Tuesday, September 23, 2014

खरायो र सिंह

लघुकथा
-संप्रस पौडेल 'दिवस'
उबेला तीन कक्षामा पढेका सिंह र खरायोको कथा । आज पूरापूर बदलिएछ ।
बाठो खरायोले स्याल पण्डितको सामिप्यतामा राजनीति सिक्न थाल्यो । 'स्याल पाठशाला' मा पढेर बाठो भएको खरायोमा राजनीतिक घमण्डको तुजुक बढ्दै गयो । खरायोले क्याम्पस गेटकै छेउमा पर्दा पछाडी धुवाँ उडाउन पाउने व्यवस्था सहितको होटेल खोलेपछि उसकोमा चिया र चुरोट खानेहरु लाइनमा बस्न लागे । व्यापार पनि चल्ने, राजनीतिक गफ पनि छाँट्न पाइने हुँदा उसलाई यो पेशा काइदाको लाग्यो ।
क्याम्पसका ठिटाहरुलाई उचालेर ठिटिहरुलाई पनि उनीहरुबाटै प्रशिक्षण दिई तीन महिनामा तीन पटक क्याम्पस प्रमुखलाई माफी माग्न बाध्य बनायो । बाठो खरायोले आफ्नो पार्टीका भन्दा अरु क्याम्पस प्रमुख भएमा नाना तरहका निहुँ झिकेर विद्यार्थी उचाल्दै गेटमा कालो तुल टाँगेर भए पनि क्याम्पस प्रमुखलाई राजिनामा दिन लगाउँन सक्ने भयो । सहर उसको गुटभित्र वाहवाही चल्यो ।

उता इनारमा आफ्नै अनुहार हेरेर हाम्फालेको मुर्ख सिंहको उद्वार भएपछि जंगल छोडेर अन्यत्र गई डिग्री भ्याएर मास्टर भयो । आज त्यही पढेर विद्वान भएको मास्टर सिंहलाई राजनीतिक चुकुली मात्रै जानेको खरायोले चोरी औंलामा नचाएको देख्दा अचम्म लाग्दैन । सिंहलाई भन्नलाई मात्रै राजा रहेछ, उ त सँधैको दास पो बनाइएको रहेछ । विद्यालयमा शिक्षक नियुक्ती, शिक्षक सेवाका विज्ञापन र पोष्टिङसम्ममा खरायोहरुको निकै बोलवाला देखिन्छ । यसैमा फाइदा मिलेका सिंहहरु खरायोको भोजन गर्दैनन्, भजन गाउँन थालेका देखिन्छन् चोक चोकका चिया चमेना गृहहरुमा । 2071 Ashwin 7

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २