Sunday, June 10, 2012

कम्प्युटरसँग हाँस्दा

कम्प्युटरसँग हाँस्दा

–संप्रस पौडेल ‘दिवस’

कम्प्युटरको जमाना छ, त्यसैले दैनिक अपडेट नभए पछि परिन्छ । एफ एमका क्वीज कार्यक्रमहरुमा कम्प्युटरले ठीक कि बेठीक भन्छ, त्यहाँ कम्प्युटर नै हाँस्छ । चर्चित कार्यक्रम कौन बनेगा करोडपतिमा पनि अमिताभ बच्चनले कम्प्युटरजी भन्दै प्रश्नहरु सोध्नछन् । त्यस्तै आजकल हामी केही समस्या परे गुगलमा गएर सर्च गर्छौ र समस्याको समाधान भेट्टाउँछौं । औषधी, उपाय, साहित्य, इतिहास, फिल्म, फोटो, प्रश्न उत्तरदेखि हरेक चिज गुगलले समाधान गरिदिन्छ । बरु समाधान हुनै नसक्ने कुरो हाम्रो देशको संविधान मात्रै हो, यो न गुगलमा सर्च गरी भेटाउन सकिन्छ, न त अपडेट गरी नयाँ पाउँन सकिन्छ । त्यो कुरा हाम्रो बशमा रहेन । हेरौं, मानिसहरु गुगलमा के के खोज्छन् ? के के खोज्ने हो ? मेरो केही सुझावहरु यस्ता छनः

समस्या नं. १. यदि कसैकी श्रीमती हराएमा के गर्ने ?

सुझावः
क) कम्प्युटर टर्न अन गर्ने,
ख) मोजिला फायरफक्स वा गुगल क्रोम आदि ब्राउजरमा गएर www.google.com.us टाइप गर्ने, 
ग) अब अमेरिकाको गुगल खुल्छ
घ) सर्च बक्समा गएर “mero shrimati harai, americatira aaki 6?” टाइप गर्नुहोस् ।
भर्खरै इडिभि रिजल्ट भएको छ । डिभि परेको लाहुरेसँग अमेरिका भागेकी भए पक्का भेटिन्छ, नत्र चुपचाप बस्नोस् । भोली आफैं आउँछे । स्वास्नी पाल्ने हिम्मत कसैको छैन ।
 
समस्या नं. २. ब्वाइफ्रेण्डलाई लाइफटाइम कसरी बनाउने ?
सुझावः आजकल हप्तैपिच्छे अफेयर चल्ने र हप्तैपिच्छे ब्रेक हुने क्रम बढ्दो छ । यसैले लभेरिया रोगमा फसेकाहरुलाई कम्प्युटर समाधान सहित मेरो सुझावः

क) कम्प्युटर टर्न अन गर्ने,
ख) फूल भर्सनको भए पनि श्रीमानलाई अनिस्टल गर्ने,
ग) ट्रायल भए पनि व्वाइफ्रेण्डलाई इन्स्टल गर्ने,
घ) गुगल मार्फत् Patch of boy friend version 9.0 डाउनलोड गर्ने,
ङ) यसलाई तपाइको एन्टिभाइरसले डिलेट गर्न सक्छ, त्यसैले केहीबेर एण्टिभाइरस टर्न अफ प्रोटेक्सन गर्ने,
च) अब प्याचमा डबल क्लिक गरी श्रीमानलाई फूल रिप्लेस गर्ने र ब्वाइफ्रेण्डलाई फूल भर्सनको बनाउने, अर्थात् नयाँ ब्वाइफ्रेण्ड आएपछि श्रीमान आफैं रिप्लेस हुन्छन् ।
 
समस्या नं. ३. श्रीमतीले भन्दा बढी ससुराली पक्षबाट ह्याङ्ग भए के गर्ने ?
सुझावः तुरुन्त श्रीमतीलाई सिफ्टसँग डिलिट गर्नुहोस् र गर्लफ्रेण्डलाई कट पेष्ट गर्नुहोस् । यदि श्रीमतीसँग राम्रो सम्बन्ध छ भने उनलाई एकछिनको लागि डिएक्टिभ गर्नुहोस् । नत्र तपाइका श्रीमतीको माइती पक्षबाट तपाइको घरमा आएका गरगहना, रुपियाँ जस्ता महत्वपूर्ण डाटाहरु ह्याक हुन सक्नेछन् र तपाइको घर नै फर्म्याट हुन सक्नेछन् ।

तपाइका घरायसी तथा व्यक्तिगत समस्याहरु समाधान भएको ठानेको छु । अब त तपाइ मात्र के ? तपाइको कम्प्युटर पनि हाँस्न थाल्नेछ ।  अर्को साता अर्कै विषयमा भेटौंला । अस्तु ।
 www.facebook.com/nepali-sampraspaudel २०६९ जेठ २९ समय चित्रण साप्ताहिक

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २