Thursday, February 20, 2020

"जी" को नालीबेली


"जी" हाम्रो सँस्कार, परम्परा र सम्मानको उँचो स्तर हो । जस्तो रामजी, श्यामजी, सीताजी, बास्कोटाजी, महराजी आदि ।
कसैले जी र ज्यू एउटै हो भन्ने पनि गर्छन् । यी दुवै एक होइनन् भन्ने मेरो खोक्रो ज्ञानको एउटा जिउँदो उदाहरण दिन चाहन्छुः नेवारी भाषामा "बजी"-चिउरा तथा खाजा भन्ने बुझिन्छ भने "बज्यू" भन्ने थर रहेको छ । यस्तै हजुरबालाई "बाजी" भन्दा भन्दै "बाजे" भएको हो कि भन्ने यो निबन्धकारको एकलौटी आशंका रहेको छ । "बजी", "ताजी", "हाजी", "पाजी" "चाजी", "दाजी" शब्दहरु हाम्रा विभिन्न भाषामा प्रयोगमैँ त छन् ।
प्रसङ्ग बदलौँ, कतै केही सफलता मिली हालेमा हामी लड्डु खान र खुवाउन चाहन्छौं । त्यसमा पनि हामीलाई "सुजी" को लड्डु ठीक लाग्छ । हामीमा हरेक छाक "सब्जी" खानुपर्छ भन्ने मान्यता छ । सुख्खा याममा "सब्जी" नपाइएला भनी हाम्रा पुर्खाले हाम्रै पौरखमा सागसब्जीका गुन्द्रुक बनाउँन सिकाएका हुन् । यस्तै हामीलाई चउरमा उफ्रनुभन्दा मोबाइलमै झुण्डिएर "पब्जी" खेल्न मनपर्छ ।

जिडिपि, जिएनपीमा खासै प्रगति गर्न सकेका छैनौं । अगाडी लागेकैले हामी युगयुगसम्म जी२० र जी७ हरुमा समाहित हुन सकेनौं, सक्दैनौं ।
अगाडी नसकेता पनि पछाडी जी झुण्ड्याउनमा हामी निकै अगाडी छौं । आजकल हामी आफूभन्दा सानालाई पनि जी लगाएर बोलाउन थालेका छौं ।
मोबाइलमा पनि हामीले भर्खरै फोरजीमा प्रवेश गरेका छौं । थ्रीजीभन्दा फोरजी नै हामीलाई प्रभावकारी लागेको छ । मोबाइलमा पनि सामसङको जी सिरिज धेरै मन पराएकै हो । लोग्ने स्वास्नी परिस्कृत हुँदै श्रीमानजी र श्रीमती भैसकेको छ ।
आजका बाँदरलाई पनि हनुमानजी भनेर पगरी गुथाइदिएका छौं । गालीमा "पाजी" सँग हाम्रो पूरानो नाता रहेको छ । नेपालको इतिहासदेखि नै देश रक्षासँग नजिक रहेको क्षेत्रीय जातिमा "काजी" को विरासत छँदैछ । यता चौधरी ग्रुपले चाउचाउदेखि जस्तासम्म र दुधदेखि मोबाइलसम्म उत्पादन गरेर सिजी नाम कमाइरहेको छ । अझै आफू बेरोजगार हुँदा पनि खाली बस्नुभन्दा "बिजी" भएकै जाति भन्ने हामी नै हौं ।
हाम्रै सँस्कृति अनुशरण गरेर विदेशीले भाइरसका नाम "जी" भाइरस, "जीका" भाइरस राख्न भ्याइसके । हामी बालबच्चालाई तर्साउँदा "हाउगुजी" आयो भनिदिन्छौं ।
सम्मानदेखि गालीसम्म प्रयोग हुने "जी" लाई बेवास्ता गर्नु पनि त भएन नि । मन्त्रीदेखि खन्तिसम्मले अरुलाई गाली गर्दा '*जी' थपेर गर्ने गरेका छन् ।
हिटलरले "नाजी" होस् कि हाम्रो "बाजी" होस् "जी" को प्रयोग उत्तिकै सर्वप्रीय छ ।
यत्र तत्र सर्वत्र प्रयोग हुने पानीभन्दा धेरै आकार बदल्न सक्ने "जी" लाई हाम्रो "राष्ट्रिय शब्द" घोषणा हुनुपर्छ भन्ने एकसूत्रीय माग पेश गर्दछु ।
-संप्रस पौडेल, हेटौंडा

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २