Sunday, August 5, 2012

मित्रता


–    संप्रस पौडेल “दिवस”
       “मित्रता अर्थात् फ्रेण्डसिप । दुई मन मिलेपछि कुनै पनि नाता मित्रतामा बदलिन्छ ।” यो राजेश हमालको डाइलग होइन, वास्तविकता नि हो । मित्रता गाँस्नलाई उमेर, धन, शिक्षा, औकात र नाता केहीले पनि छेक्दैन । नातागोतामा पनि मित्रता उत्तिकै हावी हुन्छ । त्यसैले सत्तरी बर्षे वृद्ध पनि कालले लत्तरी हुने बेलामा पाँच वर्षे नातीसंग मित्रता गाँस्छन् । अढाई बर्षे छोरालाई बुई चढाएर बाबु गधा बन्छन्, जीवनभर श्रीमती श्रीमानको स्याहार सुसारमा जिन्दगी गुजार्छिन्, आमाहरु छोराछोरीको लागि घर छोडी वृद्धाश्रममा बसोबास गर्छन्, त्यसैले मित्रता लिनुमा हैन दिनुमा रहेछ ।
       कहिलेकाँही मित्रताले अझ नजिकको नाता गाँसेर पारिवारिक नातासम्म पुर्याउँछ भने कहिले सामान्य खटपटले पनि जिन्दगीभर कटुता महशुस गराउँछ । नेपालमा हाल न्यून रहेपनि विगतमा दुई मानिसहरुबीच मित मितिनी लगाउने चलन प्रशस्त थियो । यस स्तम्भकारको विचारमा हाम्रो देश नेपालमा मात्रै मीत लगाउने चलन रहेको छ ।
       आजकल मित्रतामा विष भरिएको छ । जताततै शङ्कैशङ्का छ । यहाँ दुनियाँ आपूmलाई ढोका सम्झन्छ अरुलाई झ्याल, आपूmलाई बडे रुख अरुलाई पराल, आफूलाई बाघ सम्झन्छ, अरुलाई स्याल । विचार आ–आफ्नै । भानुभक्तको कवितामा म हाँडी भन्छु, उहाँ राँडी सुन्नुहुन्छ भनेझैं म सूत्रधार भन्छु दुनियाँ मुत्रधार सुन्छन् । त्यस्तै मैले सुनेका मित्रहरुका अंग्रेजी शब्दहरु कुनै डिक्सनरीमा पाइन्नन् । सम्झी साध्य नभएका तर केही सम्झिएका शब्दहरु यस्ता छन् । अड्कलाइजेशन, अन्दाजीफिकेसन, नेपालोप्याथी, सोमरसोथेरापी, मोज योरसेल्फ,....... इत्यादि । यी मित्रता गाँसेपछि एकअर्काबाट सिकेका शब्द र भाषा हुन् ।
फिलिमको डाइलग अफिसमा नबोल्नु भनेता पनि राजाले जनतासंग, शिक्षकले विद्यार्थीसंग, हाकिमले अन्य कर्मचारीसंग मित्रताको राखे मान्छेले दुख कहिल्यै पाउँदैथ्यो ।
       एउटा टुरिस्ट नेपाली साथी भेट्न युरोपबाट हेटौंडा आएछ । हुप्रा चौरलाई देखेर “ओहो यत्रो चौर बनाउन कति समय लाग्यो” भनी सोधेछन् । नेपाली साथीले भनेछ, “दश बर्ष ।” “हाम्रो देशमा त तीन बर्षमै बन्छ यस्तो चौर” टुरिस्टले भनेछ । फेरि नगरपालिकाको भवन देखेपछि टुरिस्टले भनेछ “ओहो यत्रो बिल्डिङ्ग बनाउँन कति समय लाग्यो ?’ साथीले भनेछ “दुई बर्ष ।” टुरिस्टले “यत्रो भवन त दुइ महिनामै बनाइदिन्छौं” भनेपछि साथीलाई झोक चलेछ । पिप्ले पुगेपछि टुरिस्टले सोधेछ, “ओहो यत्रो माछा पोखरी बनाउन कति समय लाग्यो ?” अब बठ्याइँ गर्दै साथीले भनेछ, “खै हिजोसम्म त खेतै खेत थियो, रातभरीमा पानी परेर जम्यो होला ।” कहिलेकाँही मित्रतामा ढाँट्नुपर्ने पनि रहेछ ।
       आजकल बाबुछोरा र आमाछोरी साथी जस्तै देखिन्छन् । त्यसैले कुमार बस्नेतले गाए, ‘छोरीभन्दा आमा तरुनी’ भन्ने गीत । यस्तै बाबुछोरा साथी जस्ता हुनाको परिणाम हेरौं : छोरालाई तनावमा देखेर बाबुले “के भयो” भनी सोध्छन् । छोरा चाहीँ “केही हैन” भन्दै टार्छ । अनी बाबुले भने “हेर तँ र म त साथी जस्तै त हो नी । सबै भन् त के भयो ?” छोरा भन्छ, “ह्या मुला आपूmलाई कत्रो टेन्सन परीराछ, चुप लागेर बस् ।” कहिलेकाँही मित्रता हुनुको कत्रो बेफाइदा हुँदो रहेछ ।
       आजकल मित्रतामा भेल आएको छ, धमिलो पानीमा माछा मार्नेहरु मित्रतामा पौड्दैछन् । उबेलामा तारिफ गर्न सजिलो, गाली गर्न गाह्रो तर आजकल गाली गर्न सजिलो, तारिफ गर्न गाह्रो । जमाना तारिफको छैन, गाली र बेइज्जती गर्नेहरुको मात्रै छ । कसैको तारिफ गर्नै नहुने, यो खेमाका र त्यो खेमाका भन्दै बिल्ला भिडाइदिने । मित्रतामा नकारात्मक सोचाइ त बर्षे खहरे सरह मात्रै हो न कि गम्भीर समुन्द्र । मित्रताको तारिफ गर्न सिकौं, न कि कटुता । मित्रताको उदाहरण बन्न सिकौं । अस्तु । २०६९ श्रावण

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २