Thursday, May 9, 2019

उखु किसान र नाथे मास्टर

यहाँ त खाली दिमाग भएकालाई देश विदेशका भविष्य कोरिदिने शिक्षकलाई 'नाथे मास्टर' र दुनियाँका मुखमा माड भरिदिने कृषकलाई 'खेतिपाति गर्ने मान्छे' कै  पगरी काफी छ । म शिक्षक हुँ वा म कृषक हुँ भन्दा राज्यको पहिलो दर्जाको नागरिकका हैसितले ढक्क छाति बनोस् न । पेशा गर्नुको मज्जा पनि त्यसमै हुँदो हो ।
                          
 आजकल यी दुवै पेशा उस्तै उस्तै लाग्छ । उखु किसान रसिला उखु उत्पादन गर्छन्, त्यसको फाइदा चिनी मिलले लिन्छ । किसानसँग उखु लिएर ४ वर्षमा पनि भुक्तानी गर्दैनन् ।
शिक्षकको तलब पनि उस्तै हालतको हुन्छ । वर्षभरि अध्यापन गर्छन्, आफ्ना प्रयोगशालाबाट देशका भावी प्रशासक, राजनीतिज्ञ, इन्जिनियर, डाक्टर, कलाकार आदित्यादी उत्पादन गर्छन् । तर रगत र पसिनाको मूल्यमा जहिल्यै अवमूल्यन हुन्छ । चैत्र र बैशाख महिनाको तलब जेठमा पाउँछन् । साउन महिनादेखिको तलब एकैपटक दशैंतिहारमा पाउँछन् । 
यस्ता पीडित कत्ति छन् कत्ति भन्दै चित्त बुझाउनु यी दुवै पेशाधारीको बाध्यता भैसकेको छ ।
तपाईँ भन्नुहोला कुन नयाँ कुरो भो र ? भारतमा कपास खेति गर्ने कृषकहरुले आत्महत्या गरेको दर बढी छ । हङकङमा व्यवस्थापकको तनावले एक शिक्षिकाले आत्महत्या गरेकी छिन् ।  नेपालमा त्यसो भएको छैन । यत्ति फरक हो कि ! कामको चाप धेरै भएर मर्नु परेका घटनाहरु नयाँ छैनन् ।  उखु किसानहरुले आत्मदाहको धम्की दिनु परेको छ भने शिक्षकले महिनाभरि काम गरेर पनि पारिश्रमिक हात नपरेपछि घर झगडा गर्नु परेको छ । कतिपय पक्षहरु देखिँदैनन्, लेखिँदैनन् पनि ।
समाचारमा बरु यस्तो छापिन्छ, "शिक्षकले फेल गराएपछि छात्राद्वारा आत्महत्या", अब प्रतिकृया यसरी शुरु हुन्छ "त्यो शिक्षकको नाममा कलंक हो । त्यसलाई त फाँसी दिनुपर्छ ।...." कारणहरु खोजिँदैनन्, नीतिहरु बनाइँदैनन्, प्रयोगात्मकभन्दा घोकन्ते शिक्षा प्रणाली छँदैछ । विद्यार्थी अनुत्तीर्ण भएका कारणहरु शिक्षक मात्रै बनाइन्छन् ।
बजार पनि यस्तै छ, जे बिक्छ, त्यही बेच्ने चलन पूरानै होइन र ?
राजनीति गर्नेहरु केका लागि र कसका लागि गर्दैछु भन्ने बिर्सेर कमाउ धन्दामा लागेका छन् । राजनीति गर्नेमा शिक्षक नै अगाडी पर्दछन्, आफूले नेता बनाएकाहरु दिनानुदिन नयाँ नयाँ "राजा" बन्दैछन् भने शिक्षकले केका लागि राजनीति गर्ने ? कसका लागि राजनीति गर्ने ? समाजसेवाका नाममा विद्यालय प्रवेश गरेका राजनीतिज्ञहरु जीवनभर सरकारका कर्मचारीको हैसियत भएकाहरुलाई आफ्ना मुठ्ठीभित्र राख्न चाहन्छन् । आफ्ना हैसियत, योग्यता र क्षेत्राधिकार बिर्सिएर मनलाग्दी ओठे निर्णयहरु गरिरहेका छन् । शिक्षकमाथि अनावश्यक दबाब दिनेभन्दा खुशी बनाएर सेवा लिन सकिन्छ भन्ने ज्ञान उनीहरुलाई कसले दिने हो ? कुन स्कूलको शिशु कक्षामा भर्ना गर्ने उनीहरुलाई ? सुध्रिन हतार भैसकेको छैन र ?
समग्रमा देशमा राजनीतिक परिवर्तनपछि पनि उखु किसान र शिक्षक दुवैले अन्याय भोगी नै रहेका छन् ।  हुन त कृषि नीति, कार्यक्रमहरु सदरमुकाम र तारे होटलहरुमै सीमित हुँदा उखु किसान मात्रै नभएर कृषि क्षेत्र नै खाडलमा भासिसकेकाे छ । किसान र शिक्षकको यी समस्याहरुको समाधान यथाशीघ्र हुनु जरुरी छ ।

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २