Sunday, June 10, 2012

फेसबुक पार्टी


फेसबुक पार्टी
पहिला पहिला “कपुरी क” सिक्नु पर्दा भनिन्थ्यो, गोलो गोलो अण्डा पुलिसको डण्डा, हनुमानको पुच्छर, रामको जुँगा । आजकल बच्चालाई कखरा सिकाउने उपाय बेग्लै छन्, जस्तै : फेसबुक फण्डा, फेसबुककै डण्डा, फेसबुककै चंगा, फेसबुके लफङ्गा । यति भनेपछि अपलोड अ, कमेन्ट क, गुगल ग, च्याट च, ट्याग ट, पोक प, स्ट्याटस स इत्यादी कखरा र सावाँ अक्षर सिक्नलाई केही गाह्रो भएन । बच्चाहरु पनि बोल्न जान्यो कि बाबा, आमा, मामा भन्ला भन्यो फेसबुक फेसबुक भन्दिने । यो समयको माग पनि होला एक्काइसौं शताब्दिको ।

हाम्रो पृथ्वीमा ७ वटा महादेश छन् । हालसालै थपिएको आठौं महादेश फेसबुक हो । हार्वर्ड विश्वविद्यालयका छात्र मार्क जुकेरवर्गले फेसबुक नामक सामाजिक सञ्जाल बनाएपछि हामी त्यो जञ्जालमा परेका आजसम्म छुटेका छैनौं । बरु नेपालको जेलबाट कैदी चाँडै छुट्छ, भन्सारबाट हात्ती र आरोप प्रत्यारोपबाट गलफत्ति नेताहरु चाँडै छुट्छन्, चुट्छन्, जुट्छन्, फेसबुकबाट छुट्न गाह्रो । आजकल केटी पट्याउनलाई मोबाइल, मनी, मोटरसाइकल “थ्री एम” चाहिन्छ भन्ने परम्परावाद फेल खाएको छ । अब फेसबुक एकाउण्ट नहुनेले जिन्दगीमा कहिल्यै प्रगती गर्दैन भन्न थालिसके युवायुवती । त्यसैले माग्नेदेखि थाङ्नेसम्मले फेसबुक प्रयोग गर्न थालिसके । ७० वर्षे बुढाबुढी पनि जवान भैदिन्छन् यसमा । नपत्याए हेर्नोस् न राम्री प्रोफायल फोटो राख्ने युवतीहरुका कति धेरै साथी ???

कसैकसैले त भन्लान्, यो फेसबुकले गर्दा श्रीमतीले तरकारी डढाई, छोरीले इस्त्रि लगाउँदा लगाउँदै पाँच पाँचोटा स्कर्ट फटाई, श्रीमानहरुलाई अर्कैकी श्रीमतीले ठटाई । केही श्रीमानहरु अफिस जान घडी हेरी निस्कँदा रातको १० बजे घरबाहिर निस्किएका छन् यहाँ । जे भन्नोस् यो फेसबुक नभई भाछैन । भन्नेले भन्लान् केटाकेटीको फेसबुकमै लभ पर्छ, फेसबुकमै मायाँ साटासाट हुन्छ, फेसबुकमै विवाह हुन्छ र सम्बन्धविच्छेद पनि फेसबुकमै हुन्छ । आ–आफ्नो विचार, तैपनि विहा अली चाँडै गरिएछ भन्ने मात्र लाइरा’च । अझ केटी पट्याउन र साली जिस्काउन यो फेसबुक अति उपयोगी छ । बाटोमा हिँड्दा सुशेली हाल्ने जमाना गए, च्यातिएका पाइन्ट लगाई रफटफ हुने जमाना खुइलिए, जमाना फेसबुकको छ, नढाँटी भनौं त जमाना बेबकुफको छ । त्यसैले एउटा नयाँ उखान नै बनेको छ नि “घरै फेसबुक, वनै फेसबुक, ससुराली जाँदाखेरी त्यहाँ पनि फेसबुक” ।

फेसबुकमा स्ट्याटस राख्ने त सबैले गर्छन, युवतीहरुले जे लेखे पनि कमेण्ट र लाइक धेरै तथा युवकहरुले लजिकल्ली लेखेको पनि कमेण्ट नपाई रद्दीको टोकरी (फेसबुकको विनमा) जाने हुनाले धेरै युवकहरुले आफ्ना नाम फेर्न थाले, जस्तो परिवर्तनले परी, सुन्दरले सुन्दरी, हिमालले हिमाली, पंकजले पंकी इत्यादी ।

“तलब पनि खाने, संविधान पनि लेख्न नपर्ने त्यसैले नेताभन्दा कुकुर पाल्नु बेस लाग्यो मलाई ।” तथा “जेठ १४ मा टुटुल्को र ठेस लाग्यो मलाई, नेता जति सबै अब मरेस् लाग्यो मलाई” भन्दै फेसबुक स्ट्यास लेख्न पाउने स्वतन्त्रता छ हामीलाई । अर्थात् भनौं फेसबुकमा पूर्ण प्रजातन्त्र छ नेपालीलाई । फेसबुकमा ओछ्यानबाटै गुडमर्निङ भनेर एक निन्द्रा भ्याउनेहरु पनि छन्, फेसबुकमा यसो गर्छु र उसो गर्छु भन्नेहरु हाम्रा नेताभन्दा धेरै छन्, सभासदभन्दा ठूलो खाङ्ग्रे भरिएका छन् यस्ता मान्छेहरुले फेसबुक । कान्छी स्वास्नी ल्याएभैंm फेसबुक एकाउण्ट दुई चार थान खोल्नेहरु पनि छन् । यो फेसबुकमा बेबकुफ पनि छन्, राम्रा पनि छन् । नेता र सभासदहरुको आश्वासनभन्दा ठूलो जमात छ यहाँ । आफ्नो भने पार्टी पार्टीले भरिएको नेपालमा एउटा छुट्टै फेसबुक पार्टी खोल्ने सोच छ । नेपालमा दश हजार हस्ताक्षरले पार्टी खोल्न पाइने भएपछि दश हजारले लाइक गरे त एउटा फेसबुक पार्टी जन्मिहाल्छ नि । फेसबुक पार्टी जिन्दावाद १ अस्तु ।
www.facebook.com/nepali-sampraspaudel

२०६९ जेठ २३ समय चित्रण साप्ताहिकमा प्रकाशित

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २