Tuesday, September 23, 2014

असीमित चाहना

लघुकथा
-संप्रस पौडेल 'दिवस'
एसएलसीमा राम्रो प्राप्ताङ्क ल्याएपछि रामप्रसाद अर्यालका छोरो (सुविन) साइन्स पढ्ने भयो भने छोरी (सुविना) स्टाफ नर्स ।
केही बर्षपछि दुवैले क्याम्पसको २ र ३ वर्षे पढाई पूरा गरे । छोरा सुविन इन्टरनेटमा खोजी गर्दै पढाई र पार्ट टाइम रोजगारी पनि पाइने भन्दै बेलायत या अस्ट्रेलिया गएर आएकी केटीको खोजीमा लाग्यो । छोरी सुविना पनि स्टाफ नर्सका लागि राम्रो स्यालरी पाइने भन्दै विदेश गएर आउने केटाको खोजीमा लागिन् । अर्याल जोडीले परेवाका जस्ता मायालु छोराछोरीलाई स्वदेशमा जे सुकै खर्चन तयार रहेको तर विदेश भने नपठाउने निर्णय सुनाए । विविध सिरियल चलचित्र र समसामयीक विश्व घटनाबाट प्रेरित छोराछोरी पनि के कम । आफ्ना चाहना पूरा नभएर सुसाइड नोट लेखेर आफ्नै कोठामै आत्महत्या गरिदिने धम्की दिए । अन्ततोगत्वा मन कुँडाएर छोरा छोरीलाई विदेश पठाउँन बाध्य भए अर्याल दम्पति । डिपेन्डेन्टमा जाँदा कानूनी समस्या नपर्ने र पार्ट टाइम काम पनि पाइने हुँदा बुवा आमालाई घरखर्च पठाउँने बाचा गरे सुविनले । सुविना पनि चार वर्षपछि त भेट्न आइहाल्छु नि भन्दै लाडिँदै थिइन् । अन्तमा फेसबुकमार्फत दुवैले आफ्नो इच्छा बमोजिमका केटाकेटी भेटाए । एयरपोर्टमा अर्याल दम्पति आँखा भिजाएर विदा गरे ।

केही साल त छोराछोरीले बुवाको ब्लड प्रेसर र आमाको सुगरको ओखति नछुटाउनु भन्दै स्काइपबाट भिडियो कल गर्दै थिए । दुई तीन सालका बीच ती सबै सम्पर्कहरु क्रमश घट्दै अन्तत बन्द जस्तै भए । गाउँका मावि शिक्षकले सुविन र सुविनाले डिग्री गरेको समाचार सुनाए । दशैंअघि नै नेपाल फर्कने खबर आयो तर दशैं‚ तिहार‚ माघे संक्रान्ति र फागुपूर्णिमा बित्यो‚फर्की आएनन् । अर्को साल विदेशीसँगै विवाह गरे भन्ने खबर पो आयो । उनीहरुका सन्तान जन्मिए भन्ने खबर सुन्न केही साल पनि कुर्नु परेन । स-सन्तान नेपाल फिर्ने खबर पनि सुनियो । एक दशक यत्तिकै बित्यो ।
यता आमाको स्वास्थ्य स्थिति नाजुक थियो । छिमेकी भाइले खबर दिएपछि आमालाई भेट्न नेपाल आउने भन्ने सुनियो । केही महिनामै सन्तानको मुख नदेखी आमा बितिन् । खाना बार्न लगाउने‚ बडो ध्यान दिएर योग गर्न उत्प्रेरित गर्ने र मर्निङ वाकमा साथी हिँड्ने श्रीमती बितेपछि रामप्रसाद मानसिक र शारीरिक रुपले अशक्त जस्तै भए । ओखति समयमा खुवाउने मानिस नहुँदा बुबाको यस्तो स्थिति भएको खबर पाएर सुविन र सुविनाले नेपाल फर्कनलाई आउँदो महिनाको १० तारिखका लागि टिकट काटेको भन्ने कुरो उनका स्कूले शिक्षकले सुनाए । फ्लाइट ताेकिएको दिनमै छोराछोरी नेपाल फर्किए । रामप्रसाद सोही बिहानै परमधाम भैसकेका थिए । सन्तानले पण्डितका सल्लाह अनुसार बुवा आमाको एकै पटक काजकिरिया गरे । अन्तत पैतृक सम्पति बेचेर अर्को हप्ता विदेश हुइँकिए भन्ने पत्तो गाउँलेहरुले थाहा पाउन केही दिन पनि लागेन ।

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २