Wednesday, August 13, 2014

जुँगादाह्री महात्म्य


 – संप्रस पौडेल 'दिवस'

ती युग गए, यी युग आए, म्वाईँ खाने गालामा भुत्ला पलाए । उसै त आजकलका केटाहरु, त्यहीमाथि साउन महिना । गेरु वस्त्र धारण गरी धेरै पुरुषहरु दाह्रीकपाल समेत काट्दैनन् । बुढाहरु आफ्ना सेतै फुलेका दाह्री कैला बनाउँछन् ।  साउन महिनामा गेरु लगाएर हिँड्दा मःमः होटल साहुसँग कुम ठोकिँदा पनि बोल्दैनन् । न यिनलाई मदिरा व्यवसायीको आन्दोलनको डर छ, न त बाटा बाटामा मापसेले रोक्छ । बेलुकी बेलुकी मापसे चेक गर्ने ट्राफिकलाई उल्टै हप्काउँछन् र सिकाउँछन् गेरुधारी चालकहरु । यसैले यस महिनाभर ट्राफिकहरु चोक चोकमा निशुल्क गफ गरिरहेका भेटिन्छन् ।

हिराको मोल किराले जान्दैन भन्छन् । जुँगाले हुने काम नहुनेले गर्नै सक्दैन । फेरि भैंसीको सिङ आफैंलाई गरुङ्गो हुँदैन भने जस्तो पालेका दाह्री, जुँगा र कपालले पाल्नेलाई अप्ठेरो पर्दैन । हाड नभएको जिब्रो लट्पटिन्छ, जुँगा नभएको मानिस हड्बडिन्छ । त्यसैले जुँगा निर्णयको आधार पनि हो । यो परिपक्वताको निशानी पनि हो ।

एकदिन जवानीमै जुवाँदाह्री पाकेका मेरा हितैषी मित्र जोक शाहरुखको कहानी सुनाउँदै थिए । सन्तान नभएपछि शाहरुख नाम गरेको चट्पटे व्यापारी साउन महिनाभर घरबाहिरै रहेर व्रत बसेछन्  अनी शिव भगवानको मठमन्दिरमा पूजाआजा गर्दै बोलबम यात्रामा निस्किएछन् । एक महिनापछि घर आएछन् । दाह्री कपाल पालेर आएका पतिलाई नचिनेर शाहरुखले पत्नीलाई आफ्नो परिचय नै दिनु परेछ । पत्नीले सन्तान हुने उपाय पत्ता लगायौ कि ?” भनी सोधिछन् । शाहरुखले बोलबम जानेक्रममा भेटेमध्ये सबैभन्दा लामो दाह्री कपाल भएका सन्तानेश्वर बाबाकै सल्लाह अनुसार काशीमा बत्ती बालेर आएको बताए । पत्नी खुशीले गदगद भइन् । नभन्दै बर्षै दिनमा पहिलो सन्तान पनि भैगए । सन्तान भएपछि उनी काशी जान छोडे । अब त उनको सन्तान पनि बर्षैपिच्छे हुन लाग्यो । उनलाई घरखर्च धान्न मुस्किल पर्न थालेछ । करिब आधा दर्जन सन्तान भैसकेपछि गाउँलेहरु भाग्यमानीको भैंसी बर्षौटे, अभागीको स्वास्नी बर्षौटेभन्न थालेछन् । ग्राहकलाई शाहरुख पसलबाट एकाएक गायब भएको महशुस भएछ । एकदिन उनै शाहरुख पत्नीलाई श्रीमानको व्यापार धानिरहेकी देखेर साथीले सोधेछन्, “भाउजु शाहरुख दाई कता गएछन् आजकल ?” उनको उत्तर यस्तो थियो, “सन्तान भएन भनेर काशी गएर बत्ती बालेर आएपछि बर्षैपिच्छे सन्तान भयो, अब चाहीँ सन्तान पुग्यो भनेर बत्ती निभाउन काशी जानुभएछ ।दाह्री र कपाल पालेका लट्टे जोगीका सल्लाह हामीलाई आजसम्म पनि विश्वासयोग्य लाग्ने गरेको छ

दाह्री आउने हर्मोनको कमीका कारण महिलावृन्दहरुको दाह्री पलाउँदैन, भने त्यही हर्मोनका कारण पुरुषहरुको दाह्री जति काटे पनि आइरहन्छ । दाह्री कपाल फुल्ने, खुइलिने, पाल्ने, रंग्याउँने कामबाट हाम्रा राजनीतिक व्यक्तित्व पनि अछुतो छैनन् । प्रजातान्त्रिक कालमै सेतै कपाल भएका अर्जुननरसिंह केसीले लोकतन्त्रसँगै सेता कपाललाई राता बनाउँदै गणतन्त्र आउँदा कालो बनाइसके । देशको स्थितिभन्दा यिनको कपालको रङमा ज्यादा परिवर्तन देखिन्छ । यसबाट हामीले काम सानो वा ठूलो किन नहोस् समयानुकूल रुपान्तरण हुनुपर्छ भन्ने जान्नुपर्छ । अकबरी सुनलाई कसी लाउनु पर्दैन, जुसले मातिने नेतालाई रक्सी ख्वाउनु पर्दैनभनेझैं मुखियाका जस्ता बटारिएका जुँगाले कति ठूला ठूला काम गरेका छन् हाम्रा देशमा । त्यसैले त हाम्रा ऐतिहासिक राजा, प्रधानमन्त्रीहरु लामा लामा जुँगा पाल्दथे ।
दाह्रीकै कुरा गर्दा हाम्रा प्रधानमन्त्री सुशिल कोइराला जन्मँदै सेता दाह्री लिएर जन्मिएका हुन् भन्ने तपाईँको विचार बेठीक हुन पनि सक्छ । उनकै सहोदर दाजु जस्ता नरेन्द्र मोदी आएर हाम्रा संसदमा मिठो मसिनो भाषण गरेर गए । उनका दाह्रीको कुरा बाह्र हाते सारीभन्दा लामो छ । कपाल सेतै फुलेका मोदी फकीर भई हिँडेको कुरा उनले नेपाली भाषामै सुनाई हाले । फकीर हुँदा उनले पालेको कपालले नेपालसँग पक्कै कुनै न कुनै नाता गाँसेको थियो भन्ने एकलौटी ठहर रहेको छ ।
सुनेको कुरो झुसिल तोइराला (हाम्रा प्र.म. को गाइजात्रा नाम) को झुस देखेर मोदीले रात्रीभोजमा भनेछन्, “बाँकी रहेको निधार र नाकको टुप्पोमा पनि अर्ग्यानिक झुस रोप्नोस्, अहिले हनुमानझैं जनतालाई झोस्नोस्, १० साल बात भारतले तपाईँको पाकेको झूसको जुस निकालेर तपाईहरुलाई नै बेच्नेछ । फेरि काम गर्ने हनुमान जस पाउने ढेडु हुन यहाँहरुलाई कसले सिकाउनु परेको छ र ?”
टिपटापे ज्योतिषीले भनेको सुनेको के.पि. ओलीले झुसिलकिराको झैं ठाडा जुँगा काटेर राँगा भएकाले नै यो वर्ष उनका लागि अभागी सावित भएको अरे । कपाल फुलेर सेतै भएका उनको तालुमा स्केटिङ खेल्ने इच्छा हुनेहरुले उनको जुँगा उखेल्ने डरले जुँगा पनि काट्नु परेको अरे । उखाने कामरेड भन्थे, “के रे हराएको गाई सूर्यलाई दान भन्छन्, मैले पनि तालुका कपाल सूर्य पार्टीकै हितमा चढाएँ ।जुँगाको रापले उनको तालुका रौं सिन्धुपाल्चोकको पहिरोले जस्तो उडाएको छ । उनलाई सुझाव दिनु छ, प्रचण्ड कामरेडका सर्लक्क परेका कपाल लगेर उनको तालुमा वृक्षारोपण रोक्नुपर्छ । जसलाई भँडार खनेर आँगन पुर्नु भन्ने उखानले पुष्टि गर्दछ ।
एकताका हाँस्यकलाकारले ओलीको क्यारिकेचर गर्न उनकै जस्तो जुँगा राखेछन् । पछि उनी बाठो भएर आफ्ना जुँगा सर्लक्कै फाँडिदिएछन् । बाख्राले बिराउँदा भेडाको कान काट्ने भनेको यही हो । कलाकारले आफ्नो क्यारिकेचर गरेको रिसले जुँगा मुठारेछन् । मुठारेपछि उनलाई झनै उत्पात आइलागेछ । आजकल जुँगा मुठार्नाले उनलाई मात्रै होइन, जनताले तिरेको राजश्व खर्चेर विदेश लगेर उपचार गराउनु परेकोले हामी सबैलाई सताएको छ ।
बाँदर छली ढेडुको सभामा जाने नेताहरुका कारण देश बिगार्नेका कुरा ज्यादा बिकेका छन् । बालुवा निचोरी तेल निकाल्न उद्दत हुनेहरुले विकास बजेट खर्लप्प पार्ने गरेको आरोप छ । यसले नानीभन्दा आची ठूलो अर्थात् आम्दानी रुपियाँ खर्च दश आनी भन्ने उखानलाई चरितार्थ बनाउँछ । दाह्री पालेर साधु, कपाल फुलाएर अनुभवी हुने हो भने दौरा न सुरुवालको खल्ती सिलाएर के काम ?
मोदीको भव्य स्वागत गरियो । हुन त मोदीका लागि त्यति ठूलो सेक्युरिटी नदिँदा पनि नेपालमा केही बिग्रने थिएन भन्नेहरु पनि छन् । देशमा ठूला मुसाहरुको सरकारका कारण विपक्षी दलका रुपमा चिनिएका छुचुन्द्रा र डुहुरेहरुले कपाल पाकेको पाको ढाडे बिरालो जस्ता मोदीको विरोध गर्ने आँट गरेनन् । बिरालोको घाँटीमा घंटी कसले बाँध्ने भन्ने कथा यहाँ पूरा हुन सकेनन् । कपाल नपाक्दै छुचुन्द्राहरुको नाकबाट बारुदको गन्ध हरायो । मोदी देशको माग माग्दै थिए, उनीहरु जातिय, भाषिक, धार्मिक, साम्प्रदायिक र क्षेत्रीय माग राख्दै थिए । हाम्रा नेताहरुको ड्याङ एउटै भएको, गमलामा फुलेको पूmल बारीमा फक्रिन नसकेको आभास सबै नेपालीले गरे ।
खरब रुपियाँ ऋण सहुलियत दिएर गएका मोदीको बारेमा भन्नुपर्दा लाग्छ, एउटा बिरालो आयो, मुसाहरुलाई खाइलाग्दो हुने, मोटाउने, ढाडिने उपाय सिकायो गयो । अचम्म त भारतीय विस्तारवादको विरोधको नारा बोकेर जनयुद्धमा हाँकिएको पार्टी पनि लुत्रुक्क भएर संसदमा ताली बजाउन व्यस्त भयो । अब ऊ गाउँठाउँमा आएर भारतको हितका कुरा सुनाउन व्यस्त हुन थाल्यो । हामी ठान्छौं, उबेला गाउँमा पण्डित बाजेको संगतले उनले राखेका हली पनि दुईचार श्लोक र स्त्रोत्र गाउँथ्यो । यो त्यहीको पर्याय हो । हामीले बुझेको आइन्सटाइनको संगतले उनका ड्राइभरले सापेक्षवादको सिद्धान्त हाँके जस्तै हो । हाम्रा नेताहरुले अन्तर्राष्ट्रिय नेताहरुका संगत जानून् भन्ने अपेक्षासम्म हो ।
जनता भन्छन्, “सित्तैमा जुवाँदाह्री पकाएछन् हाम्रा नेताले ।इज्जत हुर्मत फुकालेर सुनकोशी नदीमा बगाए । गत हप्ता भारतीय प्र.म. मोदीको वक्तव्यपछि हाम्रा विपक्षी दलका नेताहरु भन्छन्, “मोदी झैं परिपक्व र क्लियर विचार दिन सक्नुपर्छ । त्यसै कपाल फुलेको छ र उहाँको ?” भारतीय विस्तारवादको नारा बोकेर जन्मिएको पार्टीका नेता आरोप लाउँछन् ।
आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको भन्छन् । बुढाबुढी भएको संकेत कपाल सेतै हुनु पनि हो । कपाल फुल्नुले अनुभवको संकेत पनि गर्दछ । आधाआधी कपाल फुलेका ओबामा, पुटिन, क्यामरुनभन्दा पूरै कपाल फूलेकी बेलायती महारानीलाई शक्ती राष्ट्रहरु पनि मान्दछन् । भनिन्छ नि, मनमोहन सिंहको दाह्री र जुँगाले सबै बोल्दथ्यो, यसैले उनी कम बोल्थे ।
भैंसीभन्दा गाईहरु ज्यादा सुधो हुन्छन्, यी भारतखण्डभर पूजिन्छन् । आजकल राष्ट्रिय जनावर कहलिने धुनमा चौलानी झैं दुध दिने, विदेशी वंशज बोकेका तर नेपाली नागरिकता भिरेका जर्सी गाईहरुको ज्यादा विगविगी छ । दाह्री पलाएका खसीबाख्राका सट्टामा मुडुले र थलथलाउँदा ब्रोइलरहरुको विगविगी छ । लोग्नेले आँटे वर्ष दिन, आइमाइले आँटे एकैछिन भने पनि दाह्री जुँगाले हाम्रो धर्म, राजनीति आदि क्षेत्रमा बेग्लै इतिहास रचेको छ । दाह्री कपाल त हाम्रा नेताका पनि फुलेकै हुन् तर खै कुन भिटामिनका कमिले ? त्यै भएर हामी आफैं चुनेर पठाएका प्रतिनिधिहरुलाई ठान्छौं, घाँटीमा अड्केको दाँत न निल्नु न उकेल्नु । जुँगा, दाह्री, कपालको महिमा जति गाए पनि नसकिने । तपाईँलाई के लाग्छ ? मान्छे तिनै हुन्, कुरा यिनै हुन् । अस्तु ।

हाल : श्री सिद्धार्थ उच्च मा.वि., हेटौंडा–२
२०७० श्रावण २६‚ संमृद्ध समाज दैनिकमा प्रकाशित

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २