Wednesday, August 8, 2018

मुखको तितो (हेटौंडा कपडा उद्योग)

"नेपाल बन्द कारखाना सञ्चालन गर्ने देश हुँदै होइन मन्त्री र प्रधानमन्त्री उत्पादन गर्ने कारखाना हो ।"
विभिन्न समयमा बनेका सरकारका प्रधानमन्त्री‚ उद्योगमन्त्री‚ अर्थमन्त्रीहरुमध्ये बाबुराम भट्टराई‚ केपि शर्मा वली‚ कर्णबहादुर थापा‚ महेश बस्नेत‚ नविन्द्रराज जोशी आदिले बन्द कपडा कारखाना सूचारु हुने बताएकै हुन् । उद्योग तथा वाणिज्य मन्त्री मात्रिका यादव पनि त्यही मेसो बुनिरहेकै छन् । विगतमा झैं प्रतिवेदनले पनि उद्योग सुचारु गर्न सकिने बेहोरा सार्वजनिक गरेकै छ । कपडा उद्योग पुन सञ्चालनसम्बन्धमा धेरैवटा समिति बनेर सञ्चालन गर्न सकिन्छ भन्ने आशयको प्रतिवेदन प्रकाशन हुन्छ । यो पटक पनि त्यस्तै भएको छ ।
सबैले सञ्चालन हुन्छ‚ गर्न सकिन्छ भन्दाभन्दै गर्न नदिनेचाहिँ को रहेछ ? बुझ्नै सकिएन ।
यो देशमा कारखानाका मेसिनभन्दा धेरै नेता चल्छन्‚ मेसिनले भन्दा धेरै नेताले हानिकारक ग्यास उत्सर्जन गर्छन्‚ फ्याक्ट्री र मेसिनभन्दा धेरै नेता नै बिक्छन् ।
नेपला सरकारका पूर्व अर्थसचिव रामेश्वर खनाल भन्नुहुन्छ "संसारकै उत्कृष्ट सिइओ पाए पनि बुटवल धागो कारखाना‚ विराटनगर जुटमिल वा गोरखकाली रबर उद्योग ठाडै घाटामा जान्छन् ।" यस भनाइले नेपालमा सरकारी लगानी वा विदेशी सहयोगको कसरी अपचलन भैरहेको छ प्रष्टै हुन सकिन्छ ।
विदेशीले दिएका कलकारखाना सञ्चालन गर्न पनि हामीलाई कति गाह्रो भएको होला । पकाइवरी ल खाउ भन्दा "जाँगर छैन भुँडीमै पुग्नेगरी कोच्याइदे न" भन्ने हाम्रो परम्परा बन्न लागिसकेछ ।
अन्त्यमा "नेपाल बन्द कारखाना सञ्चालन गर्ने देश हुँदै होइन मन्त्री र प्रधानमन्त्री उत्पादन गर्ने कारखाना हो ।" सबैजना मिलेर हानिकारक नेता उत्पादन गर्ने कारखाना चलाइरहेका छौं । यसैमा हामी मख्ख छौं । कल्प कल्प टिक्नुपर्ने विकास अल्प अल्पमै टुंग्याइनुले कुन नेपालीलाई भलो होला र ?

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २