Friday, November 1, 2013

थुइक्क, कठै, च...च, उस्


 –संप्रस पौडेल  ‘दिवस’
नेपालका राजनीति र राजनीतिक दललाई सत्तोसराप गर्नेहरु धेरै छन् । आजकल त उनकै आसेपासे कार्यकर्ताले पनि आफ्नै मालिकलाई धारे हात लाउन थालिसके । ओरालो लागेको हरिणलाई बाछोले पनि खेद्छ भनेको यही होला । दुईचार ठाउँमा मुक्कामुक्की भएको कुरा सामान्य नै हुन थाले । सामान्य जनताको श्रापले नेतालाई झिँगोको श्रापले डिँगो मर्दैन भन्ने उक्ति लागू हुँदो हो । श्रापैले मर्ने हुन् त नेपालका आधा नेताको श्राद्ध भैरहन्थे, बाँकी बचेखुचेका पनि कोही बैशाखी टेकेर बामे सर्दै त अन्य घिटिक घिटिक बाँचिरहेका हुन्थे होलान् । लंका जलाउने हनुमान, जस पाउने ढेडु भएपछि कार्यकर्ता पनि के चुप लागी बस्थे । यिनलाई जति श्राप दियो उती आशिर्वाद हुने र जति पुत्ला जलायो, उति आयु बढ्ने कुरो अकाट्य प्राय छ । फेरि तिनैलाई बाचुञ्जेल सत्तोसराप गर्ने र मरेपछि गुनगान गाउने प्रचलनले च....च, छि, कठै, उस् गर्नुको के अर्थ ?
भनिन्छ, कलेज जाने युवाहरुमध्ये पच्चिस प्रतिशत राजनीतिमा लाग्छन् । पच्चिस प्रतिशत केटी जिस्काउन र कलेज युनिफर्ममा पार्क घुम्नमा । पच्चिस प्रतिशत जागिर र कलेज सँगसँगै लैजान खोज्छन् । बाँकी पच्चिस प्रतिशत शुरुमा पढ्नतिर लाग्छन् । पढाईमा लाग्ने पच्चिस प्रतिशतका पच्चिस प्रतिशत पढ्दा पढ्दै फ्रस्टेट भएर अन्यत्र लाग्छन् । अर्को पच्चिस प्रतिशत साधुबाबाको सँगतमा पुग्छन् र भोले बाबाको भक्त बन्छन् । पच्चिस प्रतिशत दादागिरी गर्नमा त बाँकी पच्चिस प्रतिशत मात्र पढाई सफल हुन्छन् । यसैले धेरैको शैक्षिक योग्यताको सर्टिफिकेट बढेर पनि ज्ञानको भण्डार खुम्चिन पुगेको छ । छोराछोरी बिग्रिएर कहिले प्रहरीको खोरबाट त कहिले पार्कबाट समातेर घर ल्याउनु परेको छ । कहिले बाटो बन्द गर्दागर्दै हुलमुलमा झडपमा परी हस्पिटलबाट त कहिले सुधारगृहबाट फर्काउनु परेको छ । कहिले कलेजको अनुशासन कक्षबाट त कहिले फिरौतीवाला र दादागिरीको पञ्जाबाट मुक्त गराउनु परेको छ । धेरै कलेज पढ्ने विद्यार्थीहरुमा न शिक्षा छ न सुरक्षा छ । न आचार छ न बौद्धिकता छ । नैतिकताको पुच्छर र इमान्दारिताको ठुँड मात्र होइन धैर्यताको पखेटा र सफलताको उडान भन्ने कुन चराको नाउँ पत्तो छैन । कुरा गर्नु तिखारी, झाडा गर्नु निखारी त्यसै भनिएको कहाँ हो र ? कुरोको चुरो अभिभावकको लाखौंको लगानी, समयको बर्बादी, इच्छाको अन्त्य भएपछि कठै, च..च.., छि, धत्तेरी, हत्तेरिका, उस् भन्नु सिवाय अर्को के विकल्प रह्यो र ?
एकदिन प्रेमवादको कट्टर समर्थक र प्रेमवादका अनुयायी दुईबीच भेट भएछ । एकै विद्यालयको भर्ना नै उनीहरुको मिलनको संयोग परेछ । एकदिन कक्षामा दुवै जना सोचमा मग्न हुँदा शिक्षिकाले समस्या बारे सोधिन् । एकले भन्यो, “बीस बर्षको केटा र बीस बर्षको केटीबीच शारीरिक सम्बन्ध भयो भने बच्चा हुन्छ ?” शिक्षिकाले हुन्छ भनिन् । अर्कीले सोधिन्, “सोह्र वर्षको केटा र सोह्र वर्षकी केटीबीच भए नि ?” शिक्षिकाले हुन्छ भनिन् । एकले सोध्यो, “दश वर्षको केटा र दश वर्षकै केटीबीच त ?” शिक्षिकाले अहँ हुन्न भनिन् । दुवै जनाले एउटा पाठ सिके र ढुक्क भएर घर फिरे । यी त एउटा उपयोग न हुन्, यस्तै नलेखिएका कथाहरु प्रशस्त घट्ने गरेका छन् । यस घटनामा उमेरका कारणले धन्न व्यहोर्नु नपरेको समस्या देखिएको छ । धन्न अभिभावकले च...च, छि, धत्तेरिका, थुइँक्क, उस्, उप्m, हे भगवान त भन्नु परेको छैन । इन्टरनेटले सदुपयोग र दुरुपयोग गर्न दुवै सिकाउँछन् ।
‘जनता, लोकतन्त्र, गणतन्त्र, विकासको लागि राजनीति’ भन्ने उक्ति नेपाली नेताका भन्ने कुरा न हुन् । लाखौं जनता भोट हाल्ने रहर मर्दै गएपछि मतदाता परिचय पत्र बनाउँन गएनन् । धेरैले चियागफमा नेपालको राजनीति र गधाको लिदीलाई समान ठम्याए । शिक्षितहरुले फेसबुक लगायत सामाजिक सञ्जालमा राजनीतिक दल र तिनका नेताहरुलाई गर्नुसम्म गाली गरे । दलहरुले नै एकले अर्कोलाई गाली गर्दै आपूm गाली शिरोमणि कहलाइरहेको स्थितिमा एउटा दलले अर्को दललाई यसो भन्यो, “फलानो दल विदेशी पूँजीपतिहरुको दलाल हो ।” अर्कोले भन्यो, “फलानो दलका नेताहरुमा लोकतान्त्रिक राजनीति गर्ने क्षमता नै छैन” । अर्काले भन्यो, “फलानो दललाई झुक्किएर निर्वाचन आयोगले दर्ता ग¥यो, मतदाताले थाहै नपाई भोट दिए र सत्ताको खेलमा लाग्यो ।” अर्काले भन्यो, “फलानो दलमा राष्ट्रियताको कमी भएको पाइयो, त्यसैले उसका नेताहरुले राज्यले दिएको सुविधामध्येको कुटनैतिक पासपोर्ट बेचेर गुमनाम कमायो ।” कुराले मात्र चिउरा भिज्दैन नेताज्यू । जनताले भोट खेर गएको र कार्यकर्ताले केही साल राजनीतिमा सहयोग गरेपछि जागिर नलगाई दिएकोमा नेतालाई गाली गर्न थाले । एउटा दलका नेताले यस्तो प्रतिक्रिया दियो, “कहाँको विदेशी शक्तिका तपध्यानले पाएको विदेशी दलालीको बिल्ला, कहाँको तुन्द्रुङ्ग झुण्ड्याउन बनाइदिएको नागरिकता पाएको नेपाली जनता र कार्यकर्ता” भो झिँगोको श्रापले डिँगो मर्दैन, पद पाइयो त आफ्नै बलबुँताले पाइयो । आपूmलाई बोकेर पदमा पु¥याउने युवाहरुलाई फल खुवाउने तर बोट नचिनाउने प्रवृत्ति भएसम्म युवाले देश हाँक्ने कुरो कुरोमै सीमित रहने भई गयो । फेरि बैंश गुमाएपछि पोइल गएर के काम ? यी सबै जानेपछि पनि राम्रा दल खुट्याउन नसकी पुनः उसैलाई भोट दिई दिई लौ खा भन्दै हुत्याइदिएपछि दिनेले दियो, खानेले खायो । क्वाप्लाक्क पारेपछि आच्या, लौ न, धत्, आ, हत्तेरिका, थुइक्क, कठै, च....च, उस् गर्नुको के अर्थ ? सक्षम र उत्कृष्ट छानेर विगतको इतिहासलाई पनि विचार गरेर हाम्रालाई भन्ने होइन राम्रालाई चैं भोट हालौं । अस्तु । २०७० आश्विन

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २