Sunday, August 5, 2012

कलिउडको जात्रा, तिघ्राको व्यापार


–संप्रस पौडेल दिवस

अगुल्टोले हानेको कुकुर बिजुली चम्कँदा तर्सन्छ भनेभैंm जुत्ताको माला लगाएको नेता पाडो देख्दा तर्सनु स्वभाविकै हो । प्रसङ्ग नेपाली फिल्मको, नेपाली फिल्म व्यापारको । नायक नायिकाको ग्रेड छुट्याउने कुरा चल्दा चोरको खुट्टो काट भन्दा केही चलचित्रकर्मीहरुले खुट्टा उचाले । नेपाली फिल्मलाई क्षणिक रुपमा व्यवसायिक तर दूरगामी रुपमा अश्लिलतातर्पm धकेल्ने दुई चार थान चलचित्रकर्मीहरु एडल्ट मूभी मेकर भइसकेका छन् । कहानी सुनाउने र भावनामा डुब्नेभन्दा नग्नता र अङ्ग प्रदर्शन हेर्ने खालका उत्तेजक नेपाली फिल्महरु बन्दैछन् । कुनै बेला असली फिल्म हेर्ने नेपालीहरु यतिखेर अश्लिल फिल्म हेर्दैछन् ।

दर्शकहरु कथा कहानी सुन्नभन्दा छाडा गाली सुन्न र उध्रेको चोली हेर्न फिल्महल जान्छन् । दुई विद्यार्थीलाई किन दुवै जनाको उत्तर एउटै छ भनी शिक्षकले सोध्दा प्रश्न एउटै थियो, त्यसैले उत्तर पनि एउटै भनी जवाफ पाएभैंm एउटै विदेशी फिल्मलाई आधार मानी बनाइएका दुई वटा नेपाली फिल्ममा कहिलेकाहीँ कथा, द्वन्द्व, दृश्य र संवाद उस्तै हुने गरेको छ । पहिल्यै हेरिसकिएको हलिउड, बलिउडका मुभीहरुलाई कपी गर्दै नेपाली फिल्म बन्ने आरोप खेपिरहेका समयमा अश्लिलताको हदले बजार तातेको छ ।

नेपालमा निराहार बस्दा घुस नखाने नेता र अश्लिलता नदेखाई चलचित्र बनाउने चलचित्रकर्मी पाउन मुस्किल परेको छ । नेपाली चलचित्रमा बढ्दै गएको उत्तेजक दृश्यको बारेमा सेन्सर बोर्डमाथि दवाव परे पनि सेन्सरबोर्डले कुनै आचरण र नीति नियम अगाडि नल्याएपछि दर्शक आपैंmले पालना गर्नुपर्ने मेरा सित्तैका ५ सुझावहरु यस्ता रहेका छन् ः

(क) सेन्सर बोर्डले सेन्सर गर्न नभ्याएका दृश्यहरु चलचित्रमा आउँदा दर्शकले आँखा चिम्लने ।

(ख) दश सेकेण्डभन्दा लामो चुम्बन दृश्य राख्न नपाउने । चुम्बन गर्दा जिब्रो बाहिर निकाल्न नपाइने ।

(ग) उत्तेजक दृश्य राख्दा आवाज निकाल्न पाउने कि नपाउने भन्नुहोला, त्यस्ता आवाज सुन्नु नपरोस् भनी ठूलो स्वरले चिच्याउने ।

(घ) उत्तेजक र यौन दृश्य राख्नैपरे फिल्म अवधि भरी नायक नायिकाको अनुहार प्लाष्टिक सर्जरी गरी बेग्लै बनाउने, फिल्म सकिएपछि पुन फिर्ता गर्ने ।

(ङ) अश्लिल दृश्य रहेका फिल्महरुमा “१८ वर्षभन्दा माथिका लागि मात्र” भनी उल्लेख गर्ने र नागरिकता तथा गा.वि.स./नगरपालिकाको सिफारिसविना त्यस्ता फिल्म हेर्न नपाइने व्यवस्था गर्ने ।

खोला नतरी गोहीलाई नजिस्काउनु भनेभैंm फिल्म नै नहेरी कसरी अश्लिलताको व्याख्या गर्नु ? त्यसैले हिजोआजका फिल्म हेर्न जानु परे छद्मभेदी भई जानुपर्ने बाध्यता पनि छ । उता भारतीय मूलकी पोर्न स्टार सन्नी लियोन बलिउडमा प्रवेश गर्दा सम्मान पाउँछिन् भने नेपाली फिल्ममा अश्लिल भिडियोको किन कुचर्चा हुने भन्नेहरु पनि छन् । नायक सौगात मल्ल लगायतले फिल्ममै मनलाग्दी शब्द बोल्ने, नायक दिनेश थापाले नायिका जिया केसीको बक्षस्थलमा समाउने लगायत अश्लिल क्रियाहरु समावेश भएपछि अश्लिलताको हद कति ? भन्ने प्रश्न उब्जिएको हो ।

नायिकालाई धेरै हदसम्म अश्लिल फिल्मकी नायिकाको भैंm रोल दिइएकोले आजकलका नेपाली फिल्महरुले यौनवादी छलाङ्ग पार गरेको भान हुन्छ । फिल्म खेल्नेहरु यतिखेर आफ्नो जिल्ला पस्दा इज्जतको सट्टा बेइज्जती खेपिरहेका बेलामा नायक नायिकालाई मकै नाङ्गेभैंm नाङ्गिएर जात्रा नदेखाउन सस्तो सुझाव छ ।

स्वदेशी फिल्म हेर्न छि छि भन्नुपर्ने भएकोले विदेशमा एडल्ट मुभीको बिल्ला पाउने खालका नेपाली फिल्म हेरेर दुनियाँले के सिक्ने ? यस्ता फिल्मले समाजमा यौन हिंसा, यौन दुराचार, बलात्कारको बढावा दिनेभन्दा कुनै सन्देश दिने होइन । यसर्थ यहाँ रेखा थापालाई छोटा स्कर्ट लगाएर “कलिउडको जात्रा तिघ्राको व्यापार” गरेको आरोप लगाउनेहरुले नग्न भई कामुक र छाडा फिल्म खेल्ने कलाकारलाई केको आरोप लगाउने हुन् कुन्नी ? जति धेरै सुविधा, उति धेरै द्विविधा । अस्तु । www.facebook.com/nepali.sampraspaudel 
www.samakalinsahitya.com‚ समय चित्रण तथा सबथोक साप्ताहिकमा प्रकाशित

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २