Wednesday, November 28, 2012

चाकरी र चाप्लुसी

चाकरी र चाप्लुसी एकै आमाका कोखबाट जन्मिएका हुन् । आफ्नो काम बनाउन जिउजिउ र हजुर गाउँदै सेवास्वरुप सुर्ति मोल्नु र तम्बाखु भर्नु चाकरीको दैनिकी हो भने गाइको घिउभन्दा धेरै चिल्लो घस्दै काम चिप्ल्याउन सक्नु चाप्लुसीको कार्य विवरण । आजकल सार्वजनिक शौचालयदेखि परराष्ट्र र कुटनीतिक नियोगसम्म यी दुई दाजुभाईको खुबै चलखेल हुने गरेको छ । मन्दिर, विद्यालय, स्वास्थ्य सँस्था र एनजिओको त कुरै छोडौं । चाकरी चाप्लुसी गर्नेमा जसको ठूलो दलबल उसकै हुन्छ ढलमल ।

बिहानै मन्दिर जाँदै थिएँ । एक्कासी गनगाइँ आमाले गन्गन् गरिन्, “ चाइनेजो पाउर नभाको देवता खोज्दै के मन्दिर जान्छौ ए बाहुन्, भगवानलाई घुस खुवाउने दिन गए । अब चाकरी र चाप्लुसीविना जागिर पायौ भने मैले भन्याथेँ भन्लौ । तिम्रा आगो ताप्नुपर्ने सटिफिकेट...” स्वार्थ, इष्र्या, भ्रष्टाचारलाई पैतालामुनि कुल्चेर स्वाभिमान, नैतिकता र इमान्दारितालाई शिरोधार्य गर्दै हिँड्ने जो कोहीलाई नर्सले रिसाएर दबाएको सुइभन्दा च्वास्स दुख्ने वचन हो यो ।
मुस्लिम, मगर, नेवार, देउडा सबै सम्प्रदायको चाडबाडमा गएर बेमौसमी सयपत्रीका महंगा माला लगाउँदै आफ्नो चाडबाड त्यागेका अकम्युनिष्टहरु आफूलाई ज्यादा कम्युनिज्मको प्रणेता मान्दछन् । पञ्चायत कालमा घरघरबाट खसी चोरी खाने कांग्रेसीहरु पञ्चखत माफी पाएपछि आफूलाई फुकेको राँगो ठान्छन् । नकारात्मक बिल्ला भिराइएका मण्डलेहरु आफूलाई ज्यादा देशप्रेमी ठान्दछन् । देशी विदेशी तत्वलाई दोष लगाउँदै अरुलाई प्रतिगामी आपूmलाई अग्रगामी ठान्नेहरुको हविगत मौलिक उखान ‘कुकुरले नपाएको दुख’ संग मिल्नुपर्ने हो ।
बेला पनि बितायो पाप पनि चितायो भनेभैंm बेलामा संविधान नलेखेपछि जिम्मा पाएका तलब र भत्ताधारी सभासद् र नेताहरु कोही उम्कन पाउँने छैनन् । राजनीतिलाई कमाई खाने भाँडो ठान्ने हरिकंगालहरु चाकरी र चाप्लुसीलाई पुस्तौली सम्पत्ति ठान्ने गर्दछन् । त्रि.वि.वि. को उपकूलपतिदेखि पशुपतिनाथको उत्पत्तिसम्म विवाद गर्न जानेकाहरु उही झोली लिएर भोट माग्नमा व्यस्त देखिए । हाँडिखोलाको भोजसिद्ध मा.वि. र जनप्रिय प्रा.वि. मा चाकरी गर्दै वि.व्य.स. को अध्यक्ष उम्मेदवारीमा देखिएको  राजनीतिक विवाद यसको ज्वलन्त उदाहरण हो । हामीलाई पाटन अस्पतालको व्यवस्थापनको राजनीतिभन्दा आफ्ना भाई बहिनी पढ्ने विद्यालयको राजनीतिक अस्तव्यस्तताले पिरोलेको छ । सार्वजनिक शौचालय बनाउनु र गरिबको घरमा सहयोग गर्दै शौचालय बनाउनुभन्दा राष्ट्रिय कलाकार ल्याएर बिसौं लाख खर्चिनु हाम्रालागि उपलब्धी हुनै सक्दैनन् । खुल्ला दिसामुक्त क्षेत्र भाषण र वक्तव्यले घोषणा गर्दैमा सफल हुने नभई शौचालयको निर्माण र मानवीय व्यवहारले हुने कुरा सम्बन्धित पक्षले कहिले बुझ्ने हो ?
आफूले गरेका र बोलेका कार्य जनभावना बमोजिम र अरुका विचार र कार्य गैरसंवैधानिक र जनभावना विपरीत भन्दै कुर्सीको कोकोहोलो गर्नेहरुलाई आफ्नै कार्यकर्ताले ताजन खुवाइरहेका छन् । त्यसलाई जनभावना बमोजिम ठान्नुपर्ने पो हो कि ? बाह्र बर्षमा खोलो पनि फर्किएर आउँछ भनेझैं पालो सबैको आउँछ, कुर्न मात्र सक्नुपर्छ । जनताले बाह्र बर्षसम्म त्रासमा बिताएको अरिंगालको गोलो अब हाम्रा राजनीतिज्ञको पोल्टोमा खनिएको छ । सत्ताको फोहोरी खेलमा रमाई रमाई डुबुल्की मार्नेहरुलाई चिमोट्ने बेला आएको छ । अब चाकरी र चाप्लुसीले कत्तिको ओखती गर्ने हुन् कुन्नी ? २०६९ मङ्सिर १३ गते

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २