Monday, August 24, 2015

नेपाल बन्द

तिमी पनि बन्द गर्ने
म नि बन्द गर्ने
बन्दै बन्दबीचमा
घर कसरी चल्छ प्रिय ?

अफिस जाने को हो ?
पैसा कमाउँने को हो ?
पेटले बन्द गरौँ भन्दैन
लौ भन कसरी गर्ने  जोहो ?




तिमी पनि खल्ति छाम्ने
म नि खल्ति छाम्ने
डिग्री सर्टिफिकेट थन्क्याएर
बन्द गर्न जाने ?

समोसा खुवाउन्ज्याल यता र तेता भए
कहिले केटी त कहिले केटा भए
कृषि कर्म गर्ना अल्छिले नेता भए
ती यताका नि भए उताका नि भए ।

ती द्वार हेरेर मोटो र सुइरे भए
कहिले आफन्त त कहिले दही चिउरे भए
कहिले क्याटवाक त कहिले बामे भए
ताक परे तिवारी नत्र गोतामे भए ।

टायर जहाँबाट पनि आउँछ
घरमा दाउरा र ग्याँस छैनन्
आगो बल्छ सडकमा
घरमा चुल्हो चिसो छ
पानी बाँड्छन् सडक सडकमा
घरमा धारो सुसाउँछ
चिउरा र दालमोठ सडकमै खान्छन्
घरमा मुसा भोको छ
हो अब बुढा बाआमासँगै
साना छोराछोरी पनि सडकमै लैजाऔं

पल्लो घरका छिमेकीका परिवार
तल्लो घरका आफन्त,
ससुराली र मामाघरका अनि
काका घर र सानीमाघरका पनि
सबै सडकमै जाऔं
सडकमै खाऔं
सडकमै रमाऔं
बुद्धि हुनेका त मन्द छ
हो आज नेपाल बन्द छ ।

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २