान्त अनुसारको परिवर्तित जनावर भन्दै हल्ला गर्छ
* अनुजाले पैसा भेटेर फिर्ता गरेको भन्दै राष्ट्रपति, प्रधानमन्त्रिको बधाई छपाउन व्यस्त हुन्छ
* रातोपाटी र सेतोपाटीहरू आ-आफ्नै पार्टीका डम्फु बजाउँदैछन्
* नेकपा नेताका कर्तुत खुलाउँदा कांग्रेसका कुरा निकालेर तैँ चुप मैँ चुप गराउछ
* सँगसँगै बसेर जाँड पान गर्नेको नकारात्मक समाचार हेर्दा पनि हेर्दैन
* सबैलाई भाइरल हुनुपर्ने नाउँमा व्यक्तिगत र पारिवारिक गोप्यतामा मानहानी
* एनसेल प्रकरणमा कतिपय मिडिया विज्ञापन नआउने डरले लेख्दै लेख्दैनन्
* फेसबुकबाट समाचार चोर्ने चोर मिडियाको विगविगी बढेको छ, आफू फिल्डमा जानुभन्दा अरूको पोष्ट पर्खेर आफ्ना मिडिया चलाउनेको विगविगी छ
हो अब,
आफूलाई आनन्दित राख्न चाहनुहुन्छ भने समाचार पढ्नै छोड्नुस् ।

च्वास्स २